कमैयाको छोरो प्रअ बनेको छु, खुशी लाग्छ !
२०५७ साल साउन २ गते अघिसम्म नेपालमा कमैया प्रथा व्याप्त थियो। थारू समुदायभित्र मेरो पृष्ठभूमि कमैया परिवारको हो। त्यसैले, माघ महीना लागेसँगै मलाई पुराना दिनले सताउन थाल्छन् । माघीकै बेला कमैयाले जमीनदार फेर्न पाउँथे । सौंकी अर्थात् ऋण नभएको भए जमीनदारको पञ्जाबाट मुक्त भई स्वतन्त्र जीवन बाँच्न पाउँथे।
जमीनदारको घरमा जन्मजात कमैया बसेका थिए मेरा बुवा बुझवन डंगौरा थारू। आमा सुमित्रा देवी थरूनीसँग बिहे गरेपछि उनी पनि बुवासँगै बुक्रही बनिन्। परिवारको जेठो छोरा म कुनै समय मालिककै गयर्वा (गाई गोठालो) पनि भएँ।
अभिभावकको ऋण नभएपछि म बन्धक बनिरहनु परेन । आफू त नपढेर अन्धो भइयो, छोरालाई भने पढाउनुपर्छ भनेर बा–आमाले स्कूल भर्ना गरिदिए। शिक्षाप्रेमी दामोदर बस्नेत मेरो मार्गदर्शक रहे। उनी लगायत धेरैको प्रेरणाले घर नजिक, कैलालीको कैलारी गाउँपालिका–९, गदरियास्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी गर्ने अवसर जुर्यो। हाल आफू पढेकै सो माविमा प्रधानाध्यापक हुन पाउँदा जिन्दगीले नयाँ काँचुली फेरे झैं लाग्छ।
एकताका पढाइ खर्च जोहो गर्न गाउँ–गाउँ डुलेर चन्दा संकलन गरेको मान्छे हुँ म। शिक्षक भई अहिले हजारौं बालबालिकालाई शिक्षाको ज्योति बाँड्न पाउँदा सपना झैं लाग्छ।
कैलारी गाउँपालिका–६, बेनौलीका स्थायी बासिन्दा मेरा हजुरबाको देहान्तपछि व्यवहार मिलाउन नसक्दा मेरा सानो हजुरबाले पुख्र्यौली जग्गा बेचे । हाम्रो उठीबास भयो। त्यसपछि नै हाम्रो परिवारको कष्टकर कमैया जीवन शुरू भएको थियो।
मेरा बुबा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली समेत गरी धेरै गाउँका जमीनदारकहाँ कमैया बसे। जहाँ–जहाँ बुवा–आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु हामी चार दाजुभाइको नियति थियो। दुई छाक खानाबाहेक हामी बालकमैयालाई कुनै ज्याला दिइँदैनथ्यो।
२०५७ सात साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो। पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित दशौं हजार कमैया मुक्त भए । तर मेरा बुबा भने तत्काल मुक्त हुन सकेनन्। कमैयाको कमैया नै रहे।
२०४४ सालमा हाम्रै गाउँ बेनौलीमा प्राथमिक विद्यालय स्थापना भयो। मेरो उमेरका सबै बालबालिका विद्यालय जान थाले । म भने जमीनदारका बाख्रा चराउँथें। २०४७ सालताका बेनौलीको अपरम्पार प्राथमिक विद्यालयको प्रधानाध्यापक दामोदर बस्नेत भए। उनै बस्नेत र केही गाउँकै व्यक्तिले अभिभावकसँगको सहमतिमा मलाई स्कूल भर्ना गरिदिए । अनि शुरू भयो मेरो स्कूले जीवन।
पढाइमा लगनशील भएकोले मैले केही महीनामै कक्षामा फड्को मारें । कक्षा–५ को जिल्ला बोर्ड परीक्षामा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । गाउँको प्राविको अध्ययनपछि म जनता माध्यमिक विद्यालयमा कक्षा–६ मा भर्ना भएँ।
मेरो मिहिनेत र लगनशीलताबाट प्रभावित भएका जनता माविका तत्कालीन प्रधानाध्यापक विनयकुमार चौधरीले विद्यालय शुल्क, ड्रेस लगायतको व्ययभार वहन गरिदिए । पछि उनै विनय चौधरीले मलाई धनगढीको मोडर्न एरा स्कूलमा कक्षा–९ कक्षा भर्ना गरिदिए। त्यहाँको बसोबासलगायत सबै व्ययभार समेत उनले नै लिएर ठूलो गुन लगाए।
२०५६ सालको एसएलसी परीक्षामा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ। द्वन्द्वको प्रभावका कारण प्रधानाध्यापक विनय चौधरी विस्थापित भएपछि मलाई अध्ययन अघि बढाउन निकै गाह्रो प¥यो । आफ्नै भाइहरूको सहयोग लिंदै क्याम्पस भर्नासम्म त भएँ। तर, क्याम्पसको खर्च जोहो गर्न मलाई धौ–धौ भयो । यसैबीच, पढाइ खर्च जोहो गर्न मेरो भित्री मनले चन्दा उठाउन अह्रायो । ‘चन्दा उठाएर हेरौं न त’ भन्ने भएपछि चन्दाका निम्ति गल्ली–गल्ली चहारें।
यसक्रममा धेरैलाई आफ्नो विवशता सुनाएँ । कतिले तिखो वचन लगाए भने केहीले सहयोग पनि गरे। म अझैं सम्झिन्छु, सबैभन्दा ठूलो सहयोग तत्कालीन गदरिया गाविस अध्यक्ष सन्तराम चौधरीले गरेका थिए। उनले आफूले पाउँदै आएको भत्ता बापतको रकम मलाई दिए। त्यस्तै गदरियाकै वडाध्यक्ष प्रेमबहादुर चौधरी, गाविसका मुखिया ठागुराम चौधरी लगायतले पनि सहयोग गरेर कहिल्यै बिर्सिन नसकिने गुन लगाए।
२०५९ सालमा कक्षा–१२ उत्तीर्ण भएपछि म शिक्षण पेशामा सक्रिय भएँ। आफू पढेकै विद्यालय, मोडर्न एरामा पढाउन थालें। फुर्सदको बेला ट्युसन पनि पढाएँ । पढ्दै पढाउँदै म अन्ततः अंग्रेजी भाषामा स्नातकोत्तर तहसम्मको सिंढी उक्लिन सफल भएँ।
२०७५ सालमा शिक्षक सेवा आयोगको परीक्षा पास गरेपछि म बझाङको महादेव माध्यमिक विद्यालयमा नियुक्त भएँ। तर, भावीको लेखा, शिक्षण पेशाको जिम्मेवारीकै क्रममा मैले आफ्नो दाहिने हात नै गुमाउनु पर्यो।
म एकदिनको त्यो कहालीलाग्दो सडक दुर्घटना सम्झिन्छु। कोभिड महामारीले गर्दा लकडाउनको अवस्था थियो। सार्वजनिक सवारी साधन चलेका थिएनन्। विद्यालयकै कामको सिलसिलामा म र हेडसर मोटरसाइकलमा बझङबाट धनगढी फर्किंदै थियौं । २०७७ असार २२ गते राति धनगढीको निर्माणाधीन ६ लेन सडकमा मोटरसाइकल दुर्घटनामा प¥यो । विद्युत्को पोलमा मेरो दायाँ हात च्यापियो । अप्रेसनको क्रममा दायाँ हातको पञ्जा नै काट्नु पर्यो।
अस्पतालको बेडबाटै मैले बायाँ हातबाट लेख्न अभ्यास गर्न थालें। बैंक खातामा हस्ताक्षर नमिलेर केही समय कठिनाइ पनि भयो । तर, विस्तारै बायाँ हातले मेरो लेखनको रफ्तार र हेन्डराइटिङ पुरानै लयमा फर्कियो। यसरी जीवनमा संघर्ष सबैभन्दा ठूलो कुरा हो भन्ने पाठ मैले सिकेको छु।
म विद्यार्थीहरू सकेसम्म सिर्जनात्मक होऊन् भन्ने कुरामा जोड दिन्छु। मैले आफ्नै गाउँठाउँका थारू लोककथा संकलन गरेर ‘उरन्टा घोरवा’ अर्थात् ‘उड्ने घोडा’ पुस्तक पनि प्रकाशित गरेको छु। यी कथा सन्दर्भ सामग्रीको रूपमा उपयोगी पनि भएका छन्। त्यस्तै, मैले लेखेको थारू भाषाको कक्षा–१ को पाठ्यपुस्तक कैलारी गाउँपालिकाभर लागू भएको देख्दा मन प्रफुल्ल हुन्छ। यो वर्ष थप कक्षाका पाठ्यपुस्तक लेख्ने तयारी छ।
कुनै बेला जनता माध्यमिक विद्यालय, गदरिया, कैलालीमा पढेको म हाल सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छु। म एउटा कमैयाको छोरो प्रधानाध्यापक बन्न सकेकोमा आफैंलाई खुशी लाग्छ । सोचाइ त मेरो विद्यावारिधि गर्नेसम्म छ, हेरौं नियतिले कहाँसम्म पो डोर्याउँछ।
प्रस्तुतिः कृष्णराज सर्वहारी



