गणित बुझाइको भाष्य र हाम्रो दायित्व

गणित– विद्यालयस्तरमा अनिवार्य, विश्वविद्यालयका धेरैजसो कार्यक्रममा सहयोगी र केही कार्यक्रममा प्रमुख अध्ययन विषयको रूपमा राखिएको छ। यस्तो व्यवस्था गर्नु आवश्यक थियो र रहनेछ। आज कृत्रिम बौद्धिकताले जनजीवनका अधिकांश पक्षमा प्रभाव बढाइरहेको अवस्थामा गणित अध्ययनको दायरा अझ् बढाउनु आवश्यक छ। तर समस्या के छ भने-हामीकहाँ गणित सिक्न र सिकाउन कठिन विषय हो भन्ने आम धारणा छ। आम मानिसमा परेको गणितको हाउगुजीको अवधारणा, एसईई जस्ता विद्यालय तहका राष्ट्रिय परीक्षामा लगातार देखिएको उच्च असफलता दर, उच्च शिक्षामा गणित विषय अध्ययन गर्न चाहनेहरूको संख्यामा देखिएको चिन्ताजनक ह्रास र गणित सम्बद्ध मानव संसाधन (शिक्षक)को बढ्दो अभाव राष्ट्रिय चिन्ताको विषय बनेको छ । यस्तो गम्भीर समस्याको कारण खोज्ने र समाधान गर्ने दायित्व हामी सबैको हो। 

के गणित हाउगुजी हो ? 
गणितलाई हाउगुजी ठान्नेहरू धेरै छन्। विद्यालयमा गणित बुझन नसकेको, यसैले तनावमा परेको भन्नेहरू बग्रेल्ती भेटिन्छन्। गणित हाउगुजी होइन, सजिलै सिक्न सकिने विषय हो भन्नेहरूमा अधिकांश गणित शिक्षक, विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्नेहरू भेटिन्छन्। 

उसो भए गणित ‘हाउगुजी हो’ भन्ने अवधारणा किन यति बलशाली भएको हो ? कतै गणित आफैंमा के हो भन्ने बारेमा स्पष्टता नभएकाले त होइन ? मेरो विचारमा गणित सम्बन्धमा स्पष्टता नहुनु नै समस्याको जड हो। 

गणित के हो त !
म विद्यार्थीहरू गणितका विषयवस्तुले राख्ने अर्थ भन्दा गणित आफैंमा के हो भन्ने बारेमा बढी अल्मलिएको पाउँछु। यस्ता कुरामा ममा पनि धेरै स्पष्टता छैन कि जस्तो जहिले पनि लाग्दछ। त्यसैले हाम्रा शिक्षा प्रदायक संस्थाहरूले गणित के हो, गणितका विषयवस्तुले दिने अर्थ के हो, गणितका विषयवस्तुको उपयोग अमूक क्षेत्रमा किन भइरहेको छ जस्ता कुराहरूलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने ठान्दछु।

गणित के हो भन्ने बारे दुईवटा फरक धारणा उपलब्ध छन्। पहिलो- गणित सूत्रहरूको समूह तथा समस्या समाधानका विधिहरूको सङ्कलन हो भन्ने मान्यता प्रभावकारी देखिन्छ। र, यही मान्यतामा आधारित भएर पाठ्यक्रम, पाठ्यवस्तु, पठन प्रक्रिया, परीक्षण व्यवस्था निर्माण भएको पाइन्छ। यस्तो मान्यताले सूत्र तथा समाधान प्रक्रियामा प्रवीणता हासिल गर्नुपर्छ भन्ने जिरह गर्दछ, जसले गर्दा केही कथित मेधावीहरूका लागि गणित सजिलो र अरूका लागि कठिन भन्ने भाष्य स्थापित गर्दछ। तर गणित कथित मेधावीहरूका लागि मात्र आवश्यक होइन, न त केही मानिसले मात्र बुझन सक्ने विषय हो। 

दोस्रो- गणित सिर्जनशील कर्म हो जसले समस्या समाधानका लागि व्यक्तिमा आवश्यक कौशल विकास गर्दछ भन्ने अर्को मान्यता छ। यसले सिर्जनशीलतासँग जोडेर कौशल वृद्धि गर्ने प्रक्रियाका रूपमा गणितलाई लिने मान्यता विकास गर्दछ जसले अहिले भएका पाठ्यक्रम निर्माणदेखि परीक्षा व्यवस्थासम्ममा परिष्कारको आवश्यकता देखाउँछ। यसले गणित बुझइको भाष्यमा परिमार्जन गर्दछ र गणित कथित मेधावीहरूका लागि मात्र नभएर धेरैका लागि सिर्जनशील प्रयत्न गरी कौशल वृद्धि गर्ने औजारको रूपमा स्थापित गर्दछ।

गणित कुनै सूत्र समूह एवं समाधानका विधिको सङ्कलन मात्र नभएर- जीवन र जगतका पहलुको सही ढङ्गले गरिने अवलोकन, अवलोकनबाट निःसृत हुने त्यस्ता पहलुको चरित्र पहिचान, पहिचान गरिएको चरित्रमा देखिएको समस्याको सही समाधान विधि र स्थापित समाधानको व्याख्या- समेत चार वटा प्रमुख घटकहरूको समुच्चय नै गणित हो। यी चारवटै घटकलाई एउटै वाक्यमा गणितज्ञ डेभिड बेसिसले ‘मानिसमा अन्तरनिहित संज्ञान र जिज्ञासाका बीचको अदृश्य संसार’ भनेर सूत्रबद्ध गरिदिएका छन् । मानिसले आफ्नो अन्तरज्ञान र जिज्ञासा बीच गर्ने गरिएको व्यवस्थित छलफलका लागि ऊ मेधावी हुनै पर्दछ भनेर मान्न सकिंदैन। जिज्ञासावश आफ्नो संज्ञान र गणितमा विकसित तथ्यहरूको उचित संयोजनबाट जिज्ञासा समाधान गर्नु नै गणित हो भन्ने भाष्य स्थापना गर्न सके गणित अध्ययन अध्यापन कठिन छ भनिने थिएन भन्न सकिन्छ।

गणितको पहिलो घटक अवलोकनको आधार स्वयंसिद्ध तथ्यहरू रहेका छन्। कुनै पनि तथ्यको प्रामाणिकता त्योभन्दा आधारभूत तथ्यहरूको उचित संयोजन प्रणाली मार्फत स्थापित गरिन्छ। यी सबै तथ्य स्थापना स्वप्रमाण भनिने स्वयंसिद्ध तथ्यहरूमा आधारित छन्। यस्ता तथ्यहरू या त ठीक या बेठीक हुने चरित्रका हुन्छन्, एकै स्थान र समयमा ठिक पनि बेठिक पनि हुँदैनन्। यो प्रणालीले जीवन र जगतको यथार्थ अवलोकन गर्ने विश्व दृष्टिकोण निर्माण गरेको छ। यही दृष्टिकोण प्राकृतिक, सामाजिक, भौतिक, अभौतिक सबै विज्ञानको भाषा हो। यही अवलोकन प्रणालीबाट जीवन र जगतका पहलुको अध्ययन गर्दा तिनका चरित्र पहिचान गर्न सकिन्छ। कुनै निश्चित स्थान र समयमा आधारित यस्तो पहिचान प्रणाली भनेकै गणितको दोस्रो घटक हो जसले गणितीय सूत्र निर्माण गर्दछ। तेस्रो घटकका रूपमा यस विषयमा सर्वाधिक चासो राखिएको समाधान विधि रहेको छ । यही घटकलाई मात्र मुख्य ध्यान दिएर बनाइएको पाठ्यक्रमदेखि परीक्षासम्मका व्यवस्थाले समस्या सिर्जना गरेको देखिन्छ। अझ गणितको चौथो र जनचासोको मुख्य घटक समाधानको साधारण अवस्थामा बुझ्निे गरी गरिनुपर्ने व्याख्यालाई त बेवास्ता नै गरिएको अवस्था रहेको छ।

जीवन र जगतका पहलुलाई कसरी सिर्जनशील तरिकाले अवलोकन गर्ने, के–कस्ता तथ्यको उपयोग गरिकन त्यसको चरित्र पहिचान गर्ने, कस्तो सिर्जनशीलता सहित समाधान विधिको चयन र उपयोग गर्ने र प्राप्त समाधानको सजिलो गरी व्याख्या गर्ने भनी समग्र रूपले सम्बोधन गर्ने गरी अध्ययन प्रणाली विकास गर्नका लागि हाम्रा पाठ्यक्रम, पाठ्यवस्तु, पठन र परीक्षामा अध्ययन गर्नेहरूका लागि आवश्यक चिन्तन-समय उपलब्ध गराउनुपर्दछ। जिज्ञासा जगाएर आफूमा रहेको संज्ञान र अध्ययनका दौरान प्राप्त गणितीय चिन्तनविधि मार्फत अवलोकन, पहिचान एवं समाधान गर्ने प्रकृतिका अध्ययन प्रणाली विकास गर्नु आवश्यक छ। 

छिटो–छिटो पाठ सक्ने, एउटै प्रश्न बारम्बार समाधान गर्न लगाउने, सूत्र र समाधान विधि घोक्न लगाउने, परीक्षामा कुनै बेला आफैं वा कुनै सहयोगी मार्फत समाधान गरिएका प्रश्नहरू सोधेर परीक्षण गरिने विधिले हालको गणितका तमाम समस्या सिर्जना गरेको छ। 

चिन्तनका लागि समय नै राखेनौं
गणितको पठनपाठन र परीक्षणमा चिन्तन-समयको व्यवस्था नगरिएकै कारण गणितलाई ‘सोधिएका प्रश्नहरूको घोकेर उत्तर लेख्ने विषय’को रूपमा स्थापित गरिदिएको छ। यसबाट गणितको मुख्य चरित्र हराउँछ। परिणामस्वरूप ‘गणित कठिन विषय हो’ भन्ने भाष्य मात्र होइन, अध्ययनमा अरुचि, परीक्षामा असफलता, उच्च अध्ययनमा प्रवेश संख्यामा न्यूनता र यस विषयमा मानव संसाधनको अभाव जस्ता राष्ट्रिय चिन्ता सिर्जना हुन थाल्दछन्।

के गर्ने त ?
नीति-निर्माण, पाठ्यक्रम निर्माण, पाठ्यवस्तु विकास, अध्यापन एवं परीक्षणमा सहभागी हामीहरूमा गणित बुझइको अपूर्ण भाष्यको जबर्जस्त प्रभाव रहेको देखिन्छ। सही भाष्य स्थापना गर्न निरन्तर प्रयत्न र सुधारमा लाग्न सके निश्चय नै सकारात्मक परिवर्तन हुने गरी बदलाव ल्याउन सकिने हुन्छ। यसका लागि यस क्षेत्रसित सम्बद्ध सबै निकायहरूको एकीकृत पहल आवश्यक पर्छ। 

यो पंक्तिकार संलग्न रहेको नेपाल गणित समाजले आफूसित आबद्ध भएका देश-विदेशमा शिक्षा हासिल गरेका, अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न प्रतिष्ठित गणितज्ञहरूको अनुभवका आधारमा ‘सोसाइटी टू सोसाइटी’ (एसटूएस) कार्यक्रम अगाडि सारेको छ। यो कार्यक्रमको उद्देश्य- नेपाल गणित समाज जस्ता सोसाइटी र गणित विषय अध्यापन गर्ने शैक्षिक प्रतिष्ठान, अध्यापन गर्न लगाउने शिक्षा सम्बद्ध निकाय, पालिका लगायत सबै तहका सरकारहरू, शिक्षक एवं तिनका संघ-सङ्गठन आदि सोसाइटीहरूसित सहकार्य गरी गणितको बुझइको सही भाष्य स्थापित गर्ने हो।

एसटूएस अन्तर्गत नेपाल गणित समाजले देशभरका विद्यालय स्तरका गणित विषयका करीब २०० जना शिक्षक बीच छलफल गरी निर्माण गरिएको प्रश्नावली मार्फत एउटा अनुसन्धान कार्य गरेको थियो। उक्त अनुसन्धानको निचोडका आधारमा गणित विषयमा कक्षा ९ देखि १२ सम्म अध्यापनका लागि एउटा पूर्ण प्रकृतिको तालिम पुस्तिका निर्माण गर्ने, त्यसको आधारमा देशभरबाट १४० भन्दा बढी प्रशिक्षक उत्पादन गर्ने र परीक्षणका लागि सातै प्रदेशमा प्रशिक्षण कार्यशाला सञ्चालन गर्ने कार्य नेपाल गणित समाजले सम्पन्न गरिसकेको छ। 
एसटूएस कार्यक्रमलाई प्रशिक्षण कार्यशाला सहित अन्य पक्षहरूमा समेत विस्तार गरेर नेपाल गणित समाज हरेक सरोकार पक्षसँग सहकार्यका लागि तयार रहेकोे छ । यस्ता सहकार्यबाट मात्र हाम्रा समस्या समाधान उन्मुख हुनेछन्। 

(सभापति, नेपाल गणित समाज)

शिक्षक  मासिक, २०८२ भदौ अंकमा प्रकाशित ।  

commercial commercial commercial commercial