वैकल्पिक ऊर्जा र जलवायु परिवर्तन

जलवायु परिवर्तनसँग गाँसिएको विश्व राजनीतिमा विकसित र अविकसित राष्ट्रको जिम्मेवारी र अधिकारको विषयमा चर्काे बहस हुने गर्छ । त्यहाँ विवाद र बहस हुने मुख्य मुद्दा कार्वन उत्सर्जनको मात्रा हो । यो मुद्दाको चुरो बुझन केही समय अगाडि गर्न पाएको विकसित राष्ट्र बेलायत र विश्वकै गरीब मुलुकको सूचीमा रहेको इथियोपियाको भ्रमणले यो पंक्तिकारलाई निकै सहयोग पुर्‍यायो ।

कुनै समयमा विश्वमै नै बेलायतको राज थियो । पहिलो पटक बेलायतको राजधानी लण्डन पुग्दा त्यहाँका टमक्क मिलेका घर, घरअगाडि पार्किङ गरिएका कार, रात पनि दिन जस्तै लाग्ने सडक बत्ती, दुईतले बस, बिजुलीबाट चल्ने रेल, हिंड्दा आफ्नै खुट्टाको मैलो सर्ला जस्तो लाग्ने सडक आदि देख्दा धर्तीमा शायद स्वर्ग यही हो भन्ने लाग्यो । सार्वजनिक सवारी साधनको टिकट लिन मेसिनले सहयोगगर्थे । मानौं अब देखि मानिसलाई मेसिनले विस्थापित गर्छ । वास्तविकता के थियो भने यी सबैका लागि सहज बिजुली आपूर्ति हुन्थ्यो ।

वैभवशाली जीवनयापन बाँच्न धेरै ऊर्जा आवश्यक हुन्छ । बेलायतको युवापुस्ताले जलवायु परिवर्तन, धेरै मात्रामा प्रयोग भइरहेको ऊर्जा र उत्सर्जन भइरहेको कार्वनको बारेमा के सोच्दै होलान् भन्ने जिज्ञासा उठ्यो । विकसित मुलुकका सम्पन्न नागरिकले कार्वन उत्सर्जन घटाउन के–कस्ता प्रयास गरेका छन् त ? यदाकदा जलवायु परिवर्तनबारे उनीहरू किन मौन रहन्छन् ? त्यहाँको राज्यले के–कस्तो प्रयास र दायित्व लिएको छ ? आदि कैयौं प्रश्न उठे मेरो मनमा । यी प्रश्न किन उठे भने धनी मुलुकका बासिन्दाले सम्पन्न र सुविधाको जीवन भोग्दाको दुष्परिणाम सम्पूर्ण विश्वले खेप्नुपरेको छ । भौतिक विकास को चरम उत्कर्षमा पुगेका बेलायत लगायतका अन्य विकसित देशले उत्सर्जन गरेको कार्बनडाइअक्साइडको मात्रा वायुमण्डलमा चाहिनेभन्दा बढी थुप्रिएको कारणले पृथ्वीको तापक्रम बढ्दै गएको र त्यसकै परिणामस्वरुप जलवायुमा परिवर्तन आइरहेको छ । यसको मार सबैभन्दा बढी गरीब राष्ट्रका जनतालाई पर्ने प्रष्ट छ ।

बेलायतको विपरीत अवस्थामा छ इथियोपिया । इथियोपियाको राजधानी अदिस अबाबाको विमान स्थलमा भिसा लिने कोठामा हामी आफ्नो नाम कागजी फाइलमा खोजिरहेका थियौं । त्यहाँ कतै कम्प्युटर त थिए होलान् तर प्रयोगमा थिएनन् । अदिस अबाबाका केही सडक फराकिला थिए भने धेरै साँघुुरा र खाल्डाखुल्डीयुक्त । एउटै ठाउँबाट हेर्दा एकातिर आलिसान घरहरू देखिन्थे भने अर्कोतिर स–साना झुपडी र अव्यवस्थित बस्ती । फोहोर–मैलाको कमजोर व्यवस्थापन, जुत्ता पालिस गरिरहेका गरीब बालकहरू, टुटेफुटेका सडक, केहीपर डाँडाकाँडा, दाउरा बोकेर हिंडिरहेका महिलाहरू देख्दा काठमाडौंकै झलक पनि आउँथ्यो ।

हालसालैको एक सर्वेक्षण अनुसार बेलायतको १४ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि छन् भने इथियोपियाको २९.२ । तर ती दुई देशमा माग्न बस्नेहरूको तरिकामा पनि भिन्नता छ । लण्डनमा माग्नेहरू बाटोमा आफ्नो कला प्रस्तुत गरिरहेका भेटिन्छन् भने अदिस अबाबामा हात फैलाइरहेका । इथियोपिया र बेलायतका नागरिकले प्राप्त गर्ने सुविधा कसै गरी पनि दाँज्न सकिंदैनथ्यो । जलवायु परिवर्तनको कारक मानिएको कार्बनडाइअक्साइडग्यास उत्सर्जन गर्ने को सूचीमा अग्रस्थान (१० औं) मा बेलायत पर्छ भने अत्यन्तै कम उत्सर्जन गर्ने मुलुकको सूची (११३औं) मा इथियोपिया । यो सन् २०१० को आँकडा हो ।

स्रोत र साधनको प्रयोग र पहुँचबाट गरीब मुलुकका अधिकांश नागरिक टाढा छन् । कमजोर पूर्वाधार र अत्यधिक गरीबीका कारण गरीब मुलुकका नागरिक जलवायु परिवर्तनबाट पर्ने असरसँग जुध्न सक्ने अवस्थामा छैनन् । त्यसैकारण धनी मुलुकहरूले गरीब मुलुकहरूलाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन सहयोग गर्नु पर्ने भन्ने माग कम विकसित मुलुकहरूले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उठाउनु स्वाभाविक हुन्छ ।

जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न समृद्ध मुलुकले अविकसित मुलुकलाई सहयोग गर्नु पर्छ । तर यो त्यसै आउँदैन । यसका लागि सबै कमजोर राष्ट्रहरूले जुटेर ठूलो लडाईं गर्नु पर्छ । तर पंक्तिकारलाई यस अनुभवले प्रश्न सोध्न विवश पारयोः विकास खोज्दै हामी पनि फराकिला र ठूला बाटो निर्माणमा छौं । बाटोघाटो र प्रभावकारी यातायात सेवाले व्यक्ति, घर परिवारलाई बसेको ठाउँबाट काम गर्ने ठाउँमा आउन जान सहयोग गर्छ । यातायात सेवा सञ्चालन गर्ने ऊर्जाको स्रोत के होला ? बिजुलीबाट चल्ने रेल, मोटरगाडी र टेम्पोहरू त छन् तर हाम्रा बहुसंख्यक यातायात प्रणालीको सञ्चालन खनिज तेलमा आधारित छ । यो परिपाटी विगत १५० वर्ष देखि चल्दै आएको छ । निश्चय पनि लामो इतिहास भएको खनिज तेलको अर्थराजनीति तत्कालै परिवर्तन हुँदैन । यस अर्थराजनीतिभित्र वैकल्पिक इन्धनका स्रोतहरू पनि फु–मन्तर भई स्वीकार्य हुँदैनन् । तर हुँदै गरेका घटनाक्रमले विकल्प आवश्यक छ भन्ने देखाइसके ।

औद्योगिक क्रान्ति मानव सभ्यतालाई अगाडि लैजाने एउटा ठूलो कोसेढुङ्गा थियो । युरोपियन ज्ञानोद्विपन कालखण्डका चिन्तक र विचार कहरूले देखाएका सम्भावनामा टेक्दै औद्योगिक क्रान्ति शुरू भयो । वर्तमान विश्वमा नयाँ चिन्तन र विचार अगाडि ल्याउन हामी पनि सक्षम हुनुपर्छ । यस्तै विचार ले विकल्पहरू खोज्न सहयोग गर्छ । यात्रा कठिन छ, तर असम्भव भने छैन ।

commercial commercial commercial commercial