वर्ष दिनमै बदलिन्छ स्कूल

सन् ५० को दशकमा अमेरिकामा थुप्रै अमेरिकी किशोर किशोरीहरू ड्रगको लतमा परेका थिए । उनीहरू आफ्ना बाआमाको न्यूनतम कुरा पनि टेर्दैनथे । आफ्नो क्लिनिकमा आएका यस्ता किशोरकिशोरीको अवस्था देखेर अमेरिकी मनोचिकित्सक डा. विलियमग्ल्यासिएर बडो बेचैन भएछन् । यो समस्या अध्ययन गरे पछि उनी के निष्कर्षमा पुगेछन् भने हराम्रो शिक्षा पद्धतिमा केही न केही कुरा को कमी छ, जसले किशोरकिशोरीहरूलाई यो अवस्थामा पुग्न सघाइरहेछ । धेरैजसो किशोरकिशोरीहरूको तीव्र गुनासो र असन्तुष्टि एउटै कुरा मा थियो, “म माया पाउँदिनँ ।” न घरमा बा आमाबाट माया पाएको अनुभूति छ, न त स्कूलमा नै शिक्षकहरूबाट स्नेहको लेप ।

वास्तवमा माया के हो भनेर सिक्ने त घरबाटै हो । मायाको अनुभूतिको आरम्भ घरबाटै हुने हो । बच्चामा ममत्वको भावना विकास गर्ने मूल दायित्व घरकै हो । बाआमाकै हो । त्यसो त स्कूलले पनि ममत्वको अनुभूति आफ्ना बच्चामा गराउन सकेन भने सिकाइ नै आरम्भ हुँदैन । तैपनि स्कूलको मुख्य काम मसित केही छ भन्ने भावना र आत्मानुभूतिको विकास गर्ने हो । मानिसमा आत्मानुभूति मूलतः दुई कुरा बाट विकसित हुन्छ । पहिलो हो, ज्ञान । दोस्रो हो, सोच्न सक्ने र समस्या समाधान गर्ने क्षमता । यो आत्मानुभूति पैदा गराउने काम स्कूलको हो भन्ने मान्यता राख्ने उनको अध्ययनको निष्कर्ष थियो, स्कूलमा ज्ञान सही तरिकाबाट सम्प्रेषण हुन सकिरहेको छैन । जसबाट बालबालिकाहरू अत्यन्त पीडित र प्रताडित भइरहेका छन् ।

शिक्षक जति नै योग्य र अनुभवी भए पनि जबसम्म ऊ विद्यार्थीको हृदयमा बस्न सक्दैन, तबसम्म त्यहाँ शिक्षण सिकाइ प्रक्रिया जीवन्त तरिकाले आरम्भ हुनसक्दैन । परिणामस्वरुप ४५ मिनेटको कक्षामा विद्यार्थीले जति सिक्नुपथ्र्यो, जति सिक्न सक्थ्यो, त्यति सिक्न सकेन, पाएन । त्यसैले विद्यार्थीको मनभित्र शिक्षकले कसरी बास गर्ने भन्ने सवाल सर्वाधिक पेचिलो बनेको छ । विचरा शिक्षक घाँटी सुकुञ्जेल कराउँछ, उपदेश दिन्छ, आदेश दिन्छ तर त्यो काम विद्यार्थीको निम्ति अर्थपूर्ण हुनसकिरहेको छैन । स्कूलमा शिक्षकसित दिनमा ६ घण्टा बसिसकेपछि पनि घरमा गृह कार्यको भार बोक्न बालबालिकाहरूलाई विवश बनाइएको छ । निर्दिष्ट पाठ्यक्रम सक्नै पर्ने र सिकाइ उपलब्धि पुर्याउनै पर्ने कारणले यहाँ शिक्षक चेपुवमा परेको छ ।

शिक्षकले नचाहेर पनि गृह कार्यको भारी कलिला नानीबाबुहरूलाई बोकाउन ऊ विवश छ । बालबालिकाले पनि गृह कार्य भनेको अभिभावक र शिक्षक मिलेर हामीलाई व्यस्त राख्ने चालबाजी हो भन्ने ठान्न थाले । यसले गर्दा बच्चाहरूले आफूलाई झन् बढी अपहेलित र उपेक्षित महसूस गर्न थाले । परिणामस्वरुप बच्चाहरू झन् झन् कमजोर हुँदै गए । बालबालिकामा ‘मसित केही छ’ भन्ने दह्रो भावना विकास गर्ने मुख्य जिम्मेवारी बोकेको स्कूल यस कुरा मा धेरै हदसम्म असफल सिद्ध भयो ।

हाम्रा विद्यालयले आज पनि ज्ञान सही तरिकाले निर्माण र सम्प्रेषण गर्न सकिरहेका छैनन् । त्यसको महत्वपूर्ण कारकतत्व हो, शिक्षकको सामन्ती चरित्र । शिक्षकमा ‘म मात्र जान्ने छु, विद्यार्थीहरू जान्दैनन्, सही ज्ञान मैसित मात्र छ, उनीहरू त रित्तोगाग्री हुन्’ भन्ने सामन्ती सोचबाट ग्रस्त हुनपुग्दा बालबालिकासित भएको वैयक्तिक ज्ञान उपेक्षित भयो । बच्चाहरूसित पनि आफ्नै किसिमको ज्ञान हुन्छ । समाज र प्रकृतिसितको अन्तरक्रियाबाट उसमा पनि त ज्ञानको निर्माण भइरहेको हुन्छ । एक किसिमको धारणाको निर्माण भइरहेको हुन्छ । त्यसलाई पूरै अस्वीकार गरेर कक्षामा बच्चाहरूसित कसरी अर्थपूर्ण संवाद गर्न सकिन्छ र ? यो गहन सत्यलाई हामी शिक्षकले आत्मसात गर्न सकेनौं । सधैं आफू मात्र जान्ने, बुझने ठानिरह्यौं । बालबालिकासित पनि मौलिक ज्ञान हुन्छ भन्नेतर्फ सोच्दै सोचेनौं ।


प्रथम चौमासिक परीक्षामा ८० अंक ल्याउने विद्यार्थी ‘म त धेरै जान्ने रहेछु’ भनेर नाक फुलाएर बस्छ भने २५ अंक मात्र ल्याउने अर्को विद्यार्थी चाहिं हतोत्साही हुन्छ । उसले ‘म त सिक्न नसक्ने पो रहेछु’ भन्ने ठान्छ । र, विस्तारै ऊसित भएको आत्मविश्वास पनि गुम्दै जान्छ । अतः ग्रेडिङ्गले उल्लिखित दुवै खालका विद्यार्थीमा सिक्ने प्रवृत्ति घटाउँदै लैजान्छ ।


हाम्रो शिक्षा प्रणालीको सबभन्दा ठूलो विफलता भनेको बच्चाको प्रतिभा, रुचि र क्षमतासित शिक्षालाई जोड्न नसक्नु नै हो । अझ् ठोस रूपमा भन्नुपर्दा, शिक्षालयको मूल कर्म नै बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रस्फुटन र विकास नै हो । उसको रुचि र क्षमता अनुसार सिकाइ क्रियाकलाप को डिजाइन प्रभावकारी शिक्षणको पूर्वशर्त हो । कक्षामा थरीथरीका रुचि, क्षमता, सोच, बुद्धि र ज्ञान भएका विद्यार्थी हुन्छन् । तर हामी अहिले तिनलाई एउटै तरिकाले पढाइरहेका छौं । जबकि तरिकाहरू फरक फरक हुनुपर्ने थियो । एक तरिकाले जानेन भने अर्को तरिकाले सिकाउनु पर्ने थियो । त्यति मात्र होइन, उनीहरूसित भएको ज्ञानको पनि उपेक्षा गरिरहेका छौं ।

हामी शिक्षकहरू एक प्रकारले भन्ने हो भने हामी घोकाउने परम्पराको बिंडो थामेर बाँचिरहेका छौं । हामीलाई जाँचमा नम्बर मात्रै चाहिएको छ । बच्चाले केही बुझेको हुन्न । तैपनि घोकाएको घोकायै गरयो । नोट लेखायो । वर्षको अन्तमा १० वटा प्रश्न घोकाउने, घोकाएका उत्तरका आधारमा कक्षा चढाउने काम हुँदै आएको छ । एसएलसी त यो श्रृंखलाको उत्कर्ष नै हो । ‘अर्को वर्ष पास गरे नौ भने फेल गर्छु नि’ भनेर विद्यार्थीलाई तर्साएर हामीले कक्षा चढाउने गरेका छौं । जो मानिस दबाब र तनावमा छ, ऊ सृजनशील हुन सक्दैन । हामीले स्कूलमा बच्चालाई दबाब र तनाव मात्र दिएका छौं, सृजनशील हुने वातावरण चाहिं खासै दिएका छैनौं ।

सदियौं देखि विद्यालयमा तीन वटा काम हुँदै आएका छन् । पहिलो , कन्टेन्टमा आधारित शिक्षण । दोस्रो, टेस्टिङ्ग । तेस्रो,ग्रेडिङ्ग । पहिलो दुई वटाको सान्दर्भिकतामा अहिले प्रश्न नगरौं । तर तेस्रोका बारे चाहिं पुनर्विचार गर्न ढिला भइसकेको छ ।ग्रेडिङ्ग गर्ने बित्तिकै बच्चाको सिक्ने प्राकृतिक मनोवृत्तिमा ठूलो बदलाव आउँदोरहेछ । मेरो अनुभवले भन्छ, प्रथम चौमासिक परीक्षामा ८० अंक ल्याउने विद्यार्थी ‘म त धेरै जान्ने रहेछु’ भनेर नाक फुलाएर बस्छ भने २५ अंक मात्र ल्याउने अर्को विद्यार्थी चाहिं हतोत्साही हुन्छ । उसले ‘म त सिक्न नसक्ने पो रहेछु’ भन्ने ठान्छ । र, विस्तारै ऊसित भएको आत्मविश्वास पनि गुम्दै जान्छ । अतः ग्रेडिङ्गले उल्लिखित दुवै खालका विद्यार्थीमा सिक्ने प्रवृत्ति घटाउँदै लग्छ, जान्ने छु भन्नेमा अहंकार वा नजान्ने छु भन्ने हीनभावनाको मात्र विकास गराउँछ । के हामीले यसका लागि नै हाम्रा बालबालिकालाई स्कूल पठाएका हौ त ? अवश्य पनि होइन । हामीले निरन्तर सिक्ने नयाँ नयाँ कुरा सिकिरहने प्रवृत्तिको विकास गराउन पो स्कूल पठाएका हौ त !

वास्तवमा सुधारको सुरुआत यहींबाट हुनुपर्छ भन्ने मेरो तीन दशकको शिक्षण अनुभवले भन्छ । विद्यार्थीले के सिक्यो, के सिक्न बाँकी छ भन्ने थाहा पाउन शिक्षकको जानकारीका लागि चाहिने हो । ताकि नजानेको कुरा थाहा होस् र समयमै सिकाउन सकियोस् भन्ने उद्देश्यका लागि मूल्याङ्कन आवश्यक हुन्छ । यस दृष्टिले पाठ पिच्छे मूल्यांकन गर्ने र नजानेका कुरा त्यति नै बेला सिकाइहाल्ने तरिका अवलम्बन गरिनु सबभन्दा व्यावहारिक देखिन्छ । आठ दशवटा पाठ हतार हतारमा पढाउने अनि एकै पटक त्यसको बुझइबारे पेपर जाँच लिने कुरा व्यावहारिक छैन ।

तथापि यही पद्धति रहिरहने हो भने पनि यहीं पनि सुधार गर्न नसकिने होइन । त्यसनिम्ति अलिकतिगहिराइमा गएर र अलिकति फरक तरिकाले सोच्नुपर्छ । एउटा तरिका– जुन विद्यार्थीले प्रथम चौमासिकमा २५ अंक ल्यायो, उसलाई दोस्रो चौमासिक परीक्षामा ४० अंक ल्याउने लक्ष्य लिन उक्साऔं, जसले ४० ल्याएको छ उसलाई ६०, जसले ६० ल्याएको छ, उसलाई ८० ल्याउने लक्ष्य लिन उक्साऔं । विद्यार्थीको अवस्था र उसको तत्कालको लक्ष्यबारे अभिभावकलाई जानकारीगराऔं । विद्यार्थीलाई सिक्नका लागि चाहिने वातावरण दिऔं । चाहिने ‘एकेडेमिक सपोर्ट’ पनि गरौं । यो तरिकाले पहिलो त्रैमासिकमा २५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीले पनि अन्तिम परीक्षामा ६० भन्दा बढी अङ्क ल्याउने संभावना अधिक रहन्छ । यसले गर्दा एकातिर उसमा म त सिक्न सक्नेरहेछु भन्ने आत्मविश्वासको विकास गराउँछ भने अर्कोतिर माथिल्लो कक्षामा ऊ स्वतः जान्ने विद्यार्थीको रूपमा दरिन्छ । यो प्रक्रिया शुरू भएको दोस्रो वर्षको पहिलो त्रैमासिकमा नै उसले सयमा ८० को हाराहारीमा अङ्क ल्याउन समर्थ हुन्छ ।

यो तरिकालाई सफलीभूत पार्न विद्यार्थीलाई उसले चाहेको बेला मौका परीक्षा दिन पाउने व्यवस्था गरिनुपर्दछ । केवल त्रैमासिक परीक्षामा मात्र स्कूलले आफूलाई सीमित गर्नु हुन्न । बच्चाले आफैं भनोस् न, “मैले जानिसकें, अब म परीक्षा दिन्छु ।” बरु स्कूलले हप्ता हप्तामै मौका परीक्षा दिने व्यवस्था गर्नु पर्छ । त्यसले विद्यार्थीलाई रराम्रोसित सिक्न र सिकेको कुरा प्रदर्शन गरेर शिक्षकबाट मान्यता पाउन अभिप्रेरित गर्द छ । मिहिनेती शिक्षकले गृह कार्य जाँच गर्ने जस्तो अनुत्पादक कार्यमा आफ्नो समय खर्चिनुको सट्टा मूल्यांकन गर्ने र अतिरिक्त सहयोग गर्ने उपयोगी काममा संलग्न हुनुपर्छ । बच्चाले हासिल गरेको ज्ञान कसरी प्रयोग गरयो भनेर हेर्ने/बुझने कार्यमा शिक्षकले बढी ध्यान दिनुपर्छ । यसले अन्ततः शिक्षकलाई नै आफ्नो शिक्षण शैलीमा सुधार ल्याउन र विकसित हुँदै जान महत्वपूर्ण सहयोग गर्द छ ।

चालु शिक्षण पद्धतिमा बच्चालाई स्वमूल्याङ्कन गर्ने अवसर नै दिइँदैन । विद्यमान शिक्षा पद्धतिको सबैभन्दा अँध्यारो पक्ष संभवतः यही हो । हरेक बच्चाले दैनन्दिन केही न केही सिकिरहेको हुन्छ । कति सिकियो, के जानियो, जानेको कुरा के रहेछ, के चाहिं सिक्न बाँकी छ भन्ने कुरा उसलाई भन्दा बढी जानकारी अरू कसलाई होला र ? सँग सँगै के के कुरा मा चाहिं गल्ती/कमजोरी भए भनेर त्यसलाई महसूस पनि गरिरहेका हुन्छन् । तर हामी जानी नजानी कक्षामा यो पक्षलाई प्रविष्ट हुन रोकिरहेका छौं । ‘ गल्ती गरे’ भनेर स्वीकार गर्ने लाई खिसीट्युरी र उपहासको पात्र बनाइने गरिन्छ । जबकि उसलाई यो त निक्कै रराम्रो कुरा हो भनेर शिक्षकले प्रशंसा गर्नु पर्ने कुरा हो । यसरी प्रशंसित हुँदा सम्बन्धित विद्यार्थीको गल्तीबाट स्वीकार गर्ने र सिक्दै जाने मनोबल बढ्छ भने त्यसको सकारात्मक प्रभाव सिंगो कक्षामा नै पर्दछ । विस्तारै अरू विद्यार्थीहरू पनि यसै गर्न थाल्दछन् । पछि गएर यो त कक्षाको संस्कृति नै बन्न पुग्छ । अझ्, बालबालिकाहरूलाई बढीभन्दा बढी आत्मानुभूति (realization) गर्ने र त्यसलाई प्रतिविम्बन (reflection) गर्ने समय र अवसरहरू चाहिं प्रशस्त उपलब्धगराइदिन कञ्जुस्याइँ गर्नु हुँदैन । स्कूल हुनुको अर्थ र मर्म यही हो ।

हामी शिक्षकहरूले उत्तिकै ध्यान दिन जरुरी छ । त्यो हो, बच्चाले सकारात्मक पक्षलाई बारम्बार हाइलाइटगरौं, नकारात्मक पक्षलाई होइन । बच्चाले जे जानेको छ, जे क्षमता छ, जे सकारात्मकगुणहरू छन्, त्यसलाई पहिल्याउने र बारम्बार प्रशंसा गरियो भने बच्चामा म केही हुँ, मैले केही गर्न सक्छु भन्ने आत्मबोध पैदा गरिदिन्छ, जसले बच्चालाई सही तरिकाको विकसित हुन र सिक्ने मानिसका रूपमा हुर्किन मद्दत गर्द छ । तर आज नेपालका अधिकांश विद्यालयमा हामी शिक्षकहरूले जानी नजानी यसको ठीक उल्टो बच्चाको तेजोबध गर्ने, नकारात्मक पक्षहरूलाई मात्र बारम्बार हाइलाइट गर्ने गरिरहेका छौं । यो हाम्रो ठूलो भूल हो । यदि हामीले यो कमजोरीलाई सच्याउन सक्यौं भने कक्षामा सिकाइको वातावरण बनाउने आधा काम त यसैले गर्द छ । स्कूलमा सुधारको सूत्रपात हाम्रो आफ्नै सोचाइ–व्यवहार परिवर्तनबाट नै प्रारम्भ हुने हो । हामी शिक्षक बदलिन तयार भयौं भने स–साना नानी त झन् नबदलिने कुरै छैन । हामी बदलिएको दुई चार दिन भित्रै उनीहरूको सोच–व्यवहारमा बदलावका तरङ्ग देख्न पाइनेछ । मलाई लाग्छ, माथि उल्लेख गरिएका केही तरिकालाई प्रभावकारी तवरले कक्षामा प्रयोग गर्न सकियो भने एक वर्षमै स्कूलमा अर्थपूर्ण र सबैले महसूस गर्न सकिने गरी उल्लेखनीय सुधार प्रक्रिया आरम्भ हुन्छ । केही गर्न चाहने र परिवर्तन देखाउन शिक्षक/प्रधानाध्यापकका निम्ति यो अचुक उपाय सावित हुन सक्छ । एक पटक कोशिश गरेर त हेरौं !

(वार्तामा आधारित)

करीब तीन दशक पोखराका विभिन्न स्कूलहरूमा शिक्षण कर्ममा बिताएका शेरचन हाल शिक्षक तालिम/प्रशिक्षणमा संलग्न छन् ।



 

commercial commercial commercial commercial