म प्रधानमन्त्री बन्न सक्छु ?

म प्रधानमन्त्री बन्न सक्छु ? प्राथमिक तह या प्रारम्भिक उमेर समूहका बालबालिकाका लागि लेखिएको पुस्तक हो। यस पुस्तकले बालबालिकालाई नेपालका प्रधानमन्त्रीको भूमिकाबारे परिचयात्मक जानकारी दिन्छ। साथै, बालबालिकालाई अधिकार र कर्तव्य बुझाउँदै नेपालमा प्रधानमन्त्रीको चयनदेखि प्रधानमन्त्री कहाँ बस्छन्, कहाँ काम गर्छन्, कति तलब पाउँछन्, बस चढ्छन् कि चढ्दैनन्, प्रधानमन्त्रीले गल्ती गरे के हुन्छ, प्रधानमन्त्रीलाई प्रश्न सोध्न मिल्छ, मिल्दैन लगायत प्रश्नको जवाफ पनि यस पुस्तकले दिन्छ। यस पुस्तकले संसद् र सांसदको काम, राजनीतिक दल, लोकतन्त्रका लागि भएको आन्दोलन लगायत विषयमा समेत चर्चा गरेको छ। यो पुस्तक पूर्वप्राथमिक तहका बालबालिकाले पनि अभिभावक र शिक्षकको सहयोगमा पढ्न सक्छन्। नेपाली र अंग्रेजी भाषामा प्रकाशित यस पुस्तकमा उस्तै अर्थ दिने शब्दलाई उस्तै रङमा राखिएको छ।

नेपाली र अंग्रेजी विषय पढाउने शिक्षकलाई यो पुस्तक विद्यार्थीको भाषा सुधार गर्न पनि गतिलो सन्दर्भ सामग्री हुनसक्छ भने सामाजिक शिक्षा पढाउने शिक्षकलाई सन्दर्भ सामग्रीको रूपमा पाठहरू बुझउन उपयुक्त हुन्छ।

कर्मा तामाङ र भूमि घिमिरेले लेखेको यस पुस्तकको सम्पादन आन्विका गिरीले गरेकी हुन् भने अनामिका गौतमले चित्र बनाएकी हुन्। यो पुस्तकको मूल्य रु.५०० रहेको छ।

ह्वेल राजा/The Whale King

कक्षा-१ मा पढ्ने अनुदिता बस्नेतले आफ्ना बुबा बसन्त बस्नेतसँग मिलेर लेखेको ‘ह्वेल राजा’ छोटो तर मिठो कथा हो। मानिसले समुद्रमा फ्याँकेका प्लाष्टिकले त्यहाँ बस्ने जलचरहरूलाई समस्या भएपछि चिन्तित समुद्रको राजा ह्वेलले के गर्छ ? यही नै यस कथाको सार हो। हाम्रो वरपरको वातावरणप्रति बालबालिकाको संवेदनशीलता नै यो कथाको आकर्षण हो। बूढानीलकण्ठ स्कूलकी कक्षा-१० की छात्रा अवनी गिरीले यो कथालाई अंग्रेजीमा अनुवाद गरेकी हुनाले नेपाली र अंग्रेजी दुवै भाषामा यो पुस्तक उपलब्ध छ। यसका आकर्षक चित्र सरिष्मा अछामीले बनाएकी हुन्।

यो पुस्तक बालबालिकाको कथा पढ्ने र त्यसलाई अभिभावकसँग छलफल र सहयोगबाट धेरै मानिससम्म पुर्‍याउने उदाहरण पनि हो। यस पुस्तकले अभिभावक, शिक्षक र बालबालिकालाई वातावरण संरक्षणको चेत त दिन्छ नै साथै छोराछोरी र विद्यार्थीका कथा भन्ने कुरालाई गम्भीरतापूर्वक लिन अभिभावक र शिक्षकलाई प्रेरणा समेत मिल्नेछ। यो पुस्तकको मूल्य रु.३३५ रहेको छ।

मेरो पट्टु मेरो बिरालो 

बुद्धिसागरद्वारा लिखित ‘मेरो पट्टु मेरो बिरालो’ किशोर संस्मरण हो। नागरिक दैनिकमा प्रकाशित संस्मरणलाई बुद्धिसागरले किशोर पाठकहरूलाई सहज हुने गरी पुनर्लेखन गरेका हुन्। झ्रीमा अलपत्र परेर रुझदै आएको बिरालो र रूखको टोड्काबाट झ्किेर ल्याएको आँखा पनि नउघ्रेको सुगाको बचेरो सँगसँगै हुर्कन्छन्। ती साथी बन्छन्। सबैलाई खुशी बनाउने उनीहरूको आफ्नै शैली छ। बिरालो सर्पसित लडेर सबैको प्यारो बन्छ भने सुगा घरमा आउने सबैलाई राम ! राम ! भनेर खुशी बनाउँछ। यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन्। 

रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ। नेपाली विषय पढाउने शिक्षकले यस पुस्तकबाट विद्यार्थीलाई संस्मरण लेख्न सिकाउन सक्छन् भने सामाजिक शिक्षाका शिक्षकले यस पुस्तकबाट हाम्रो सामाजिक सम्बन्धको मानवीय आयामबारे बुझाउन प्रयोग गर्न सक्छन्।
सुमन महर्जनका सुन्दर चित्रले यो पुस्तकलाई अझै रोचक बनाएको छ। पुस्तकको मूल्य रु.२५० रहेको छ।  

जस्टिस स्टोरिजः मिट नेपाल्स फ्रन्टियर वुमन

धेरै वर्ष पहिले नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरका दुई महिला सामाजिक न्याय, समानता र भ्रष्टाचार अन्त्यको लागि संघर्षमा उत्रिएका थिए। उनीहरू केवल आफ्नो हकको लागि मात्रै आन्दोलित थिएनन्, अरूको पनि आवाज बनेर उभिएका थिए। तर उनीहरूको लडाइँ इतिहासमा न्यायपूर्ण तरिकाले दर्ज भएन। धेरै लामो समयसम्म उनीहरूको संघर्षको चर्चा समेत भएन। त्यसैले किशोरकिशोरीलाई दुई बहादुर महिला योगमाया न्यौपाने र दुर्गादेवी कार्कीबारे जानकारी दिने उद्देश्यले बार्बरा निम्री अजिजले यो पुस्तक लेखेकी हुन्।

योगमायाबारे पछिल्ला वर्षहरूमा केही चर्चा भए पनि दुर्गादेवी छायाँमा नै छिन्। किसानका लागि उचित मूल्यको माग गर्दै उनी राणाशासनमा समेत निर्भीक रूपले प्रशासकलाई प्रश्न गर्थिन्। यो पुस्तकको रोचक पक्ष योगमाया र दुर्गादेवीबारे पाठकले पढ्दै गर्दा उनीहरूको संघर्षको समयमा संसारभर महिला अधिकारका पक्षमा के के भइरहेका थिए भनेर समेत लेखकले सरल तरिकाले प्रस्तुत गरिदिएकी छिन्। यस पुस्तकले किशोर पाठकलाई आजको हाम्रो समाज धेरै व्यक्तिहरूको योगदानले यहाँसम्म आइपुगेको हो भनेर बुझन समेत सघाउँछ।

अंग्रेजी भाषाका शिक्षकले यो पुस्तक विद्यार्थीको भाषा समृद्ध बनाउनका साथै जीवनी लेख्ने फरक शैली विद्यार्थीलाई सिकाउन प्रयोग गर्न सक्छन्। विद्यार्थीलाई जीवनी लेख्न सिकाउन यो पुस्तक निकै उपयोगी हुन्छ।

लेखक बार्बराले उपलब्ध गराएका तस्वीरहरूलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्दै अनामिका गौतमले चित्र बनाएकी हुन् । अंग्रेजी भाषामा उपलब्ध यो पुस्तक कक्षा–५ र त्यसभन्दा माथिका विद्यार्थीका लागि उपयुक्त छ । यस पुस्तकको मूल्य रु.३०० रहेको छ।  

बुइँगलको भूत 

शाश्वत पराजुलीद्वारा लिखित ‘बुइँगलको भूत’ सचित्र बालकथा हो। कक्षा-१ र २ का बालबालिकाका लागि उपयुक्त यो बालकथा एक जिज्ञासु बालकको कथा हो । आमाबुबाले बुइँगलमा राखेका खानेकुरा छोराले नखाओस् भनेर भूतको डर देखाउँछन् । तर, खानेकुराको मगमग वासना र भूत कस्तो हुने रहेछ भन्ने कौतूहलले छोरा बुइँगल गएरै छोड्छ । त्यहाँ उसले त होइन तर कसैले त भूत भेट्छ, त्यो को होला ? त्यही रमाइलो नै यो कथाको रोचक पक्ष हो।

बालबालिकाका लागि त रोचक हुने नै भयो, शिक्षक र अभिभावक समेतलाई यस कथाले बाल जिज्ञासा समाधान गर्ने उपयुक्त शैलीबारे घोत्लिन प्रेरित गर्छ । अन्धविश्वास वा नचाहिने कुरा भनेर बालबालिकालाई अल्मल्याउनु भन्दा बालबालिकाका जिज्ञासालाई उचित जवाफ दिएर उनीहरूलाई आफ्ना कुराहरूमा सहभागी गराउन सकिन्छ भन्ने यस पुस्तकले बताउँछ।

यसका सुन्दर चित्र अर्पिता शाक्यले बनाएकी हुन् । यस पुस्तकको मूल्य रु.३२५ रहेको छ।  

commercial commercial commercial commercial