बुद्धको देशमा बुद्ध नै विरानो !
२०७३ साल मंसीर महीनाको १२ गते । स्थान रसुवा मावि धुन्चेको पाङ्गण । प्रसंग राष्ट्रिय महिला आयोग, काठमाडौंले आयोजना गरेको ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान–२०१६ ।’ ठूलो ब्यानरमा लेखिएको थियो, ‘घर शान्ति नै विश्व शान्तिको आधार ः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज ।’ शिक्षक विद्यार्थीले खचाखच भरिएको प्राङ्गणमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको शीर्षक थियो– ‘लैङ्गिक हिंसा विरुद्धको अभियानमा विद्यार्थीको भूमिका ।’
१५ दिन पहिले नै रसुवा जिल्लाका सबै माविहरूलाई सो प्रतियोगिताका बारेमा पत्राचार गरिएको थियो । शिक्षकले आफ्ना नानीहरूलाई खूबै मिहिनेत र तयारी साथ उपस्थित गराएका थिए । कुन विद्यालय प्रथम हुन्छ ? यो कौतुहलले नै कार्यक्रम अवधिभर सबै दर्शकलाई शान्त र अनुशासित हुने ऊर्जा दिएको थियो ।
निर्धारित पाँच–पाँच मिनेटको समयसीमामा रहेर बीस जना वक्ताले जानेसम्मका, गुरुले सिकाएसम्मका विषयवस्तु कुशलतापूर्वक प्रस्तुत गरे । तर अचम्म ! अहिंसा र शान्तिको पैरवी गर्दै गर्दा कुनै पनि वक्ताले बुद्धको नाम लिएनन् । मलाई साह्रै खल्लो लाग्यो । कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिने सामान्य औपचारिकता बाहेक बोल्न मन लागेन । विद्यालयबाट बाहिरिंदा बाटोमा बा.अ.ख. २२७५ को बस गुड्दै थियो, त्यसको पछिल्तिर अंग्रेजीमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको देखें । मनमा धेरै तर्कना आए ।
आफैंलाई अचम्म लाग्यो– हिंसा विरुद्धका बहस, वक्तृत्वकला प्रतियोगिता, निबन्ध, प्रबन्ध, नाटक जस्ता सह–क्रियाकलापका लागि विद्यार्थी तयार गर्दा बुद्धको नाम लिने खाँचो किन महसूस भएन हाम्रा शिक्षकलाई ? के यस्तै अवसरमा होइन र विद्यार्थीलाई राष्ट्रियता र आफ्नोपन बोध गराउने ? यो कुरा शिक्षक साथीहरूलाई कसले सिकाउने ? सबै प्रकारको हिंसाको विरुद्धमा रहेको संसारको पहिलो दर्शनको छायाँसम्म हाम्रा विद्यार्थीमा पर्न नसक्नु, तर केही पश्चिमाहरूको नाम शुद्ध उच्चारणसहित गाथा गाइनुलाई कसरी लिने ? म साँच्चै नै अलमलिएँ ।
हामीले विदेशीको सहयोगमा पाठ्यक्रम बनायौं । कक्षाकोठाको व्यवस्थापन, सिकाइका तौरतरीकाहरू उनीहरूले नै सिकाए । पाठ्यक्रम परिमार्जन पनि उनैको साथ र सहयोगमा ग¥यौं । नीतिनिर्माणदेखि कार्यान्वयन तहसम्म उनीहरूको शिक्षा, दीक्षा औ दान विना हामी चल्नै नसक्ने भयौं । यो बीसौं वर्षदेखि निरन्तर चलाइएको प्रक्रिया हो । अब कसैले हाम्रा पुर्खाहरूले कसरी ज्ञान, सीप र धारणाको विकास गराउँथे वा कस्ता प्रकारका सिकाइका तौरतरीका अपनाउँथे ? भनी प्रश्न ग¥यो भने हामीसँग उत्तर छैन । कसैले त्यस्ता विषयमा अनुसन्धान गर्छु भन्यो भने पनि हामी त्यसलाई निरुत्साहित पार्दछौं र यस्ता कुरामा स्रोत र साधन जुटाउन चाहँदैनौं ।
आधुनिक विज्ञानका जन्मदाताहरूले आफ्ना थेसिसमा पूर्वीय दर्शन र ज्ञानबाट प्राप्त विषयवस्तुलाई नै अनुसन्धानको स्रोत बनाइएका थुप्रै उदाहरण उल्लेख गरेको पाइन्छ । तर हामीले यस्ता ज्ञानका क्षेत्रलाई धर्म र अफिमको नशासँग जोडेर हेर्ने पश्चिमा दर्शन अँगाल्यौं । एकातर्फ हामीले ‘नागरिक शिक्षा’ बाट आफ्ना नानीहरूलाई बन्चित गरेका छौं भने अर्कोतर्फ मिडिल कक्षाहरूमा दिइएको ‘पूर्व व्यावसायिक शिक्षा’ लाई पंचायती व्यवस्थासँग जोड्यौं र लामो समयसम्म विद्यार्थीबाट टाढा राख्यौं ।
बग्रेल्ती उदाहरणबीच एउटालाई लिऊँः विश्वविख्यात् अमेरिकी भाषावैज्ञानिक नोम चोस्कीले हार्वर्ड विश्वविद्यालयबाट १९५५ मा विद्यावारिधि गर्दा नै संस्कृत वैयाकरणी पाणिनिलाई भाषाशास्त्रका आदि गुरु मानेका थिए । तर यता भने पाणिनिलगायतका संस्कृतका विद्वानहरूले लेखेका पुस्तक जलाउने अभियान चल्यो । के यस्ता कुरालाई संयोग मात्र हो भन्न मिल्ला र ?
जब संस्कृति र संस्कारहरू विनिमयका वस्तु हुन्छन् तब शिक्षा क्षेत्रमा काम गर्ने जोकोही पनि विक्षिप्त हुँदोरहेछ । फगत कसैको बाहिर पोखिन्छ, कोही भित्र भित्रै पिल्सिन्छ, फरक यति मात्रै रहेछ । भोलिका सन्तति कस्ता हुने ? यो प्रश्न सोध्न जति सरल छ, उत्तर खोज्न र भेट्टाउन उत्तिकै कठिन । अग्रजहरूले नै लोभको बाटो समातेपछि बुद्धको जन्मस्थल पनि विवादित हुँदोरहेछ ।
(जि.शि.अ., रसुवा)



