विद्यालयमा बुद्ध शिक्षा
विश्वका विभिन्न देशमा फैलिएका नेपालीले हिजोआज झेलिरहेको एउटा समस्या हो- गौतम बुद्ध र उनको शिक्षा (बौद्ध धर्म-दर्शन) सँग जोडिएका प्रश्न र प्रसङ्गहरू। नेपालको पहिचान ‘बुद्धको जन्मभूमि’ को रूपमा भएपछि विश्व समुदायले नेपालका नागरिकबाट त्यस सम्बन्धी अपेक्षा राख्नु स्वाभाविक पनि हो ।तर बुद्ध र बुद्धको शिक्षा बारेमा आधारभूत जानकारी पनि नभएको अवस्थामा विदेश पुगेका नेपालीलाई साह्रै अप्ठेरो पर्दोरहेछ। मेरो सम्पर्कमा आउने कतिपय त्यस्ता नेपालीले सोध्ने गर्छन्- “बुद्ध र बुद्ध धर्म-दर्शनका सम्बन्धमा केही त जान्नै पर्ने भयो, राम्रो त्रिपिटक कहाँ किन्न पाइएला ?”
सामान्यतः बौद्ध धर्मग्रन्थ भनेर ‘त्रिपिटक’ को नाम लिने गरिन्छ। तर यो इसाई धर्मको ‘बाइबल’, इस्लाम धर्मको ‘कुरान’ भने जस्तो पुस्तकको एउटै ठेली होइन। यो त बुद्धका उपदेशहरू संकलित ग्रन्थहरूको ग्रन्थराशि हो। र, ती सङ्कलन पनि सुत्तपिटक, विनयपिटक र अभिधम्म पिटक गरी तीन वटा भागमा वर्गीकरण गरिएका छन्। तीन पिटक अन्तर्गत अनेकौं साना-ठूला ग्रन्थहरू हुन्छन् । त्यसमा पनि पालि र संस्कृत भाषामा छुट्टाछुट्टै छन्। थेरवादी सम्प्रदाय पालि भाषामा रहेको त्रिपिटक मान्छन् भने बौद्धधर्मीका अन्य सम्प्रदायमा संस्कृत भाषाका त्रिपिटक ग्रन्थ प्रचलित छन्। महायानी सम्प्रदायका प्रायः साहित्यहरू संंस्कृत भाषामा पाइन्छन्। बौद्ध साहित्यमा त्रिपिटक बाहेक पछि अन्य आचार्यहरूले लेखेका ग्रन्थहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। बुद्ध वचनको आधारमा आचार्यहरू- नागार्जुन, मैत्रेयनाथ, असंग, बसुबन्धु, दिग्नाग, धर्मकीर्ति आदिले महत्वपूर्ण ग्रन्थ लेखेका छन्, जसको आधारमा बौद्ध धर्म-दर्शनको अध्ययन र अभ्यास अझ् विस्तृत रूपमा विकास हुनाका साथै विभिन्न सम्प्रदायको प्रवर्तन पनि भयो।

यस विषयमा विदेशमा बस्ने नेपाली मात्रै नभएर स्वदेशमै रहेका नेपालीको ज्ञानको अवस्था र स्तर पनि उस्तै छ। आफ्नै सम्प्रदायविशेषमा सीमित कतिपय बौद्ध विद्वान्हरूमा समेत बुझाइको समस्या रहेको पाइन्छ। विद्यालयस्तरको शिक्षामा नै आधारभूत जानकारी दिनसकेको भए बुद्ध र बुद्धको शिक्षा एवं दर्शनका बारेमा नेपालीहरू यसरी अनभिज्ञ रहनुपर्दैनथ्यो। यहाँ, त्यस्तै केही प्रसङ्गहरूको चर्चा गरिंदैछ, जसको आधारमा पाठ्यपुस्तकमा बौद्ध विषयवस्तुलाई कसरी समेट्न सकिन्छ भन्ने मोटामोटी ज्ञान पाठ्यपुस्तक निर्धारण समिति, पाठ्यपुस्तक लेखक तथा शिक्षकले लिन सक्छन्।
के हो बौद्ध झण्डा ?
२०८० माघको तेस्रो साता एउटा बौद्ध-यात्रीहरूको समूहसँग म लुम्बिनीमा थिएँ । समूहसँग रहेको बौद्ध झण्डा देखेर शैक्षिक भ्रमणमा आएको कुनै विद्यालयका एक नेपाली विद्यार्थीले सोधे, ‘हजुुरहरू कुन देशबाट आएनुभएको हो ?’ ती छात्रले हाम्रो बौद्ध झ्ण्डालाई कुनै एक देशको राष्ट्रिय झण्डा भन्ने ठानेछन् ।
अठारौं शताब्दीमा भारत, श्रीलंका, बर्मा लगायतको भूक्षेत्रमा अंग्रेजहरूको आधिपत्य कायम भएपछि पश्चिमाहरूको परिचय बौद्ध धर्म तथा संस्कृतिसँग हुनपुग्यो। यस भूभागमा पुरातात्विक उत्खनन् गर्दा अनेक प्राचीन बौद्ध स्थलहरूका साथै विविध पुरावस्तुहरू प्राप्त भए। यसबाट बौद्ध धर्मको अध्ययन र अनुसन्धानमा थप जागरण पैदा भयो । यसै क्रममा अमेरिका लगायत विभिन्न देशका अध्येताले पनि यो क्षेत्रमा काम गर्न थाले। त्यसमध्ये एक हुन्, अमेरिकी अध्येता हेनरी स्टिल अल्कोट । श्रीलंकामा बौद्ध धर्मको अध्ययन गर्दागर्दै उनी आफैंले बौद्ध धर्म मात्रै अपनाएनन्; यसको प्रचारप्रसार तथा विकासका लागि भरमग्दुर काम पनि गरे । विश्वका विभिन्न बौद्ध समाजसँग अल्कोटको सम्पर्क व्यापक थियो। त्यही संगत र अनुभवका आधारमा उनले विश्वभरका बौद्धहरूका लागि एउटा साझ झ्ण्डा बनाउने परिकल्पना गरे। उनले विभिन्न पाँच वटा रंग भएको झ्ण्डा बनाएर प्रयोगमा ल्याए । प्रयोगमा आएको झ्ण्डै ६७ वर्षपछि; सन् १९५२ मा विश्व बौद्ध संगठनबाट त्यसलाई अन्तर्राष्ट्रिय बौद्ध झ्ण्डाको रूपमा स्वीकार गरियो।

बौद्ध झ्ण्डामा पाँच वटा रंग (नीलो, पहेंलो, रातो, सेतो र केशरी) लाई ठाडो पारी पुनः तिनै पाँच वटा रंगलाई सानो सानो आकारमा तहतह गरी राखिएको हुन्छ। (कतै कतै कलेजी रंगलाई पनि प्रयोगमा ल्याइएको पाइन्छ।) यी पाँच वटा रंगले बुद्ध र बौद्ध धर्मका विभिन्न पक्षलाई संकेत गर्दछन्। यो झ्ण्डा बौद्ध धर्ममा सबै सम्प्रदाय र समुदायको साझ हो । बौद्ध झ्ण्डाको प्रयोग- बौद्ध स्थलहरू, घरको छत तथा बौद्ध यात्रा आदिमा गरिन्छ ।
लुम्बिनीको अशोक स्तम्भ र अभिलेख
केही वर्षअघिको कुरा हो, काठमाडौंको एक विद्यालयका शिक्षक र विद्यार्थीको समूह लुम्बिनी भ्रमणमा थिए। बुद्धको जन्म सम्बन्धी विवरण भएको अभिलेख सहितको अशोक स्तम्भ देखाएर एक विद्यार्थीले शिक्षकसँग सोधे। शायद, शिक्षकलाई कुनै जानकारी रहेनछ । त्यसैले ‘अँ, होला नि केही, हेर न’ भन्दै टारे। लुम्बिनीको बढ्दो प्रचारप्रसारसँगै विभिन्न ठाउँबाट लुम्बिनीमा पुग्नेहरूको संख्या बढ्दो छ। आगन्तुकहरूसँग कुरा गर्दा के थाहा हुन्छ भने- उनीहरू पर्याप्त त के, सामान्य जानकारी पनि नपाइकन त्यहाँबाट फर्कने गर्छन्। र, कतिपयले अनुमानित वा गलत जानकारी समेत लिएर फर्कने गर्दारहेछन्।
लुम्बिनीको यो अशोक स्तम्भ भेटिनु र त्यसमा भएको अभिलेख पढिनुअघिसम्म गौतम बुद्धको जन्मस्थल लुम्बिनी भनेर थाहा भए पनि त्यो ‘लुम्बिनी’ कहाँ पर्दछ भन्ने कुरा कसैलाई थाहा थिएन । सन् १८९६ को डिसेम्बरतिर जर्मन पुरातŒवविद् ए. फुहररले अशोक स्तम्भ र यसमा रहेको अभिलेख भेट्टाएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्यत्र होइन, यहीं अर्थात् नेपालमा रहेछ भनेर पत्ता लाग्यो । मौर्य सम्राट अशोक आफ्नो राज्याभिषेकको २०औं वर्षमा लुम्बिनी आएको, ‘हिदबुध जाते शाक्यमुनि ति’ अर्थात् शाक्यमुनि बुद्धको जन्म यहाँ भएको लगायतका जानकारीहरू यहाँ खडा रहेको स्तम्भको अभिलेखमा उल्लेख छ ।
नेपालमा बौद्ध धर्म
बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरी धर्मोपदेश दिन थालेदेखि नै बौद्ध धर्मको प्रचारप्रसार थालनी भयो भन्न सकिन्छ । त्यही बेला बुद्धको शिक्षा काठमाडौं उपत्यकामा पनि पुग्यो । समयको उतारचढावमा नेपालतथा भारतका धेरैजसो भूभागबाट बौद्ध धर्म हराए पनि काठमाडौं उपत्यकामा भने यसले निरन्तरता पाउँदै ग¥यो । बुद्धको जीवनकालदेखि आजपर्यन्त बौद्ध धर्मले निरन्तरता पाइरहेको ठाउँ विश्वमा काठमाडौं उपत्यका मात्रै हो भन्ने थाहा पाउँदा धेरैलाई अनौठो लाग्न सक्छ; तर यो नै यथार्थ हो ।
राणा कालमा बौद्ध गतिविधिमाथि नै प्रतिबन्ध लगाउने काम भएको थियो । कतै सीमित क्रियाकलाप गर्दा पनि राजद्रोह अन्तर्गत कारबाही गरिन्थ्यो । बौद्ध भिक्षुत्व ग्रहण गरेको र उपदेश दिएको कसूरमा भिक्षुहरूलाई देश निकाला गरिन्थ्यो । परिणामतः नेपालमा बुद्ध र बौद्ध धर्म सम्बन्धी ज्ञानको कमी कुन हदसम्म पुग्यो भने, राज्यको आँखामा यो विदेशी धर्म थियो। राणा शासनको अन्त्यपछि पनि बौद्ध धर्मको प्रचारप्रसार र प्रकाशनको काम परम्परागत बौद्ध समाजमा नै सीमित रह्यो । बौद्ध ग्रन्थको पठन परम्परागत बौद्ध विशेषतः नेवार समुदायमा नै केन्द्रित रह्यो । नेपालमा गैर बौद्धले पनि बुद्ध र बौद्ध धर्म–दर्शनमा चासो राखेर अध्ययन गर्न थालेको चार दशक मात्रै भयो । अहिले लुम्बिनी बौद्ध विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसहरूमा बौद्ध शिक्षा र दर्शनको प्राज्ञिक अध्ययन–अध्यापन गराइन्छ भने त्यसरी नै व्यक्तिगत रुचि अनुसार अनेकौं ठाउँहरूमा अनौपचारिक अध्ययन-अध्यापन गराइन्छ ।
बुद्ध महात्मा होइनन्
शिक्षाको जग भन्नु विद्यालय स्तर नै हो । गौतम बुद्ध र बौद्ध शिक्षाका पाठ नेपालमा विद्यालयको पाठ्यक्रममा समावेश हुँदै नभएका पनि हैनन् । तर त्यस्ता पाठको गुणस्तर भने टिठलाग्दो छ । चार दशकअघि समाविष्ट पाठ्यसामग्रीलाई नै भाषा शैलीमा थोरै परिवर्तन ल्याई अझ्ै पनि निरन्तरता दिइराखेको पाइन्छ । बुद्धलाई मन नपराउने एक जना मान्छेले बुद्धलाई गाली गर्ने तर बुद्धले कुनै जवाफ नफर्काउने र पछि पश्चात्ताप गरी त्यही मान्छे माफी माग्न आउने विवरणको पाठमा समाविष्ट घटना एउटै नभएर विभिन्न ठाउँमा बेग्लाबेग्लै प्रसङ्गमा भएका घटनाहरू हुन् । तर तिनलाई तोडमोड गरी पाठ्यपुस्तकमा एउटै बनाइएको छ । यी घटनाहरू काल्पनिक नभएर वास्तविक भएका कारण यसरी तोडमोड गर्नु उचित हुँदैन । पाठ्यपुस्तकका लेखकमा बौद्ध साहित्य सम्बन्धी ज्ञानको कमीका कारण यस्तो भएको बुझन कठिन छैन ।
ठूलो व्यक्तित्वलाई महात्मा भन्ने गरिन्छ तर बौद्घहरू बुद्घलाई महात्मा मान्दैनन्। उनीहरु आत्मा भन्ने कुराको अस्तित्व नै स्वीकार गर्दैनन्। बौद्घ दर्शनको पहिचान नै अनात्मवादी हो।
पाठ्यपुस्तकका लेखकहरूले आफ्नो छिपछिपे बुझइ अनुसार बुद्धलाई चिनाउन खोज्दा बुद्ध सम्बन्धी भ्रम छरिन पुगेको छ । कतिपय सन्दर्भमा बुद्ध र बौद्ध शिक्षालाई गैर–बौद्ध दृष्टिकोणबाट हेर्न पुुग्दा अर्थको अनर्थ पनि भएको पाइन्छ । उदाहरणका लागि; नेपाली समाजमा ठूलो व्यक्तित्वलाई महात्मा भन्ने गरिन्छ तर बौद्धहरू बुद्धलाई महात्मा मान्दैनन् । उनीहरू त आत्मा भन्ने कुराको अस्तित्व नै स्वीकार गर्दैनन् । बौद्ध दर्शनको पहिचान नै अनात्मवादी हो । यसरी नै; अन्य समुदायमा ईश्वर र भगवान्को अर्थ एउटै जस्तो हुन्छ । तर बौद्धहरू बुद्धलाई ईश्वर वा ईश्वरको अंश मान्दैनन्; बुद्धलाई भगवान् शब्दले नै सम्बोधन गर्नुपर्ने मान्यता पाइन्छ । सम्पूर्ण राग, द्वेष, मोह, तृष्णालाई भग्न गरिसकेकालाई मात्र भगवान् भन्न सकिने र आफूले त्यस्तो गरिसकेको हुँदा भगवान् भन्न सकिने स्वयं बुद्धको भनाइ अनुसार बौद्धहरूले बुद्धलाई भगवान् भन्ने गरेको पक्ष ध्यानयोग्य छ ।
विद्यालयमा पढाइने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको प्रभाव दूरगामी र प्रभावकारी हुन्छ । पाठ्य सामग्रीमा गल्ती हुनु भनेको केही पुस्तालाई नै गुमराहमा पार्नु हो । नेपाली समाजमा बुद्ध र बौद्ध–शिक्षाका बारेमा ज्ञानको स्थिति नाजुक पाइनुको एउटा कारण यो पनि हो । बुद्ध र बुद्ध शिक्षाको बारेमा कुरा गर्दा आम नेपालीहरू दुुई–चार वाक्य बोल्न त बोल्छन् तर अपूरो, अधुरो तथा गल्ती बोल्छन् । नेपाली समाजमा बुद्धलाई ‘शान्तिको दूत’ भनेर चिनाउने गरिएको छ । तर बुद्ध आफूले अभ्यास गरेर जुन ज्ञान प्राप्त गरे, त्यही ज्ञान अरूलाई बाँडेका हुन् । उनी कसैको सन्देशवाहक नभएका कारण ‘शान्तिदूत’ भन्नु गल्ती हुन्छ । त्यस्तै; बुद्धको शिक्षा भनेर, ‘प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, झ्ूटो नबोल्नु, व्यभिचार नगर्नु, जाँडरक्सी नखानुु’ आदि भनेर पञ्चशीलका कुरा सिकाउने गरिन्छ । तर वास्तविकता के हो भने, यस्तो शिक्षा बौद्ध धर्ममा मात्रै नभएर अन्य धर्म–सम्प्रदायले पनि दिन्छन् । यस्ता नैतिक, सामाजिक सदाचारका कुरामा कुन धर्मले विमति राख्छ र ? परिणामतः अन्य धर्म–सम्प्रदायका बालबालिका र आम मानिसमा बौद्ध शिक्षा पनि उस्तै त हो नि, किन थप पढ्नुु प¥यो ? भन्ने बुुझइ झङ्गिन पुग्छ ।
विज्ञानदेखि पृथक् होइन बुद्ध शिक्षा
बुद्ध र बुद्धको शिक्षा आस्था, विश्वास वा परम्परामा आधारित हुनुहुँदैन । बुद्धका विचार र शिक्षामाथि परीक्षण गर्न सकिन्छ । ‘धर्म भनेको व्यक्तिकोे आस्थाको कुरा हो, यसमाथि प्रश्न गर्नु हुँदैन, यो छलफलको विषय पनि होइन र परम्पराको विरुद्ध जाँदा पाप लाग्छ’ भन्ने खालको दृष्टिकोण गौतम बुद्धको शिक्षाले दिने होइन । बौद्ध धर्मले स्वतन्त्र रूपमा चिन्तन तथा अभ्यास गर्न भन्दछ । ‘कुनै ग्रन्थमा लेखिएको वा कसैले भनेको भरमा विश्वास गरी त्यसको भावभक्ति ग¥यो भने मात्रै धर्मलाभ हुन्छ, नत्र पाप लाग्छ’ भन्ने मान्यता बुद्धको शिक्षा अनुकूल होइन; विपरीत चाहिं हो । यस धर्ममा कुनै पनि विषयमा चिन्तनमनन गर्न जोड दिइन्छ । एक्लैको चिन्तनमनन बाहेक जिज्ञासु तथा विज्ञहरूका बीच हुने छलफल ‘धम्मसाकच्छा’ लाई पनि त्यहाँ प्रोत्साहित गरिन्छ । यसलाई बौद्ध समाजको ‘आदर्शन’ अभ्यास पनि मानिन्छ । बुद्धले आफ्नो शिक्षाको भरपूर मात्रामा परीक्षण होस् भनेर ‘सुनारले सुन जाँचे जसरी जाँचेर ठिक लाग्यो भने मात्रै अपनाउनु तथा नलागे नअपनाउनु’ भनेको कुरा प्रसिद्ध नै छ । यो प्रसंग ‘कालामसूत्र’मा पढ्न पाइन्छ ।
अल्वर्ट आइन्स्टाइन, बर्टेन्ड रसेल लगायतका वैज्ञानिक तथा दार्शनिकहरूले आधुनिक विज्ञानसँग सबैभन्दा नजिकको धर्म वा शिक्षा भनेर बौद्ध धर्मको प्रशंसा गरेको समयभन्दा पनि अघि बढेर अहिले यस क्षेत्रको निकै गहन अध्ययन–अनुसन्धान भइसकेको छ । बौद्ध धर्म वा शिक्षाको अभ्यास पक्षको रूपमा रहेको ‘ध्यान’ को विषयमा वैज्ञानिक प्रयोगशालामा समेत अनुसन्धान हुँदैछ; जसबाट ‘न्यूरो साइन्स’ ले फड्को मार्ने अपेक्षा छ । यसरी नै, आधुनिक विज्ञानको ठूलो उपलब्धि मानिने ‘साइकोलोजी’ का अध्येताहरू बौद्ध दर्शनको ‘अभिधम्म’ प्रति नतमस्तक छन् । बुद्धको गहनतम शिक्षा भनेको मनको विश्लेषण हो । यसले मानव लगायत समस्त प्राणीको जीवनप्रवाह भौतिकवादी जीवन दर्शनले भन्ने गरे जस्तो यही एक जुनीमा मात्रै सीमित छैन भन्ने जनाउँछ ।
इतिहाससिद्ध पाठ
विद्यालयको पाठ्यक्रमबाट विद्यार्थीहरूलाई बुद्ध चिनाउँदा दुुई पक्षमा ध्यान दिनुपर्दछ । गौतम बुद्धको जन्म इ.पू. ५६३ मा लुम्बिनीमा वैशाख पूर्णिमाको दिन भएको थियो । त्यो लुम्बिनी भौतिक रूपमा खोइ त भनेर प्रश्न उठ्दा सन् १८९६ अघिसम्म यो हराइरहेको अवस्थामा थियो । तर चौथौं र सातौं शताब्दीमा लुम्बिनी पुगेका चिनियाँ यात्रीहरू फाहियान र ह्वेनसाङको वृत्तान्तको आधारमा खोजी कार्य गर्दा लुम्बिनी लगायत अन्य ठाउँहरू भेटिए । त्यहाँ भेटिएका पुरातात्विक अवशेषले गर्दा बुद्ध अरू जस्तो पौराणिक र धार्मिक पात्र मात्र नभएर ऐतिहासिक व्यक्तित्व भएको सिद्ध भयो । तसर्थ, बुद्धको जीवनसँग सम्बन्धित कुराहरूलाई ऐतिहासिक तथा पुरातात्विक प्रमाणको कसीमा राखेर मात्र विद्यालयका पाठ्यपुस्तकमा समावेश गराइनुपर्दछ ।
‘बुद्घ नेपालमा जन्मेका हुन्’ भन्ने एउटा ऐतिहासिक तथ्य हो भने, सबै बुद्घ नेपालमा जन्मेका होइनन् भन्ने अर्को तथ्यबारे अनभिज्ञ हुनुहुँदैन। गौतम बुद्घ भनेर अन्य बुद्घहरूको चित्रकला तथा मूर्ति राख्नु वा देखाउनु पनि गल्ती हो।
बुद्धलाई कोरा भौतिकवादी दृष्टिकोणबाट मात्रै हेर्ने प्रचलन पनि छ । तर यो दृष्टिकोण पूर्ण होइन । यसमा पूर्वजन्म र पुनर्जन्मको पनि कुरा आउँछ । बुद्धले जन्म र मृत्युको शृङ्खलालाई दुःखको रूपमा परिभाषित गरेका छन् । सबै कुरा अनित्य छन्, कुनै पनि कुरा स्थायी हुँदैन र परिवर्तन भइरहेको हुन्छ भनेका छन् । ‘हेतुु प्रत्यय’ले हरेक कुुराको उत्पत्ति र विनाश भइरहेको हुन्छ । यसअनुसार निश्चित साधना गरेपछि दुःखको पनि अन्त्य हुने गरी जन्म–मृत्युको कारणलाई नै नष्ट गर्न सकिन्छ । अजरअमर भनिने आत्मा र परमात्मालाई बुद्ध नकार्छन् । बुद्धको विचारमा यो जीवन र जगत कुनै ईश्वर वा परमसत्ताले सृष्टि गरेको नभई हेतुप्रत्यय (कार्यकारण) ले उत्पत्ति भएको हो । तसर्थ विद्यार्थीलाई सोही अनुसारको शिक्षा दिनुपर्दछ । यसरी नै बुद्धको अर्को शिक्षा कर्मसिद्धान्त हो । मान्छेले जस्तो कर्म ग¥यो त्यस्तै फल पाउँछ । कर्म गर फलको आशा नगर भन्ने मान्यताको विपरीत बुद्धले फलको आशा गरेरै कर्म गर्न र राम्रो फल पाउनका लागि राम्रो कर्म गर्न उत्प्रेरित भइरहने शिक्षा दिएका छन् ।
हिनयान र महायान
बौद्ध धर्ममा हिनयान र महायान नामका दुई प्रमुख यान (यान भनेको बाहन (भेहिकल) हो, र यहाँ सम्प्रदायको रूपमा पनि प्रयुक्त हुन आयो) छन् । यस सम्बन्धी सामान्य जानकारीको अभावमा गैरबौद्ध क्षेत्रमा मात्रै नभएर बौद्ध समाजमै पनि ठूलो भ्रमले घर गरेको पाइन्छ । तसर्थ यसबारेमा सामान्य जानकारी राख्नु नितान्त जरूरी छ । शीलका रूपमा रहेका नैतिक कुराहरू बाहेक बुद्धको मुख्य दार्शनिक शिक्षा जन्म र मृत्युरूपी दुःखको शृंखलालाई तोड्नु तथा जन्म र मृत्युको भवचक्रबाट उन्मुक्ति पाउनु हो । निश्चित साधना गरी श्रोतापन्न (धर्मको श्रोतमा चित्त लागिसकेको र अब विचलनको सम्भावना नरही सात जन्ममा निर्वाण लाभ गर्ने अवस्था), सकृदागामी (श्रोतापन्न व्यक्तिले थप साधना गरी प्राप्त गर्ने भूमि र यस्तो व्यक्तिले अर्को जन्ममा निर्वाण लाभ गर्ने हुन्छ), अनागामी (अब अर्को कुनै लोकमा जन्म लिन जानु नपर्ने तर केही साधना बाँकी रहेको अवस्था) भई अर्हत् (अनागामीसँग बाँकी रहेको रुपराग, अरुपराग, मान, औद्धत्य र अविद्यालाई छेदन गरी सबै दुःखस्कन्ध हटाई निर्वाण लाभी हुनु अर्थात् अब पुनर्जन्म भई पुनःपुनः दुःखमा अल्झ्रिाख्नु नपर्ने अवस्था) ।
पद लाभ गरी मुक्त हुने लक्ष्य राख्नेलाई हिनयान भनिन्छ । तर महायानीहरू हिनयानमा नै सन्तुष्ट भएर बस्दैनन् । अर्हत् हुने हैसियत राखिसकेर पनि त्यसलाई स्थगन गरी बोधिचर्यातिर लाग्ने बोधिसत्वयानलाई आदर्श मान्ने र सोही अनुसार आफूहरू पनि लाग्ने अभ्यास गर्नेहरू महायानी हुन् । बोधिसत्व भई सम्पूर्ण साधना पूरा गरेपछि अन्ततः उनीहरू गौतम बुद्धकै स्तरका बुद्ध हुन्छन्, जसलाई ‘सम्यक्सम्बुद्ध’ भनिन्छ । अर्हत् मात्र वा सम्यक्सम्बुद्ध दुई स्थितिको प्राप्तिसँग सम्बन्धित अभ्यास वा पद्धति भेद नै हिनयान र महायान हो ।

यही भेद नबुुझ्ेर पनि कतिपय बौद्धहरू आफूलाई हीन भन्यो वा होच्यायो भनेर चित्त दुःखाउने र कतिपय अवस्थामा गालीगलौजमा उत्रने तथा रनभुल्लमा पर्ने गरेको पाइन्छन् । महायानीहरूले पनि आफूहरू ‘महा’ अर्थात् ठूलो भन्दै घमण्ड गर्ने र हिनयानीहरूलाई हेय दृष्टिले हेर्ने गल्ती नगरेको पनि होइन । हिनयान र महायानलाई दुुई बौद्ध सम्प्रदाय भनेर बुझनु पनि गल्ती नै हो । बरु पछि विकास भएका जम्मै बौद्ध सम्प्रदाय तथा उपसम्प्रदायहरू हिनयान वा महायान अन्तर्गत हुने कुरालाई ध्यानमा राख्न सकियो भने बौद्ध रूपरेखालाई सहज रूपमा बुझन सकिन्छ ।
सबै बुद्ध गौतम बुद्ध होइनन्ः स्वयम्भू महाचैत्यको पूर्वतर्फको प्रवेश विन्दुमा अवस्थित अक्षोभ्य बुद्ध (बायाँ) र रत्नसम्भव बुद्ध ।
बौद्ध नै भए पनि यसका कला, साहित्य, संस्कृति, मूर्ति, पूजापाठ लगायत कुरामा पाइने व्यापक विविधतालाई बुझन हिनयान र महायानको भेद बुझनु अनिवार्य हुन्छ। कतिपय ग्रन्थ, अभ्यास, पूजापाठ तथा मूर्तिहरू एकअर्कोसँग सम्बन्धित हुुँदैनन्। उदाहरणका लागि आदिबुद्ध, पञ्चबुद्ध, तारा, अवलोकितेश्वर, डाकिनी लगायतका विषयवस्तु महायानका हुन्। ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने एउटा ऐतिहासिक तथ्य हो भने, सबै बुद्ध नेपालमा जन्मेका होइनन् भन्ने अर्को तथ्यबारे अनभिज्ञ हुनुहुँदैन। पञ्चबुद्ध अन्तर्गतका वैरोचन, अक्षोभ्य, रत्नसंभव, अभिताम र अमोघसिद्धि नामका बुद्धहरू कुनै ठाउँविशेषमा जन्मेका हुँदैनन्। यो कुरालाई नबुझेर नेपालबाट प्रतिनिधित्व गर्ने कतिपय प्राज्ञिक तथा बौद्धिकहरूले नै पनि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरूमा असहज वातावरण सिर्जना गरिरहेका हुन्छन् । गौतम बुद्ध भनेर अन्य बुद्धहरूको चित्रकला तथा मूर्तिराख्नु वा देखाउनु पनि गल्ती हो । उदाहरणका लागि, जापानको कामाकुरामा रहेको विशाल बुद्धमूर्ति अमिताभ बुद्धको हो भने, केही दशकअघि तालिवानहरूद्वारा बम विस्फोट गरी नष्ट गरिएको बामियानका बुद्धको नाम वैरोचन हो। यसरी नै काठमाडौंको स्वयम्भू महाचैत्यस्थित बसिरहेका विशाल बुद्धमूर्तिहरू गौतम बुद्धका नभएर अक्षोभ्य तथा अन्य बुद्धका हुन् (हे. तस्वीर)। निकायभेद (सम्प्रदायहरूको आ-आफ्नै विशेषता) तथा विशेषताहरूको सामान्य जानकारी राख्दा पनि यी कुराहरूलाई सहज रूपमा छुट्याउन सकिने हुन्छ। रंग, शैली, मुद्रालगायत अन्य कुराको उपस्थितिको आधारमा यी भेदहरू छुट्याउने गरिन्छ । विद्यालय शिक्षाले यस कुरामा ध्यान दिनुपर्दछ।
किन बुद्ध शिक्षा ?
विद्यालयमा बुद्ध–शिक्षाको तात्पर्य बौद्ध धर्मको प्रचार होइन ।विद्यालय कुनै मतवादको प्रचार गर्ने थलो हुनुहुँदैन पनि। अझ् बुद्ध र बौद्ध धर्म-दर्शनका बारेमा सामान्य वा गहन जानकार भएकै आधारमा जो–कोही बौद्ध होइँदैन पनि । आस्था र त्यसअनुसार जीवन अवलम्बन गर्छु भनेर लाग्ने तथा विधिपूर्वक शरणागत गरेपछि मात्रै बौद्ध होइन्छ । बौद्ध धर्मावलम्बी नै हुने वा नहुने व्यक्तिविशेषको छनोटको कुरा हो।
बौद्ध धर्ममा ‘शिक्षा’ र ‘धर्म’ शब्दलाई पर्यायवाचीकै रूपमा प्रयोग गरेको पाइन्छ । व्यावहारिक बुझइका लागि अन्यले बुद्ध शिक्षा शब्दको प्रयोग गरे पनि बौद्धहरूले त्यसैलाई धर्मको अर्थमा पनि प्रयोग गरेको भन्न सकिन्छ। नेपाललाई बुद्धसँग जोडेर विश्वलाई चिनाउँदा चाँडै चिनिने मात्रै नभएर हार्दिकता पनि पाउने अवस्था एकातिर छ भने नेपाली समाजले बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा अधुरो र अपूूरो तथा उल्टोपाल्टो बुुझ्रिहेको अवस्थामा यस सम्बन्धी औपचारिक तथा अनौपचारिक शिक्षाको थप महत्व छ। विश्व मञ्चमा नेपालले ‘सफ्ट पावर’ बाट आफ्नो उपस्थिति देखाउनुपर्ने हुन्छ। नेपालका लागि एउटा जल्दोबल्दो ‘सफ्ट पावर’ भनेको बुद्ध र बुुद्धको शिक्षा हो । बुद्धको जन्मभूति लुम्बिनी, गृहनगर कपिलवस्तु र अन्य कतिपय क्षेत्र पनि नेपाली भूभागमा नै पर्नु तथा बौद्ध इतिहास र परम्परा पनि नेपालमा अद्यपि पाइनु विश्वको ध्यान आकर्षित गर्न सक्ने गज्जबको ‘सफ्ट पावर’ हो । गौतम बुद्ध र बुद्ध शिक्षाका मामिलामा छिपछिपे ज्ञान वा अज्ञानता लिएर बस्दा स्वदेश तथा विदेशमा नेपालले आफ्नो ‘सफ्ट पावर’लाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्दैन भन्ने कुरा ध्यानमा राख्नुपर्दछ ।
शिक्षक मासिक, २०८१ भदौ अंकमा प्रकाशित ।



