सुधारिदै मधेशका साना कक्षा
सामान्यतः सामुदायिक विद्यालयका तल्ला कक्षामा विद्यार्थी संख्या कम देखिन्छ। औसत आर्थिक अवस्था भएका अभिभावकले पनि सकेसम्म साना कक्षामा निजी विद्यालय रोज्ने गरेका छन्। यस्तो सामाजिक मनोविज्ञानले गर्दा पनि सामुदायिक विद्यालयको वरिपरि गाउँ-देहातमा समेत निजी विद्यालयहरू खुल्ने गरेका छन्।
नाम चलेका सामुदायिक विद्यालयमा पनि बालविकास तहदेखि कक्षा-५ सम्म विद्यार्थी संख्या कम पाइन्छ। अझ रजिष्ट्रर र तथ्यांकमा देखिने विद्यार्थी संख्या र कक्षामा उपस्थित हुने विद्यार्थी संख्याबीच तुलना गर्ने हो भने त्यो संख्या अरू कम पाइन्छ।
पछिल्लो पटक, मधेशका केही सामुदायिक विद्यालयमा साना कक्षा सुधारका अभ्यासहरू भइरहेका छन्। पालिका र युवा पुस्ताका शिक्षकको प्रयासले सिरहाको भारतीय सीमासँग जोडिएका नवराजपुर र बरियारपट्टी लगायत गाउँपालिकाका विद्यालयमा केही सकारात्मक परिवर्तन देखा पर्न पनि थालेका छन्। उनीहरूको क्रियाशीलताले अभिभावकको विश्वास सामुदायिक विद्यालयतर्फ फर्किन थालेको छ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव लगानी र चासो माथिल्लो कक्षामा बढी र तल्लो कक्षा कम प्राथमिकतामा परेको स्वीकार गर्छन्। उनले पछिल्लो पटक पालिकाले साना कक्षाको रेखदेख र लगानी बढाइरहेको बताए। यो अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले बालविकासदेखि नै कक्षा सुधारको काम गरिरहेको उनले बताए।
नवराजपुर गाउँपालिकाको भारतीय सीमासँग जोडिएको वडा नम्बर-५ मा रहेको जनज्योति आधारभूत विद्यालय देवनगरका प्रधानाध्यापक रामसुफल सदायका अनुसार गाउँपालिकाले पछिल्लो पटक विद्यालयको शैक्षिक सुधारका लागि चासो बढाएको बताए। गाउँपालिकाले शैक्षिक सुधारको लागि बजेट विनियोजन र शिक्षक भर्नामा समेत ध्यान दिएर ‘एक कक्षा एक शिक्षक, एक विद्यालय एक कम्प्युटर ल्याब’ को नीति अगाडि ल्याएको छ । कक्षा कोठा व्यवस्थापन र शैक्षिक सुधारमा ध्यान दिएपछि विद्यार्थी संख्या १२५ जनाबाट बढेर २०० पुगेको प्रअ सदाय बताउँछन्। ‘आउने शैक्षिक सत्रमा ३०० भन्दा बढी विद्यार्थी भर्ना हुने गरी काम गरिरहेको छु’, उनले भने। कक्षा व्यवस्थापन र शिक्षकहरूलाई आवश्यक परामर्श र थप प्रशिक्षण दिन शिक्षा शाखासँग समन्वय भइरहेको पनि उनले बताए।

तराई-मधेशमा जस्तापाता भएका विद्यालय भवन गर्मी र जाडो दुवै सिजनका लागि अनुकूल छैनन्। यसै भएर लहान, मिर्चैया र धनगढीमाई नगरपालिकाले ‘जस्तापातामुक्त विद्यालय भवन’ निर्माण कार्यलाई प्राथमिकता दिएका छन्। तर एक वर्षमा एउटा आधारभूत विद्यालयलाई मात्र जस्तामुक्त गर्ने अहिलेको कार्यका आधारमा आउने पाँच वर्षमा पनि यहाँका सबै विद्यालयलाई जस्तापातामुक्त बनाउन नसकिने नेपाल शिक्षक महासंघ, सिरहाका अध्यक्ष तथा जनता माध्यमिक विद्यालय पडरिया लहान-१२ का प्रधानाध्यापक रामसेवक यादवको बुझइ छ।
बरियारपट्टी गाउँपालिका वडा नम्बर–१ को जनता आधारभूत विद्यालय कचनारीका प्रधानाध्यापक रामसुफल यादवले थोरै समयमै विद्यालय आकर्षक बनाएका छन्। २०७८ सालमा विद्यालयमा आएका उनी कक्षाकोठा व्यवस्थापन र शिक्षकसँग अनुभव साटासाट र कामको योजना बनाई विद्यालयको शिक्षा सुधारमा लागिरहेका छन् । विद्यालयमा उनको सक्रियताले विद्यार्थी संख्या २३५ बाट बढेर ४७९ जना पुगेको छ। उनले यो संख्या बढाएर ७०० सम्म पु¥याउने लक्ष्य राखेका छन्। आफ्नो अनुभव सुनाउँदै प्रअ यादव भन्छन्, ‘शिक्षक सेवाले लिएको परीक्षाबाट उत्तीर्ण भएर आएका युवा शिक्षकहरूमा केही गरौं भन्ने जोश भए पनि काम गर्नमा पालिकाले अझ्ै सहयोग गर्नुपर्छ।’
साना कक्षाको सुधारका लागि कक्षा व्यवस्थापनसँगै बालबालिकालाई सिकाउने शैली शिक्षकहरूलाई सिकाउनु आवश्यक भएको उनले ठानेका छन्। उनी भन्छन्, ‘ज्ञान-सीप सिकाएर निरन्तर अनुगमन र पृष्ठपोषण गर्ने कार्य भयो भने साना कक्षा सुध्रिन सक्छन्। तर यसरी काम भइरहेको छैन।’ शिक्षामा बजेटसँगै स्थानीय तहले आधारभूत विद्यालयको भौतिक र शैक्षिक सुधारमा लगानी र निगरानी दुवै बढाउनुपर्ने उनको सुझव छ।
नवराजपुर गाउँपालिका-१, करमनियामा रहेको अवधी फेकनी आधारभूत विद्यालयको भौतिक पक्ष हेर्दा देहातका गाउँमा पनि यस्तो विद्यालय छ भन्ने जिज्ञासा उठ्छ । विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद साह भन्छन्, ‘खाल्डो भएको ठाउँमा स्थापित यस विद्यालयको भवन निर्माण, कक्षाकोठालाई प्रविधिमैत्री बनाउँदा स्थानीय अचम्म परेका छन्। फुसको टाटीमा रहेको विद्यालयको अहिले पक्की भवन छ र स्मार्टबोर्ड समेत प्रयोग गरेर शिक्षण गर्न थालिएको छ। विद्यालयमा विद्यार्थी संख्या ५८ बाट २०० पुगेको छ। भौतिक पक्ष पूर्ण भए पनि शिक्षकलाई दक्ष बनाउन तालिमको आवश्यकता रहेको प्रअ साहले बताए। विद्यालयका शिक्षक, अभिभावक र समुदायको साथले नै विद्यालय राम्रो बनाउन सकेको उनको भनाइ छ। उनका अनुसार बालविकास र अन्य शिक्षकलाई सिकाइ र शैक्षिक सामग्री बनाउने तालिम विशेष रूपमा आवश्यक रहेको छ।

गाउँपालिकाले आवश्यक तालिम र बालविकास कक्षा सौन्दर्यकरणको लागि पालिकाभरका २० वटा विद्यालयमा रु.२३ हजारको दरले थप रकम दिएकोे नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव बताउँछन्। यसबाट बालविकास शिक्षकलाई पहिलो चरणको तालिम दिइने उनले बताए।
सामुदायिक विद्यालयहरूको आधारभूत तहको शैक्षिक अवस्था सुधार गर्नको लागि दलित र विपन्न समुदाय रहेका बस्तीहरूमा पृष्ठपोषण कक्षा सञ्चालन हुनु आवश्यक रहेको दलित अभियानकर्मीहरूको बुझइ छ। दलित युवा क्लब लहानका अध्यक्ष उमेश विसुन्केले विपन्न बस्तीको पृष्ठपोषण कक्षाको अनुभवले बालबालिकाको विद्यालय निरन्तरता र सिकाइमा सुधार भएको पाएको बताए। उनका अनुसार धनगढीमाई नगरपालिका-२ बनौली बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिकाको दलित बस्तीमा चलाएको पृष्ठपोषण कक्षामा कक्षा ५ सम्मका बालबालिकाहरू सहभागी थिए।
सिरहा जिल्लामा १७ वटा पालिकाहरू रहेका छन्। ती पालिकामा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक अवस्था सुधार गर्न समन्वयात्मक भूमिका आवश्यक देखिएको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोको ठम्याइ रहेको छ। उनले साना कक्षामा अझ्ै बढी समस्या देखिएको हुँदा त्यसको लागि साझ अवधारणा बनाई सुधारका काम गर्न आवश्यक रहेको बताए।



