सबैलाई समेट्नु प्रअको कर्तव्य !
साढे तीन दशक शिक्षण पेशामा बिताएर ज्ञानोदय माध्यमिक विद्यालय, काठमाडौंका प्रधानाध्यापक नातिकाजी महर्जन यही मंसीर २८ गते सेवानिवृत्त हुँदैछन्। किसान परिवारमा जन्मेका उनी आफ्ना कुनै शिक्षकका बोली व्यवहार र शिक्षण शैलीबाट प्रभावित हुँदा आफू पनि शिक्षक बन्ने कल्पना गर्थे। अन्ततः उनी २०४६ सालमा ज्ञानोदयमा विज्ञान विषय पढाउन निजी स्रोत शिक्षक छनोट भए। २०५४ सालमा अस्थायी दरबन्दीमा र २०६० सालमा स्थायी शिक्षक भए। र २०७१ सालदेखि विद्यालयका प्रअ छन्।
प्रअ महर्जन अहिले दैनिक ३ पिरियड पढाउँछन्। विद्यार्थीसँग सामीप्यता बढ्ने, उनीहरूलाई ज्ञान-गुणका कुरा सिकाउन र पेशामा अद्यावधिक हुन पाइने हुँदा पढाउँदाको स्वाद प्रअको भन्दा बेग्लै लाग्छ उनलाई। महर्जन भन्छन्, ‘व्यवस्थापकीय र प्रशासनिक कामले थकाउँछ। तर कक्षामा विद्यार्थीसँग हाँसो–ठट्टा गर्न पाइन्छ। यसबाट स्फूर्ति र ऊर्जा मिल्छ।’
उनले सयौं विद्यार्थीलाई आफ्नो विषय मात्र पढाएनन्, ती विद्यार्थीलाई पनि पढे। उनीहरूबाट सिके पनि। शुरू-शुरूमा उनी निकै कडा स्वभावका शिक्षक थिए। अनुभव बटुल्दै जाँदा, विद्यार्थीका घरभित्र दुःखका कुरा हुन्छन्, विद्यालयमा पनि समस्या हुनसक्छ, त्यस्ता समस्या शिक्षकले बुझ्दििनुपर्दोरहेछ भन्ने उनले विद्यार्थीबाट सिके। आफूले पढाउने विषयवस्तुमा पोख्त भएर मात्र नपुग्ने रहेछ भन्ने उनले बुझे। उनी भन्छन्, ‘विषयविज्ञ मात्र भएर नहुने रहेछ। शिक्षकले कठोर भएर होइन, विद्यार्थीलाई स्नेह गरेर तिनका समस्या समाधान गर्न मद्दत गरिदिनुपर्दोरहेछ । त्यसैले अचेल मेरो कक्षा पहिलाभन्दा धुरन्धर हुन्छ।’
विद्यार्थीसँगको आत्मीयता र उनीहरूको छलकपटरहित व्यवहार शिक्षकका लागि खुशीको स्रोत हो भन्ने उनलाई अनुभूति भएको छ। आफू कतिबेला रिसाइरहेको हुन्छु भनेर उनलाई थाहै हुँदैन। ‘म एक्लै भएको बेला अफिसमा आएर सर किन ठुस्स पर्नुभएको, नरिसाउनु न, हाँसेर पढाउनु न भनेर भन्छन्। अनि म आफ्नो अनुहार ऐनामा हेर्छु। अबदेखि म हाँस्दै, खुशी हुँदै पढाउँछु भन्ने उत्प्रेरणा मिल्छ’, उनले भने।
संस्थाको प्रगतिमा सन्तुष्ट
लामो समयसम्म बढुवा नहुने र सेवा–सुविधा आकर्षक नभएको भन्दै शिक्षण पेशामा असन्तुष्टि बढेको कतिपय शिक्षकको गुनासो छ। महर्जनको पनि स्थायी भएको २० वर्षपछि यही वर्ष बढुवा भएको हो। ‘निश्चय पनि सिस्टममा कमी-कमजोरी छ। सरकारले समयमै सुधार गर्नुपर्छ’ प्रअ महर्जन भन्छन्, ‘तर मान्छेलाई पद र पैसा भएर मात्र सन्तुष्टि मिल्दैन। जब विद्यार्थी विद्यालयसँग खुशी हुन्छन्, परीक्षामा राम्रो गर्छन्, उनीहरूको जीवन र व्यवहारमा सकारात्मक परिवर्तन आउँछ, यो देखेर तिनका आमाबुबा खुशी हुन्छन् अनि स्कूलको राम्रो प्रचार हुन्छ, म आफूलाई समेत बिर्सन्छु । संस्थाको प्रगतिमा म सन्तुष्ट छु।’
विशेषगरी विद्यार्थीको शैक्षिक उपलब्धि, भौतिक संरचना र विद्यार्थी संख्यालाई उनले विद्यालयको सफलताको सूचक बनाएका छन्। उनी शिक्षक नियुक्त हुँदा ज्ञानोदयमा दुई हजार विद्यार्थी थिए। अहिले त्यहाँ साढे चार हजार जति विद्यार्थी छन्। कतिपय अभिभावकले आफ्ना सन्तान निजी विद्यालयबाट निकालेर ज्ञानोदयमा पढाउने गरेका छन्।
एसईई नतिजाका आधारमा ज्ञानोदय २०७५ र २०७६ सालमा बागमती प्रदेशभरिका विद्यालयमध्ये तेस्रो भएको थियो। काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयतर्फ कक्षा १२ को साधारण र प्राविधिक दुवै धारतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएपछि २०७९ मा रु.२ लाख नगद सहित पुरस्कृत भएको थियो ।
आफ्नो पार्टी, जाति, रंग र मन परेको मान्छे भनेर नेतृत्वले काम ग¥यो भने निश्चित रूपमा द्वन्द्व आउन सक्छ। तर ज्ञानोदयमा यस्तो हुँदैन। किनकि ज्ञानोदयमा सिस्टम छ।
ज्ञानोदयको शैक्षिक प्रगतिमा प्रअ महर्जन यहाँका शिक्षकहरूलाई श्रेय दिन्छन्, ‘जिम्मेवार शिक्षकको टीम निरन्तर लागेको छ। शिक्षकहरू विद्यालयका लागि हरदम समय दिन तयार हुन्छन्।’ यस विद्यालयमा एकैपटक ८० वटा कक्षा चल्छन् । हरेक कक्षाका लागि ‘कक्षा लिडर’ भनेर शिक्षक नेता तोकिएका हुन्छन्। जस्तो कक्षा १० मा ९ वटा सेक्सन छन्। कक्षा-१० का ‘लिडर’ले यो कक्षाको पठनपाठन, अभिभावकका सुझव लगायत अन्य सबै कुरा सम्बोधन गर्छन् । यसरी नै अरू कक्षा चल्छन्। प्रअ महर्जन भन्छन्, ‘कुनै जटिल समस्या भए मात्र मकहाँ आइपुग्छ। यसरी जिम्मेवारी बाँड्दा शिक्षकमा नेतृत्व सीप पनि विकास हुन्छ। प्रअलाई विद्यालय सुधारका अरू काम गर्न समय निस्कन्छ।’
कमजोर सिकाइ भएका विद्यार्थीलाई विद्यालयमा उपचारात्मक कक्षा चलाउने गरिएको छ। साथै पढाइमा राम्रा विद्यार्थीले सहपाठीलाई सहयोग गर्ने अभ्यास पनि छ । प्रअ महर्जनको बुझइमा यो अभ्यास प्रभावकारी भएको छ।
अभिभावकको साथ
ज्ञानोदय उचाइमा पुग्नुमा अभिभावकको साथ, समर्थन पनि प्रशंसनीय रहेको प्रअ महर्जनको अनुभव छ। विद्यालयमा सरकारले दिने अनुदानबाट नपुग्ने रकम सक्ने अभिभावकबाट लिने गरिएको छ । उनका अनुसार यस्तो सहयोग रकम विद्यालय सञ्चालन तथा विद्यार्थीको सिकाइका लागि नै खर्च हुन्छ। उनी भन्छन्, ‘विद्यालयले नाफा वा बोनस बाँड्न लिएको हैन भन्ने अभिभावकलाई थाहा छ । स्थानीय तहले बजेट थप्दै जाँदा अभिभावकको सहयोग घटाउँदै पनि गएका छौं।’
ज्ञानोदयका अभिभावक विद्यालय बिग्रनुहुँदैन भन्नेमा सचेत रहेको प्रअ महर्जनको बुझइ छ। तर उदाहरण दिंदै उनी प्रष्ट पार्छन्, ‘यही वर्षको शुरूमा व्यवस्थापन समिति गठनका बेला दुई हजारभन्दा बढी अभिभावकको उपस्थिति रह्यो। समितिमा बस्न धेरैले उम्मेदवारी दिए। तर विद्यालय बिग्रनुहुँदैन भनेर ससमझदारीमा आफैं उम्मेदवारी फिर्ता लिएँ।’
ज्ञानोदय सिस्टममा चलेको छ
ज्ञानोदय मावि देशकै अब्बल सामुदायिक विद्यालयमध्येमा गनिन्छ । शिक्षकको टीम, तल्लो तहमा विशेष जोड, व्यवस्थापन समितिको सक्रियता, अभिभावकसँग निरन्तर संवाद र तिनको सहयोग, भौतिक संरचना र शैक्षिक उपलब्धिमा सुधार जस्ता कारणले ज्ञानोदयको शैक्षिक उन्नयन भएको हो । यसमा विद्यालयका पूर्व प्रअ रेवरत्न बज्राचार्य र धनञ्जय शर्माको महत्वपूर्ण योगदान छ ।
यी दुईजना प्रअसँग काम गरेका महर्जन उनीहरूको विद्यालय राम्रो बनाउनुपर्छ भन्ने समर्पण र कुशल नेतृत्व क्षमताबाट आफू उत्प्रेरित भएको बताउँछन् । मंसीर २८ गते उनी सेवानिवृत्त भएपछि ज्ञानोदयले नयाँ नेतृत्व पाउँदैछ । ज्ञानोदय स्थापित हुनु र सफलताको शिखर पुग्नुमा आफूभन्दा अगाडिका प्रअहरू र विद्यालयको सिस्टमलाई श्रेय दिने महर्जनले आफ्नो नेतृत्वकालमा विद्यालयको प्रतिष्ठा र साख थप वृद्धि गरेका छन् ।
विभेद नगरी क्षमता हेरेर जिम्मेवारी दिने र सबल पक्षको प्रशंसा गर्ने उनको सबभन्दा सकारात्मक पक्ष भएको शिक्षकहरू बताउँछन् । शिक्षकका भनाइमा उनी शालीन र भद्र छन् । विद्यालयका लागि अथक् खटाइ उनको अर्को बलियो पक्ष हो ।
सामुदायिक विद्यालयमा विभिन्न दल निकट शिक्षक संघ, संगठनमा आवद्ध प्रअ तथा शिक्षक छन् । कतिपय प्रअ आफू निकटका लागि ‘फेभर’ गर्नुपर्ने, समूह बनाउनुपर्ने, केही अवसर आउँदा तिनलाई मौका दिनुपर्ने बाध्यता हुने बताउँछन् । यसैकारण विद्यालयमा द्वन्द्व पैदा हुने र शैक्षिक सुधारमा असर पुग्ने गरेको समेत स्वीकार्छन् । कतैकतै नेतृत्व परिवर्तन हुँदा यस्तो स्थिति आएको देखिन्छ ।
‘आफ्नो पार्टी, जाति, रंग र मन परेको मान्छे भनेर नेतृत्वले काम ग¥यो भने निश्चित रूपमा द्वन्द्व आउन सक्छ । तर ज्ञानोदयमा यस्तो हुँदैन । किनकि ज्ञानोदयमा सिस्टम छ । ३४ वर्षअघि नै प्रतिस्पर्धा मार्फत निजी स्रोत शिक्षक छान्न ज्ञानोदयले विज्ञापन गरेको थियो । सिस्टमले चलेको छ भन्ने एउटा उदाहरण हो यो’ महर्जन भन्छन्, ‘प्रअको सिटमा बसिसकेपछि संस्थाको अभिभावक हुँ, सबैलाई समेट्नुपर्छ भन्ने भावना स्वतः आउँछ । संस्थामा सबैलाई समेट्ने वातावरण निर्माण गर्नु नेतृत्वको कर्तव्य नै हो ।’ ७
रोश्ना सुब्बा



