उम्दा विचारः मन्द प्रसार

केही राम्रा विचार या आविष्कार एकदमै छिटो संसारभर फैलिन्छन् भने कतिपय उम्दा र महत्वपूर्ण  कुराहरू पनि एकदमै ढीलो फैलिन्छन् । राम्रा र समाजोपयोगी विचार एवं वस्तुहरूको प्रचार आईफोन, फेसबुक र ट्वीटर जस्तै बिजुलीको गतिमा विश्वभर फैलियोस् भन्ने हाम्रो चाहना हुन्छ । तर हामीले त्यस्तो चाहना राखेर मात्र पुग्दो रहेनछ । उम्दा विचार र व्यवहार फैलाउन अनि मानक बदल्न सम्बद्ध व्यक्तिलाई भेटेर गरिने कुराकानी नै बढी प्रभावकारी हुनेरहेछ । 

अक्टुबर सन् १८४६ । अमेरिकाको बोस्टन शहरमा स्थानीय दन्त–चिकित्सक विलियम मोर्टनले त्यहाँका प्रसिद्ध शल्यचिकित्सक हेनरी बिजलोलाई भेटेर भने, ‘मैले यस्तो ग्याँस पत्ता लगाएको छु, जसको प्रयोग गरेपछि शल्यक्रिया गर्दा बिरामीलाई दुखेको अनुभव हुँदैन ।’

हेनरीलाई उनको कुरा पत्यार लागेन । तर मोर्टनको दाबी चाखलाग्दो थियो । त्यतिन्जेलसम्म शल्यक्रिया (अपरेशन) गर्दा बिरामीले असहनीय पीडा खप्नुपर्दथ्यो । दाँत झिक्ने जस्तो सामान्य काम पनि ज्यादै पीडाजनक हुन्थ्यो, अरू अपरेशनको त झ्न् के कुरा ! कुनै पनि किसिमको अपरेशन गर्नुपर्दा, बिरामीलाई खाटमा सुताएपछि डाक्टरका सहायकले उसका हातखुट्टा बलियोसँग पक्रन्थे । डाक्टरले रोग लागेको ठाउँ/अंग चिर्न थालेपछि बिरामी मर्मान्तक पीडाले चिच्याउँदै छटपटाउन थाल्थ्यो, सहायकहरू उसका हातखुट्टा अझ् जोडले अँठ्याएर उसको जीउ हलचल गर्न दिंदैनथे । डाक्टरले आधा काम सक्नु अगावै बिरामी पीडाले बेहोश भइसकेको हुन्थ्यो, उसलाई अँठ्याउने सहायकहरूको पसिना छुटिरहेको हुन्थ्यो । दक्ष डाक्टरहरू जतिसक्दो चाँडो चिरफार गरेर काम सकी, चिरेको ठाउँ सिइभ्याउने प्रयास गर्थे । बिरामीको पीडा रोक्ने कुनै उपाय पत्ता लागेको थिएन । कैयौं प्रयास भएका थिए तर पूरै असफल ! यस्तो वेला, पत्यार नलागी नलागी पनि, मोर्टनलाई आफ्नो दाबी प्रदर्शन/प्रमाणित गर्ने एउटा मौका दिन हेनरी तयार भए ।

पीडामुक्त शल्यचिकित्सा
१६ अक्टुबर, १८४६ । ‘म्यासाचुसेट्स जनरल हस्पिटल’ मा मोर्टनले एउटा युवकलाई ‘इन्हेलर’ को माध्यमबाट आफ्नो त्यो ग्याँस सुँघाए । त्यो युवकको घाँटीमा ट्युमर (गाँठो) थियो, जसलाई चिरेर निकाल्नुपर्ने थियो । ग्याँस सुँघाएपछि सहायकहरूले उसका हातखुट्टा समात्नु परेन । पूरै अपरेशन अवधिभरि ऊ अर्धचेत अवस्थामा अलिअलि बर्बराइरह्यो, बस् ! अर्को दिन एउटी महिलाको पाखुराबाट त्यस्तै ठूलो गाँठो निकाल्न अपरेशन गरियो । उनलाई पनि मोर्टनले आफ्नो ग्याँस सुँघाए । अपरेशनभरि महिला एकदम शान्त थिइन् । होशमा आएपछि उनले आफूलाई अलिकति पनि पीडाको अनुभूति नभएको बताइन् ।

चार हप्तापछि, १८ नोभम्बरका दिन डा. हेनरीले ‘बोस्टन मेडिकल जर्नल’ मा विशेष खालको ग्याँस सुँघाएर रोगीलाई बेहोश पारी पीडाविहीन अपरेशन गरिएको बारे लेख प्रकाशित गरे । दन्तचिकित्सक मोर्टनले यसलाई लेथियन ग्याँस भनेका थिए तर यसका संघटकहरूको उल्लेख गरेका थिएनन् । उनले यसको ‘पेटेन्ट’ का लागि आवेदन दिइसकेका थिए । जेहोस्, हेनरीले आफ्नो लेखमा ‘त्यस ग्याँसबाट ईथरको गन्ध आएको’ उल्लेख गरेका थिए र डाक्टरहरूलाई अघि बढ्न यही पर्याप्त थियो । यो ‘विचार’ चिठी, बैठक र पत्रपत्रिकाको माध्यमबाट डढेलो सरी संसारमा फैलियो । मध्य डिसेम्बरसम्ममा पेरिस र लन्डनका शल्यचिकित्सकहरूले बिरामीलाई ईथर सुँघाउन थालिसकेका थिए । फरबरीसम्ममा युरोपका लगभग सबै राजधानीका अस्पतालहरूमा अपरेशन अघि बिरामीलाई बेहोश बनाउन थालिएको थियो भने जून महीना आइपुग्दा नपुग्दै यस विधिको उपयोग संसारभरि शुरू भयो ।

यसको विरोध नभएको होइन । केही उपबुज्रुकहरूले यसलाई ‘अनावश्यक विलासिता’ को संज्ञा पनि दिए । पादरीहरूको भनाइ थियो— यसो गर्नु प्रकृतिको नियममाथि अतिक्रमण हो, जसको परिणाम राम्रो हुँदैन । यसको इतिहास लेख्ने स्कटिश शल्यचिकित्सक जेम्स मिलरले भनेका छन्, ‘बूढा शल्यचिकित्सकहरूले यसलाई मन पराएनन् । उनीहरूको मान्यता थियो— अपरेशन गर्दा हुने पीडा एक किसिमको आवश्यक तत्व हो र यसलाई बिरामीले सहन गर्नैपर्छ ।’ यो सबका बावजूद यसका निन्दक र प्रतिरोधहरू छिट्टै यसका समर्थक बन्दै गए ।

संक्रमणमुक्त सर्जरी
निश्चेतक (एनेस्थेसिया) को प्रसार यति चाँडै भए पनि यस्ता सबै उम्दा विचार/आविष्कारहरूले यस्तो सौभाग्य पाउँदैनन् । अपरेशन (सर्जरी) कै अर्को ठूलो समस्या सेप्सिस (सूक्ष्म जीवाणु संक्रमण) को समाधान गर्ने उपाय अर्थात् ‘एन्टिसेप्टिक’ को प्रसार/विश्वव्यापी हुन सिंगै एक पुस्ता लाग्यो । एनेस्थेसियाको सर्वव्यापी प्रयोग शुरू भइसकेको दशकौं पछिसम्म पनि शल्यचिकित्साका बिरामीको ज्यान लिने सबैभन्दा ठूलो कारण जीवाणु संक्रमण नै थियो । खुट्टा काट्ने लगायत ठूला अपरेशन गराउने आधासरो बिरामी यसैका कारण आफ्नो ज्यान गुमाउन पुग्थे । संक्रमणको दर यति उच्च थियो कि यसलाई एक प्रकारको अनिवार्य प्रक्रिया नै मानिन्थ्यो । अपरेशन गर्दा भएको घाउमा पीप भरिनुलाई स्वास्थ्यलाभ हुने दिशातर्फको एउटा आवश्यक चरण मानिन्थ्यो ।

यसैबीच, सन् १८६० को दशकमा बेलायतको एडिनबराका शल्यचिकित्सक जोसेफ लिस्टरले लुई पाश्चरको एउटा शोधपत्र पढेका थिए जसमा सड्ने र कुहिने क्रिया सूक्ष्म जीवाणुको संक्रमणका कारण हुन्छ भनिएको थियो । यसबाट लिस्टरलाई घाउ सड्ने र पीप भरिने क्रियाको कारण पनि जीवाणु संक्रमण नै हुनुपर्छ भन्ने लाग्यो । छान्ने र तताउने बाहेक कतिपय रसायनको सहयोगबाट पनि जीवाणुलाई निर्मूल पार्न सकिन्छ भन्ने पाश्चरले उल्लेख गरेका थिए । लिस्टरले के पनि पढेका थिए भने कार्लाइन शहरमा फोहोर/ढलको दुर्गन्ध हटाउन कार्बेलिक अम्लको सफलतापूर्वक उपयोग गरिएको थियो । पक्कै पनि कार्बोलिक अम्लले जीवाणुको नाश गर्छ भन्ठानेर उनले सोचे— शायद यसलाई सर्जरीमा पनि उपयोग गर्न सकिन्छ ।

त्यसपछिका थुप्रै वर्ष उनी समग्र अपरेशन–प्रक्रियालाई जीवाणुमक्त बनाउन कार्बोनिक अम्लको उपयोगका तरीकाहरू परिष्कृत गर्न खुरुन्धारसँग लागिपरे । परिणामस्वरूप अपरेशनपछि घाउ पाक्ने, सड्ने र त्यसबाट बिरामीको मृत्यु हुने दर एकदमै कम भयो । आफ्नो यस अत्युपयोगी ‘आविष्कार’ बारे लिस्टरले सन् १८६७ मा दि लेन्सेट जर्नलमा लेख प्रकाशित गरे । तर यसबारे चिकित्सकहरूले उति चासो लिएनन्, यद्यपि संक्रमण कम गर्न कार्बोनिक अम्लको फाट्टफुट्ट प्रयोग भने शुरू भइसकेको थियो । शल्यचिकित्सक जे.एम्. फिनीले आफ्ना पुराना दिन सम्झ्ँदै भनेका थिएः ‘त्यसको झण्डै  दुई दशकपछि म म्यासाचुसेट्स जनरल हस्पिटलमा इन्टर्नशिप गर्न पुगेको थिएँ । त्यतिन्जेलसम्म पनि चिकित्सकहरू हात राम्ररी धुँदैनथे । उनीहरू आफ्ना उपकरण (छुरी, कैंची आदि) त कार्बोनिक अम्लमा डुबाउँथे तर अपरेशन गर्दा तिनै काला, लामा दुर्गन्धित ह्वार्लाङे कोट लगाउँथे जसमा अघि–अघि अपरेशन गर्दा लागेको रगतका कटकटिएका टाटा र मानिसका विभिन्न अंगका टुक्राहरू टाँसिएका हुन्थे । यसलाई चिकित्सकको व्यस्तताको चिन्ह मानिन्थ्यो ।’ अपरेशन–स्थललाई कीटाणुहरूबाट पूर्णतः मुक्त पार्ने लिस्टरका सिफारिश र विधिहरू आम प्रचलनमा आउन त्यसपछि पनि दशकौं लाग्यो ।

अन्ततः उन्नाइसौं शताब्दीको अन्त्यमा आएर शल्यचिकित्सकहरूले आफ्ना एन्टिसेप्टिक मापदण्डहरूमा समुचित फेरबदल गरे । शुरूमा कसैले सोचेको पनि थिएन होला, यो काम गर्न कति गहिरो परिवर्तन आवश्यक छ । रगत कटकटिएका र मानव अंगका टुक्रा टाँसिएका दुर्गन्धित काला कोट लगाएका शल्यचिकित्सकहरू त्यसबखत आफूलाई यस्तो दुर्दम्य योद्धा मान्दथे, जसले लगभग विना कुनै हतियार प्राणघाती युद्ध लड्दछ । जे होस्, केही समयपछि नै कतिपय जर्मन शल्यचिकित्सकहरूलाई लाग्यो, उनीहरू यस्ता योद्धा नभएर चिकित्सा–वैज्ञानिक हुन् । अनि उनीहरूले कालो कोट फ्याँकेर वैज्ञानिक प्रयोगशालाको उज्यालो–बेदाग सेतो कोट लगाए, आफ्नो अपरेशन–कक्षलाई जीवाणु–विज्ञानको प्रयोगशालाकै स्तरको निर्जीविकृत वातावरण तयार हुन सक्ने गरी नयाँ स्वरूपमा ढाले । अनि हतार–हतार अपरेशन गरिभ्याउने मानसिकतालाई विदा गरेर शरीर रचना विज्ञानको सटीकता र अपरेशनको शुद्धता–सूक्ष्मतालाई महत्व दिए ।

यस क्रममा, अमेरिका र अन्य मुलुकका जो–जति चिकित्सक जर्मनीमा त्यहाँका प्रतिष्ठित शल्यचिकित्सकहरूसँग मिलेर अध्ययन गर्न गएका थिए, ती उनीहरूको सोचाइ र मापदण्डप्रति नतमस्तक भएर फर्के । आफ्नो मुलुक फर्केपछि उनीहरू एन्टिसेप्टिक विधिका उपदेशक र प्रचारक मात्र बनेनन् बरु एन्टिसेप्टिक प्रक्रियाका अझ् बढी श्रमसाध्य मापदण्डका समर्थक समेत बने । जस्तै निर्जीविकृत (जीवाणुमुक्त) पन्जा, गाउन, टोपी र मास्क लगाउने नियम । यिनीहरूले सर्वप्रथम आफ्ना विद्यार्थी र सहकर्मीहरूको सोचाइ तथा व्यवहार परिवर्तित गरे र ती सबैले मिलेर अन्ततः यस ‘विचार’ लाई संसारभरि फैलाए ।

नानीदेखि लागेको बानी
इलेक्ट्रोनिक सञ्चारको यस युगमा हामीलाई लाग्न थालेको छ— कुनै पनि अत्युपयोगी/महत्वपूर्ण  नयाँ कुरा तुरुन्तै विश्वभर फैलिन्छ र मानिसहरूले त्यसको लाभ उठाउन थाल्छन् । कैयौं नयाँ कुरा यसरी फैलेका पनि छन् । जस्तै— टेस्ट ट्यूबबाट सन्तान जन्माउने विधि, जिनोमिक्स र स्वयं सूचना तथा सञ्चार प्रविधि । तर अधिकांश यस्ता अत्युपयोगी नयाँ कुरा अघि बढ्न महाभारतै पनि पर्छ । प्रश्न उठ्छ— आखिर किन त ?

एनेस्थेसिया र एन्टिसेप्टिकको प्रसारमा देखिएको अन्तरकै सन्दर्भमा यसको जवाफ खोज्ने प्रयास गरौं । के यो अन्तर आर्थिक कारणले आएको थियो त ? आर्थिक प्रलोभन त दुवैसँग गाँसिएको थियो । पीडारहित शल्यचिकित्साले बिरामीलाई जति आकर्षित गथ्र्यो, घाउ पाकेर मर्नु नपर्ने कुराले पनि उत्तिकै आकर्षित गथ्र्यो । अझ्, सर्जरीपछि बिरामी जीवितै रहेमा डाक्टर/अस्पतालको बिल भुक्तानी हुने सम्भावना बढी हुन्थ्यो । तैपनि एन्टिसेप्टिकको विचार कछुवाको गतिभन्दा अघि बढ्न सकेन । शायद, परम्परागत विश्वास र अभ्यास तोड्ने नयाँ विचार/अभ्यास अपनाउन मानिसहरू सितिमिति तयार नहुने भएर यस्तो भएको होला । क्लोरोफर्मका आविष्कारकले शल्यचिकित्सकहरूको विश्वास आर्जन गर्न ‘तपाईं स्वयं रोगीमाथि यसको प्रयोग गर्नुहोस् र अपरेशन गर्न कति सजिलो हुन्छ हेर्नुहोस्’ भनेका थिए । अर्थात् तिनले ‘टेस्ट ड्राइभ’ को तरीका अपनाएका थिए । हुन त एन्टिसेप्टिक विधिको प्रयोगका लागि लिस्टरले पनि यसै भनेका थिए । परन्तु यहाँ त्यो उपाय खासै काम लागेन ।

प्राविधिक जटिलता एउटा कारण हुन सक्छ । अपरेशन स्थललाई कीटाणु मुक्त बनाउन थुप्रै मसिना कुरामा सावधानीपूर्वक ध्यान दिनुपर्छ । हरेक पटक अपरेशनका उपकरणहरू तताएर जीवाणुरहित तुल्याउनुप¥यो, डाक्टर र तिनका सहयोगीले लगाउने पोशाकलाई जीवाणुविहीन बनाउनुप¥यो, डाक्टरको हात, सबै औजार र टाँका लगाउने धागो समेत एन्टिसेप्टिक घोलमा डुबाउनुप¥यो अनि अपरेशन–स्थलमा जीवाणुहरू जीवित नरहून् भनेर विशेष व्यवस्था गर्नुप¥यो । यसका लागि लिस्टरले एउटा यस्तो यन्त्र पनि बनाएका थिए जसले अपरेशन भइरहेको ठाउँमा, हावामा लगातार फुस्स फुस्स कार्बोनिक अम्ल छोडिरहन्थ्यो ।

तर, क्लोरोफर्मको प्रयोग पनि त्यति सजिलो थिएन । ईथर प्राप्त गर्न र इन्हेलर बनाउन पनि सहज थिएन । इन्हेलरबाट रोगीको नाकमा ग्याँसको सही मात्रा मात्र पुगोस् भनेर निकै सावधानी अपनाउनुपथ्र्यो, नत्र बेहोश भएको रोगी होश नफर्किकनै परमधाम पुग्नसक्थ्यो । यस्ता थुप्रै समस्या भए पनि चिकित्सकहरूले हातखुट्टा छोडेनन्, बरु यसको विकास गर्दा चिकित्सा विज्ञानको एउटा नयाँ शाखा नै खडा गरिदिए— एनेस्थेसियोलोजी ।
गाँठी कुरो शायद अर्कै थियो । एक त, क्लोरोफर्मले तत्कालको समस्या (रोगीको पीडा, छटपटी) समाप्त गथ्र्यो भने एन्टिसेप्टिकले तत्काल नदेखिने (कीटाणुको) समस्या समाधान गथ्र्यो, जसको असर अपरेशनभन्दा धेरै पछि मात्र प्रकट हुन्थ्यो । अर्को, दुवैले रोगीलाई ठूलो राहत दिने भए पनि डाक्टरलाई चाहिं एउटाले मात्र राहत दिन्थ्यो । निश्चेतन (क्लोरोफर्म) ले शल्यचिकित्सालाई, चिच्याइरहेको–छटपटाइरहेको रोगीमाथि हतारहतार गरिने निर्मम आक्रमणबाट बदलेर शान्तिपूर्ण तवरमा, सोचेर–सम्झेर  गरिने प्रक्रिया बनाइदियो । अर्कातर्फ, एन्टिसेप्टिकको ‘झन्झटिलो’ प्रक्रियामा अपरेशन गर्ने डाक्टरले कार्बोनिक अम्लसँगै काम गर्नुपथ्र्यो, जसले उनीहरूको हात पोल्थ्यो । बुझिहाल्नुभयो  होला, लिस्टरको अभियान किन कछुवाको गतिमा घिस्रिन पुग्यो भनेर ।

प्रसवकालमा मुत्यु
प्रसवकालमा आमा/सन्तानको मृत्यु हुने विश्वव्यापी समस्याको हालत अहिले पनि उस्तै छ । प्रत्येक वर्ष विश्वमा तीन लाख आमा र ६० लाख नवजात सन्तानहरूले प्रसवकालमा ज्यान गुमाउँछन् । अधिकांश प्रसवकालमै र बाँकी त्यसको केही समयपछि मृत्युको गाँस बन्छन् । आमालाई रक्तस्राव हुन सक्छ, ऊ अथवा उसको बच्चालाई संक्रमण हुन सक्छ । कैयौं नवजात शिशु अरूको मदतविना आफ्नो पहिलो सास नै लिन सक्तैनन् अनि खासगरी कम तौल भएका शिशुहरूले जन्मपछि सामान्य तापमान प्राप्त गर्न सक्तैनन् । यस्ता मामिलामा ज्यान बचाउने सजिला, सरल उपाय दशकौं अघि पत्ता लागिसकेका छन् । तैपनि सर्वत्र तिनको प्रयोग हुँदैन । किनभने तिनको राम्ररी प्रसार भएको छैन, तिनलाई गम्भीरतापूर्वक लिइँदैन ।

भारतमा सरकारी कार्यक्रम अन्तर्गत, अस्पतालमा बच्चा जन्माए बापत आमालाई १४०० रुपैयाँ दिइन्छ । अधिकांश भारतीयहरूको मासिक आम्दानी नै यति हुँदैन । नेपालमा पनि यस्तैखाले कार्यक्रम छ जस अन्तर्गत हिमाल, पहाड र तराई क्षेत्रमा क्रमशः १५००, एक हजार र ५०० रुपैयाँ दिइन्छ । यसबाट अस्पतालमा गएर बच्चा जन्माउने चलन बढेको छ र सुत्केरी आमा तथा नवजात शिशुको मृत्युदर घट्दै पनि गएको छ । तर अझ् पनि यो दर विकसित मुलुकहरूको तुलनामा दशौंगुणा बढी छ । अशिक्षा, दुर्गमता र उपयुक्त अस्पतालको कमीका कारण घरमै बच्चा जन्माउने महिलाहरूको संख्या आज पनि अत्यन्तै ठूलो छ जसमध्ये अधिकांश कुनै न कुनै दुर्घटनाका शिकार बन्छन् ।

‘उपयुक्त’ भनिने अस्पतालको स्थिति हेर्न हामी एक पटक डिसेम्बरमा उत्तरप्रदेशको राजधानी लखनऊ (भारत)बाट दुई घण्टाको यात्रा गरेर एउटा ग्रामीण अस्पतालमा पुग्यौं । हरिया खेत र धुस्रे छाप्राहरूको बीचमा थियो त्यो एकतले, पक्की सरकारी अस्पताल । आकाश सफा थियो र मजासँग घाम लागिरहेको, तर तापक्रम लगभग तीन–चार डिग्री मात्र थियो । अस्पतालले प्रत्येक वर्ष तीन हजार जना महिलालाई प्रसूति गराउँदो रहेछ । हामीले हाकीम–डाक्टरलाई भेट्यौं । करीब तीस वर्षको ऊ स्वस्थ, स्मार्ट व्यक्ति थियो, इन्टर्नशिपमा काम गरिरहेको । अस्पतालको हालत उति राम्रो थिएन । उसले अलिक संकोच मान्दै हामीलाई बतायो— स्टाफमध्ये कसैले पनि रक्त परीक्षण गर्ने, रगत दिने र आपतकालीन प्रसव गराउने (जस्तै, पेट चिरेर बच्चा निकाल्ने) तालीम पाएका छैनन् । लोडशेडिङ छ, दिनभरि बत्ती आउँदैन । त्यति जाडो दिनमा पनि कोठा तातो राख्ने कुनै व्यवस्था थिएन । त्यहाँ गर्मीमा तापक्रम ३७–३८ डिग्री पुग्थ्यो तर कोठा चिसो पार्ने कुनै प्रबन्ध थिएन । अस्पतालमा दुई जना सामान्य नर्स र ब्लडप्रेसर नाप्ने जम्माजम्मी दुइटा मात्र उपकरण (पट्टी) रहेछन् । ‘प्रसव विशेषज्ञ’ का रूपमा उही ‘इन्टर्न’ की पत्नीले काम गरिरहेकी रहिछन् ।

प्रसव कक्षमा त्यसै दिन, केहीवेर अघि एउटा शिशु जन्मिएको रहेछ । ऊ र उसकी आमा खाटमा, कम्बल ओढेर ‘आराम’ गरिरहेका थिए । कोठा एकदमै चीसो थियो । मलाई त आफ्नै हातका औंला पनि छन् कि छैनन् जस्तो लागिरहेको थियो । मैले गम खाएँ, भर्खरै पृथ्वीमा आएको त्यो शिशुलाई कस्तो भइरहेको होला ! नवजात शिशुहरूको शरीरबाट ऊष्मा बहुतै चाँडो निस्किभ्याउँछ । गर्मी मौसममा पनि उनीहरूलाई हाइपोथर्मिया हुनु (शरीरको तापमान घट्नु) सामान्य कुरा हो । हाइपोथर्मियाले तिनलाई कमजोर बनाउँछ अनि तिनका क्रियाहरू मन्द हुँदै जान्छन् । तिनले आमाको दूध चुस्न सक्तैनन्, संक्रमणको प्रतिरोध गर्न नसक्ने हुँदै जान्छन् । त्यहाँ बच्चालाई आमाभन्दा बेग्लै थाङ्नामा बेरेर राखिएको थियो । अध्ययन र अनुभवहरूले देखाएका छन्, यस्ता बच्चालाई आमाको पेट अथवा छातीमा सोझै टाँसेर राख्नु (कंगारु हेरचाह) राम्रो हुन्छ, किनभने यसो गर्दा आमाको शरीरको तापमानले उसलाई तताइराख्छ । कम तौलका अथवा समय अगावै जन्मेका शिशुहरूको मृत्युदरलाई यही ‘कंगारु हेरचाह’ ले मात्रै पनि एकतिहाइसम्म कम गरिदिन्छ ।

यो विधि नर्सलाई थाहा थियो । तालीममा उनलाई यसबारे रामै्रसँग पढाइएको पनि थियो । तैपनि उनले, त्यस्तो ठण्डीमा पनि, ‘कंगारु हेरचाह’ को विधि प्रयोग गरेकी थिइनन् । करीब तीस वर्षकी ती नर्स निकै स्मार्ट देखिन्थिन् र अनुभवी तथा आफ्नो कामप्रति आश्वस्त प्रतीत हुन्थिन् । यो विधि अपनाउन थप कुनै साधन–स्रोत पनि चाहिंदैनथ्यो । के उनले यसो गर्न बिर्सिएकी थिइन् त ? होइन । उनले शिशुकी आमालाई यसो गर्न भनेकी रहिछन् र त्यो कुरा ‘रेकर्ड’ मा लेखेकी पनि रहिछन् । नर्सले बताइन्, ‘आमाले मानिनन् । उनले भनिन्— मेरो जीउ एकदमै चीसो छ ।’

यति मामूली कुरामा किन यति विधि खेरखार गरिराखेको होला भनेर नर्स उदेक मान्दै थिइन् । उनलाई लागेको थियो— बच्चा मजासँग सुतिराखेकै छ, त्योभन्दा बढी के चाहियो ? हुन पनि त्यसवेला बच्चा आरामसँग सुतिराखेकै देखिन्थ्यो । तर हाइपोथर्मियाको असर तत्काल देखिइहाल्दैन । शुरूमा शरीरको तापमान अलिकति कम हुन्छ, ऊ अलिकति सुस्त हुन्छ, त्यत्ति हो । तौल घट्ने, पिशाब कम हुने जस्ता लक्षण अलिक पछि देखिन्छन्, निमोनिया र रक्तसंचारमा समस्या त अझ् पछि मात्र देखा पर्छन् । तर यो सब हुनुभन्दा निकै अघि नै, सामान्यतः बच्चा जन्मेको भोलिपल्ट वा उसै दिन, धर्खराउँदा खुट्टाले ट्याम्पोमा लोग्नेसँग बसेर, बच्चालाई राम्ररी समातेर, खाल्डाखुल्डी भएको सडकमा उफ्रिंदै–थेचारिंदै आमा आफ्नो घर पुग्छिन् । नर्सको दृष्टिमा त उनले सफलतापूर्वक प्रसव गराएकै हुन् । त्यसपछि चार प्रतिशत शिशुहरू घर पुगेपश्चात् मर्छन् भने तिनलाई जन्मनासाथ कसरी कम्बल ओढाइयो अथवा कंगारु हेरचाहको विधि अनुसार राखियो कि राखिएन भन्ने कुराको के अर्थ ? अथवा, उनले पंजा लगाउनु अघि साबुनले हात धोएकी थिइन् कि थिइनन्, अथवा शिशुको नाल काट्न प्रयोग गरेको ब्लेड जीवाणुमुक्त थियो कि थिएन जस्ता कुराको त्यस घटनासँग के सम्बन्ध ?

दण्ड र पुरस्कार होइन, व्यक्तिगत सम्पर्क
व्यवहार परिवर्तनको सर्व–सामान्य तरीका हो, मानिसलाई अनुरोध गर्नु । जस्तैः ‘कृपया फलानो काम गर्नुहोस् । नवजात शिशुलाई तातो राख्नुहोस् है ! साबुन लगाएर हात धुनोस् ल !’ यसबाहेक नियम–कानूनको अर्को तरीका छ । जस्तैः ‘तपाईंले यसो गर्नुपर्छ ।’ यस अन्तर्गत हामी मापदण्ड र नियमन प्रणाली स्थापित गर्छौं अनि दण्ड–जरिवानाको व्यवस्था गर्छौं । यसैको अर्को पाटो हो, पुरस्कार अथवा प्रलोभन (इन्सेन्टिभ) । यी विधि अपनाउन नसकिने होइनन् र अपनाइएका पनि छन् । तर दण्ड र पुरस्कारको विधिबाट हामी त्यस अवस्थामा पुग्न सक्तैनौं, जहाँ पुग्नुपर्ने हो । अर्थात्, हाम्रो वाञ्छित अवस्था भनेको त्यस्तो अवस्था मानिसहरू सबै जरूरी काम ठीकसँग गरून्, चाहे कसैले निगरानी गरिरहेको होस् वा नहोस् । दण्डको डर र पुरस्कारको लोभले होइन, स्वस्फूर्त रूपमा, सहज बानीको रूपमा । त्यो एउटा परिपाटी बन्न पुगोस् । यो काम दण्ड र पुरस्कारको व्यवस्था गरिदिए जस्तो सजिलो छैन ।
नयाँ परिपाटी स्थापित गर्न वर्तमान परिपाटीलाई सूक्ष्म रूपमा बुझनु र त्यसलाई बदल्न के कस्ता अडचन छन् भनेर मिहीन रूपमा थाहा पाउनु जरूरी हुन्छ । यो काम कुनै घोषणा अथवा कानूनबाट होइन, प्रत्येक व्यक्तिसम्म पुगेर गर्नुपर्ने हुन्छ । हरेक अस्पताल र हेल्थ–पोस्टमा पुगेर प्रसवका प्रत्येक घटनामा आमा र बच्चाको जीवन रक्षा गर्न के–कस्ता काम गर्नुपर्छ भनेर सिकाउने/सम्झाउने  (त्यस्ता २९ वटा आधारभूत काम सिफारिश गरिएका छन्) उपाय अपनाउनुपर्छ । प्रश्न उठ्न सक्छ, यो कसरी सम्भव छ ? त्यतिविधि ‘प्रसव सुधार कार्यकर्ता’ कहाँबाट ल्याउने ? त्यत्रो अतिरिक्त खर्च कसरी जुटाउने ? तर, आमा र बच्चाको जीवन रक्षा हुन्छ भने हामीले यो सब नगरी हुँदैन । त्यस्ता कार्यकर्ताको तालीम/प्रशिक्षण, पदस्थापन, तलब–भत्ता, व्यवस्थापन आदिको सिलसिला चलाएर, शायद एउटा नयाँ पेशाकै विकास गर्नुपर्ला । गर्नैपर्छ । मानव जीवन र मानवीय सभ्यताका निम्ति महत्वपूर्ण  नवीन अभियानहरू यसैगरी अघि बढेर सफल भएका छन् । क्लोरोफर्मको प्रयोगको अर्थ थियो, प्रत्येक अपरेशनका बेला डाक्टरको संख्या थपिनु । एउटा नयाँ पेशा जन्मिनु । एन्टिबायोटिकको प्रचलन र अपरेशन स्थललाई कीटाणुमुक्त बनाउने काम कम झन्झटिलो  र खर्चिलो थिएन । तर हामी पछि हटेनौं । निरक्षरता कम गर्न विश्वभर लाखौं स्कूल बनाइए, पेशेवर शिक्षक प्रशिक्षित गरिए र अनेकौं देशमा सबै बालबालिकाका लागि आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य बनाइयो । कृषिमा सुधारका लागि सरकारहरूले देशका कुना–कुनामा किसानसँग सम्पर्क गर्न लाखौं जे.टी.ए. हरूको व्यवस्था गरे । यस्ता कार्यक्रम साँच्चै सफल भएका छन् । विश्वमा निरक्षरता कम भएको छ— सन् १९७० मा एकतिहाइ मानिस निरक्षर थिए भने आज त्यसको आधा मात्र निरक्षर छन् । कृषि सुधार अभियानले हरित क्रान्तिलाई अघि बढाएको छ । जसले एक अर्बभन्दा बढी मानिसलाई अनिकालबाट जोगाएको छ ।

आईफोन, फेसबुक र ट्वीटरको यस जमानामा हामीलाई बिजुलीको गतिमा विश्वभर फैलने समाचार र विचारको लत लाग्दै गएको छ । रोग, भोक, अशिक्षा, गरीबी जस्ता दुनियाँका ठूल्ठूला समस्याको समाधान पनि यसैगरी झवाट्टै हुनुपर्छ र भइजाओस् भन्ने हाम्रो चाहना हुन्छ । हामी स्कूलका कोठामा पढाउने शिक्षकभन्दा शैक्षणिक भिडियोलाई महत्व दिन्छौं, वास्तविक सैनिकहरूभन्दा ड्रोन विमानहरूलाई, संस्थाहरूभन्दा प्रलोभनलाई महत्व दिन्छौं । तर, प्रविधि र प्रलोभन कार्यक्रम मात्र पर्याप्त हुँदैनन् । नयाँ विचारहरूको सम्प्रेषण र विस्तारको अध्ययन–अनुसन्धानमा ख्यातिप्राप्त एब्रेट रोजर्स भन्छन्, ‘विचारको विस्तार मूलतः सामाजिक प्रक्रिया हो जस अन्तर्गत मानिसहरू एकअर्कासँग कुराकानी गर्दै नयाँ विचार/मान्यतालाई फैलाउने गर्छन् ।’ प्रविधि/सञ्चारमाध्यमले मानिसलाई नयाँ विचारसँग परिचित त गराउँछन् तर, रोजरका अनुसार, मानिसहरू आफूले चिनेका र विश्वास गरेका मानिसलाई हेरेर मात्र कुनै पनि नयाँ विचार वा व्यवहार अपनाउने निर्णयमा पुग्छन् । हरेक परिवर्तनका लागि मिहिनेत चाहिन्छ र यस्तो मिहिनेत गर्ने निर्णय स्वयंमा सामाजिक प्रक्रिया हो ।

वस्तु र सेवाको बिक्री प्रवद्र्धनमा लागेकाहरूले यो कुरा राम्ररी बुझेका  हुन्छन् । मैले एकपल्ट एकजना मेडिकल रिप्रेजेन्टेटिभसँग सोधेको थिएँ, ‘डाक्टरहरू त आफूले प्रयोग गरिआएको औषधिमा असाध्यै कट्टर हुन्छन्, तिमी उनीहरूलाई त्यसको सट्टा नयाँ औषधि प्रयोग गर्न कसरी मनाउँछौ ?’ उसको भनाइ थियो— औषधि जति सशक्त भए पनि, त्यसको गुण र विशेषताको कुराले मात्र काम चल्दैन । हामीले ‘सात सम्पर्कको नियम’ लागू गर्नैपर्छ । डाक्टरसँग कम्तीमा सात पटक निजी तवरमा सम्पर्क गरेपछि मात्र तिनले चिन्छन् र शायद हामीमाथि भरोसा पनि गर्न थाल्छन् । भरोसा गर्न थाले भने बल्ल हाम्रा कुरा ‘सुन्छन्’ । यसै क्रममा डाक्टरको दराज नयाँ औषधिको स्याम्पलले भरिदिन सकिन्छ र अनौपचारिक कुराकानीमा ओर्लन सकिन्छः ‘अनि, तपाईंकी छोरीको बास्केटबल म्याच के भयो ?’ यसपछि बल्ल यस्तो प्रश्न गर्न सकिन्छः ‘तपाईंले हाम्रो नयाँ औषधि बारेको यो रिपोर्ट हेर्नुभयो ? एकपल्ट प्रयोग गरिहेर्नोस् न यसलाई, कति प्रभावकारी रहेछ ?’ त्यस रिप्रेजेन्टेटिभको निष्कर्ष थियो— विरोध/प्रतिरोधलाई छिचोलेर नयाँ कुरालाई विस्तार गर्न मानवीय सम्पर्क र संवाद नै मुख्य शक्ति हुन्छ ।

नून–चिनी–पानी अर्थात् ज्यान बचाउने झोल 
हैजा अत्यन्त उग्र, प्राणघातक रोग हो । बिब्रियो कलेरा नामक जीवाणुबाट हुने यो रोग प्रदूषित पानीको माध्यमबाट फैलिन्छ । हाम्रो शरीरमा ६० प्रतिशत पानी हुन्छ र त्यो पानी यसले स्पन्ज निचोरेझैं निचोरेर बाहिर निकाल्न थाल्छ— झाडापखाला र उल्टी दुवैबाट । त्यस्तो वेला पानी खाएर पनि कुनै फाइदा हुँदैन किनभने आन्द्राले पानी सोस्न नै सक्तैन । केटाकेटीको जीउबाट त २४ घण्टाभित्रै एकतिहाइ पानी निस्किसक्छ जसबाट उनीहरूको मृत्यु हुन्छ । महामारीका रूपमा फैलने यस रोगले बीसौं शताब्दीको प्रारम्भसम्म एशिया, अफ्रिका र अमेरिकामा प्रतिवर्ष लाखौं मानिसको ज्यान लिन्थ्यो । हैजाले पक्रेका तीन–चौथाइ जति मानिस कालको गाँस बन्थे ।

सन् १९०६ मा यसको आंशिक रूपले सफल ओखती पत्ता लाग्यो— एन्ट्राभेनस घोलको प्रयोगले हैजाबाट हुने मृत्युदर ३० प्रतिशतमा झ्¥यो । समुचित ढल व्यवस्थापन, सफा खानेपानी र यस घोलको माध्यमबाट सम्पन्न/विकसित देशहरूले हैजालाई बाई–बाई गरे । तैपनि दुनियाँमा हरेक वर्ष लाखौं मानिस हैजा र झाडापखालाबाट मरिरहे, किनभने नसाका माध्यमबाट शरीरमा पु¥याइने एन्ट्राभेनस घोल ज्यादै महँगो थियो र सबैतिर पर्याप्त मात्रामा उपलब्ध पनि थिएन । यसबाहेक, यो उपचार चिकित्साकर्मीहरूले मात्र गर्न सक्थे — जसको संख्या उसै पनि अति कम थियो, झन्  महामारीका बेला एकैचोटि हजारौं बिरामी भएका बखत त ती हात्तीको मुखमा जीरा जस्तै हुन्थे ।

यसै क्रममा, सन् १९६० को दशकमा चिकित्सा–वैज्ञानिकहरूले के पत्ता लगाए भने पानीमा नून–चिनी मिसाएर पिउँदा आन्द्रालाई पानी सोस्न (ग्रहण गर्न) सहज हुन्छ । सन् १९६८ मा दुई अमेरिकी चिकित्सा–अनुसन्धाता डेभिड नलिन र रिचर्ड क्यास बंगलादेशको राजधानी ढाकामा थिए जहाँ हैजाको महामारी फैलेको थियो । उनीहरूले वैज्ञानिक खोजलाई प्रयोग गरी हेर्न रोगीहरूलाई नून–चिनी–पानीको घोल पिलाउने निर्णय गरे । धेरैलाई लागेको थियो, वयस्क रोगीको शरीरबाट प्रतिदिन १० देखि २० लिटरसम्म तरल पदार्थ (पानी) बाहिर निस्कन्छ, त्यति नै मात्रामा यो घोल उनीहरूलाई पिलाउन गाह्रै पर्ला । त्यसैले अनुसन्धाताहरूले यो परीक्षण २९ जनामा सीमित राखे । रोगीहरूले आवश्यक मात्रामा नून–चिनी–पानी सजिलै पिए । तीमध्ये कसैको मृत्यु भएन । एन्ट्राभेनस घोल भने कसै–कसैलाई मात्र, त्यो पनि एकदमै कम मात्रामा दिइएको थियो ।

यसबारे त्यसै वर्ष दि लेन्सेट जर्नलमा यो प्रयोग सम्बन्धी लेख (प्रयोग र त्यसको परिणाम) प्रकाशित भयो । तर तीन वर्षसम्म कसैका कानमा बतास लागेन । तीन वर्षपछि, सन् १९७१ मा दिलीप महलनबीस नामक चिकित्सकले एउटा शरणार्थी शिविरमा यस घोलको प्रयोग गरे । उनी भारतको पश्चिम बंगालमा, बंगलादेश स्वतन्त्रता संग्रामका साढे तीन लाख शरणार्थी रहेको शिविरमा कार्यरत थिए । त्यहाँ अचानक हैजाको महामारी फैलियो । एन्ट्राभेनस घोलको भण्डार रित्तिइसकेको थियो । अरू उपाय नभएपछि दिलीपले आफ्ना सहयोगीहरूलाई ‘ढाका घोल’ (नून–चिनी–पानीको घोललाई त्यसवेला यही नामले चिनिन्थ्यो) को प्रयोग गर्न आदेश दिए । प्रयोग सफल भयो । ३.६ प्रतिशत बिरामीको मात्र मृत्यु भयो, जबकि सबैलाई एन्ट्राभेनस दिइँदा पनि ३० प्रतिशतको मृत्यु हुने गरिआएको थियो । वस्तुतः नून–चिनी–पानी एन्ट्राभेनस घोलभन्दा बढी प्रभावकारी थियो; समुचित मात्रामा ‘ढाका घोल’ उपलब्ध गराउन र रोगीले पिउन सके लगभग हरेकको ज्यान बचाउन सकिन्थ्यो ।

यस प्रयोगबारे पनि चिकित्सा–जर्नलहरूमा लेख छापिए र यसको रामै्र प्रचार भयो । यति भइसकेपछि यस प्रविधिलाई मानिसले रातारात अपनाउन थालिसक्नुपथ्र्यो । मुखबाट पिलाउने नून–चिनी–पानीको यो घोल वास्तवमा अमृत समान थियो— एउटा भयानक, तीव्र प्राणघातक महामारीको चमत्कारी ओखती ! तैपनि यो ‘विचार’ फैलिएन । एक दशकसम्म पनि मानिसले यो विधि अपनाएनन् । समस्या उस्तै थियो । खासगरी पाँच वर्षमुनिका केटाकेटी झडापखालाका कारण प्रतिवर्ष लाखौंको संख्यामा मरिरहेका थिए ।

एक–एक मान्छेलाई भेटेर...
सन् १९८० को दशकमा आएर बंगलादेशको गैर–नाफामूलक संगठन बीआरएसीले नून–चिनी–पानीको पुनर्जलीय उपचार विधिलाई देशभर फैलाउने अठोटका साथ विशेष अभियान शुरू ग¥यो । यसका निम्ति अधिकांशतः निरक्षर जनतासम्म पुग्नु जरूरी थियो । यसअघि सरकारले चलाएको परिवार नियोजन सिकाउने अभियान ज्यादै अलोकप्रिय, असफल भइसकेको थियो । तर यो अभियान निकै सफल भयो, जसको कथा ‘अ सिम्पल सोल्युसन’ नामक पुस्तकमा प्रस्तुत गरिएको छ । संगठनले आफ्नो अभियान सञ्चारमाध्यममार्फत अघि बढाएको थिएन । जम्माजम्मी २० प्रतिशत जनतासँग मात्र रेडियो थियो । गरीब र निरक्षरहरूसम्म टेलिभिजन र अखबारको पहुँच हुने कुरै थिएन । संस्थाले समस्यामाथि जसरी आक्रमण गरेको थियो त्यसलाई प्रायः अव्यावहारिक र काम नलाग्ने भनेर अस्वीकार गर्ने गरिन्छ । उसले देशका प्रत्येक घरमा पुगेर एक–एक व्यक्तिलाई भेट्ने र उनीहरूसँग कुरा गर्ने विधि अपनाएको थियो ।

अभियान पाइलट प्रोजेक्टका रूपमा शुरू भयो जस अन्तर्गत ६०० गाउँमा लगभग ६० हजार महिला (गृहिणी) सँग कुराकानी गर्नुपर्ने थियो । व्यावहारिक कठिनाइ तर्साउने खालका थिए । जस्तै, कार्यकर्ताको सुरक्षा कसले गर्ने ? तिनले यात्रा कसरी गर्ने ? महिलाहरूलाई कसले सिकाउने ? संस्थाले यथासम्भव राम्रो कार्ययोजना बनायो र अनुभवका आधारमा त्यसमा फेरबदल पनि गर्दै गयो । उसले १४ जना युवा–महिलाहरू, एउटा भान्से र एकजना पुरुष निरीक्षक गरी १६ जनाको समूह गठन ग¥यो । सोचाइ के थियो भने, यात्राका क्रममा निरीक्षकले उनीहरूलाई अरू मानिसहरूबाट सुरक्षा दिनेछ अनि महिलाहरूको समूहले उनीहरू स्वयंलाई निरीक्षकबाट सुरक्षा प्रदान गर्नेछ । उनीहरू पैदल यात्रा गर्थे, हरेक गाउँमा टेन्ट गाड्थे अनि एक–एक घरमा जान्थे । गाउँको प्रत्येक छाप्रोकी महिला (गृहिणी) सँग भेटेर कुराकानी नगरुन्जेल त्यहीं बस्थे । बिहानदेखि बेलुकासम्म, हप्तामा ६ दिन काम गर्थे । रातिको खाना खाएपछि त्यस दिन के–कति ठीक र के बेठीक भयो भनेर छलफल गर्थे अनि कार्यशैलीमा सुधार गर्न विचार आदान–प्रदान गर्थे ।

यी कार्यकर्ता स्वयम् अर्ध–साक्षर थिए तर तिनले आफ्ना कुरालाई सजिलै याद हुने सात सन्देशहरूमा व्यवस्थित गरेका थिए । जस्तैः चर्को झाडापखालाले शरीरमा रहेको पानी सुकाएर ज्यान लिन्छ; जिब्रो सुक्नु, आँखा गाडिनु, प्यास लाग्नु, पिशाब कम हुनु, जीउ कमजोर भएर लल्याकलुलुक हुनु यसका लक्षण हुन्; यसको ओखती गर्न झाडापखालाबाट निस्केर गएको पानीको क्षतिपूर्ति गर्नुपर्छ; नून–चिनी–पानीको घोल बनाएर बिरामीलाई पिलाउनु यसको सबैभन्दा राम्रो उपचार हो, आदि । गाउँलेहरूलाई घोल बनाउन सिकाउने विधि संस्थाका विशेषज्ञहरूले निकै माथापच्चीपछि तयार गरे । गाउँलेहरूसँग मापनका सटीक उपकरण थिएनन्; चम्चा स्थानीय स्तरमा बनाइन्थे र तिनको आकार कहीं डाडुजत्रो त कहीं आचमनी जस्तो हुन्थ्यो । त्यसैले विशेषज्ञहरू ‘हात र औंला) कै भर पर्ने टुंगोमा पुगे । अनि ‘आधा सेर पानीमा एक मुठी चिनी र एक चिम्टी नून (बूढी औंला, चोर औंला र माझी औंलाले समात्दा आउने जति) घोल्ने’ फर्मुला फाइनल भयो । प्रारम्भिक परीक्षणबाट स्पष्ट भयो — महिलाहरूले यो घोल राम्रैगरी बनाउन सक्ता रहेछन् ।

शुरू–शुरूमा एउटी कार्यकर्ताले एक दिनमा २० जना महिलालाई सिकाउँथिन् । अनुगमनकर्ताहरूले त्यति धेरैलाई सिकाउँदा शिक्षणको गुणस्तर चित्तबुझदो भएन भन्ने रिपोर्ट दिए । त्यसपछि एक दिनमा १० जनालाई सिकाउने परिपाटी अपनाइयो । अझ् पछि गएर त, अनुगमनकर्ताले गाउँ पुगेर हेर्दा कति जना महिलालाई सन्देश याद छ र नून–चिनी–पानीको घोल ठीकसँग बनाउन जानेका छन् भन्ने आधारमा कार्यकर्ताहरूको तलब तोकिन थाल्यो । शिक्षणको गुणस्तर बढ्दै गयो । स्थलगत कार्यकर्ताहरूले स्वयम् घोल बनाएर देखाउनुभन्दा गृहिणीहरूलाई नै घोल बनाउन दिएर हेर्नु बढी उपयोगी रहेछ भन्ने आफैं पत्ता लगाए । उनीहरू गाउँ पुगेपछि कसैलाई झाडापखाला लागेको छ कि भनेर खोज्न थाल्थे । घोलद्वारा तिनको उपचार गरेर, यो उपाय कति सजिलो र प्रभावकारी छ भनेर गाउँलेहरूलाई प्रत्यक्ष देखाउन उनीहरू उत्सुक हुन्थे । (उता, विशेषज्ञहरू चाहिं पानी उमालेको हुन्छ कि हुँदैन, हात साबुन–पानी धोएको हुन्छ कि हुँदैन जस्ता कुरामा छलफल गर्थे । तर, उमालेको पानी र सफा हात हुनु बढी राम्रो भए पनि ओखती नै नदिनु भन्दा त नउमालेको पानी र जेजस्तो अवस्थामा छ त्यही हातको प्रयोग गर्नु नै ठीक थियो !)

प्रारम्भिक संकेत आशाजनक थिए । आमा/गृहिणीहरूले मुख्य सन्देश सम्झ्न सकेको पाइयो । उनीहरूले बनाएको नून–चिनी–पानीको घोल विश्लेषण गरी हेर्दा तीन चौथाइ महिलाले ठीकसँग घोल बनाएको पाइयो । एक हजारमध्ये चारवटा घोलमा मात्र नूनको मात्रा ‘असुरक्षित’ थियो । यो सफलतापछि यस अभियानलाई बीआरएसी र बंगलादेश सरकार दुवैले संयुक्त रूपमा राष्ट्रव्यापी तवरमा अघि बढाए । हरेक जिल्ला र क्षेत्रमा हजारौं कार्यकर्ता नियुक्त र प्रशिक्षित गरियो । अवश्य पनि, अभियान त्यति ‘उत्कृष्ट’ थिएन । तर कार्यकर्ताहरूले ७५ हजारभन्दा बढी गाउँका प्रत्येक घरमा पुगेर झ्ण्डै सवा करोड परिवारलाई झाडापखालाबाट आफ्ना केटाकेटीको ज्यान कसरी जोगाउने भन्ने उपाय सिकाए, प्रयोगै गराएर ।

कार्यक्रम सफल भयो । नून–चिनी–पानीको पुनर्जलीय घोलको प्रयोग व्यापक हुन थाल्यो । यस सम्बन्धी जानकारी स्वतः फैलिन थाल्यो । पछि गएर, सबैलाई सम्झाइ  राख्न, यस विधिको प्रचार रेडियो र टेलिभिजनका माध्यमबाट जारी राखियो । र, माग बढ्दै गएपछि पुनर्जलीय–प्याकेट (जीवन जल) को ठोस बजार विकसित भयो । तीन दशकपछि गरिएको सर्वेक्षणबाट, झाडापखालाका ९० प्रतिशत बिरामीहरूलाई नून–चिनी–पानीको घोल ख्वाइने गरेको थाहा भयो । यसबीच, झाडापखालाबाट हुने केटाकेटीको मृत्युदर ८० प्रतिशतभन्दा कम भइसकेको थियो ।

अरू देशले पनि बंगलादेशको तरीका अपनाउन थालेपछि, विश्वभर झाडापखालाबाट हुने मृत्युको संख्या वार्षिक ५० लाखबाट घटेर २० लाखमा झ्¥यो, जबकि यसैबीच विश्वको जनसंख्या ५० प्रतिशत बढिसकेको थियो । तर, अझै पनि, विश्वका विकासशील देशहरूमा एक–तिहाइ केटाकेटीले मात्र यस्तो उपचार पाउने गरेका छन् किनभने कैयौं देशहरूले यो कार्यक्रम झरा टार्ने पाराले मात्र लागू गरे । विल गेट्स फाउन्डेशन र वाशिङटन विश्वविद्यालयले गरेको अनुसन्धान अनुसार, यस्ता देश यो समस्याबाट पार पाउन पूरै असफल रहेका छन् । जे होस्, प्रत्येक व्यक्तिसम्म पुगेर कुराकानी गर्नु नै आज पनि त्यो तरीका हो जसले नयाँ विचार र व्यवहारलाई प्रभावकारी विस्तार प्रदान गर्छ; जसबाट दुनियाँका मानकहरू बदलिन्छन् ।

व्यवहार परिवर्तन
सुरक्षित प्रसवका सन्दर्भमा हामीले बल्ल स्वीकार गर्न थालेका छौं, महत्वपूर्ण  कुरा/व्यवहार स्वतः फैलिंदैनन् । ‘जागरूकता’ मात्रले केही हुँदैन। यसमा पनि, नून–चिनी–पानीको मामिलामा जस्तै, व्यक्ति–व्यक्तिसम्म पुगेर कुरा बुझाउने विशाल कार्यकर्ता–समूह र सजिलै याद हुने ‘सात सन्देश’ को आवश्यकता पर्छ । सुरक्षित प्रसव सम्बन्धी कार्यक्रम ‘बेटर बर्थ’ का केही कार्यकर्ताहरू पनि, सीमित ठाउँमा, लगभग यस्तैखाले काम गरिरहेका छन् । पहिले उनीहरू अस्पतालका इन्चार्ज र प्रसव सहायकहरूलाई प्रसवका वेला पालन गर्नुपर्ने प्रक्रिया/तरीकाहरूको सूचीबारे प्रशिक्षण दिन्छन् । अलिक पछि, प्रसव सहायकहरूले त्यसको पालन गरे–नगरेको निरीक्षण गर्न पुग्छन् । मैले उनीहरूलाई भर्खरै सोधको थिएँ, प्रशिक्षणपश्चात् कुनै प्रसव सहायकले आफ्नो काम गर्ने तरीका सुधारेको देख्नुभएको छ ? उनीहरूको जवाफ थियो, देखेका छौं, तर त्यसका लागि अलिक समय लाग्छ । सीमा यादव तिनैमध्येकी एक हुन् ।

२४ वर्षीय सीमा यादव नर्सिङ स्कूल तीन वर्षअघि मात्र पार गरेकी स्वास्थ्य कार्यकर्ता थिइन् । उनलाई पहिलोपल्ट सुम्पिएको काम एकजना ३० वर्षीय नर्सको निरीक्षण/अवलोकन गर्नु थियो, जो उनीभन्दा धेरै अनुभवी थिइन् । नर्सले एकजना महिलालाई प्रसव/शिशु जन्म गराएको अवलोकन गर्दा सीमाले देखिन्, प्रशिक्षणमा सिकाइएकामध्ये ज्यादै कम कुरा मात्र उनले गरेकी थिइन् । प्रसूति गराउने कोठालाई संक्रमणमुक्त गरिएको थिएन । अलिक अघि अर्को बच्चा जन्माउँदा निस्केको रगत त्यहीं एउटा बाल्टीमा रहिरहेको थियो । सुत्केरी हुने महिला त्यहाँ आइपुग्दा उनको जीउ पीडाले बटारिंदै थियो र उनी ऐया–आत्था गर्दै थिइन् । नर्सले तिनका महत्वपूर्ण  लक्षणको (भाइटल साइन्स) जाँच गरेकी थिइनन् । उनले आफ्नो हात धोएकी थिइनन्, न त प्रसूतिका वेला अपरझट  चाहिन सक्ने सरसामानको तयारी नै गरेकी थिइन् । प्रसवपछि उनले शिशुको तापक्रम जाँचिन् तर थर्मामिटरले होइन, हातैले । नवजात शिशुलाई आमासँग टाँसेर राख्नुको सट्टा उनीसँगै आएकी नातेदार स्त्रीको हातमा राखिदिइन् ।

जब सीमाले नर्सलाई प्रशिक्षणमा भनिएका कुरा र वास्तविक कामका बीचको अन्तरका बारेमा बताइन्, नर्स आत्तिइन् । उनले यसका विभिन्न कारण बताइन्ः तयारी गर्ने समय थिएन, एकै दिन थुप्रैलाई प्रसव गराउनुपर्छ, थर्मामिटर नै दिएको छैन, सफाइ गर्नेहरू कामै गर्दैनन् आदि । सीमा हँसिली, उत्साही, छरिती युवती हुन् । उनी नर्सलाई लिएर अस्पतालको इन्चार्जकहाँ पुगिन् र थर्मामिटर मागिदिइन्, सफाइ गर्नेहरूकहाँ पुगिन् र एकजनाले बच्चा जन्माएपछि कोठाको पूरै सरसफाइ किन गर्नुपर्छ भनेर कुरो बुझइन् । उनी दोस्रो, तेस्रो पटक निरीक्षणमा जाँदा स्थिति अलिक राम्रो थियो । कोठा राम्ररी सफा गरिएको थियो । थर्मामिटर दराजमा भेटिने गरी राखिएको थियो । तैपनि नर्सले आफ्नो कार्यशैली धेरै बदलेकी थिइनन् ।

चौथो, पाचौं  पटकको निरीक्षणसम्ममा उनीहरूबीचको सम्बन्ध अनौपचारिक हुन थालेको थियो । उनीहरू सँगै चिया खान्थे अनि कुरा गर्थेः पन्जा लगाए नै पनि साबुनले हात धुनु किन जरूरी छ (किनभने एक त पन्जामा मसीना छिद्र हुन सक्छन्, त्यसबाहेक पन्जा नलगाएको वेला उपकरणहरू छुने–चलाउने हाम्रो बानी हुन्छ), ब्लडप्रेसर नाप्नु किन जरूरी छ (किनभने उच्च रक्तचाप एक्लेम्पसियाको लक्षण हो जसको उपचार नगरे आमाको ज्यान जान सक्छ) आदि । उनीहरूले एक–अर्काका बारेमा पनि जान्दै गए । दुवैका एक–एकजना सन्तान रहेछन् ः सीमाको चार वर्षको छोरो, नर्सकी आठ वर्षकी छोरी । नर्स राजधानीमा बस्दी रहिछन् र त्यहाँबाट अस्पताल आउन बसमा दुई घण्टा लाग्दो रहेछ । उनी लोग्नेसँग पारपाचुके गरेर आफ्नी आमासँग बसेकी रहिछन् । राजधानीकै कुनै अस्पतालमा नखटाइएकोमा उनको ठूलो गुनासो रहेछ । कामको चापले कैयौं दिन घर जान पाउँदी रहिनछिन् र फुर्सत पाउँदा अस्पतालकै एउटा खाटमा सुत्दी रहिछन् । सीमाले उनीप्रति सहानुभूति देखाइन् र आफ्नो परिवार अनि भविष्यको आफ्नो आकांक्षाका बारेमा बताइन् । बिस्तारै नर्सले बुझिन्, सीमा उनको गल्ती–कमजोरी खोतल्न होइन उनलाई सघाउ पु¥याउन र उनको अनुभवबाट केही सिक्न आएकी हुन् । त्यसपछि उनीहरूले एकअर्कालाई आ–आफ्नो मोबाइल नम्बर दिए र बीचबीचमा फोनबाट कुराकानी गर्न थाले । सीमाले बताइन्, एक महीनाभित्रै नर्सको व्यवहारमा पर्याप्त परिवर्तन आयो । उनी बच्चाको तापक्रम र आमाको ब्लडप्रेसर विधिवत् जाँच्न थालिन् । हात साबुनले धुन, आवश्यक औषधि र उपकरण तम्तयार राख्न र तिनको उपयोग गर्न थालिन् ।

अर्को महीना सीमा अर्कै परियोजनामा खटाइन् । त्यसको तीन महीनापछि म आफैंले ती नर्सलाई फोन गरें र सोधें, ‘तपाईंले आफ्नो कार्यशैलीमा केही परिवर्तन गर्नुभयो ?’
उनले भनिन्, ‘थुप्रै !’
‘सबैभन्दा मुश्किल के थियो ?’
‘हात धुन । मैले दिनभरिमा कैयौं पटक साबुन लगाएर हात धुनुपथ्र्यो ।’
‘अनि सबैभन्दा सजिलो नि ?’
‘आमा र बच्चाका शारीरिक लक्षणहरूको जाँच गर्न । पहिले पहिले यो काम हामी भद्रगोल पाराले गथ्र्यौं, अब व्यवस्थित किसिमले गर्छौं ।’
उनले भनिन्, ‘यसको असर पनि देखिन थालेको छ, सर । सुत्केरी भएपछि आमाको रक्तस्राव घटेको छ । समस्या के हो भनेर मैले चाँडै थाहा पाउन थालेकी छु । मैले एउटी त्यस्ती शिशुलाई पनि बचाएँ जसले जन्मेपछि सास फेर्न सकिरहेकी थिइनन् । एउटी आमाको एक्लेम्पसिया पत्ता लगाएर त्यसको उपचार गरें ।’
यी सब कुरा सुनाउँदा उनको स्वरमा गर्वको अनुभूति स्पष्ट झल्किन्थ्यो ।
नर्सले बताइन्, व्यवहार परिवर्तन गर्न उनले निकै अभ्यास गर्नुपरेको थियो । जस्तै, सबै जरूरी कुराहरू — थर्मामिटर, ब्लडप्रेसर नाप्ने पट्टी, साबुन, सफा पन्जा, बच्चालाई लगाइदिने मास्क, औषधि आदि — चाहिएको वेला सजिलै भेटिने गरेर कसरी राख्ने; हरेक प्रसवमा यिनको उचित उपयोग कसरी गर्ने; आमा र उनका नातेदार महिलाहरूलाई नवजात शिशुलाई आमाको जीउमा टाँसेर सुताउनु किन सबैभन्दा राम्रो हुन्छ भनेर बुझाउने आदि । यी सबै काम सीमाले सँगसँगै लागेर सिकाएको पनि उनले उल्लेख गरिन् ।

मैले सोधें, ‘तपाईंले उनका कुरा किन मानेको त ? तपाईंको तुलनामा त उनीसँग कुनै अनुभव नै थिएन !’
उनले भनिन्, ‘हो, सर । शुरूमा मलाई पनि त्यस्तै लाग्थ्यो । पहिलो दिन उनी आउँदा मलाई आफ्नो कामको बोझ् अनाहकमा बढेजस्तो लाग्यो । तर दोस्रो, तेस्रो पटक पछि उनी आएको राम्रो लाग्न थाल्यो । म उनको प्रतीक्षा गर्न थालें ।’
‘किन त ?’
‘उनी निकै असल थिइन्’, नर्सले यति मात्र भन्न सकिन् ।
‘असल थिइन् ?’
‘हो, सर । उनी उज्याली थिइन् । सधैं मुस्कुराइरहन्थिन् ।’
‘यत्ति हो ?’
‘उनीसँग कुरा गर्दा उनले मेरा गल्तीहरू खोजिरहेको जस्तो लाग्दैनथ्यो । साथीसँग कुराकानी गरे जस्तो लाग्थ्यो ।’
त्यसपछि नर्सले बताइन्, नवजात शिशुलाई आमाको जिउमै टाँसेर तातो राख्नु किन आवश्यक छ भनेर आमा र तिनको परिवारका महिलाहरूलाई उनले आफ्नै पाराले सम्झउन थालेकी छन् ः ‘आमाको पेटभित्र बच्चा निकै तातो रहन्छ । त्यहाँबाट बाहिर आएपछि पनि उसलाई त्यत्तिकै तातो चाहिन्छ । आमाको जीउमा टाँसेर राख्ता उसले त्यो तातो पाउँछ ।’

हामी यही कुरा बेग्लै किसिमले भन्थ्यौं । तर नर्सले, आफूले सिकेको कुरा आफ्नै पारामा यसरी भन्न थालेको थाहा पाएपछि मैले बुझें — ‘विचार’ फैलिएछ !
‘उनीहरूले तपाईंका कुरा मान्छन् त ?’
‘कहिलेकाहीं मान्दैनन् । तर धेरैजसो मान्छन् !’
खोजेकै यही त हो नि ! ! ! 

(हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ (अमेरिका) का प्रोफेसर गवंडे विश्वभर शल्यचिकित्साका कारण हुने मृत्युदर घटाउने प्रविधि एवं प्रक्रिया कार्यान्वयन गराउन सक्रिय छन् । यो लेख पहिलो पटक २९ जुलाई, २०१३ को न्यू योर्कर पत्रिकामा प्रकाशित भएको हो ।)
साभारः शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ९१/९२

भाषान्तर/पुनर्लेखनः शरच्चन्द्र वस्ती
२०७१ मंसीर अंकमा प्रकाशित । 

commercial commercial commercial commercial