विद्यार्थी परिचालनको प्रभावकारी काइदा स्कूलमा ‘इको-क्लब’

बालबालिकालाई ‘भविष्यको कर्णधार’का रूपमा तयार पार्न विद्यालयको भूमिका अहम् हुन्छ। विद्यालयको वातावरणले बालबालिकाका कलिला मस्तिष्कहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ। त्यसैले; बालबालिकाको उपस्थिति हुने विद्यालयको भौतिक, प्राकृतिक या सामाजिक र सांस्कृतिक वातावरण सकेसम्म सकारात्मक र अनुकूल हुनुपर्छ।

विश्वव्यापी तहमा सबैले चिन्ता गर्नुपर्ने वातावरणीय मुद्दाहरू अनेकन् छन्। उदाहरणका लागि, नेपाल र विश्वव्यापी रूपमै एउटा प्रमुख वातावरणीय चुनौती हो- फोहोरमैला उत्पन्न हुने दर तीव्र गतिमा बढ्नु र उत्पन्न भएको फोहोरमैलालाई उचित रूपमा व्यवस्थापन गर्न नसक्नु। फोहोरमैला सही व्यवस्थापन हुन नसक्दा वातावरणका सवै अवयव (जल, जमिन, वायु, सजिव तथा निर्जीव वस्तुहरू)मा प्रभाव परेको छ। उत्तरी महासागरमा तैरिएर बनेको १६ लाख वर्गकिलोमिटर (झन्डै १० वटा नेपाल बराबर) क्षेत्रको प्लास्टिक र अन्य फोहोरको टापुले त्यहाँ पाइने सामुद्रिक जीव तथा वनस्पतिमा गम्भीर असर पारेको छ। यसको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव मानव स्वास्थ्यमा पनि परिरहेको हुन सक्छ। फिलिपिन्सको मनिलामा प्लास्टिकजन्य प्रदूषणका कारण पानीका निकासहरू बन्द हुने र भौतिक संरचनाहरूमा असर पर्ने समस्या विकराल हुँदै गइरहेको छ। त्यस्तै, प्लास्टिकका सूक्ष्म कण वातावरणमा यत्रतत्र फैलिएर मान्छेको हर्मोन तथा पाचन प्रणालीमा असर पार्ने गम्भीर रोगहरू पैदा गर्न थालेको पाइएको छ। घानामा विद्युतीय (इलेक्ट्रोनिक) फोहोरबाट अर्बुद रोग (क्यान्सर) को प्रकोप दोहोरिने क्रम बढेर गएको छ। भारतको मुम्बईका फोहोर फालिने ठाउँ (ल्याण्ड फिल्ड) मा बारम्बार आगलागी हुने र आसपासका बासिन्दामा श्वास-प्रश्वास सम्बन्धी विभिन्न रोगहरू प्रकोपको रूपमा देखा पर्ने गरेका छन्। इथियोपियाको अदिस अबाबामा सन् २०२१ मा फोहोरको थुप्रोको पहिरोमा पुरिएर १०० जनाभन्दा बढी मान्छेको ज्यान गएको थियो। 

समाधान छन्
‘जहाँ समस्या त्यहाँ समाधान’ भने झैं  फोहोरमैलाको उचित व्यवस्थापनका राम्रा एवं अनुकरणीय नमूनाहरू पनि नभेटिने हैनन्। स्विडेनमा फोहोरमैला ऊर्जा निकाल्नमा प्रयोग गरी बाँकी रहेको करीब १ प्रतिशत फोहोर मात्र ‘ल्याण्डफिल’मा विसर्जन गरिन्छ। संयुक्त राज्य अमेरिकाको सानफ्रान्सिस्कोमा पनि ८० प्रतिशत फोहोर ल्याण्डफिल्डमा पठाइँदैन। त्यहाँ फोहोरमैला प्रशोधन गरेर पुनः प्रयोग योग्य वस्तु तथा कम्पोष्ट बनाउने गरिन्छ। दक्षिण कोरियामा फाल्नैपर्ने फोहोरको मात्र शुल्क लिने गरिन्छ, पुनः प्रशोधन हुने र मल बनाउन मिल्ने खालको फोहोर निःशुल्क सङ्कलन गरिन्छ। जर्मनीमा चक्रीय वित्तीय प्रणालीमा जोड दिंदै ‘पुनः प्रयोग, पुनः प्रशोधन र फोहोरको मात्रा घटाउने’ क्रियाकलापहरू गरिन्छ। त्यस्तै सिंगापुर, जापानको कामिकात्सु, स्लोभेनियाको राजधानी शहर, ताइवान, नेदरल्याण्ड्सको अम्स्टरडाम शहरहरूमा पनि फोहोर व्यवस्थापनका उत्कृष्ट नमूनाहरू देख्न सकिन्छन्। 


हाल आएको दिवा खाजाको कार्यक्रमका कारण स्कूलहरूले पैदा गर्ने फोहोरको मात्रा कैयन् गुणाले बढ्ने अनुमान गर्न सकिन्छ। हरेक स्कूलमा ‘इको–क्लब’ गठन गरी कार्य गर्दा त्यस्ता चुनौती सामना गर्न सकिन्छ।

नेपालको सन्दर्भमा पनि फोहोरमैला सहित अन्य वातावरणीय मुद्दाहरूलाई सही ढंगबाट सम्बोधन गर्न कुशल अनुसन्धानकर्ता, नेतृत्वकर्ता, लगावका साथ काम गर्न इच्छुक जनशक्ति र उच्च चेतनायुक्त नागरिक समाजहरू तयार गर्नु आवश्यक छ । यस्तो तयार गर्ने केन्द्रका रूपमा विद्यालयहरू जत्तिको उपयुक्त थलो अरू हुन सक्दैनन्।

यहाँ, हामीले फोहोरमैलाको उचित व्यवस्थापन सम्बन्धी समस्यालाई सम्बोधन गर्न प्रयासरत काठमाडौं उपत्यकाका विभिन्न १८ वटा मध्ये एउटा नगरपालिका– बूढानीलकण्ठ नपाका केही विद्यालयको संक्षिप्त चर्चा गर्दैछौं । बूढानीलकण्ठ नगरपालिकाले यहाँका सामु्दायिक विद्यालयहरूलाई ‘रमाइलो शुक्रवार’ अर्थात् ‘पुस्तक विनाको शुक्रवार’ कार्यक्रम अन्तर्गत विविध गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्ने नीति बनाएको छ । यस्तो कार्यक्रममा समावेश गरिन सक्ने विभिन्न मुद्दाहरूमध्ये वातावरण संरक्षण र प्रकृति–बोध एवं अनुभव गर्ने विषय एउटा हुन सक्छ । त्यसमा पनि, अत्यावश्यक र कम प्रयत्नमा ठूलो प्रतिफल हासिल गर्न सकिने मुद्दा हो पर्यावरण संरक्षण । यो विधा अन्तर्गत विद्यालयबाट उत्पादन हुने फोहोरमैलाको उचित व्यवस्थापन गरी सफा र स्वच्छ वातावरण कायम गर्ने, बगैंचा तथा करेसाबारी व्यवस्थापन गर्ने, शुद्ध पिउने पानीको व्यवस्था मिलाउने, कार्बन उत्सर्जनका गतिविधि कम गर्ने, विपत्को पूर्वतयारी गर्ने आदि थुप्रै विषय पर्दछन् । 

यसै सन्दर्भमा बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका १९ वटा सामुदायिक विद्यालयमध्ये ५ वटा विद्यालयमा पर्यावरण संरक्षण सम्बन्धी गतिविधिमा योगदान दिन ‘इको–क्लब’ गठन भएका छन् । ती विद्यालयहरूमा यस्ता क्लबले के गर्दै छन् त भनेर बुझन हामीले अवलोकन भ्रमण गरेका थियौं । यहाँ हामीले ‘इको–क्लब’लाई नै विद्यालय छान्ने आधारको रूपमा प्रयोग गर्नुको पछाडि विश्वका विभिन्न देशहरूमा पनि वातावरणीय मुद्दाहरूमा उदाहरणीय कार्य गर्न विद्यालयमा ‘इको–क्लब’हरू गठन गराई सञ्चालन गर्ने गरिएको तथ्य प्रमुख कारणको रूपमा रहेको थियो । बेलायतमा ‘इको–विद्यालय कार्यक्रम’ बृहत् रूपमा सञ्चालन गर्ने गरेको पाइन्छ। त्यस्तै, अस्ट्रेलियामा ‘दिगो विद्यालय पहल’ शीर्षक अन्तर्गत ‘इको–क्लब’ गठन र सञ्चालन हुने गरेका पाइन्छन् । त्यसरी नै फिनल्याण्ड, जापान, जर्मन, फ्रान्स, पोर्चुगल जस्ता राष्ट्रहरूमा पनि विद्यालयमा ‘इको–क्लब’लाई हुनै पर्ने एउटा संरचनाको रूपमा लिने गरेको पाइन्छ । यी क्लबले ती देशहरूमा बगैंचा व्यवस्थापन गर्ने, फोहोर व्यवस्थापन गर्ने, चेतना अभिवृद्धि गर्ने, जलवायु परिवर्तनको विरुद्ध आवाज उठाउने, वैकल्पिक ऊर्जा प्रवर्धनमा भूमिका खेल्ने, पुनः प्रशोधनका कार्यहरूमा सहयोग गर्ने लगायत धेरै गतिविधिमा उदाहरणीय योगदान दिने गरेको भेटिन्छ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर–१ मा अवस्थित जय भद्रकाली आधारभूत विद्यालयको ‘इको–क्लब’का सदस्यहरूसँग छलफल गर्दा सो क्लब गठन भएपश्चात् क्लबको नियमित बैठक बस्ने, माइन्युट तयार गर्ने, वातावरणीय विषयमा छलफल गर्ने गरेको थाहा भयो । हाल १५६ जना विद्यार्थी रहेको सो विद्यालयका प्रधानाध्यापक वासुदेव थापाले वातावरण संरक्षणका गतिविधिमा विद्यार्थीलाई सामेल गराउने कार्यमा आफू स्वयं अग्रसर हुने गरेको बताउनुभयो । विद्यालयको फोहोरमैला व्यवस्थापनको हकमा भने अलग्गै नीति नभएको र नगरपालिकामा सेवा प्रदान गरिरहेका निजी फोहोर सङ्कलकहरूले नै फोहोर उठाउने गरेको जानकारी उहाँले दिनुभयो । साथै, विद्यालयको कम्पाउण्डमा थोरै मात्र जमिन खाली रहेको हुँदा कुहिने फोहोर छुट्याई कम्पोष्ट मल बनाउने सम्भावना पनि कम रहेको उहाँको कथन थियो । ग्रामीण स्वावलम्बन विकास केन्द्र नामको गैरसरकारी संस्थाले ‘इको–क्लब’ गठन गर्ने, वातावरणीय शिक्षा दिने, विद्यार्थीलाई अवलोकन भ्रमण गराउने जस्ता गतिविधिमा सहयोग गरिरहेको तर वातावरण संरक्षण तथा सम्वर्धन सम्बन्धित नियमित कार्यक्रमहरू भने विद्यालयमा नभएको कुरा पनि प्रअ थापाले बताउनुभयो। 


फोहोरमैलाको स्रोतमै वर्गीकरण, त्यसको उचित व्यवस्थापन, पुनः प्रशोधनयोग्य फोहोरको बिक्री र चक्रीय वित्ताीय प्रणाली (सर्कुलर इकोनोमी) मा योगदान गर्ने बानी विद्यार्थीमा बसाल्न सक्यौं भने त्यो नै ठूलो उपलब्धि हुन सक्छ। 

जय भद्रकाली आविमा ‘इको–क्लब’का निम्ति जिम्मेवारी तोकिएका शिक्षक प्रभा ढकालले क्लबका विद्यार्थीलाई कम्पोष्ट मल बनाउने जस्ता व्यावहारिक शिक्षा दिएको खण्डमा त्यो भविष्यसम्म उपयोगी हुनसक्ने र त्यसमा आफू पनि समावेश भएर सिक्न इच्छुक रहेको जनाउनुभयो ।

त्यस्तै, बूढानीलकण्ठ–३ मा अवस्थित श्री बूढानीलकण्ठ माध्यमिक विद्यालयमा पनि ‘इको–क्लब’का विद्यार्थीहरू नियमित बैठक बसी छलफल गर्ने गरेको पाइन्छ । क्लबका सचिव श्यामबाबु यादवले इको क्लबमा आबद्ध भएपछि पटक–पटक गरेर पाएका वातावरण सम्बन्धी सचेतनात्मक कक्षाहरू, अवलोकन भ्रमणको अवसर र नियमित बैठकमा हुने छलफलबाट आफूहरूले प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापन सम्बन्धी थुप्रै व्यावहारिक ज्ञानहरू हासिल गरेको बताउनुभयो। त्यस्तै, छात्रा ममिता बुढाले आफ्नो घरमा नै खाडल तयार गरी कम्पोष्ट मल बनाउने गरेको जानकारी दिनुभएको छ । सो विद्यालयका ‘इको क्लब’सँग सम्बद्ध शिक्षक नवीन अधिकारीले इको–क्लबका विद्यार्थीले क्रमिक रूपमा सिक्दै आफ्ना कार्यक्रमहरू गर्दै अगाडि बढिरहेको र आगामी दिनहरूमा अझ् राम्रोसँग आफ्नो अभिभारा निर्वाह गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो । जय भद्रकाली आवि र बूढानीलकण्ठ मावि दुवै २०३४ सालमा स्थापना भएका हुन् । 

बूढानीलकण्ठ नपा, वडा नं. १३ को श्री जनउद्धार माध्यमिक विद्यालयमा पनि ‘इको–क्लब’ले नियमित गतिविधि गरिरहेको पाइन्छ । ४५४ जना विद्यार्थी अध्ययनरत सो विद्यालयको हरेक कक्षाकोठा अगाडि फोहोर जम्मा गर्न ‘डस्टबिन’ राखिएका छन् । विद्यालयका प्रधानाध्यापक हरेराम खत्री ‘इको–क्लब’ गतिविधिहरू मार्फत विद्यार्थीले सकेसम्म धेरै ज्ञान हासिल गरी अरू विद्यार्थीलाई पनि सिकाउन् र उनीहरूले यसमा खर्चेको समय फलदायक रहोस् भन्ने अपेक्षा आफूले राखेको बताउनुहुन्छ । क्लबका अध्यक्ष निरुता थापाले ‘इको–क्लब’मार्फत वातावरण दिवस मनाउने र अन्य सरसफाइका गतिविधिहरू गर्ने गरेको जानकारी दिनुभयो। त्यस्तै, क्लबका अन्य सदस्य तथा विद्यार्थीहरू पुनः प्रशोधनयोग्य फोहोर छुट्याएर अलग व्यवस्थापन गर्न विशेष रूपमा इच्छुक रहेको देखिन्थ्यो । शिक्षकहरूका अनुसार, दिवा खाजाको नयाँ प्रथाले विद्यालयमा कुहिने फोहोरको मात्रा बढेको र त्यसको व्यवस्थापन गर्नु थप चुनौतीपूर्ण भएको छ । त्यसको उपयुक्त हल कसरी पहिल्याउने भनेर छलफल भइरहेको उहाँहरूले बताउनुभयो । यो विद्यालय २०४५ सालमा स्थापित हो।

वि.सं. २०१७ मा वडा नं. १३ मा स्थापना भई हाल ६५५ विद्यार्थीलाई शिक्षा दिइरहेको श्री नौलिन माध्यमिक विद्यालयमा पनि अन्य विद्यालयमा झ्ैं इको–क्लब गठन भई विद्यार्थीहरू नियमित गतिविधिमा संलग्न भेटिन्छन् । यहाँका विद्यार्थीले वातावरणसँग सम्बद्ध दिवसहरूमा विभिन्न कार्यक्रम गर्ने, विभिन्न अवसरमा आउने तालिम कक्षाहरूमा सहभागी हुने, अवलोकनात्मक भ्रमणहरूमा जाने, नियमित बैठक बसी छलफल गर्ने जस्ता गतिविधि गर्ने गरेको बताए । यहाँ पनि विद्यालयबाट निस्कने फोहोरमैलामध्ये चाँडै गल्ने र पुनः प्रशोधनमा जाने फोहोरलाई अलग्गै छुट्याएर राखी, पुनः प्रशोधनयोग्य फोहोर सङ्कलकलाई दिन विद्यार्थीहरू विशेष रूपमा इच्छुक रहेको पाइयो। विद्यालयका प्रधानाध्यापक बिष्णु काजी श्रेष्ठ र सह–प्रधानाध्यापक तथा इको–क्लब सम्बद्ध शिक्षक जयकुमार श्रेष्ठले इको–क्लबको माध्यमबाट विद्यालयमा पर्यावरण सम्बन्धित कार्यक्रमहरू गरी अरूहरूको अगाडि दृष्टान्त बन्न सकिने र यसले समाजमा सकारात्मक परिवेश सृजना गर्नमा सहयोग गर्ने बताउनुभयो ।


फिनल्याण्ड, जापान, जर्मन, फ्रान्स, पोर्चुगल जस्ता राष्ट्रहरूमा पनि विद्यालयमा ‘इको–क्लब’लाई हुनै पर्ने एउटा संरचनाको रूपमा लिने गरेको पाइन्छ। 

बूढानीलकण्ठ–२ मा वि.सं. २०१८ देखि सञ्चालित श्री गणेश माध्यमिक विद्यालयमा पनि ‘इको–क्लब’ गठन भई नियमित बैठक बस्ने गरेको पाइन्छ । हाल ७५५ जना विद्यार्थी रहेको यो विद्यालयको एउटा भवन निर्माणको क्रममा रहेको र उपलब्ध भवनमा विद्यार्थीको चाप धेरै भएको हुँदा सबै कुरा व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिन्थ्यो । तर पनि विद्यार्थीहरू ‘इको–क्लब’मा सम्बद्ध भई कार्य गर्न प्रयासरत थिए । यहाँका ‘इको–क्लब’ सम्बद्ध शिक्षक प्रकाश ढकालले विद्यालयमा उपलब्ध थोरै जग्गामा अलग–अलग रङ्गका फोहोर जम्मा गर्ने ‘डस्ट–बिन’ राख्दा स–साना केटाकेटीहरू त्यसमा चढ्ने, लडाउने आदि गरी भताभुंग पारिदिन सक्ने समस्या रहेको जानकारी दिनुभयो । विद्यालयको नयाँ भवन निर्माण भए पश्चात् विद्यार्थीको चाप घट्ने र वातावरण संरक्षण सम्बन्धित कार्यक्रमहरू गर्न सरल र सहज हुने शिक्षक ढकालको अपेक्षा छ ।

सम्भावनाका संकेत
माथि चर्चा गरिएका विद्यालयहरूमा ‘इको–क्लब’हरूले शुरुआत गरेका गतिविधि हेर्दा केही परिवर्तनका सम्भावनाहरू पहिल्याउन सकिन्छ । यहाँका ‘इको-क्लब’हरूले अनुसरण गर्दै आएका कतिपय क्रियाकलापहरू, जस्तै- नियमित बैठक बस्ने, विद्यालयमा भएका वातावरणीय समस्याहरूमा छलफल गर्ने, आफ्ना सम्भावित भूमिकाहरू पहिल्याउने, विद्यालय प्रशासनसँग समन्वय गरी कार्यक्रम गर्ने, कक्षाका अन्य विद्यार्थीलाई पनि जानकारी तथा ज्ञानवर्धक खुराकहरू बाँड्ने लगायत कार्यहरू अनुसरणयोग्य देखिन्छन्।

समग्रमा भन्नु पर्दा, हामीसँग सम्बोधन गर्नुपर्ने पर्यावरण सम्बन्धित अनेकन् मुद्दा (जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको संरक्षण, प्रदूषण, सरसफाइ आदि) छन्। यस्ता सबै मुद्दाहरूलाई विद्यालयमा जोड्नु अनुपयुक्त हुन्छ। तथापि, विद्यार्थीहरूलाई केही प्रमुख वातावरणीय मुद्दाहरू- जस्तै फोहोरमैलाको स्रोतमै वर्गीकरण, त्यसको उचित व्यवस्थापन, पुनः प्रशोधन योग्य फोहोरको बिक्री र चक्रिय वित्तीय प्रणाली (सर्कुलर इकोनोमी) मा योगदान गर्ने बानी बसाल्न सक्यौं भने अथवा उनीहरूमा वातावरणका संरक्षण कार्यहरूप्रति रुचि र लगाव सृजना गराइदिन सक्यौं भने त्यो नै ठूलो उपलब्धि हुन सक्छ। 

फोहोरमैलाकै कुरा गर्दा; केन्द्रीय तथ्यांक विभागको सन् २०२२ को प्रतिवेदन अनुसार नेपालका शिक्षा दिने संस्थाहरूबाट प्रति वर्ष १ लाख ३ हजार २४४ मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ। यसलाई नेपालका शिक्षा दिने सबै संस्थाहरूको संख्यामा बराबर भाग लगाउँदा औसतमा लगभग ३ मेट्रिक टन प्रति संस्था प्रति वर्ष हुन आउँदो रहेछ। यो औसत मात्रा हो र शहरी क्षेत्र तथा धेरै विद्यार्थी हुने संस्थाहरूमा यो मात्रा दोब्बर या अझै धेरै हुन सक्छ भनेर अनुमान गर्न सकिन्छ। त्यस्तै हाल आएको दिवा खाजाको कार्यक्रमका कारण स्कूलहरूले पैदा गर्ने फोहोरको मात्रा कैयन् गुणाले बढ्ने अनुमान गर्न सकिन्छ । विश्वमै चर्किरहेको फोहोरमैला व्यवस्थापनको मुद्दाका लागि सीमित स्रोत र साधनहरूको परिचालनबाट ‘इको–क्लब’ गठन गरी कार्य गर्दा उक्त मुद्दामा ठूलो प्रतिफल हासिल गर्न सकिन्छ। 

नेपालको संविधानले हरेक नागरिकले सफा तथा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरेको छ। त्यस्तै, विद्यालयको भौतिक पूर्वाधार मापदण्ड–२०८० मा विद्यालयको फोहोरमैला पृथकीकरण र वर्गीकरण गरेर मात्र व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था गरिएको छ । तर तत्काल यस्ता व्यवस्थाहरूलाई पालना गर्न बाध्य बनाउन वा सबैले स्वेच्छाले पालना गर्लान् भनेर कल्पना गर्न सकिंदैन । तसर्थ, यस्तो अवस्थामा सामान्य ‘इको–क्लब’ गठनबाट शुरू गरी यिनीहरूको सशक्तीकरण गरी अगाडि बढाइने कदम सरल, किफायती र दिगो हुने कुरामा एकमत हुन सकिन्छ। त्यसैले, कुनै सहयोगी संघसंस्थाबाट शुरुआत हुनुपर्ने अवस्थालाई कुर्नुभन्दा पनि विशेषतः सामुदायिक विद्यालयहरूले आफैं यसको महत्व बुझी आफ्नै पहलकदमीमा यस्ता व्यवस्थाहरू शुरुआत गर्न सके आफ्नो सामाजिक उत्तरदायित्व अझै राम्रोसँग वहन हुनसक्ने देखिन्छ। 

शिक्षक  मासिक, २०८१ असोज अंकमा प्रकाशित । 

 

commercial commercial commercial commercial