जमाना डिजिटल पाठयोजनाको

कक्षा-शिक्षणमा विद्यार्थीलाई गराइने सम्भावित क्रियाकलापहरूको मार्गचित्र (रोड-म्याप) समावेश गरिएको दस्तावेज नै पाठयोजना हो। एउटा खास पाठयोजनामा विद्यार्थीलाई के सिकाउने, किन सिकाउने, कसरी सिकाउने, कति समयमा सिकाउने र के सिक्ने, उनीहरूले सिके नसिकेको कसरी मापन गर्ने लगायत विधि तथा प्रक्रियाहरू समेटिएको हुन्छ। शिक्षकले प्रत्येक पाठ अध्यापन योजना बनाउनुपर्छ। पाठयोजनामा मुख्य गरी पाठको उद्देश्य, आवश्यक शैक्षिक सामग्री, सिकाइ प्रक्रिया, मूल्यांकन प्रक्रिया र प्रतिबिम्बन गर्ने विधिहरू समेटिएको हुन्छ।  

पाठयोजनाका तीन वटा चरण हुन्छन्- कक्षाकोठामा जानु भन्दा पहिले, कक्षाकोठामा र कक्षाकोठापश्चात्। कक्षाकोठामा जानु भन्दा पहिले सिकाइ उद्देश्यहरू पहिचान गरी उद्देश्य पूरा गर्न उपयुक्त हुने शिक्षण सिकाइ क्रियाकलाप, शिक्षण विधि र शैक्षिक सामग्रीको छनोट, संकलन तथा तयारी गरेर निर्धारित समयमा कक्षा क्रियाकलाप सम्पन्न गर्ने योजना बनाउनुपर्छ। कक्षाकोठामा पाठयोजना अनुसारका क्रियाकलापहरू गरी त्यसमा विद्यार्थीलाई सहभागी गराउनुपर्छ। कक्षाकोठाको क्रियाकलापपछि विद्यार्थीले लक्षित उद्देश्य अनुसार ज्ञान तथा सीप आर्जन गरे वा गरेनन् भनी परीक्षण गर्नुपर्छ। यसका साथै कक्षा क्रियाकलापमा के कस्ता कमि-कमजोरी भए र ती कसरी सुधार गर्न सकिन्छ भनेर पुनरावलोकन गर्नुपर्छ। 

शिक्षकले कक्षा शिक्षणका लागि दशकौंदेखि कापीमा लेखेर पाठयोजना बनाउँदै आएका छन्। सन् २००० को प्रारम्भसँगै शिक्षण-सिकाइमा कम्प्युटर र इन्टरनेटको प्रयोग हुन थाल्यो। हालैका दिनमा शिक्षण सिकाइमा अनलाइन, अफलाइन, भर्चुअल प्लेटफर्म तथा वेबमा आधारित सिकाइ सामग्रीहरू निर्माण भई व्यापक रूपमा कार्यान्वयनमा आएका छन्। कोभिड-१९ ले धेरै नराम्रा प्रभाव छोडेर गएको भए तापनि शिक्षण-सिकाइमा ‘आईसीटी’ को प्रयोग गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गरिदियो। त्यसपछिका दिनमा विद्यालयहरूमा इन्टरनेटको पहुँच बढेको छ। कक्षाकोठाहरूमा एलसीडी प्रोजेक्टर र स्मार्ट बोर्डहरू झुन्ड्याउने क्रम व्यापक हुँदैछ। सरकारी तथा गैरसरकारी निकायहरूबाट डिजिटल सिकाइ सामग्रीहरू निर्माण गर्ने क्रम पनि बढेको छ। परिणामतः कागजका पानामा निर्माण गरिंदै आएको पाठयोजनालाई क्रमिक रूपमा विस्थापित गरी वेबमा आधारित डिजिटल पाठयोजना बनाउनु अपरिहार्य भइसकेको छ। 

डिजिटल पाठयोजना के हो ?
अनलाइन, भर्चुअल तथा डिजिटल प्लेटफर्महरूको उपयोग गरी शिक्षण सिकाइका क्रममा गराइने क्रियाकलापहरूको मार्गचित्र निर्धारण गर्नु नै डिजिटल पाठयोजना हो। डिजिटल पाठयोजना परम्परागत रूपमा तयार गरिने पाठयोजनाको परिवर्तित रूप मात्र हो। परम्परागत पाठयोजना कागजका पानामा लेखिन्छ भने डिजिटल पाठयोजना वेब वा सिकाइ प्लेटफर्महरूमा निर्माण गरिन्छ। दुवैखाले पाठयोजनाहरूमा राखिने विषयवस्तुमा खासै भिन्नता हुँदैन । तर डिजिटल पाठयोजनाहरू स्रोत–साधन सम्पन्न, लचिलो, अरूलाई दिन र अरूबाट लिन सजिलो हुनुका साथै शिक्षक तथा विद्यार्थीलाई वास्तविकताका साथै भर्चुअल वातावरण उपयोग गर्न र सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज र प्रभावकारी हुन्छ। 

डिजिटल पाठयोजना किन ? 
डिजिटल–शिक्षा सामान्य प्रविधि मात्र होइन । यो त ज्ञान संकलन, आर्जन र बाँडचुँड गर्ने तौरतरिका पनि हो। परम्परागत शिक्षा एउटा कक्षाकोठाको अनुभव हो, जहाँ शिक्षकले उपलब्ध गराएको स्रोतमा मात्र सीमित रहनुपर्छ। डिजिटल कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थीको सिकाइ स्रोत–सामग्रीमा पहुँच धेरै हुन्छ। डिजिटल युगका शिक्षक तथा विद्यार्थीहरू शिक्षण सिकाइको लागि निर्धारित भौतिक कक्षाकोठाभित्र मात्र सीमित हुनुपर्दैन। उनीहरू अनलाइन तथा डिजिटल सिकाइका साधनहरू प्रयोग गरी जुनसुकै बेला जहाँबाट पनि सिकाइ क्रियाकलापमा सहभागी हुनसक्छन्। 

डिजिटल पाठयोजना निर्माण गर्न र अरूमाझ् पु¥याउन सजिलो हुन्छ । इन्टरनेटको पहुँच भएमा यस्ता पाठयोजनाहरू सातै दिन, चौबिसै घण्टा जुनसुकै स्थानमा बसेर निर्माण, प्रयोग र अरूलाई उपलब्ध गराउन सकिन्छ। एक पटक निर्माण गरिएका डिजिटल पाठयोजना सामान्य सम्पादन गरेर पाठ्यक्रम परिवर्तन नभएसम्म पुनः–पुनः प्रयोग गर्न सकिने भएकाले यो समय र स्रोत–साधनको हिसाबले कम खर्चिलो पनि हुन्छ । डिजिटल पाठयोजनाको निर्माण र प्रयोगले शिक्षक तथा विद्यार्थीलाई प्रविधिमैत्री बनाउँछ, जुन आजको अपरिहार्य आवश्यकता हो। यो कुरा परम्परागत पाठयोजना निर्माण गरी सोही अनुसारको पठनपाठनबाट मात्र सम्भव हुँदैन।

डिजिटल पाठयोजनाका आधारभूत पक्ष 
पाठयोजनामा बहुआयामिक पक्ष रहेका हुन्छन्। तर परम्परागत र डिजिटल पाठयोजनाका आधारभूत पक्षहरूमा खासै भिन्नता हुँदैन। यी दुईबीच मुख्य फरक भनेको प्रस्तुतिको शैली र प्रविधिको उपयोग हो। पाठयोजनाको केन्द्रविन्दु पाठ्यक्रम हो। पाठ्यक्रम, उद्देश्य, विषयवस्तु, शिक्षण विधि, शैक्षिक सामग्री, शिक्षण क्रियाकलापहरू, सन्दर्भ सामग्री र विद्यार्थी मूल्यांकन डिजिटल पाठयोजनाका आधारभूत पक्ष हुन्। यी आधारभूत पक्ष कसरी अन्तरसम्बन्धित रहेका हुन्छन् भन्ने कुरा माथिको शब्दचित्र मा देखाइएको छ। शिक्षण सिकाइ क्रियाकलाप निर्माण गर्दा पाठ्यक्रमका अतिरिक्त उद्देश्य, विषयवस्तु, शिक्षण विधि, शैक्षिक सामग्री तथा सन्दर्भ सामग्री लगायतका ६ वटा पक्षहरूमा ध्यान दिनुपर्छ । कक्षामा गरिने हरेक क्रियाकलापको लागि लाग्ने समय विभाजन गर्नुपर्छ। विद्यार्थी मूल्यांकनका लागि प्रयोग गरिने कक्षा–कार्य र गृहकार्य पाठको शैक्षिक उद्देश्यसँग सम्बन्धित हुनुपर्छ। डिजिटल पाठयोजनामा उल्लिखित आठ वटा पक्षबाहेकका अन्य पक्षहरू जस्तै विषय, एकाइ, पाठ शीर्षक, मिति र अवधि तथा पाठयोजनाको निर्माण, सम्पादन र स्वीकृत गर्नेहरूको विवरण समेत उल्लेख गर्नुपर्छ।  

डिजिटल पाठयोजना कसरी बनाउने ? 
डिजिटल पाठयोजना एकल वा सामूहिक रूपमा बनाउन सकिन्छ । धेरै विद्यार्थी भएका विद्यालयमा एउटै कक्षामा पठनपाठन गराउने धेरै जना शिक्षक हुने भएकाले कक्षागत, विषयगत शिक्षकहरूको समूहमा बनाउन सकिन्छ। समान स्रोतसाधन भएका छिमेकी विद्यालयका शिक्षकहरूको समूह बनाएर पनि डिजिटल पाठयोजना बनाउन सकिन्छ। शिक्षकहरूको विषयगत र कक्षागत समूह निर्माण गरेपश्चात् आमनेसामने वा भर्चुअल बैठकको आयोजना गरी छलफल गर्र्दै निर्माण गर्न सकिन्छ। आमनेसामने वा भर्चुअल जुनसुकै तरिका अपनाए तापनि डिजिटल पाठयोजनाको लेखन तथा सम्पादन गुगल डक, गुगल शीट्स, गुगल स्लाइड्स अथवा अरू कुनै डिजिटल टेम्प्लेटमा बनाउनुपर्छ। यस्ता डिजिटल टेम्प्लेटमा मस्यौदा गरिएका पाठयोजनाहरू लेखन तथा सम्पादन समूहमा जिमेल मार्फत आदानप्रदान गर्नुपर्छ। डिजिटल पाठयोजनाको ढाँचा (फम्र्याट) तय गरेपछि अफलाइनमा कम्प्युटरमा टाइप गरी वेबसाइट वा वेबपोर्टलमा राख्न सकिन्छ अथवा अनलाइनमा सीधै टाइप तथा सम्पादन गर्न सकिन्छ । यसरी तयार गरी पठाइएका डिजिटल पाठयोजनाहरू समूहका सदस्यहरूले पुनर्लेखन तथा सम्पादन गर्न सक्छन्। 

डिजिटल पाठयोजनाहरूको निर्माण शैक्षिक सत्रको प्रारम्भमा वा हरेक त्रैमासिक परीक्षाको समाप्तिपश्चात् वा एकाइगत रूपमा निर्माण गर्न सकिन्छ। थोरै विद्यार्थी भएका र साना विद्यालय जहाँ एक जना मात्र शिक्षकले पढाउनुपर्ने अवस्था छ भने एक जनाले मात्रै पनि डिजिटल पाठयोजना बनाउनुपर्छ। डिजिटल पाठयोजना निर्माणको ढाँचा तलको तालिका मा दिइएको छ। यो ढाँचा परिवर्तन गरी आफू अनुकूल बनाउन सकिन्छ।  

डिजिटल पाठयोजनाको निर्माणको मुख्य आधार पाठ्यक्रम एउटै भए तापनि विद्यालयगत स्रोत–साधनको अवस्था फरक–फरक हुने भएको हुनाले आफ्नो विद्यालयमा उपलब्ध स्रोत–साधन र आफ्नो दक्षताको आधारमा नै डिजिटल पाठयोजनाको निर्माण गर्नुपर्छ।

डिजिटल पाठयोजनाका फाइदा
डिजिटल पाठयोजना कम खर्चिलो हुन्छ। डिजिटल पाठयोजना पाठ्यक्रम परिवर्तन नभएसम्मका लागि सामान्य सम्पादन गरेर वर्षौं वर्षसम्म प्रयोग गर्न सकिने भएकाले स्रोत, साधन र समयको बचत हुन्छ। डिजिटल पाठयोजना निर्माण गर्दा कागज खर्च हुँदैन। 

डिजिटल पाठयोजना पुनर्लेखन तथा सम्पादन गर्न सजिलो हुन्छ। डिजिटल पाठयोजना सातै दिन, चौबिसै घण्टा आफू जता गए पनि सँगै हुन्छ ।
डिजिटल पाठयोजना परम्परागत पाठयोजना भन्दा सिर्जनात्मक हुन्छ, सिर्जनात्मक बनाउन सकिन्छ। डिजिटल पाठयोजनाको लेखन तथा सम्पादन अनलाइन वा अफलाइन मोडमा आमनेसामने वा भर्चुअल प्लेटफर्ममा बसेर एकल वा सामूहिक प्रयत्नमा गर्न सकिन्छ। 

सामान्यतया डिजिटल पाठयोजना सामूहिक प्रयत्नमा निर्माण गरिन्छ। सामूहिक प्रयत्नमा गरिने कार्यले सहयोगी भावनाको विकास हुनुका साथै अनुभव कम भएका शिक्षकहरूलाई अनुभवी शिक्षकहरूसँग सिक्ने सहज वातावरण बन्नुका साथै उनीहरूको आत्मविश्वास समेत बढ्दै जान्छ। 
डिजिटल पाठयोजना समूहमा निर्माण गर्दा धेरै जनाका विचारहरू संयोजन गरी क्रियाकलापमुखी र विद्यार्थीकेन्द्रित बनाउन सहज हुन्छ। 
डिजिटल पाठयोजना निर्माण गर्दा वास्तविक, प्रयोगशाला र भर्चुअल सबै प्रकारका शैक्षिक सामग्री प्रयोग गर्न सकिने भएकाले शिक्षण–सिकाइमा धेरै प्रकारका स्रोत–साधन प्रयोग गर्न सकिन्छ।

डिजिटल पाठयोजनामा सिकाइ स्रोत सामग्रीहरूको वेब लिङ्क, विषयगत अनलाइन सिकाइ प्लेटफर्म (वेब २.० टुल्स, वेब ३.० टुल्स, लर्निङ एप्स) आदिमा राखिने भएकाले पठनपाठनको क्रममा कक्षाकोठामा उक्त सिकाइ स्रोत सामग्रीहरू स्मार्ट बोर्ड वा प्रोजेक्टरबाट तत्काल प्रदर्शन गर्न र विद्यार्थीलाई क्रियाकलापहरूमा सहभागी गराई सक्रिय बनाउन सकिन्छ।

डिजिटल पाठयोजना स्मार्ट बोर्ड वा प्रोजेक्टर मार्फत विद्यार्थीमा देखाउन सकिने भएकाले कक्षामा उनीहरूले के–कस्ता क्रियाकालाप गर्नुपर्नेछ भन्ने बारेमा कक्षाको प्रारम्भमा नै सहजै जानकारी गराउन सकिन्छ। 

निष्कर्ष 
कागजका पानामा निर्माण गरी वर्षेनि पुनर्लेखन गर्नुपर्ने परम्परागत पाठयोजनाले २१औं शताब्दीका शिक्षक तथा विद्यार्थीको सिकाइ आवश्यकता पूरा गर्न सक्दैन। परम्परागत रूपमा कागजमा निर्माण गरिंदै आएको पाठयोजनालाई वेबमा आधारित डिजिटल पाठयोजनामा रूपान्तरण गरी समय, स्रोत र साधनको बचत गर्नुका साथै समयसापेक्ष बनाउन ढिला भइसकेको छ। हो; आजका दिनमा सबै विद्यालय स्मार्ट भएका छैनन् वा इन्टरनेट तथा अनलाइनको सुविधा पुगिसकेको छैन। तर सबै विद्यालयमा इन्टरनेटको सुविधा, अनलाइन पहुँच पुगेर स्मार्ट कक्षामा रूपान्तरण हुने दिनसम्म पर्खिने हो भने विश्व परिवेशमा हामी धेरै पछि परिसकेका हुनेछौं। 

त्यसैले, पाठयोजनालाई डिजिटलाइज गरी कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता भएको छ। डिजिटल पाठयोजना स्मार्ट तथा अनलाइन कक्षाहरूमा मात्र नभएर प्रविधिविहीन अफलाइन मोडका कक्षाकोठाहरूमा गरिने पठनपाठनमा समेत शिक्षकहरूले समान रूपमा प्रयोग गर्न सक्ने भएकाले यो बहुउपयोगी हुन्छ। त्यसैले, प्रविधिमा आफूलाई अद्यावधिक गरौं ! युग अनुसार आएको परिवर्तनलाई आत्मसात् गरौं। 

(शिक्षा सेवाका पूर्वउपसचिव निरौला हाल भाग्योदय क्याम्पस, साँखु, काठमाडौंका क्याम्पस प्रमुख हुनुहुन्छ।)

commercial commercial commercial commercial