कोरोना र सिकाइ
कोभिड-१९ महामारीको शैक्षिक असर कक्षाकोठामा अहिले आएर स्पष्ट अनुभव हुन थालेको छ। त्यतिवेला कक्षा-शिक्षण प्रभावकारी र निरन्तर नभए पनि विद्यार्थीको कक्षोन्नति भने भइरह्यो। त्यसको असरका कारण हालका कक्षामा अपेक्षित सिकाइ उपलब्धि र शिक्षण-सिकाइ हुन सकिरहेको छैन। महामारीको समयमा गरिएका अनलाइन र वैकल्पिक शिक्षणहरू खासगरी इन्टरनेट-वाईफाई र मोबाइल वा ल्यापटप सुविधा भएका सीमित परिवारका विद्यार्थीका निम्ति मात्रै उपयोगी भए। त्यस्ता विद्यार्थीले केही सिक्ने अवसर पनि पाए। तर अधिकांश ग्रामीण बस्तीका कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहुँच इन्टरनेट र विद्युतीय ग्याजेट्समा हुन सकेन। यसले गर्दा डिजिटल पहुँच भएका र नभएका बीच सिकाइस्तरमा पनि ठूलो असमानता सिर्जना भयो।
अनलाइन शिक्षण-सिकाइ अभ्यास लगभग शून्य रहेको नेपालको विद्यालय शिक्षा क्षेत्रमा कोभिड-१९ को जबर्जस्त प्रभाव पर्यो। विद्यालयमा भौतिक उपस्थिति र पठन-पाठन बन्द भयो । क्रमशः विभिन्न सरकारी एवं गैरसरकारी प्रयासबाट केही शिक्षकहरू डिजिटल प्रविधिको प्रयोग गरी शिक्षण गर्न सक्ने भए। यसप्रकारको पहल थाल्न बाध्यात्मक अवस्था महामारीले सिर्जना गर्यो। यसलाई सकारात्मक नै मान्नुपर्दछ। त्यसअघिका दिनमा स्कूललाई केही थान कम्प्युटर र इन्टर्याक्टिभ ह्वाइट बोर्ड वितरण गरिएका भए पनि तिनलाई प्लाष्टिक ओढाएर राखिएको अवस्था थियो। कोरोनाको महामारीले अज्ञानता, अरुचि, अक्षमता र प्रविधिलाई विलासिताका रूपमा लिने मानसिकतालाई चुनौती दिंदै डिजिटल प्रविधिप्रतिको आकर्षण बढाइदियो। हजारौं शिक्षकले आवश्यक सीप सिकेर कम्प्युटर प्रयोग गर्न थाले। अभिभावकहरू पनि मोबाइल र इन्टरनेट डाटा किनेर छोराछोरीको पढाइ निरन्तर गराउन लागिपरे। संघ र स्थानीय सरकार तथा संघसंस्थाहरू समेतले रेडियो टेलिभिजनबाट शिक्षण गरे । तथापि यी प्रयासहरूको प्रभाव पनि सबै बालबालिकासम्म खासै पुग्न सकेन।
शिक्षण-सिकाइको निरन्तरता र सिकाइ उपलब्धिस्तरको समस्या एकातिर छ भने महामारीको प्रभाव बालबालिकाको स्वास्थ्य एवं मानसिक अवस्थामा अझ् गम्भीर परेको छ। महामारीबाट बचाउनका लागि (सावधानी अपनाउने अपेक्षा गरेर) महामारीका बारेमा बढी नै प्रचारप्रसार भयो। कतिपय बालबालिका स्वयं र तिनका इष्टमित्र, छिमेकी, संगी-साथी र परिवारका सदस्य लगायत देश-विदेशमा धेरै मानिस महामारीबाट पीडित भए। कैयौंको मृत्यु भयो । कष्टकर तरीकाले एकान्तवास र पीडा सहन बाध्य भए। रोकथामको आशा गरिएको सुई पनि शिक्षक र विद्यार्थीलाई अति कम प्राथमिकताका साथ लगाइयो। राज्यका यी विभेदकारी व्यवहार समेत तनावका कारक बने। यदि कोभिड-१९ ले छोयो भने एक्लै परिने र उपचार पत्ता नलागेको, एकान्त बस्नुपर्ने, कोभिडपछि पनि सजिलै रोग लाग्ने जस्ता प्रचार व्यापक गरियो। मानिसले लापरवाही नगरुन् भन्ने सन्देश दिने नाममा कोभिड विरुद्ध अतिरञ्जनात्मक प्रचार पनि भयो, जसले भय र त्रासको माहोल बनायो।
अचेल विद्यालयहरू नियमित खुलेका छन्। शिक्षण–सिकाइ प्रक्रियाहरू पूर्ववत् चलेका देखिन्छन्। तर कक्षामा विद्यार्थीसँग दैनिक सामीप्यमा रहँदा पहिलेको जस्तो सहज परिस्थिति देखिंदैन। उदाहरणका लागि, कुनै विद्यार्थीले कक्षामा हाच्छिउँ गर्यो वा रुघा वा खोकी लागेको छ भने त्यहाँ संशय पैदा हुने र ऊसँग बस्न वा सँगै कार्य गर्न हिच्किचाउने गरेको पाइन्छ। शिक्षकहरू समेत नजिक पर्न अप्ठेरो मान्छन्। यसप्रकारको मानसिकता र आफूप्रति गरिने व्यवहारको बालबालिकाले सूक्ष्म अवलोकन गरेका हुन्छन्। विद्यालयमा अहिले पनि कतिपय बालबालिका मास्क लगाएर आउँछन्। धूलो, फोहोर र विभिन्न रोगबाट बाँच्नका लागि मास्क लगाउनु ठीकै हो। तर सबैमा यो भावना छैन। मास्क लगाउनु भनेको कोभिडबाट जोगिनैको लागि हो भन्ने बुझेर मास्क लगाउने धेरै छन्। अर्थात् विद्यार्थी अहिले पनि शंका गरिरहेका हुन्छन् कि उनीहरू जतिबेला पनि संक्रमित हुनसक्छन्। विद्यार्थी जस्तै शिक्षकहरू पनि पूर्ण आत्मविश्वासका साथ कक्षामा जान सकेका छैनन्।
अहिले हरेक कक्षामा विद्यार्थीको स्तर कमजोर हुनुको मुख्य कारण विगतका दुई वर्ष खासै नपढेका विद्यार्थीलाई पनि कक्षोन्नति गरिनु हो। पूर्व ज्ञानको अभावमा उनीहरूलाई अहिलेको पाठ्यवस्तु बुझन/बुझउन कठिनाइ भएको छ। उदाहरणका लागि, कक्षा ५ र ६ अधिकांश समय घरमै बसेर बिताएका विद्यार्थी अहिले कक्षा-८ मा पुगेका छन् । तिनलाई कक्षा ५, ६ र ७ कै पाठ्य विषयको पूर्ण जानकारी नभएका कारण कक्षा-८ असाध्यै अप्ठेरो भएको छ। लेखक स्वयंले कक्षा ५ मा अंग्रेजी विषयमा प्रिपोजिशन सिकाउने क्रममा ऋतु, महिना, वर्ष, शताब्दी जनाउने शब्दका अगाडि ‘इन’ (in) लाग्छ भन्ने सिकाएपछि पनि विद्यार्थीले बुझे/नबुझेको शंका निवारण गर्न ‘विन्टर’ (winter) मा कुन प्रिपोजिशन लाग्छ भनी सोध्दा विद्यार्थीलाई ‘विन्टर’ महीना होइन, ‘सिजन’ हो भन्ने थाहा नभएको पाएँ । यसरी विगतमा या तल्लो कक्षामै सिकिसकेको हुनुपर्ने ज्ञान सिक्ने बेलामा कोभिडका नाममा छुट्टी भयो। अहिले समस्या पर्यो।
कोभिड-१९ ले ठूलो नोक्सानीसँगै हामीलाई केही पाठ पनि सिकाएको छ। विज्ञान र सूचनाप्रविधिको व्यापक विकास हुँदा समेत सुषुप्त अवस्थामा रहेको नेपालको शिक्षा क्षेत्रलाई जगाउने प्रयास भएको छ। कक्षामा कम्प्युटर र डिजिटल स्रोत सामग्रीको प्रयोग बढिरहेको छ। शिक्षकहरूले सूचनाप्रविधिको ज्ञान र प्रयोग बढाइरहेका छन्। पहुँच वृद्धिका लागि विभिन्न तहका सरकारहरूले पहल थालेका छन्। कतिपय स्थानीय तहले शिक्षकलाई ल्यापटप र कम्प्युटर तालिम दिइरहेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइसम्बन्धी ‘पोर्टल’ निर्माण गरी विभिन्न सामग्री अपलोड गरेको छ। पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, अडियोभिजुअल सामग्री विकास गरी निःशुल्क प्रयोग गर्न मिल्ने गरी ‘अपलोड’ गरेको छ। तालीम केन्द्रहरूले अनलाइन शिक्षक तालीम सञ्चालन गरेका छन्। अर्थात् जोखिमका समयमा पनि अनलाइन माध्यमबाट शिक्षण-सिकाइ प्रक्रिया निरन्तर गर्नका लागि शिक्षकहरूलाई तयार गर्ने पहल शुरू भएका छन् । ग्रामीण बजारीकरण र स्थानीय तहका प्रयासका कारण केही वर्षभित्र अधिकांश विद्यालयमा इन्टरनेट सुविधा पुग्ने आशा गर्न सकिन्छ।
शिक्षामा डिजिटाइजेशन सँगसँगै विद्यार्थी कल्याण वा आरोग्य (वेल बिइङ्ग) का लागि पनि कार्य गर्नुपर्ने भएको छ। यसका लागि शिक्षकको कक्षाकोठाभित्रको व्यवहारको महत्वपूर्ण भूमिका हुन्छ। विद्यार्थीलाई तिमी वा तपाईं भनी सम्बोधन गर्ने, विद्यार्थीका लागि मनोसामाजिक परामर्श सञ्चालन गर्ने, हरेक विद्यालयमा शिक्षकहरूमध्येबाटै परामर्शदाता नियुक्ति गरी विवाद मिलाउने, मध्यस्थ गर्ने, नरम बोलीचाली, विद्यार्थीको क्षमता अनुसारका कार्य दिने गर्नुपर्ने देखिन्छ। यी व्यवहारले विद्यार्थीका तनाव वा आवेग व्यवस्थापन गर्न मद्दत पुग्छ। त्यसैगरी, सिकाइ प्रभावकारिता बढाउनका लागि विगतका वर्षमा छुटेका विषयवस्तु, जुन अहिलेको पाठका लागि सहायक हुन्छन्, ती पनि सिकाउनुपर्ने देखिन्छ। अन्यथा पूर्व ज्ञानको अभावमा माथिल्लो कक्षाका विषयवस्तु जान्न सक्दैनन् र सिकाइ उपलब्धि कमजोर हुन्छ।
कोभिड-१९ बाट भएको क्षति पूर्तिका लागि चालु शैक्षिक सत्रमा पनि मुख्य-मुख्य विषयवस्तु समेटेर विषयवस्तु केन्द्रित सिकाइ गर्नुपर्ने देखिन्छ। यसका लागि शिक्षण नोट बनाएर पढाउन सकियो भने सजिलो हुन्छ। त्यसैले डिजिटल प्रविधि सहितको शिक्षण, पूर्व ज्ञानसहित विषयवस्तु केन्द्रित शिक्षण र विद्यार्थी परामर्श एवम् उत्प्रेरणात्मक शिक्षक व्यवहारबाट शिक्षण–सिकाइ प्रक्रियाको प्रभावकारिता बढाई उपलब्धिस्तर बढाउन सकिन्छ।
(मोहन कन्या मावि, तानसेन, पाल्पा ।)



