मिक्लाजुङ गाउँपालिकाको अभियान हरेक विद्यालयमा फूलबारी !

मोरङ, मिक्लाजुङ गाउँपालिका–६ को कालीदह आधारभूत विद्यालयले दिवा खाजाका लागि आवश्यक साग यस वर्ष आफ्नै बारीमा फलायो । उब्रिएको साग गाउँमै बिक्री पनि भयो । साग खेतीका लागि छुट्टै योजना थिएन । फूलबारी बनाउने क्रममा त्यसैका माझ्मा रोपिएका रायोका बिरुवा खाजामा उपयोग हुन पाए ।

चुरेको फेदमा रहेको यो विद्यालयले यसै वर्षदेखि फूलबारी लगाएको हो । अहिले विद्यालयको वरिपरि केही सिजन अनुसारका, केही सदावहार फूल फुल्छन् । विद्यालयकी प्रअ गणेशकुमारी पतङ्वा भन्छिन्, “फूलबारीले पढाइमा के सहयोग पु¥याउला र जस्तो लाग्थ्यो । तर फूलबारी बनाएपछि विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ ।” कक्षा–४ सम्म पढाइ हुने यस विद्यालयमा फूलबारी नहुँदा विद्यार्थी ढिलो गरी आउँथे, छुट्टी हुनासाथ घर जान हतारिन्थे । तर फूलबारी लगाउन थालेपछि विद्यार्थीहरू कक्षा शुरू हुनुभन्दा आधा घण्टा अघि नै विद्यालय आइपुग्छन्, फूलबारी गोड्न थाल्छन् । मल र पानी लगाउँछन् । “दिउँसो टिफिनको समयमा पनि नानीहरू फूलबारीतिरै भुल्छन्, खेल्न टाढा कतै जाँदैनन्” प्रअ पतङ्वाले भनिन्, “विद्यालयमा फूलबारी हुर्काउन थालेपछि नानीहरूले आफ्ना घरमा पनि फूल रोप्ने, सरसफाइ गर्ने, खाली समयमा गोडमेल गर्ने गरेको पाइएको छ ।”

विद्यालयमै भान्सा, करेसामै तरकारी
कालीदह आभूविले दिउँसोको खाजाका लागि चाहिने लसुन, प्याज, धनियाँ आफ्नै करेसाबारीमा फलाउँछ । यो अभ्यास पनि फूलबारी लगाउन थालेपछि नै विकास भएको हो । यही फागुनको दोस्रो साता सो विद्यालयमा पुग्दा फूल रोपेर रहेको जमीनमा लसुन, प्याज, धनियाँ हुर्किरहेका थिए । गाउँपालिकाबाट प्राप्त खाजा बापतको रकमले विद्यालयमा नै दिन अनुसार फरक–फरक खाजा पाक्छ । तिहारमा देउसी खेलेको र सरस्वती पूजाको चामलले जाउलो पाक्ने गरेको छ । खाजा पकाउन एकजना सहयोगी कर्मचारीको व्यवस्था गरिएको छ । जाउलो, हलुवा, चना–चिउरा लगायतका खाजा विद्यालयमा नै बन्छन् । यस वर्ष रोपिएको साग खाजामा नसकिएपछि दुई बट्टा गुन्द्रुक पनि बनाइएको छ । यस वर्ष विद्यालयले नै किसानको बारी मागेर १० केजी बीउ आलु पनि रोपेको छ । दिगो आम्दानीको स्रोत निर्माण गर्न झपाबाट लगेर यस वर्ष विद्यालय नजिकैको खाली जमीनमा ४०० वटा सुपारीका बिरुवा समेत रोपिएको छ । यसअघि नै तीन बिघा जमीनमा विद्यालयले लगाएको टिकका बिरुवा पनि हुर्किइरहेका छन् । त्यहींबाट ल्याइएको दाउराले खाजा पाक्छ ।

छोटो समय, नौला अभ्यास
२०४७ सालदेखि पठनपाठन हुँदै आए पनि २०५६ सालमा मात्र अनुमति पाएको कालीदह आधारभूत विद्यालयको शुरूआत समयदेखि नै अध्यक्ष छन् वीरबहादुर तामाङ । दुई दशकको अवधिमा नदेखेको प्रगति अहिले उनले देख्न थालेका छन् । उनले भने, “गाउँको कुनाको यो स्कूल बहुत दुःखले चल्दै आएको हो, तर पोहोर सालदेखि धेरै सुधार भएको जस्तो लाग्छ, अचेल हाम्रो स्कूल हेर्न अरू पनि आउन थालेका छन् ।” यो विद्यालय अरूलाई पनि हेरौं हेरौं लाग्ने बनाउने कारण भने यहाँ शुरू गरिएका नौलो अभ्यास हुन् । गत वर्षको तिहारमा यो विद्यालयको तर्फबाट देउसी खेलिएको थियो । रु.३० हजार आम्दानी भयो । यस वर्ष त देउसीको सिदा नै रु.६१ हजार भयो । तीन दिन विद्यार्थीलाई नाचगान गराएर विद्यालयका लागि आर्थिक जोहो गरिएको प्रअ पतङ्वा बताउँछिन् । पहिलो वर्षको आम्दानीले विद्यालयमा खाजा बनाउन आवश्यक सामग्री खरीद गरिएको थियो भने दोस्रो वर्षको आम्दानीले मादल, साउण्ड सिस्टम किनेको उनले बताइन् । देउसी र पूजामा सङ्कलन भएको चामल सकिएपछि शिक्षकहरूले नै चामल ल्याउने र खाजाका लागि प्राप्त रकमले सहयोगी कर्मचारीको पारिश्रमिक दिने गरिएको छ । विद्यालयले नै रोपेका बिरुवा हुर्किएकाले दाउराको आपूर्ति त्यहींबाट हुने गरेको छ ।
कालीदह आधारभूत विद्यालयको शुरूआती सुधार आशालाग्दो देखिएको मिक्लाजुङ गाउँपालिकाका स्रोतव्यक्ति गणेशप्रसाद रेग्मी बताउँछन् । आफ्नो स्रोतसाधन नभए पनि शिक्षकहरूबाट समेत स्रोत जुटाएर परिवर्तनको शुरूआत गरेको यो विद्यालयको प्रयास अन्यका लागि प्रेरणा भएको उनले बताए । विद्यालयलाई कसरी सुधार गर्ने भन्ने योजना प्रअले बनाउने भएकाले यस विद्यालयको योजना र कार्यसम्पादन प्रशंसनीय देखिएको गाउँपालिका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल बताउँछन् । विद्यालयको वातावरण सुधार, फूलबारी निर्माण, गुणस्तर विकास जस्ता कार्यमा परिणामका आधारमा अनुदानको व्यवस्था गरिएकाले परिणामका लागि निजी खर्च गरेर समेत कालीदह आधारभूत विद्यालयका प्रअ तथा शिक्षक लागिपरेको उनले बताए ।

सबै विद्यालयमा फूलबारी
मिक्लाजुङ गाउँपालिकाले सबै विद्यालयमा फूलबारी बनाउन प्रेरित गरेपछि अहिले यहाँका अधिकांश विद्यालयमा फूलबारी निर्माण भइसकेका छन् । केहीले करेसाबारीको अभ्यास पनि थालेका छन् । मिक्लाजुङ गाउँपालिका वडा–७ मधुमल्लाको भगवती माविमा पनि आकर्षक फूलबारी हुर्काइएको छ । सो माविका प्रअ प्रेमप्रकाश कोइरालाका अनुसार सौन्दर्य र वातावरणका लागि सानो फूलबारी पनि उपयोगी देखिएको छ । यसले विद्यार्थीलाई विद्यालयमा नै केन्द्रित गर्न सघाउ पु¥याएको छ भने उनीहरूले विद्यालयको अभ्यासले घर–घरमा पनि फूलबारी हुर्काउन थालेका छन् । सोही ठाउँको मनोहर जनता माविले पनि फूलबारी हुर्काएकै कारण गाउँपालिकाबाट रु.२५ हजार प्रोत्साहन रकम पाएको छ । मिक्लाजुङका हरेक विद्यालयमा फूलबारी अहिले गाउँपालिकाकै पहिचानको रूपमा विकास भइरहेको जनता माविका प्रअ लीलानाथ भण्डारीले बताए ।

मिक्लाजुङ–६ खामेझेडाको बक्राहा माविमा पनि विद्यालयको प्राङ्गण वरिपरि लहलह फूल फूलेका छन् । धेरैजसो बिरुवा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले नै ल्याएको सो विद्यालयका प्रअ दक्षमणि नेपाल बताउँछन् । फूलबारी हुर्काउन विद्यार्थीका चार वटा सदनलाई छुट्टाछुट्टै खण्डको जिम्मा दिइएको छ । उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने घोषणा गरेकाले विद्यार्थीहरू घरबाटै मल समेत लिएर आउँछन् र आफ्नो फूलबारीको स्याहार गर्छन् । गुलाब, धूपी, डालिया, कपूर, लालुपाते, गोदावरी, सयपत्री लगायतका फूलले विद्यालय आकर्षक देखिएको छ । राम्रो ढङ्गबाट फूलबारी हुर्काएकाले थप सुधारका लागि गाउँपालिकाबाट रु.३० हजार आउने आश्वासन पाएको प्रअ नेपालले बताए । यस्तै वडा नं. ७ को चन्द्रोदय आधारभूत विद्यालयले पनि फूलबारी हुर्काइरहेको छ । शिक्षक, विद्यार्थी तथा अभिभावककै मिहिनेतले विद्यालयमा फूलबारी हुर्काइएको शिक्षक माधवप्रसाद पौडेलले बताए । 

भ्रमणले दिएको प्रेरणा
मिक्लाजुङ गाउँपालिकाको शिक्षा शाखा मार्फत गत वर्ष विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरू शैक्षिक भ्रमणमा निस्किएका थिए । सो क्रममा दोलखाको हनुमन्तेश्वर माविमा पुग्दा त्यहाँका शिक्षक विद्यार्थीहरूले आफैंले उत्पादन गरेको फूलको मालाले स्वागत गरेको मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल बताउँछन् । सो विद्यालयले गरेको अभ्यासले भ्रमणमा गएका शिक्षकहरूको ध्यान खिच्यो । त्यही भ्रमणबाट मिक्लाजुङ गाउँपालिकाका शिक्षकहरूले पनि आआफ्नो विद्यालयमा फूलबारी बनाउने प्रण गरे । हाल यो गाउँपालिकाका ३८ मध्ये ३४ वटा विद्यालयमा फूलबारी बनाइसकिएको छ । केही समयअघि अनुगमनमा जाँदा अधिकांश विद्यालयले आफ्नै फूलबारीको फूलले स्वागत गरेको अनुभव शिक्षा शाखा प्रमुख खनालले सुनाए ।

फूलबारीको महत्व
विद्यालयमा फूलबारी बनाउँदा विद्यार्थीले कतिपय किताबी ज्ञानलाई व्यवहारमा पनि प्रयोग गर्न पाउने गरेका छन् । कक्षा–१० को जनसंख्या विषयमा घेरावारा, सरसफाइ जस्ता विषय पनि छन् । ती विषयको प्रयोगात्मक अभ्यास विद्यालयकै फूलबारीमा गराउने गरिएको बक्राहा माविका प्रअ नेपालले बताए । यस्तै विद्यार्थीलाई विद्यालयमा नै टिकाइराख्न पनि फूलबारी उपयोगी देखिएको छ । खाली समय तथा टिफिनमा विद्यार्थी बाहिर जाने क्रम पनि फूलबारीका कारण घटेको उनको अनुभव छ । कालीदह आधारभूत विद्यालयकी प्रअ पतङ्वा पनि फूलबारीले विद्यालयलाई आफ्नै घर जस्तो बनाएको ठान्छिन् । उनले भनिन्, “विद्यार्थीले आफ्नो घर ठानेर त होला नि, ससाना नानीहरू पनि बिरुवा, मल लिएर आउँछन् । यसले गर्दा उनीहरूलाई विद्यालयप्रतिको मोह बढाएको छ ।”

विद्यालयमा फूलबारी बनाउन थालेपछि विद्यार्थीले घर–घरमा पनि बिरुवा हुर्काउन थालेको बताएका छन् । बक्राहा माविमा कक्षा–९ मा पढ्ने पुष्पा खड्काले आफूले घरमा पनि फूलबारी बनाएको बताइन् । उनले जस्तै उनका साथीहरू सृष्टि बुढाथोकी, कमला कार्की लगायतले पनि सानो भए पनि फूलबारी बनाएको बताए ।

२०७६ चैत अंकमा प्रकाशित । 

commercial commercial commercial commercial