शिक्षकको मर्यादा अपरम्पार

मेरो रहरको पेशा
सानै उमेरदेखि ठूलो भएपछि शिक्षक बन्ने रहर थियो । त्यो रहर २०४७ सालमा आईएस्सी दोस्रो वर्षको परीक्षा दिनासाथ यसै हरैया माविबाट पूरा भयो। विद्यालयमा पढाउँदै, क्याम्पस पढ्दै मूल विषय गणित लिएर २०५२ सालमा स्नातक र २०५६ सालमा स्नातकोत्तर गरें।

क्याम्पसमा नियमित नहुँदा मलाई त्यहाँका सरहरूले खासै चिन्नु हुन्नथ्यो। तर मैले क्याम्पसमै सर्वोत्कृष्ट नम्बर ल्याएँ । २०५७ सालमा मावि तहको प्रधानाध्यापकको जिम्मेवारी पाएँ। त्यसपछि शैक्षिक योग्यता भन्दा पनि विद्यालय बनाउने कामतिर लागें। विद्यालयलाई शैक्षिक, आर्थिक, भौतिक रूपमा कसरी सबल बनाउन सकिन्छ भन्नेमै केन्द्रित भएँ। मावि तहको स्थायी गणित शिक्षक भने २०६० सालको शिक्षक सेवा आयोगबाट बनेको हुँ।


खासगरी सम्बन्धित कक्षाको लागि आवश्यक पर्ने पूर्व ज्ञान विद्यार्थीमा नहुनु नै गणितको प्रमुख समस्या हो। त्यसका लागि त्यस्ता विद्यार्थीलाई विशेष समय दिई सर्वप्रथम आवश्यक पूर्व ज्ञानबारे शिक्षण गर्दा सिकाइ प्रभावकारी हुने निश्चित छ।

त्यो समय हामीकहाँ साविकको उच्च मावि तहमा शुरूमा जम्मा २१ जना मात्र विद्यार्थी थिए । प्रयासपछि विद्यार्थी संख्या वृद्धि भएर ५०० को हाराहारीमा पुग्यो। विद्यालयले ८२ प्रतिशतसम्म नतिजा ल्याउन सफल भयो। विद्यालयको पूर्वाधार विकासको लागि २०६२ सालमा महायज्ञ मार्फत रु.५२ लाख संकलन भयो। यसैको जगमा विद्यालयको भौतिक पूर्वाधारको शुरुआत मात्रै भएन, जिल्लाकै ग्रामीण क्षेत्रमा हरैया बहुमुखी क्याम्पसको समेत स्थापना भयो । २०७१ सालसम्म क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरी २०७२ सालदेखि पुनः विद्यालयको जिम्मेवारीमा फर्किएँ।

स्कूल सुधार्ने हुटहुटी
प्रधानाध्यापक बनिरहँदा विद्यालयको समग्र विकास के-कसरी गर्न सकिन्छ भन्ने हुटहुटीले सधैं घचघच्याइरह्यो। २०७३ सालमा विद्यालयको स्वर्ण महोत्सव मनाइरहँदा प्राविधिक विषय सञ्चालनतर्फ धेरैको चाहना र माग भएपछि २०७५ सालदेखि कम्प्युटर इञ्जिनियरिङ शुरू भयो। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा शैक्षिक गुणस्तर वृद्धि गर्नु आफैंमा चुनौतीको विषय थियो। शुरूमा कक्षा-१० मा अध्ययन गर्ने विद्यार्थीलाई अभिभावक र शिक्षकहरूको उपस्थितिमा एसएलसीमा निश्चित प्रतिशत अङ्क ल्याउने प्रतिबद्धत-सम्झैता समेत भयो। उक्त कुरालाई केन्द्रविन्दुमा राखेर विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयले योजनाबद्ध रूपमा काम अगाडि बढाऔं। यसबाट अपेक्षाकृत नतिजा समेत आउनमा सहयोग पुग्यो।

कक्षा ८ सम्म निःशुल्क शिक्षाको अभ्या
बाल कक्षादेखि १२ सम्म साधारण र कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय अध्यापन हुने हाम्रो विद्यालयको एकातिर शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता थियो, अर्कोतर्फ विद्यालयलाई आर्थिक रूपमा सबल बनाउनु पनि। विद्यालयको स्वामित्वका व्यावसायिक सटर र हाटबजारलाई व्यवस्थित गरी ठेक्कालाई व्यवस्थापन गर्‍यौं। यो स्रोत जुट्न थालेपछि नेपाली वा अंग्रेजी दुवै माध्यमका कक्षा-८ सम्म पूर्ण निःशुल्क छ। कक्षा १-५ मा टाई, बेल्ट समेत निःशुल्क दिने गरिएको छ।

बालबालिकाको संलग्नतामा विद्यालय हराभरा, सफा, सुरक्षित हुनसकेको छ । भौतिक, रसायन र जीव विज्ञानको अलग-अलग व्यवस्थित प्रयोगशाला, करीब ८० वटा कम्प्युटर सहितको कम्प्युटर ल्याब, हार्डवेयर ल्याब, इलेक्ट्रिक ल्याब, व्यवस्थित पुस्तकालय, प्रविधियुक्त सभाहल, फिल्टरयुक्त स्वच्छ पिउने पानी, खाजा गृह लगायत सुविधा विद्यालयमा बालबालिकाले पाइरहेका छन्। 

विद्यार्थीको लगबुकमा शिक्षक
विद्यालयको मुख्य लक्ष्य भनेको शैक्षिक उपलब्धि उच्च बनाउनु नै हो, थियो र छ । हामीकहाँ ४० जना टिचिङ स्टाफ र ६ जना नन टिचिङ स्टाफ हुनुहुन्छ । विद्यालयले योजनाबद्ध शिक्षण सिकाइ क्रियाकलाप, गृहकार्य दिने र परीक्षण गर्ने, मूल्याङ्कन, पृष्ठपोषण, परियोजना र प्रयोगात्मक कार्य, अतिरिक्त कक्षा सञ्चालन, अभिभावकसँग छलफल, तहगत र विषयगत रूपमा जिम्मेवारीको बाँडफाँड, अतिरिक्त क्रियाकलाप सञ्चालन, विद्यार्थीको नेतृत्व विकासका कार्यक्रम, मोटिभेसनल प्रशिक्षण, अभिभावकहरूको सचेतीकरण लगायत कार्यहरू निरन्तर रूपमा गर्दै आएका छौं।

कक्षाकोठामा शिक्षक जानुअघि शिक्षकले पूर्व तयारीको रूपमा डायरीमा टिपोट गरेर मात्र जानुपर्ने व्यवस्था मिलाइएको छ । कुन शिक्षक कति समयमा कोठामा प्रवेश गर्नुभयो, के-के क्रियाकलाप सञ्चालन भए र कति समयमा कोठा छोड्नुभयो ? भन्ने रेकर्ड विद्यार्थीले लग बुकमा राख्ने गरेका छन्। पछिल्लो पटक विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता र लगनशीलताको कारणले गर्दा यो विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ। विद्यालयमा हाल १६०० विद्यार्थी छन्। हामी भौतिक पूर्वाधार र जनशक्तिको सीमितताले गर्दा भर्ना हुन आउने बालबालिकालाई फिर्ता गरिरहेका छौं।

जिल्लामै सर्वोत्कृष्ट नतिजा
हाम्रा विद्यार्थी २०७९ सालको एसईई परीक्षामा रूपन्देही जिल्लामा नै सर्वोत्कृष्ट जीपीए ल्याउन सफल भए । आधारभूत तह (कक्षा ८) को नतिजामा पनि हामी पालिकास्तरमा अगाडि छौं। आखिर टीम वर्क राम्रो मिल्यो र हामी काममा दत्तचित्त भयौं भने विद्यालयको नतिजा सुधार गर्न नसक्ने भन्ने रहेनछ। आफूले पढाएका विद्यार्थी डाक्टर, इञ्जिनियर, निजामती सेवामा, शिक्षक, सेना-प्रहरी लगायतको सेवामा र कोही सामाजिक सेवामा भएको देख्दा आफूलाई शिक्षक भएकोमा गर्व लाग्दछ। शिक्षक पेशा नभएर एक सेवा हो भन्ने अनुभूति हुन्छ। मेरो बुझइमा शिक्षण पेशा तुलनात्मक अरू पेशा भन्दा समाजमा मर्यादित छ। तर हामी शिक्षकहरूले नै यो कुरा बुझ्रिहेका छैनौं। 

विद्यालयको प्रधानाध्यापकको नाताले विद्यालय सुधारमा विशेष जिम्मेवारी रहेको कुरा महसूस हुनु स्वाभाविक हो । विद्यालयले शैक्षिक सुधार गर्नका लागि कुनै ठूल्ठूला कामहरूमा मात्र नभई साना कामबाट शुरू गर्नुपर्छ भन्ने सिकाइ हामीलाई भएको छ। शिक्षा त्रिकोणात्मक भएकाले शिक्षक, विद्यार्थी र अभिभावक तिनै पक्षहरूलाई सँगसँगै सक्रिय बनाउने कार्यमा विद्यालय सचेत छ। 

गणित विषयमा मेरो अनुभव
म एउटा गणित शिक्षक र गणित विषयकै रोस्टर प्रशिक्षण भएकाले गणित विषयको नतिजा सुधारमा केही अनुभूति छन्। विद्यालय तहमा अरू विषयको तुलनामा गणित कठिन विषयको रूपमा भाष्य निर्माण भएको छ। तर विद्यार्थीमा ‘गर्न सकिन्छ’ भन्ने भावना जगाउन सकियो भने पक्कै पनि गणितको नतिजा सुधार सकिन्छ भन्ने कुरा हामीले हाम्रै विद्यालयमा गरेर सिद्ध गरेका छौं । खासगरी सम्बन्धित कक्षाको लागि आवश्यक पर्ने पूर्व ज्ञान विद्यार्थीमा नहुनु नै गणितको प्रमुख समस्या हो। त्यसका लागि त्यस्ता विद्यार्थीलाई विशेष समय दिई सर्वप्रथम आवश्यक पूर्व ज्ञानबारे शिक्षण गर्दा सिकाइ प्रभावकारी हुने निश्चित छ।

म एक शिक्षक भएको नाताले सर्वप्रथम ‘म शिक्षक हुँ, मेरो काम पढाउने हो’ भन्ने कुरामा मेरो ध्यान केन्द्रित हुन्छ। म एक सहजकर्ता हुँ, मेरो काम सहजीकरण गर्ने पनि हो भन्ने सम्झ्एिर असल नियतका साथ आफ्नो कामलाई निरन्तरता दिन्छु । नयाँ पाठ्यक्रमले मुख्य रूपमा ल्याएको आन्तरिक मूल्याङ्कनलाई प्रभावकारी बनाउन प्रोजेक्ट वर्क, एसिस्मेन्ट एज लर्निङको भावनालाई आत्मसात् गरेको छु। कक्षामा रहेका जान्ने विद्यार्थीको नेतृत्वमा विभिन्न समूह निर्माण गरी ‘पियर लर्निङ’ र ‘होमवर्क चेक’ गरी सुझव दिने कामलाई पनि हामीले नियमित अभ्यासका रूपमा निरन्तरता दिएका छौं।

गणित गाह्रो होइन, बनाइयो
विद्यार्थीले सबैभन्दा बढी ट्यूसन, कोचिङ पढ्ने विषय पनि गणित र सबैभन्दा बढी विद्यार्थी फेल हुने विषय पनि यो नै भएकाले यस विषयको शैक्षिक उपलब्धि बढाउनु चुनौतीपूर्ण छ। गणित शिक्षणमा शिक्षकले ध्यान दिन नसकेको भनेकै आवश्यक पूर्वज्ञान नभएका विद्यार्थीहरू पहिचान गरी उपचारात्मक कक्षाका माध्यमबाट कमजोरी हटाउनु हो । शिक्षकले धैर्यसाथ विद्यार्थीको सिकाइस्तरमा केन्द्रित रहेर शिक्षण क्रियाकलाप गर्ने हो भने गणितको नतिजा सुधार्न नसकिने भन्ने नै छैन। मेरो शिक्षण अनुभवमा पनि गणित अप्ठ्यारो होइन, बनाइएको हो।  

(प्रअ शर्मासँग कृष्ण मल्लले गरेको कुराकानीमा आधारित ।)


 

commercial commercial commercial commercial