गुनकेसरीसँग गाँसिएको यो जीवन !
चपला अवलाहरू एक सुरमा । गुनकेसरीको फूल ली शिरमा ।।
हिंडन्या सखी लीकन वरिपरी । अमरावती कान्तिपुरी नगरी ।।
मेरो स्कूले शिक्षाको प्रारम्भिक कक्षामा दरबार हाईस्कूलका मास्टरसाहेब नेत्रबहादुर थापाको मिठो स्वरमा आदिकवि भानुभक्त आचार्यका माथिका पंक्ति सुनेको हुँ। कक्षामा उहाँको स्वरसँग स्वर मिलाएर लयबद्ध हरफहरू गाएको सम्झ्ना स्मृतिमा अझै बसिरहेको छ। लगभग ७५/७६ वर्ष बितिसक्यो। त्यस कविताको लय एवं शब्दको भाव र प्रभाव भने उमेरसँगै छिप्पिंदै जाँदोरहेछ। अहिले उपर्युक्त पंक्तिमा वर्णित गुनकेसरीको फूल मेरो दिमागमा फक्रन थालेको छ। चपला-अवला सलबलाउन थालेका छन्।
चपला-अवला भन्नाले चञ्चल स्वभावका कोमल तन्नेरीहरू भन्ने बुझन केही वर्ष बिताउनुपर्यो। उमेर मिल्ने सखीहरू लय मिल्ने गरी एकै सुरमा हिंडेको वर्णन बुझन अर्को केही वर्ष लाग्यो। अमरावती कान्तिपुरी नगरीको त्यो बान्कीको चित्र अझै स्मृतिमा कोर्न सकेको छैन। गुनकेसरीको फूललाई भने अलि विस्तृत बुझन सकें।
कान्तिपुरी नगरीमा श्रीपञ्चमीको दिनबाट वसन्त ऋतु प्रारम्भ हुन्छ । पालुवा पलाउने र चराचुरुङ्गीहरू चिरबिराउने यस ऋतुसँगै उपत्यकावासीहरू विवाह बन्धनका साइत जुराउन थाल्दछन्। विवाह महोत्सवहरू मनाउँछन्। नेवारी संस्कारमा बेहुलीलाई प्रदान गरिने विभिन्न उपहारमध्ये गुनकेसरी फूलको गुच्छा प्रायः अनिवार्य हुन्छ । त्यही मौका पारेर यस उपत्यकाका परम्परागत मालीहरू आफ्ना बारी, बगैंचा र गमलाहरूमा गुनकेसरीका फूल फुलाउन प्रयत्नरत हुन्छन्। हाम्रो आफ्नै वनपाखामा पाइने रैथाने बिरुवा हैन गुनकेसरी। दक्षिणी युरोप र मध्यपूर्वतिरबाट आयातित पाहुना पुष्प हो गुनकेसरी। दुर्लभ भइदिनाले यसप्रतिको चाहना अझ् बढ्छ । दुर्लभ फूल शिरमा सिउरेर हिंड्नेको फूर्ति नै बेग्लै !
गुनकेसरीको फूललाई नेवारहरू ‘गुनकेरा स्वाँ’ भन्दछन्। भानुभक्तको कविताले यो बिरुवाको काठमाडौं प्रवेश २०० वर्ष भन्दा पनि निकै पहिलेबाट भएको खुल्न आउँछ । उर्दू र अरबी भाषा बोलिने देशमा यसलाई ‘नर्गिसका फूल’ भनिन्छ। ‘नर्गिसी नजर’ भनेर सुन्दर आँखा भएका नारीलाई प्रशंसा गरिन्छ। भारतकी एक सुन्दर सिने कलाकारको नाम पनि नर्गिस थियो । यही कुराको स्मरण गर्दै वैज्ञानिक क्षेत्रमा नार्सिसस् ९ल्बचअष्ककगक० भन्ने संज्ञा चयन भएको भ्रम मेरो मनमा थियो । तर वास्तवमा त्यसो हैन रहेछ । विद्वान् लेखक सौरभजीले गाँठो सुल्झइदिनुभएको थियो ।
भानुभक्तको गुनकेसरी र उर्दू भाषाको नर्गिसले नारी सौन्दर्यको वर्णन गरेका भए तापनि पौराणिक ग्रीक कथा अनुसार नार्सिसस् कुनै सुन्दर नारीको कथावस्तु नभएर एक रूपवान् पुरुषको व्यक्तित्वसँग जोडिन पुग्छ। सो कथावस्तु अनुसार नार्सिसस् एकजना बडो रूपवान् र पौरखी युवा थिए। धेरै सुन्दर नारीहरू उनलाई प्रेम गर्न लालायित हुन्थे । तीमध्ये ‘इको’ नाम गरेकी एक पर्वतीय परी पनि थिइन्। सबै सबैलाई नार्सिसस्ले अस्वीकार गरे । उनको त्यो घमण्डलाई दण्डित गर्न ईश्वरले नार्सिसस्लाई आफ्नै प्रतिबिम्बमा भुलेर जीवन बिताउनुपर्ने श्राप दिएछन्। ग्रीक राज्यको माउन्ट हेलिकन ९ःयगलत ज्भष्अिबल० पर्वतीय क्षेत्रमा रहेको एउटा दहको पानीमा आफ्नो प्रतिबिम्ब हेरेर उनले दिन बिताउन थाले । कालान्तरमा उनको त्यहीं निधन पनि भयो।
नार्सिसस्लाई खोज्न ‘नार्सिसस्... नार्सिसस्...’ भनी चिच्याउँदै केही मित्रहरू पर्वत छेउ आइपुग्दा उनीहरूले त्यो स्थानमा गुनकेसरी फूल ढकमक्क फुलेको देखे र आफ्नै आवाजको प्रतिध्वनि सुने ‘नार्सिसस्... नार्सिसस्...’ त्यसैबेलादेखि त्यहाँको पुष्पलाई नार्सिसस् भन्ने नाम दिइयो र उनका प्रेमीलाई ‘इको’ अर्थात् प्रतिध्वनि भन्ने संज्ञाले सम्बोधन गर्न थालियो । त्यही कथालाई आधार बनाएर विश्वप्रसिद्ध जीवशास्त्री लिनियस ९ीष्ललबभगक० ले सन् १७५३ मा नार्सिसस् ९ल्बचअष्ककगक० संज्ञा वनस्पति जगतमा स्थापित गरिदिए। अहिले युरोपेली देशहरूमा नार्सिसस् वा डाफोडिल ९म्बाायमष्०ि वा जोन्किल ९व्यलत्रगष्०ि अरबी भाषामा नर्गिस एवं नेपालीमा गुनकेसरी र नेवारीमा गुनकेरा स्वाँ भनिने पुष्प–वनस्पतिलाई वैज्ञानिक शब्दमा नार्सिसस् भनिन्छ । युरोपका वनपाखा एवं सिमसारहरूमा गुनकेसरीको बाहुल्यले वसन्तलाई ढपक्कै छोप्ने गर्छ। हाम्रा आदिकवि भानुभक्त जन्मनुभन्दा करीब एक दशक पहिले विलियम वर्डस्वर्थ ९ध्ष्ििष्बm ध्यचमकधयचतज० ले लेखेको डाफोडिल शीर्षकको कविता हामीले १० कक्षामा पढ्नुपर्दथ्यो । डाफोडिल अर्थात् गुनकेसरी बारेको उक्त कविताको भाव यस प्रकार छ-
जब म बादलसरी उडेर डाँडा, काँडा, खोंचहरूमा एक्लै चहार्दछु, सुनौला डाफोडिल फूलको भीड मेरो नजरमा पर्छ । दहका किनारामा, खाडीका छेउछाउभरी, वृक्षका फेद भरी भरी, हावाका तालमा झ्ुम्दै नाच्दै गरेका फूलहरू मानौं आकाश गंगाका चम्किला तारा झ्ैं अनन्त फैलिएका छन् । एकै नजरमा देखें हजार अनगिन्ती फूलहरू ! प्रकृतिको यो अनुपम छटामा एकजना कवि खुशीले भावविभोर नभई कसरी बस्न सक्छ ? त्यस दृश्यले प्रदान गरेको अनुभूति अमूल्य द्रव्य बनेर रह्यो जीवनमा । म उदास भएर बसेको बेला, एक्लो एक्लो भएर कौचमा पल्टिएको बेला मेरा अन्तस्करणमा त्यस सन्नाटाको परमानन्द क्षण वरदान बनेर मलाई डाफोडिलसँगै नचाउन थाल्छ ।
दरबार हाईस्कूलको त्यो शिक्षाले मलाई पनि बेलाबखत भावविभोर बनाउन थाल्छ। ती गुरुहरूप्रति आभारी छु।
स्कूले पढाइ सकेर त्रिचन्द्र कलेजमा प्रवेश गरेपछि त्यहाँ पनि अंग्रेजी कथा, कविता र निबन्धहरू पढ्नुपर्दथ्यो । हाम्रा गुरु थिए यदुनाथ खनाल, कृष्णबहादुर मानन्धर तथा सूर्यबहादुर शाक्य। त्यसबेला पनि गुनकेसरी फूलबारे रोवर्ट हेरिक ९च्यदभचत ज्भचचष्अप० को टु डाफोडिल्स् ९त्य म्बाायमष्कि० कविता पढ्नुपर्दथ्यो । त्यो कविता अझ् पुरानो थियो, सत्रौं शताब्दीको । कवि गुनकेसरी फूलको अल्पायुसँग आफ्नै जीवनको क्षणभङ्गुर वास्तविकता अनुभूत गर्दछन् । र, फूललाई केही समय पर्खिदिन आग्रह गर्दछन्।
त्रिचन्द्र कलेजको पढाइ पछि भारतको अलिगढ मुस्लिम युनिभर्सिटीमा वनस्पति स्नातकोत्तर पढ्न गएको थिएँ । त्यहाँ पनि गुनकेसरीको चर्चासँग ठोकिन पुगें । कवि हृदयका केही मित्रहरूले उल्लाम इकवालको नर्गिस फूल सम्बन्धी शायरी सुनाए । निकै मन पर्यो र, राखें टिपेर:
“हजारौं साल नर्गिस अपनी बेनूरी पे रोती है ।
बडी मुश्किल से होता है चमन में दिदावर पैदा ।।”
(फूलहरू राम्रा हुन्छन्, सुन्दर हुन्छन्, सौन्दर्यले भरिपूर्ण हुन्छन् तर तिनलाई परख गर्ने पारखी र प्रशंसा गर्ने हृदय भइदिएन भने हजारौं सालसम्म पनि नर्गिसहरू रोएरै कटाउँछन् आफ्ना दिनहरू । किनभने तिनलाई चिन्ने, बुझने र प्रशंसा गर्ने पारखीहरू ज्यादै मुश्किलले मात्र पैदा हुन्छन् ।)
गुनकेसरी फूललाई चिनेर–जानेर, परख गरेर नेपाल भिœयाउने र आफ्ना बाग–बगैंचामा मात्र हैन आफ्नो संस्कार र संस्कृति भित्र पनि स्थान दिने हाम्रा पुर्खाहरू धन्यवादका पात्र हुन् । २०२५ साल माघमा मेरो आफ्नै विवाहको लागि भनेर असनको अन्नपूर्ण मन्दिर छेउ फूल बेच्ने मालीहरूसँगबाट गुनकेसरी फूल किनेर ल्याएको मलाई सम्झ्ना छ । त्यसको ५५ वर्षपछि २०८० माघ २६ गतेकै दिन एउटा नयाँ गुनकेसरी फूल मेरो गमलामा फक्रिदियो । अमेरिकाबाट ल्याएको नौलो प्रकारको त्यो डाफोडिल मा एउटा डाँठमा एउटै मात्र फुल्दो रहेछ । बाल्यावस्थाको चपला–अवलादेखि अहिलेको ज्येष्ठ नागरिकका दिनचर्यासम्म गुनकेसरी फूलले मलाई साथ दिंदैछ।
वनस्पति शास्त्रमा गुनकेसरीको एउटै नाम हुन आउँछ— नार्सिसस्। प्राकृत रूपमा नार्सिस्का ४० प्रजाति छन्। गुनकेसरी वनस्पति परिवारभित्र पर्ने अन्य वनस्पतिमा लसुन, प्याज, छ्यापी, जिम्बु आदि हुन्। तर, गुनकेसरीको गानो भने गुनिलो हुँदैन, बरु विषालु हुनसक्छ।
वनस्पतिशास्त्रको एक विद्यार्थी हुनाले गुनकेसरी फूल, गुनकेरा स्वाँ, नार्गिसका फूल, डाफोडिल, जोन्किल एवं नार्सिसस् नामको वनस्पतिबारे पनि यहाँ थोरै चर्चा गर्न चाहन्छु।
वनस्पतिशास्त्रमा गुनकेसरीको एउटै नाम हुन आउँछ— नार्सिसस् । प्राकृत रूपमा नार्सिस्का ४० प्रजाति मात्र छन् भने तिनका कृत्रिम प्रजनन् प्रविधिबाट हजारौं प्रकारका फूल बजारमा उपलब्ध छन्। गुनकेसरी वनस्पति परिवार भित्र पर्न आउने अन्य उपयोगी वनस्पतिमा लसुन, प्याज, छ्यापी, जिम्बु आदि पनि हुन् तर, गुनकेसरीको गानो भने गुनिलो हुँदैन, बरु विषालु हुनसक्छ। गुनकेसरीको प्याज जस्तो गानो माटोमा रोपेमा त्यसको गर्धनले सुराई आकार लिंदै लगभग २/३ बित्ताको डाँठ र वरपर ७/८ वटा सुरिला लसुने पातहरू पलाउँदै आउँछन्। हाम्रो परम्परागत गुनकेसरीको डाँठमा १५/१६ वटा स–साना फूल झुप्पा भएर फक्रन्छन्। प्रत्येक फूलमा ५/६ वटा पुष्पपत्रहरू दुई चक्रमा सजिएका हुन्छन्। भित्री चक्रको बीचमा अर्थात् पुष्पको मध्यभागमा सानो प्याला आकारको अवयव विराजमान हुन्छ। त्यसलाई ‘कोरोना’ भनिन्छ । यो फूलको मुकुट त्यही हो। यस्तो मुकुट अरू फूलमा हुँदैन । त्यो मुकुटको वर्ण र आकृति, रंग र स्वरूप अनेकौं प्रकारका हुन्छन्। त्यस मुकुटभित्र बीचमा स्त्रीकेसर ९एष्कतष्०ि र वरपर ६ वटा पुंकेसर ९क्तबmभल० विराजमान हुन्छन् ।
गुनकेसरीका फूल अधिकतम सेतो र पहेंलो रंगमा सजिएका हुन्छन्। कृत्रिम प्रजनन्बाट गुलाबी र रातो रंगका सजावटमा पनि गुनकेसरी उत्पादन भएका छन् । हाम्रो नेपालको परम्परागत पहेंलो गुनकेसरीलाई वनस्पति विज्ञानले नार्सिसस् जोन्किला ९ल्बचअष्ककगक व्यलत्रगष्ििब० र सेतो गुनकेसरीलाई नार्सिसस् टाजेट्टा ९ल्। तबशभततब० भन्ने संज्ञा दिएको छ । वर्तमानको कुरा गर्दा विभिन्न डाफोडिल का प्रजातिहरू बजारमा भित्रिएका छन्। मेरै बगैंचामा नयाँ डाफोडिल फुलिरहेको जिकिर माथि नै गरिसकें।
अन्त्यमा,
गुरु र चेला बीचका सुमधुर सम्बन्धहरू प्राथमिक कक्षादेखि प्रारम्भ भएर विद्यालय, महाविद्यालय र विश्वविद्यालय उप्रान्त पनि गुनकेसरीका फूल झैं स्मृतिमा फक्रने गर्दछन् । विद्यार्थी; छात्रछात्राका चेतनामा फक्रने स्मृति निर्माण गर्न शिक्षक–शिक्षिकाहरूबाट अनेकौं प्रयास हुन्छन्। तीमध्ये कविता वाचन वा गीत गायन, कथा, सूक्ति, उखान, टुक्काहरूको सन्देश अमिट हुन्छ र मानिसको उमेर सँगै छिप्पिंदै पनि जान्छ। उपयोगिता पनि बढ्दै जान्छ।
प्रकृतिले सुन्दरताको सिर्जना गर्दछ । सुन्दरताका हामी पुजारी हुनुपर्छ, शिकारी हैन। प्रकृतिका वरदानहरू कालान्तरसम्म स्मृतिमा जीवन्त हुन्छन्। कवि वर्डस्वर्थ ९ध्यचमकधयचतज० ले भने झैं जीवन उदास हुँदा वा एक्लोपनले सताउँदा पनि प्रकृतिसँगका पुराना सुमधुर अनुभवहरू वरदान बनेर प्रकट हुने गर्दछन्। गुरु र शिष्यहरूमा यो चेतना बढ्दै जाओस्; शुभकामना !



