चरा: हाम्रै लागि संरक्षण

नेपालमा लगभग ९०० प्रजातिका चराचुरुङ्गी पाइन्छन्, जसमध्ये केही राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बाट संरक्षित छन्। चराचुरुङ्गीहरू हाम्रो पर्यावरणीय सन्तुलनका लागि अत्यन्तै महत्वपूर्ण छन् र तिनको संरक्षणले हाम्रो पारिस्थितिकीय प्रणालीलाई पनि मजबूत पार्छ। नेपालमा संरक्षित चराका ९ (नौ) प्रजाति छन्, जसलाई विशेष प्राथमिकता दिई ऐनमा नै उल्लेख गरिएको छ। स्तनधारी जनावरका २७ प्रजाति यस्तो संरक्षित प्राणीको सूचीमा राखिएका छन् भने ३ प्रजातिका सरीसृप पनि यस सूचीमा संलग्न छन्। 

यस लेखमा चाहिं हामी नेपालका ९ वटा संरक्षित पन्छीहरूका बारेमा चर्चा गर्दैछौं । 

सारस (Sarus Crane/Antigone antigone)

सारस संसारको सबैभन्दा अग्लो उड्न सक्ने चरा हो। यी चराहरू करीब साढे पाँच फिटसम्म अग्ला हुन्छन्। यो भनेको हामी नेपालीको औसत उचाइ हो भन्दा अतिशयोक्ति नहोला। यिनीहरूको युगल जोडीको बन्धन आजीवनका लागि हुने भएकाले सारसलाई विश्वास र प्रेमको प्रतीक पनि मानिन्छ। यी सुन्दर चराहरू सामान्यतया तराईका खेत तथा सिमसारमा देखिन्छन्। यिनको रातो टाउको, फुस्रो शरीर, लामो घाँटी र खुट्टाले गर्दा अन्य चराबाट यिनलाई सजिलै छुट्याउन सकिन्छ। यिनीहरू विशेषगरी नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा पाइन्छन्, जहाँ नेपालका सारसहरूको ९० प्रतिशत संख्या केन्द्रित छ। बाँकी संख्या पश्चिमी तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरूमा फैलिएको छ । हाल नेपालमा सारसको संख्या ५०० देखि १००० सम्म हुनसक्ने अनुमान गरिएको छ। 

सारसका जोडीहरू आफ्नो सम्बन्ध बलियो बनाउन वसन्त ऋतुमा गरिने नृत्य प्रदर्शनका लागि प्रख्यात छन् । यो नाचमा यिनका जोडीहरूले एकसाथ झुकेर र उफ्रँदै नृत्य प्रदर्शन गर्छन्। यिनको प्रजनन् सामान्यतया वर्षायाममा हुन्छ। यसबेला सिमसार र जलमग्न धान खेतहरू यिनलाई गुँड बनाउनका लागि उपयुक्त स्थल बन्छन्। सारसले सिमसारमा रहेका पातपतिंगरबाट ठूलो मञ्च जस्तो गुँड बनाउँछन् र एक पटकमा औसतमा दुई अण्डा पार्छन्। दुवै अभिभावक अण्डाको हेरचाह र रक्षामा उत्तिकै संलग्न हुन्छन्। यिनीहरू ओथारो बस्दा प्राकृतिक रूपमा न्याउरी मुसा, स्याल, बँदेल, वन बिरालाहरू र अन्य शिकारी जनावरहरूको खतरा हुन्छ। तर हालका वर्षहरूमा मानिस नै यस प्रजातिको प्रमुख शत्रु हुँदै गएको छ।

कानूनतः संरक्षित पन्छी भएतापनि तराईका संरक्षित क्षेत्रहरूमा सारसको बढ्दो अनुपस्थितिले यसको संरक्षणलाई चुनौतीपूर्ण बनाएको छ। हाम्रा संरक्षित क्षेत्रहरूको वासस्थान-व्यवस्थापन सारस तथा अन्य पन्छीमैत्री नभएको अवस्था छ। संरक्षित क्षेत्रहरू बाहिर कृषिको विस्तार र सिमसारको क्षेत्रफल र गुणमा आएको ह्रासले यिनको साथै अन्य सिमसारमा आश्रित पन्छीहरूको संख्यामा ठूलो गिरावट आएको छ। सारस मुख्यतया नेपाल, भारत, कम्बोडिया र अष्ट्रेलियामा पाइने पन्छी प्रजाति हो।

राजधनेस(Breat Hornbill/Buceros bicornis)
राजधनेसको ठूलो र अनौठो आकारको पहेंलो ठोंड र यसमाथि रहेको ठूँडमन्जुषाका कारण यसलाई सहजै चिनिन्छ। यसको सेतो घाँटीमा सुनौलो लेप लागेको जस्तो देखिन्छ । नेपालका चराहरूमध्ये यो यस्तो प्रजाति हो, जसलाई एकचोटि देखेपछि कहिल्यै बिर्सन सकिंदैन !

नेपालमा राजधनेस तराई र चुरेपहाड शृंखलाका उष्ण तथा उपोष्ण जंगलमा पाइन्छ। राजधनेसले विशेषगरी ठूला फल लाग्ने रूखको बीउ फैलाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ र वनलाई पुनर्जीवन दिन यिनले ठूलो योगदान रहन्छ। वनधनेसको उपस्थिति एक स्वस्थ र समृद्ध वन पारिस्थितिक प्रणालीको सूचक मानिन्छ। 

यिनीहरूको प्रजनन् सम्बन्धी आनीबानी अनौठो र असाधारण हुन्छ। प्रजनन्को मौसममा, पोथीले रूखको टोड्कोभित्र आफूलाई बन्द गर्छे र एउटा सानो झयालरूपी प्वाल मात्र खुला छोड्छे। यो सानो प्वालबाट भालेले अनवरत रूपमा पोथीलाई खाना उपलब्ध गराउँछ। करीब ४० दिनको ओथारोको समय र बच्चा हुर्काउने प्रारम्भिक चरणमा पोथी टोड्को भित्रै बस्छे। यो अवधि दुई महीनाभन्दा बढी रहन्छ। यस समयमा, पोथीका पखेटा र पुच्छरका प्वाँख खसेका हुन्छन्, जसले उसलाई विशेष रूपमा असुरक्षित बनाएको हुन्छ। 

राजधनेसको पोथीले एकपटकमा सरदर दुई वटा अण्डा पार्छ र बच्चाले गुँड छोड्नुअघि केही समय ओथारो बसेको प्वालमै बस्छन्। वासस्थानको विनाश, विशेषगरी वनडढेलो, गुँड बनाउन लायक टोड्का र ठूला धोद्रा रूखको विनाश र मासु तथा ठूँडमन्जुषामा रहेको तेलका लागि गरिने चोरी सिकारले यो चराको संख्या व्यापक घटेको छ। एक समय नेपालका तराई र चुरेपहाडमा व्यापक रूपमा पाइने राजधनेस आजकल मुख्यतः चितवन उपत्यकामा मात्र सीमित छन्। बाँके, बर्दिया र शुक्ला राष्ट्रिय निकुञ्जहरूमा यदाकदा देखिन्छन्। पूर्वी नेपालको धरान लगायतको चारकोसे झाडीमा निकै न्यून संख्या वा प्रायः लोपको सँघारमा रहेको छ। यो नेपाललगायत दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका केही देशहरूमा सीमित र विश्वमै दुर्लभ पन्छी मानिन्छ।

खरमुजुर (Bengal Florican/Houbaropsis bengalensis)
खरमुजुर विश्वमै अति संकटापन्न र नेपालका चराहरूमध्ये सबैभन्दा खतरामा रहेको एक विशिष्ट चरा हो। भालेहरूको शरीरमा आकर्षक कालो र सेतो प्वाँख हुन्छ, जबकि पोथीहरूको शरीर भालेभन्दा केही ठूलो र खैरो रंगको हुन्छ। यो चरा एक मात्र ज्ञात बस्टर्ड प्रजाति हो जसमा पोथी भालेभन्दा ठूलो हुन्छ। यो मुजुरकै नापको हुन्छ तर मुजुरको जस्तो लामो पुच्छर भने हुँदैन। २०८१ सालमा अद्यावधि गरिएको आँकडा अनुसार यो प्रजातिका चराको विश्व संख्या ६३५ मात्र छ। यसले गर्दा यो प्रजाति हाल नेपालमा देखिने सम्पूर्ण प्रजातिमध्येमा कम संख्यामा रहेको प्रजाति मान्न सकिन्छ। संख्याको हिसाबमा भारत, कम्बोडिया र नेपाल नै यो प्रजातिको हालको मुकाम हो।

प्रजनन्का मौसममा, खरमुजुरका भालेहरूले जटिल तर मनमोहक नाच प्रदर्शन गर्छन्। हावामा केही मिटर उफ्रिंदै मसिनो तर तीखो आवाज निकाल्छन्। यस्तो प्रदर्शन प्रायः मनसुनको आगमन अघि हुन्छ जब घाँसेमैदानहरू प्रजनन्को लागि अनुकूल र उपयुक्त हुन्छन्। पोथीले २–३ वटा अण्डा घाँसका बुच्कामा वा भुईंमा पार्छन्। यस्ता गुँड प्रायःजसो अग्ला घाँस वा झडीभित्र हुन्छन्।

नेपालमा कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घाँसेमैदानहरू खरमुजुरका मुख्य वासस्थान हुन्। कृषि तथा अन्य अतिक्रमणले गर्दा यसको प्रमुख वासस्थानका रूपमा रहेका घाँसेमैदानको विनाशका कारण यिनको संख्या घट्दो छ। घाँसेमैदानमा वर्षेनि लगाइने डढेलोले पनि यसको प्रजनन्मा असर परेको मानिन्छ। घाँसेमैदानको उचित व्यवस्थापन, नदीहरूको स्वतन्त्र प्रवाहको सुनिश्चितता र बाढी पस्ने बगरको सुरक्षा गरेर घाँसेमैदानको संरक्षण, चराहरूको प्रजनन् समय बाहिरको सिजनमा गाईवस्तु चरिचरन गराई वासस्थान व्यवस्थापन र विशेषगरी प्रजनन्का समयमा हुने बाधा-व्यवधानलाई कम गर्ने उपायमा संरक्षण रणनीतिहरू केन्द्रित हुनुपर्छ।

सानो खरमुजुर (Lesser Florican/Sypheotides indicus)
सानो खरमुजूरको भाले खरमुजुर जस्तै तर निकै सानो नापको लगभग कालो तित्राभन्दा केही ठूलो हुन्छ। बच्चा कोरल्ने समयमा भालेको जुँगा जस्तो लामो प्वाँख पलाउँछ जुन अनुहार अघिल्तिर हुँदै शरीरको माथिल्लो भागतिर गएको हुन्छ। 

सानो खरमुजुर प्रणयका बेलामा हावामा उफ्रंदै तैरिंदै देखाउने शानदार नृत्य प्रदर्शनको लागि प्रसिद्ध छ। यिनका भालेहरू पोथीलाई आकर्षित गर्न अविश्वसनीय नौटंकी कला देखाउन माहिर हुन्छन् । विश्वमै दुर्लभ चराको सूचीमा रहेको यो प्रजाति नेपालमा अत्यन्त विरल र अनियमित आगन्तुक हो जुन केही वर्षहरूको अन्तरालमा सानो संख्यामा देखापर्ने गरेको छ।

वर्षायाममा घाँसेमैदानहरू फुलिरहेका बेला यसको प्रजनन्को उत्तम समय हुन्छ। पोथीहरूले घना घाँसेमैदानमा लुकाएर जमिनमा अण्डा पार्दछन्। धेरै अन्य चराहरू जस्तो सानो खरमुजुरका भालेहरूले बच्चा हुर्काउनमा पोथीलाई सहयोग गर्दैनन्, ओथारो बस्ने र चल्लाहरूको हेरचाहको सम्पूर्ण जिम्मा पोथीले नै गर्छे।

नेपालमा यो प्रजातिको संख्या धेरै नै न्यून भइसकेको छ, यस्तो हुनाको कारण घाँसेमैदानहरूको रूपान्तरण र कृषि भूमिको विस्तार हो । घाँसेमैदानको संरक्षण व्यवस्थापन नै यस प्रजातिको संरक्षणको प्रमुख मुख्य उपाय हो। यो प्रजातिका चरा पाकिस्तानमा समेत भेटिने भए पनि यसको ठूलो संख्या भारतमा सीमित छ।

सेतो गरुड (White Stork/Ciconia ciconia)
सेतो गरुड नेपालका लागि एक फिरन्ते प्रजातिको चरा हो र यसलाई देख्न निकै मुश्किल पर्छ । यो बाटो बिर्सिएर यदाकदा नेपाल पस्ने चरामध्येको एक हो, तसर्थ नेपालमा यसको उपस्थिति एकदमै न्यून छ । नेपालका संरक्षित चराको सूचीमा यो प्रजाति समावेश हुनु अलिक आश्चर्यजनक छ। यस प्रजातिको अवस्थाको बारेमा जानकारीको अभावका कारण यो सूचीमा परेको हुन सक्छ। पश्चिमा मुलुकमा सेतो गरूड प्रजनन् क्षमता र उर्वरताको प्रतीक मानिन्छ। 

सेतो गरुड लामो दूरीको फिरन्ते चरा हो। यो युरोपबाट दक्षिण एशियामा जाडोको समयमा आउँछ। यसको गुँड रूखका टुप्पामा सुकेका काठका हाँगाबिंगा र पात पतिंगरबाट बनेको हुन्छ। सेतो गरुडले पनि सारस जस्तै जीवनभरका लागि युगल जोडी बनाउँछ। गुँड निर्माण गर्न, ओथारो बस्न र बच्चा हुर्काउनमा भाले–पोथी बराबरी लाग्छन्। उनीहरूको एउटा विशेष व्यवहार, आफ्नो लामो ठोंडका भागहरू एकअर्कामा घर्षण गराए झै‌ं गरी निकाल्ने टड्कारो आवाज होे, जसलाई उनीहरूको बीचको संवादको लागि प्रयोग गरिने आवाज ठानिन्छ । यो गरुड युरोप, एशिया र अफ्रिकाका विभिन्न देशमा पाइन्छ।

कालो गरुड (Black Stork/Ciconia nigra)
सेतो गरुडको तुलनामा कालो गरुड बढी लजालु र एकान्तप्रिय हुन्छ। यो प्रजाति नियमित रूपमा जाडोमा नेपाल आउने हिउँदे आगन्तुक हो। यो प्रजातिलाई विशेषगरी नदी र आद्र्रभूमिको नजिक देख्न पाइन्छ। चम्किलो कालो प्वाँख, कालो घाँटी, सेतो वक्षस्थल र रातो ठोंडले यसलाई सजिलै चिन्न सकिन्छ।

प्रजनन्को समयमा, यी गरुडहरूले एकान्तका बगर तथा सिमसार नजिकैका वनक्षेत्रहरू मन पराउँछन्। यिनका गुँड रूखमा हुन्छन् र एकपटकमा २-५ वटासम्म अण्डा पार्दछन्। ओथारो बस्न र बच्चा हुर्काउन भाले-पोथी दुवै खट्छन्। 

डाँफे (Danphe/Himalayan Monal/Lophophorus impejanus)
डाँफे नेपालको राष्ट्रिय चरा हो। भाले डाँफे आफ्नो चम्किलो, इन्द्रेणी जस्तो रंगीन प्वाँखको लागि प्रसिद्ध छ र नेपालमा बोलीचालीको भाषामा यसलाई ‘नौरंगी डाँफे’ पनि भन्ने गरिन्छ। यो प्रजातिको मुख्य वासस्थान हिमाल पहाडका घाँसेमैदान र पातलिएका वन क्षेत्र हुन्।

यसको प्रजनन् वसन्त ऋतुमा शुरू हुन्छ। पोथीलाई आकर्षित गर्न भालेहरू आफ्नो पुच्छर फिंजाएर र चहकिला प्वाँख देखाएर नाच्छन्। यिनका गुँड प्रायः झाडी मुनि भुईंमा वा ढुङ्गाका कापमा हुन्छन्। यिनका पोथी ३-५ वटा अण्डा पारेर ओथारो बस्ने गर्छन् र भालेले आफ्नो क्षेत्रको सुरक्षा गर्छन्। डाँफेहरू आफ्नो खाना-कन्दमूल र कीरा खोज्न आफ्ना खुट्टाका बलिया नंग्रा र ठोंडको प्रयोग गर्छन्।

संरक्षित क्षेत्रभित्र यिनको संख्या स्थिर भए पनि सिउर र अन्य प्वाँख साथै मासु खानको लागि हुने चोरीशिकार र वासस्थानमा अत्यधिक अतिक्रमणका कारण यो चरालाई पनि खतरा छ । संरक्षण प्रयासहरूमा वासस्थानको सुरक्षा र अवैध शिकार विरोधी कानुनहरूको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । डाँफे हिमाली शृंखलालाई पहिल्याउँदै अफगानिस्तानदेखि पाकिस्तान, नेपाल, भारत, भुटानहुँदै म्यानमार र चीनमा समेत पाइन्छ ।

मुनाल (Satyr Tragopan/Tragopan satyra)
मुनाल नेपालका मध्य-पहाड र हिमाली क्षेत्रका गुराँस, बाँझ्, खसु्रका घना वनहरूमा बसोबास गर्ने अत्यधिक रंगीन चरा हो। भाले यसको चहकिलो रातो प्वाँख लगायत हल्का -लो र कालोसेतो प्वाँखले सुसज्जित हुन्छ, जसले यसलाई नेपालको सबैभन्दा आकर्षक चरामध्ये एक बनाएको छ । यो डाँफे जस्तै कालिज समूहमा पर्दछ । संसारका हेर्नै पर्ने १०० प्रजातिका चराहरूमध्ये यो एउटा हो भनी कलिन्स प्रकाशन गृहले निकालेको किताबमा जनाइएको छ ।
वसन्त ऋतुको अन्त्यमा मुनालको प्रजनन् समय शुरू हुन्छ। यसबेला भालेहरूले आफ्नो आकर्षक प्वाँखका साथै गर्दन नजिकको भाग फुलाउँछन् जसमा प्रायः नीलो, रातो र कालो रंगको मिश्रण देखिन्छ। यस्तो अद्भुत रूप देखाएर पोथीलाई आकर्षित गर्न यिनले आफ्नो नृत्य प्रदर्शन गर्छन्। भुईंनजिकै प्रायः घना झडीहरूमा गुँड बनाउने भएकाले मुनालका पोथीले अरू सामान्य चराभन्दा अलि बढी संख्यामा फुल पारी ओथारो बस्ने गर्छन्। मुनालको लजालु स्वभाव तथा घना वन र बुट्यानमा हुने वासस्थानले गर्दा यसलाई देख्न र अध्ययन गर्न कठिन हुन्छ।

वन विनाश, मासु खान र सुन्दर प्वाँखका लागि हुने शिकारले यिनलाई ठूलो खतरामा पारेको छ। अवैध चोरीशिकार र वासस्थानको राम्रो संरक्षण प्रयासहरू भए यो प्रजातिको संख्या चाँडै बढ्न सक्छ । यो प्रजाति नेपाल लगायत मुख्यतया भारत र भुटानमा पाइन्छ।

चीर (Cheer Pheasant/Catreus wallichii)
चीर विश्वमै संकटमा रहेको संवेदनशील चराको प्रजाति हो। यो पन्छी कालीगण्डकीदेखि पश्चिम नेपालको समशीतोष्ण वन र घाँसेमैदानहरूमा पाइन्छ। यसको खैरो फुस्रो रंगले आफ्नो वासस्थानमा नदेखिने गरी लुक्न मद्दत गर्छ। यसलाई शिकारीहरूबाट बच्नका लागि रंगले एक उत्कृष्ट छलावरण प्रदान गर्दछ। यो प्रजातिले खुला घाँसेमैदान र भीरहरू मन पराउँछ। 

चीरको प्रजनन् समय वर्षा शुरू हुनु अगाडि हुन्छ। यसनिम्ति भालेहरूले अग्लो स्थानबाट पोथीलाई आमन्त्रण गर्ने गर्छन् । पोथीहरूले जमिनमा बनाइएको गुँडमा ६–१२ अण्डामाथि ओथारो बस्ने गर्छन् । चीर अन्य कालिज समूहका प्रजातिहरूको तुलनामा अलिक बढी सामाजिक हुन्छन्, प्रजनन् बाहेकको मौसममा यिनीहरू प्रायः साना समूहमा फेला पर्छन् । चीर पाकिस्तान, नेपाल र भारतमा मात्र पाइन्छ ।

संरक्षणका लागि चुनौती र सफल प्रयास
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित चराहरूको शिकार तथा तिनको वासस्थानमा हानि पु¥याउने कार्य गैरकानूनी मानिन्छ । यसबाहेक, विभिन्न संघ–संस्थाहरूले पक्षी संरक्षणको निम्ति जनचेतना कार्यक्रम, संरक्षण परियोजना तथा अनुसन्धान कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । 

यसका बावजूद, नेपालको ऐनबाट संरक्षित पन्छीहरूको सूची अत्यन्तै पुरानो भइसकेको छ र तुरुन्तै परिमार्जन गर्नुपर्ने खाँचो छ । नेपालका लगभग १०० वटा चराका प्रजाति यो सूचीमा अटाउनुपर्ने कुरा विभिन्न समयमा सूची परिमार्जित गर्ने अभ्यासका दौरान आएको छ । उदाहरणका लागि सेतो र कालो गरुडको सट्टा यीभन्दा अझ् बढी संकटापन्न अवस्थामा रहेका र सांस्कृतिक महत्व बोकेका थुप्रै प्रजाति यो महत्वपूर्ण सूचीमा संलग्न गराउनु जरूरी देखिन्छ । 

नेपालमा पाइने संकटापन्न चरा प्रजातिहरूको राम्रो अध्ययन हुनसकेको छैन । अध्ययनका लागि दाताको मुख ताकेर बस्नुभन्दा देशमै केही आर्थिक स्रोत जोहो गर्न सके नेपालका प्राथमिकतामा परेका तर विश्वले नपत्याएका थुप्रै चरा प्रजातिको अध्ययन र संरक्षण गर्न सकिन्छ । यस्तो अनुसन्धानबाट सिर्जित मौलिक ज्ञानमा नेपालका वैज्ञानिक अगुवा हुने र विश्वकै लागि विशेषज्ञ बन्ने सम्भावना रहन्छ ।

नेपालका संरक्षित चराहरूको संरक्षण हाम्रो प्राकृतिक र सांस्कृतिक सम्पदाको रक्षा मात्र नभई पारिस्थितिकीय सन्तुलन कायम राख्नका लागि पनि अत्यन्तै महत्वपूर्ण छ । चरा प्रजातिहरूले मानिस र प्रकृतिलाई विभिन्न माध्यमबाट प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पु¥याइरहेका हुन्छन् । 

वनस्पतिमा परागसेचन, खेतबारी लगायतमा हुने कीराफट्यांग्राहरूको अत्यधिक संख्याको नियन्त्रण, सिनो व्यवस्थापन गर्ने गिद्ध जस्ता प्रजातिले प्रकृतिका कुचीकारको भूमिका निर्वाह, धनेस र यस्तै अन्य प्रजाति वन र कन्दमूलको बीउ छर्दै वन विस्तारको काम, लाहाँचे र यस्तै प्रजातिको पारिस्थितिक प्रणालीका इन्जिनियरको जस्तो भूमिका, यिनको सुन्दर प्वाँखावस्था र सुमधुर स्वरले दिने मज्जा र कोलाहलमा बसेका मानिसलाई एक प्रकारको मानसिक शान्ति एवं विश्राम, चरा पर्या–पर्यटनबाट हुने आर्थिकोपार्जन आदि— चराले हाम्रो जीवनमा निर्वाह गरिरहेका तर हामीले खासै वास्ता नगरेका महत्वपूर्ण योगदानका पाटा हुन् । त्यसकारण पनि चराहरूको संरक्षणका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ, जसले गर्दा आगामी पुस्ताहरूको भविष्य उज्ज्वल रहोस् र प्रकृतिका यी अनमोल सम्पदाहरूको भरपुर आनन्द लिन सकून् । 

(‘चरा विज्ञ’ को सार्वजनिक पहिचान निर्माण गर्नुभएका डा. बराल अष्ट्रेलियाको चाल्र्स स्टुर्ट विश्वविद्यालयमा एसोसिएट प्रोफेसरका रूपमा आवद्ध हुनुहुन्छ ।)

शिक्षक मासिक, २०८१ असोज अंकमा प्रकाशित । 

commercial commercial commercial commercial