कुरा निजी स्कूलका फर्मानको

गत सालको मंसीर र पुस महीना। फूटबलको विश्वकप चलिरहेको थियो। त्यतिबेला काठमाडौंका स-साना नानीबाबुका बाबुआमालाई एउटा खुशी प्राप्त भयो। शहरमा खुशी पातलिएको बेलामा पाएको एउटा खुशीको महत्व पनि ठूलै हुँदो रहेछ। खासगरी निजी स्कूलमा पढ्ने साना बालबालिकाका अभिभावकले यसपटक नानीबाबुलाई फूटबलको जर्सी किनिदिनु परेन। जर्सी लिएर आउन चार वर्षअघि जस्तो स्कूलले फर्मान जारी गरेका थिएनन्।

एकजना कक्षा-६ मा पढ्ने बाबुको अभिभावकले आफ्नो खुशी यसरी प्रकट गर्नुभएको थियोस “नत्र, स्कूलले जर्सी किनेर पठाउन भन्थ्यो र हामीले टार्नै सक्दैनथ्यौं। बच्चाको रुचि होस् वा नहोस्स लगाउनैपर्ने अनिवार्य भनेर हुकुम सरह उर्दी आउँथ्यो।” फूटबल खेल हेरियो, चर्चा भयो। जर्सी किन्नु नपरेपछि त्यसको भार अभिभावकको खल्तीमा परेन। जाडोको ज्याकेट वा स्वेटरभित्र जर्सी लगाएर देखाउन मिल्ने भएन । विदेशबाटै आउने यो जर्सी किन्नका लागि राज्यबाट विदेशी मुद्रा बाहिरिएन। मौसमले ल्याएको अप्रत्यक्ष फाइदा हो यो मुलुकलाई।

म यहाँ मुसा बनेर अभिभावकको खल्तीभित्र पस्न सक्ने स्कूलका मालिक, प्रशासक र शिक्षकका कतिपय ताज्जुब लाग्दा कुरा पस्किंदै छु । गुनासोको पोको खोल्नुअघि निजी स्कूलका सर, हेडसर, म्याम र सञ्चालकहरूसँग माफ पनि माग्छु। कृपया व्यक्तिगत रूपमा नलिइदिनुहोला।

मेरो छोरी कक्षा-२ मा छँदा स्कूलले जर्सी किनेर ल्याउन फर्मान जारी गर्‍यो। बच्चालाई ‘अनिवार्य’ भनेर पठाएपछि के चाहियो रु हामी अभिभावकले आवश्यकता हो/होइन भन्ने विवेक प्रयोग गर्न पनि पाउँदैनौं। आज आदेश जारी हुन्छ, भोलिपल्टै चाहिन्छ। अभिभावकको क्षमता र समय छ कि छैन भन्ने पनि विचार गरिंदैन। अभिभावककोे पनि सोचाइ हुन्छ, विवेक हुन्छ भन्ने कुरा स्कूलले बुझन खोजेको पाइँदैन। मैले छोरी पढ्ने स्कूलका कोअर्डिनेटर अलि कुरा बुझने खालको हुनुहुन्छ भन्ने लागेर आफैंले फोन गरेर त्यसरी जर्सी किन्न लगाउनुको तुक नभएको जिकिर गरें। तर ती कोअर्डिनेटरको इगोमै प्रहार ग¥योे शायद मेरो कुराले। ‘जर्सी लगाएपछि बच्चाले रंग चिन्छन् अनि विभिन्न देशका खेलाडीका जर्सी पहिचान गर्न सक्छन्’ भनेर कुतर्क समेत गरे। मेरो केही सीप लागेन। तैपनि मैले भने मेरो छोरीलाई जर्सी बोकाएर पठाइनँ। उसलाई सम्झाई-बुझाई गरेर स्कूल भने पठाइरहें।

त्यतिबेला मेरो मनमा चाहिं विश्वकप चलिरहँदा जर्सी किन्न लगाउनुको सट्टा फूटबल खेलको बारेमा केही कुरा सिकाएको भए कति राम्रो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो। मैले सोचेंस हाम्रा स्कूलले फूटबल खेल पेशा पनि हुन्छ र विद्यार्थीको रुचि छ भने फूटबल खेल खेल्नु पनि महत्वपूर्ण कुरा हो भनेर सिकाइदिए कति राम्रो हुन्थ्यो होला !  यस्ता कुरा बुझ्ने हेडमास्टर भइदिए कति सुन्दर हुन्थ्यो होला रु विश्वकप भइरहँदा ग्राउण्डमै लगेर हरेक बच्चालाई फूटबल खेलाएको भए झनै राम्रो हुन्थ्यो होला !  यो मेरो मनोवाद मात्र थियो।

गत पुसकै कुरा हो। मेरो साथीको छोरी पढ्ने स्कूलले त्यस्तै फर्मान जारी गरेको रहेछस क्रिसमसको ड्रेस लगाएर आउनैपर्ने !  ती नानी युकेजीमा पढ्छिन्। यो फर्मान जारी गर्ने स्कूलका शिक्षक र कर्मचारी के सोच्दा हुन् थाहा छैन। तर मेरो साथीको श्रीमती फोन गर्दै आफन्त कसैकोमा त्यस्तो ड्रेस छ कि भनेर खोज्दै हुनुहुन्थ्यो। त्यस्तो ड्रेस एकदिनका लागि किन्नु भन्दा सापटी पाए हुन्थ्यो भनेर त्यसो गर्दै हुनुहुन्थ्यो। आफू क्रिसमस नमनाउने परिवारको भए पनि स्कूलको त्यो फर्मान अभिभावकले पालना गर्नैपर्‍यो !  अचम्मको दादागिरी !  स्कूलले अभिभावकहरूसँग सल्लाह गरेर ‘क्रिसमस पर्व मनाउन गइरहेका छौं तपाईंसँग उपलब्ध छ भने क्रिसमसको पोशाक लगाएर पठाइदिनु’ भनेको भए पनि ठीकै मान्न सकिन्थ्यो। तर त्यसो गरिंदैन।

स्कूलका फर्मान क्रिसमसमा मात्रै होइन कृष्णजन्माष्टमीमा पनि आउने गरेका छन्। मेरो घरछेवैको सानो मन्टेसरी स्कूलले त्यसै गर्‍यो गत भदौमा। साना बाबुहरूलाई कृष्णको र नानीहरूलाई राधाको बस्त्र लगाएर पठाउन ‘हुकुम’ जारी गर्‍यो। अभिभावकले किन्नैपर्ने यस्ता बस्त्र लगाएरस देखाएर हुने उपलब्धि कसले मापन गरिदिने होला रु स्कूल साहुहरूका संस्था ‘प्याब्सन’ ले यस्ता फजुल र अनावश्यक व्यवहार सम्हाल्न आचारसंहिता बनाउन सक्थे होलान्स तर त्यसो गरेका छैनन्।

हुन त आडम्बरको संस्कृतिले हामीलाई छपक्कै छोेपेको छ । बोलबम भन्दै साउनमा पहेंलो बस्त्र लगाउने लहर नै चल्छ। तर बोलबम र शिवशक्तिका बारेमा थोरै ज्ञान लिने फुर्सद भने तिनलाई हुँदैन। हामी व्यक्तिको खल्तीमा मात्रै होइन राज्यकै विदेशी मुद्राको ढुकुटी सिध्याउने कुरामा समेत हचुवाका भरमा हिंडेका छौं। गत वर्ष श्रीलंकाली जनताले विदेशी मुद्राको अभावमा भोगेको इन्धन र औषधि अभावका घटनाबाट पाठ सिक्ने हो भने व्यर्थका र फजुल खर्च गर्ने/गराउने स्कूलदेखि सबैतिर वित्तीय शिक्षा अत्यावश्यक छ । त्यस्तो पाठ सिकाउन थालेमा एउटै स्कूलले पनि ठूलो योगदान दिन सक्छ। नेपालमा वा विदेशमा बनेका गुणस्तरीय सामान पसलमै गएर खरीद गर्दा हुने फाइदाका बारेको शिक्षा विद्यालयमै दिइनु आवश्यक छ।

(लेखक स्वतन्त्र पत्रकार हुन् ।)

commercial commercial commercial commercial