सुन्दर बाघका मीठा कुरा !
चारैतिर सुनसान। घनघोर जंगल। बीचबाट बग्ने पटुकुलवा खोलाको अग्लो पानी बगिरहेकै ठाउँमा सुकेका काठऔदाउरा र झरपातमा छेकिएर तस्वीर खिच्न बसेका छन्। दुई वटा क्यामेरा जडित ट्राईपोर्ट आधी पानीमै छन्। आफू पनि घुँडाघुँडा पानीमा बसेका छन्। ३ दिनसम्म, बिहान ७ बजेदेखि साँझ् ६ बजेसम्म कुर्दा पनि केही भेटिएन। तर निराश भएनन्। चौथो दिन पनि त्यसैगरी बसेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिण, सामुदायिक वन हुँदै बग्ने पटुकुलुवा खोलाको सतह मध्याह्नमा विस्तारै बढ्दै गयो। आकाश कालो भयो, बादल गर्जिन थाल्यो। पानी उनको कम्मर कम्मर पुग्यो । ट्राईपोर्ट पूरै डुबेर क्यामरा छुन थाल्यो । बल्ल उनी २०/२२ लाख रुपैयाँ पर्ने क्यामरा र ट्राईपोर्ट टाउकोमा राखेर बाहिर निस्किए।
यसरी एउटा तस्वीर खिच्न कति मिहिनेत र संघर्ष गर्नुपर्छ भन्ने दृष्टान्त बनेको छ यी ६४ वर्षे ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको लगन र परिश्रम। उनी त्यहाँ बाघको डमरुका तस्वीर खिच्न बसेका हुन्। एउटा बघिनी ५ वटा डमरु लिएर त्यहीं घुमिरहेको सूचना पाएपछि उनी काठमाडौंबाट बर्दिया पुगेका थिए।
बाघको वास्तविक प्रकृति आम मानिसहरूलाई चिनाउन र बुझउन चुङ्बाले गरेको मिहिनेत र संघर्षको यो एउटा सानो उदाहरण मात्र हो। बाघबारे राम्रो धारण बनाउन बाघका विभिन्न ‘एंगल’का तस्वीर खिच्ने उनको सोख छ। उनी भन्छन्, “बाघबारे जनमानसमा राम्रो धारणा छैन। धेरैले यसलाई हिंस्रक भन्छन्। नराम्रो दृष्टिले व्याख्या गर्छन्। बदनाम गर्छन्। तर बाघले मानिसलाई हत्तपत्त आक्रमण गर्दैन। एक्कासी जम्काभेट हुँदा पनि सकेसम्म बाटो फेरेर हिंड्छ।” चुङ्बा थप्छन्, “बाघ बूढो, कमजोर र बिरामी भएपछि नरभक्षी हुन सक्छ। जब ऊ आफ्ना प्राकृतिक शिकारलाई मार्न सक्दैन अनि बस्ती छेउका वनमा बस्न थाल्छ । त्यस्तो अवस्थामा मानव र बाघ बीच कहिलेकाहीं द्वन्द्वको अवस्था आउँछ।”
.jpg)
चुङ्बाको क्यामेरामा हेर्दै बर्दिया राष्ट्रिय निकुञ्जका ३ वटा कनिष्ठ बाघ ।
सोलुखुम्बुमा जन्मे-हुर्किएका चुङ्बा बाघबारे भन्दै जान्छन्- “बाघ सबैका लागि असल साथीको भूमिकामा छ । यो छाता प्रजातिको वन्यजन्तु हो । जसरी छाताले घामपानीबाट जोगिन सहयोग गर्छ, त्यसरी नै यसले हाम्रो पारिस्थितिक प्रणालीलाई रक्षा गर्छ; यो समाजोपयोगी पनि छ । यसले पर्यटन प्रवद्र्धनमा सघाउँछ । कृषकदेखि पर्यटन व्यवसायी र प्रकृतिको असल साथी पनि हो यो । यसले रोजगारी बढाउँछ, आयआर्जनका अवसर सृजना गर्छ । उत्पादन बढाउँछ । वातावरण स्वच्छ र स्वस्थ राख्न पनि मद्दत गर्छ।”
वन्य जीवका फोटोग्राफर चुङ्बा शेर्पा भन्छन्- “बाघ नेपालकै एउटा अत्यन्त आकर्षक र सुन्दर जनावर हो । यो एकदमै शान्तिप्रिय, बलिष्ठ अनि भद्र र लजालु हुन्छ, जति हेरे पनि हेरुँहेरुँ लाग्छ। मनै अघाउँदैन। बाघ पर्यटनबाट हामीले मनग्ये लाभ लिन सक्छौं । बालीनाली हानि गर्ने हरिण, मृग, जरायो, बाह्रसिंगा, चित्तल, लगुना, बँदेल आदि बाघका मुख्य आहार हुन्, यिनलाई खाएर बाघले अप्रत्यक्ष रूपमा उब्जनी बढाउन मद्दत गरिरहेको हुन्छ । बिरामी, अशक्त र बुढाखाडा हरिण, मृग र जरायो लगायत जनावर खाएर वातावरणीय दुर्गन्ध र रोगव्याधी फैलने अवस्था अन्त्य गर्छ । समग्रमा पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्छ।”

६ वर्षदेखि ‘वाइल्डलाइफ फोटोग्राफी’ गरिरहेका चुङ्बाले बाघका रोमाञ्चक र मनमोहक तस्वीर खिचेका छन् । उनी पुग्ने संरक्षण सम्बन्धी हरेक कार्यक्रममा तस्वीर मार्फत उनी बाघ चिनाउने गर्छन्। महीनामा दुई तीन पटक उपत्यका र बाहिरका स्कूल–कजेलमा बाघका कुरा गर्न पुग्छन् । सानो उमेरका बालबालिकालाई बाघको फाइदा र महत्व बुझाउँदा उनीहरूले अरूभन्दा राम्ररी बुझने उनको अनुभव छ । यसले बाघको संरक्षणमा पनि टेवा पुग्ने उनको ठम्याइ छ। सोलुखुम्बु, खुम्बु–पासाङ ल्हामु गाउँपालिका-२, चौंरीखर्कका चुङ्बा शेर्पाको नाम पछिल्लो समय नेपालको ‘वाइल्डलाइफ फोटोग्राफी’मा उज्यालिंदै गएको छ।
६५ वटा बाघ देखे, ४६ वटाको तस्वीर खिचे
चुङ्बा बाघको तस्वीर खिच्न भनेपछि हुरुक्क हुन्छन्। त्यसनिम्ति जोखिम र चुनौती मोल्छन् । उनी भन्छन्— “बाघको तस्वीर खिच्न जाने भनेपछि मेरो सबै डर हराएर जान्छ । आँट आउँछ । मनमनै ‘एंगलिङ’ थालेर तस्वीर खिच्ने योजना गरिहाल्छु । ६ वर्षमा चितवन, बर्दिया र शुक्लाफाँटामा ६५ वटा बाघ देखें, ४६ वटाको तस्वीर खिच्न भ्याएँ ।” उनले ड्रोनबाट पनि ७ वटा बाघका तस्वीर खिचेका छन् । त्यसमध्ये अधिकांश फरक फरक बाघ थिए । एउटा बाघलाई १५ मिनेटसम्म क्यामराको फ्रेमिङमा पारेका छन् । चितवनमा एकै पटक ४ वटा बाघको तस्वीर खिच्न पाउँदाको रोमाञ्चकता कहिल्यै भुल्दैनन् ।
बाघका तस्वीर खिच्न चुङ्बा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १५ पटक, बर्दियाको निकुञ्जमा १६ पटक र चितवन निकुञ्जमा ३५ पटक गइसकेका छन् । “आफूले खिचेको तस्वीर आफूलाई भन्दा अरूलाई राम्रो लाग्नुपर्छ । मैले खिचेको दुई वटा बाघका तस्वीर थिए । मलाई खासै राम्रो लागेको थिएन । तर पछि विज्ञबाट प्रशंसा पाउँदा दंग परें । बर्दियामा एउटा बघिनी नदी तर्दै थियो । त्यसको फोटो खिचें । त्यो फोटो हेरेर भर्खर डमरुलाई दूध ख्वाएर हन्टिङ (शिकार) मा जाँदै गरेको दुर्लभ अवस्थाको तस्वीर रहेछ भनेर विज्ञले भनेपछि म छाँगाबाट खसे जस्तै भएको थिएँ । त्यस्तै, अर्को बाघको नदीमा गजबले उफ्रेको तस्वीर उस्तै चित्ताकर्षक थियो ।”

चुङ्बाका तस्वीरले काठमाडौंस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग परिसरलाई सुन्दर बनाएको छ । बाघको राम्रो फोटो चाहिंदा अहिले धेरैले उनलाई नै खोज्छन्। वरिष्ठ वन्यजन्तु विशेषज्ञ हेमसागर बराल भन्छन्- “चुङ्बाले खिचेका तस्वीर शिक्षाप्रद र आकर्षक हुन्छन्। उनका तस्वीर हेरेर बाघको आनीबानी थाहा पाउन सकिन्छ। उनी बाघबारे सचेतना पैदा गर्ने एक असल अभिभावक बनेका छन्।”
आफूले पैसाको लागि मात्रै वन्यजन्तुको फोटोग्राफी नगरेको बताउने चुङ्बा भन्छन्- “वन्यजन्तु हेर्न विश्वकै खर्चालु पर्यटक लालायित हुन्छन्। म उनीहरूलाई आकर्षित गर्दै नेपाललाई विश्वकै पर्यापर्यटनको गन्तव्य बनाउन फोटोग्राफी गरिरहेको छु । अझ् विदेशी पर्यटक लाखौं खर्च गरेर बाघ मात्रै हेर्न पनि आउँछन्। बाघकै कारण विश्वमा नेपाललाई चिन्ने बढेका छन्। हामीले राम्ररी सदुपयोग गर्न सक्नुपर्छ। अब नेपालको बाघलाई ‘ब्रान्डिङ’ गरेर मार्केटिङ गर्न आवश्यक भइसकेको छ।” हुन पनि उनले खिचेका बाघ, चितुवा, चरा, वन्यजन्तु, हिमाल र ल्याण्डस्केपका सुन्दर तस्वीरहरू राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हल, पर्यटन बोर्ड, राष्ट्रिय निकुञ्ज विभाग र विभिन्न पोष्टर, ब्यानर, क्यालेण्डर आदिमा जताततै सुहाएका छन्।
स्कूल-स्कूलमा चुङ्बा
चुङ्बा शेर्पाको रुचि र ध्यानमा विदेशी पर्यटक मात्रै छैनन् । उनी नेपाली बालबालिका र विद्यार्थीलाई वन्यजन्तुको सुन्दर–संसारसँग परिचित गराउन पनि उत्तिकै खट्छन् । उनी विद्यार्थीलाई आफूले खिचेका बाघ–गैंडाका दुर्लभ तस्वीर देखाएर उनीहरूलाई रोमाञ्चित मात्रै गर्दैनन्, त्यस्ता फोटो खिच्ने कला सिकाउन पनि अघि सर्दछन्। उनले सार्स एजुकेशन फाउण्डेसन स्कूल, महेन्द्रनगर, कञ्चनपुरका कक्षा १० र ११ का विद्यार्थीलाई वन्यजन्तुको तस्वीर खिच्ने सीप सिकाइसकेका छन्। त्यहाँ उनले ७० जना विद्यार्थीलाई बाघले पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न खेल्ने भूमिका र समाजलाई गर्ने फाइदाबारे पनि जानकारी दिएका थिए। उखान टुक्का र प्रविधिमैत्री तरिकाको प्रस्तुति हुने भएकोले उनका कक्षा विद्यार्थीले चाख मानेर सुन्छन्। त्यस्तै, उनले काठमाडौं र कपिलवस्तुका विद्यालयमा पनि सयौं विद्यार्थीका निम्ति पर्यापर्यटन, चरा, वन्यजन्तु र फोटोग्राफीबारे कक्षा चलाइसकेका छन्। नयाँ विषयवस्तु र फोटो भिडियोको आकर्षणले गर्दा विद्यार्थी उनको कक्षामा रमाउने गरेका छन् । उनले खिचेका फोटा सबैका निम्ति चित्ताकर्षक हुन्छन्।
.jpg)
महेन्द्रनगर, कंचनपुरका विद्यार्थीलाई बाघ, चराचुरुङ्गी र अन्य वन्यजन्तुबारे जानकारी दिंदै चुङ्बा शेर्पा ।

‘रुम टु रिड’ले प्रकाशन गरेको ‘प्रकृतिका लय’ पुस्तकमा चुङ्बाका ७ वटा चरा र वन्यजन्तुका फोटो प्रकाशित छन् । बालबालिकालाई वन्यजन्तु र चरा चिनाउँदै महŒव बुझएर सचेतना गर्न यो पुस्तक प्रकाशन गरिएको हो ।
स्विट््जरल्याण्डको जुुरिचमा रहेको प्रकाशन कम्पनी भ्यान डोजबर्ग क्रियटिभ वक्र्सले चुङ्बाका हिउँचितुवाका तस्वीर राखेर पुस्तक प्रकाशन गरेको छ। स–साना बालबालिकामा लक्षित ‘के तपाईं स्नोलियोपर्ड हुनुहुन्छ ?’ भन्ने उक्त पुस्तक स्विट््जरल्याण्डका प्राथमिक विद्यालयमा सन्दर्भ र स्रोत–सामग्रीको रूपमा उपयोग गरिन्छ।
सेलिब्रेटीभन्दा कम छैनन्
एक करोड रुपैयाँ भन्दा बढीका ‘ग्याजेट’ अर्थात् क्यामेरा आदि उपकरण प्रयोग गर्ने चुङ्बा वन्यजन्तुको तस्वीर खिच्दाखिच्दै ‘सेलिब्रेटी’ सरह भइसकेका छन्। उनी फोटोग्राफी गर्न जहाँ पुग्छन्, त्यहाँको ल्याण्डस्केप, मनमोहकता र सुन्दरता सामाजिक सञ्जालमा पोष्ट गर्छन्। आफूले तस्वीर खिच्न गरेको धैर्य, संघर्ष र मिहिनेत पनि पोस्ट्याउँछन्। उनका हरेक गतिविधिमा युवादेखि पाकासम्मले नजर राख्छन्, मन पराउँछन् । कमेन्ट र लाइक गर्छन् । उनको फेसबुक पेजमा फलोअर्स १ लाख ५८ हजार छन्। त्यस्तै टिकटक फलोअर्स १ लाख ४० हजार छन्।
घरमै देखिन्छ नेपाल
फोटोग्राफर शेर्पाको घरका भित्तामा याक मुस्कुराइरहेको देख्न पाइन्छ । वन्यजन्तु र चरा आदिका तस्वीरले घर यसरी सजाएका छन्, जहाँबाट हिमालदेखि तराईसम्म हेर्ने ‘तिर्खा’ सजिलै मेटिन्छ । उनको एउटै घरमा पूरा नेपालको सुन्दरता र मोहकता भेटिन्छ । कोठामा राखेका कम्प्युटरमा पनि उस्तै महक थप्ने हिमाल, पहाड, तराई, वनजंगल, जनावर र चराका मनोरम तस्वीर संग्रहित छन् । काठमाडौंको धुम्बाराहीस्थित घरमा दुई घण्टामा पूरै नेपाल भ्रमण गराएर आनन्दित बनाउँछन् ।

फोटोको निम्ति साधना: जीवजन्तुको ध्यान नपर्ने गरी फोटो खिच्ने पोजिसनमा चुङ्बा ।
अहिले, नेपालमा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा पाइएका छन् । यहाँ १२८ वटा बाघ छन् । त्यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका छन् ।
(फोटोग्राफीका सौखिन पौडेल प्रकृति-मुखी पत्रकार हुन् ।)
शिक्षक मासिक, २०८१ कातिक अंकमा प्रकाशित ।



