प्राप्ताङ्क मात्रै गुणस्तरको कसी होइन

नेपालको शिक्षा प्रणालीका समस्याबारे बेलाबेला चर्चा गर्ने गरिन्छ; सुधारका लागि केही प्रयासको सुरुआत पनि गरिन्छ तर समस्याको समाधान अपेक्षाकृत हुनसकेको पाइन्नँ । यहाँ शिक्षा प्रणालीलाई संकुचित रूपमा व्याख्या गरिंदै आइएको छ ।

वास्तवमा प्रणाली मूल्याङ्कनभित्र Input, process र Output– तीनओटै पक्षको बराबर मूल्याङ्कन गरिनुपर्ने भएता पनि Output लाई मात्र बढी जोड दिने प्रचलन छ । त्यसमा पनि विद्यार्थीको प्राप्ताङ्कलाई प्रणाली मूल्याङ्कनको प्रमुख आधार बनाइन्छ । हाम्रो देशको सन्दर्भमा एसएलसी नतिजा शिक्षाको गुणस्तर मापनको सर्वोपरि मापदण्डको रूपमा स्थापित छ । एसएलसी नतिजा प्रकाशन हुनासाथ समग्र शैक्षिक सरोकारवालाको ध्यान सामुदायिक विद्यालय माथि प्रश्न तेस्र्याउनतर्फ केन्द्रित हुन्छ र कमजोर नतिजा प्राप्तिको निशाना शिक्षकलाई बनाइन्छ । वास्तवमा शिक्षक शैक्षिक पद्धतिको सबैथोक होइन, पद्धति भित्रको एक प्रमुख अंग मात्र हो ।

शैक्षिक गुणस्तर लेखाजोखा गर्ने क्रममा सामुदायिक र निजी विद्यालयको नतिजाबीच तुलना गर्ने प्रचलनमा हामी अभ्यस्त बनिरहेका छौं । हो; शैक्षिक उत्पादनको दृष्टिबाट निजी विद्यालयको नतिजा सामुदायिक विद्यालयको तुलनामा धेरै राम्रो छ । तर यसको प्रतिफल कसले, कति प्राप्त गर्न सक्यो त ? उत्पादित जनशक्तिले राज्यको लागि के कति योगदान दिइरहेको छ ? निजी विद्यालयबाट पछिल्लो समय वर्षेनि उत्पादित (धेरैको धारणा अनुसार गुणस्तरीय) जनशक्ति कहाँ खपत भइरहको छ ? विशिष्ट श्रेणीको संख्या र शतप्रतिशत नतिजालाई मात्र हेरेर गुणस्तरीयताको प गरीगुथ्नु कति न्यायोचित होला ? गहन रूपमा विश्लेषण गर्नु आवश्यक छ । यस्तो लाग्छ कि हामी सिकाइलाई कतै संकुचित दृष्टिबाट व्याख्या त गरिरहेका छैनौं ? के परीक्षा नै मूल्याङ्कनको निर्विकल्प कडी हो ? paper-pencil test मा विशिष्टता हासिल गर्नु मात्र सिकाइ हो त ? हाम्रो दृष्टिकोणलाई फराकिलो दायरामा लैजाने हो भने सिकाइले व्यवहारको स्थायी परिवर्तनलाई इङ्गित गर्छ ।

अब्बल जनशक्तिमा दरिएका हाम्रा शैक्षिक उत्पादनको सैद्धान्तिक पाटो त हामीले सकेसम्म नियाल्यौं होला तर व्यावहारिक पाटोलाई चाहिं अझै किन ओझाेलमा पारिरहेका छौं ? एउटा सामान्य व्यक्ति जो कठिन परिस्थितिमा समायोजन हुन सक्छ, सामाजिकीकरणका ज्ञान, सीपलाई व्यवहारमा सहजै उतार्छ, सकारात्मक र सृजनात्मक चिन्तन गर्छ र परिस्थिति अनुकूल व्यवहार गर्छ । अर्को विशिष्टताको उपाधिले विभूषित व्यक्ति ऊ त्यही उपाधिको खोलले वेष्टित भई घमण्डले उन्मत्त हुँदै शिक्षित मूर्ख बन्न खोज्छ भने कुनलाई गुणस्तरीय उपज मान्ने ? यसको अर्थ विशिष्टता हासिल सबै जनशक्ति व्यावहारिक रूपमा सामान्य व्यक्ति भन्दा पछाडि हुन्छन् भन्नेतर्फ मोड्यौं भने फेरि हामी सकारात्मक सोचाइबाट विमुख भएको ठहर्छ । आशय यति मात्र हो, गुणस्तरीयता मापनको आधार परीक्षा र त्यसको प्राप्ताङ्क मात्र कदापि हुन सक्दैन । शिक्षा, जसले असल संस्कार दिन सकोस्, संस्कार अनुकूल आचरण गर्न प्रेरितगरोस्, जीविकोपार्जनको आधार बनोस्, भाइचारा र अपनत्वको भावना विकसितगराओस्, सामाजिकीकरण र सहअस्तित्वको धारणा निर्माणगराओस्, राष्ट्रिय भावनाले ओतप्रोत भई सो अनुरुप व्यवहार प्रस्तुत गर्न सक्षम बनाओस्, दैनिक जीवनमा आइपर्ने समस्या समाधानको माध्यम बनोस्– तब पो गुणस्तरीय शिक्षा । प्रयोजनहीन, तहगत विशिष्ट उपाधिका चाङको मात्र कुनै तुक रहन्न ।

हामीले तीनघण्टे परीक्षाको माध्यमबाट पास–फेलको बिल्ला भिराई अनुत्तीर्ण जनशक्तिको वर्षौं वर्षको लगानी माटोमा मिलाउने काम मात्र गरेका छैनौं; उसमा अन्तरनिहित सम्भावित प्रतिभा प्रस्फुटनको अवसरमा अंकुश लगाई जीवनयापनको विकल्पको खोजीमा बिरानो मुलुकमा जान समेत बाध्य बनाइरहेका छौं । यति मात्र हैन दक्ष जनशक्तिको रूपमा परिभाषित व्यक्ति पनि सबै स्वदेशमा रहन सकेको अवस्था छैन । पछिल्लो समय प्रतिभा पलायनको अवस्था पनि राष्ट्रको लागि अभिशाप बन्दै गइरहेको छ । अनुदानको आशमा दाताको इशारामा हराम्रो शैक्षिक पद्धति अगाडि बढेको त छैन ? शंकाका धब्बाहरू मडारिइरहेका छन् नेपाली शैक्षिक आकाशमा । उत्तीर्ण प्रतिशतलाई मात्र हेरेर शैक्षिक पद्धतिको विश्लेषण हुन सक्दैन ।

अनुत्तीर्ण किन भए ? लगानी पुगेन ? प्रक्रिया त्रुटिपूर्ण भयो ? नीति निर्माण उचित भएन ? कार्यान्वयनको पक्ष फितलो भयो कि ? खै सोच्यौं ? सफलताको जस लिन विद्यार्थीलाई विषयवस्तु कोच्यौं, परीक्षा केन्द्रित क्रियाकलाप मा अभ्यस्त बन्दैगयौं, आरोप–प्रत्यारोपको प्रवृत्तिलाई मलजल गर्दै पानी माथिको ओभानो बन्ने प्रयत्न यथासम्भव गर्यौ, विद्यार्थीको मस्तिष्कमा यति भर्‍यौं— पास, फस्ट डिभिजन, डिस्टिङ्सन । मनोवैज्ञानिक नियन्त्रण गर्ने दुस्साहस गर्यौ बाल मस्तिष्कको । परीक्षाको हाउगुजी फैलाएर विषयवस्तुको रटानमा समय खच्र्यौं । शैक्षिक स्तर सुधारका लागि न त समय दिने हिम्मत जुटायौं न त समयसापेक्ष पद्धति परिवर्तन नै गर्न सक्यौं । शैक्षिक प्रणाली परिवर्तन गर्नु पर्छ भन्न पनि छाडेनौं, परिवर्तन गर्न पनि सकेनौं ।

गुणस्तरीय शिक्षा मन्त्र जपेझै बारबार जपिरह्यौं तर कस्तो शिक्षा गुणस्तरीय हो भन्ने सवालमा भ्रम फैलाउनु सिवाय थप केही गर्न सकेनौं । प्राज्ञिक धरातलमा उभिएर भन्नुपर्दा नेपालको विद्यालयीय शिक्षा बदलिंदो वर्तमान विश्व परिवेश अनुकूल व्यवस्थित गर्न सकिएको छैन । अपवादलाई छोडेर भन्नुपर्दा समग्र नेपालको शिक्षा गुणस्तरीयताको प्रत्याभूत गराउन सक्षम देखिंदैन । विवरणात्मक विषयवस्तुको बाहुल्य रहेको; श्रमबाट पलायन हुने प्रवृत्तिको विकास गर्ने , अनुत्पादक जनशक्ति निर्माण गर्ने विषयवस्तुले भरिएको पाठ्यक्रमबाट गुणस्तरीयताको अपेक्षा गर्न सकिन्न । शिक्षाको राष्ट्रिय उद्देश्य समयसापेक्ष निर्धारण गरिएको भएता पनि उद्देश्य अनुरुप समग्र शैक्षिक पद्धति अगाडि बढाउन नसक्दा गुणस्तर को अपव्याख्या भइरहेको छ ।

शैक्षिक पद्धतिका कमजोरी पहिचान गरी सरोकारवाला सबैले तिनीहरूलाई सुधारी अघि बढ्ने प्रण गरौं, विश्वमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको विकास मा लागि पर्ने इच्छाशक्ति जागृत गराऔं, शैक्षिक उत्पादनको प्रतिफल हेरेर मात्र गुणस्तरीयताको व्याख्या गरौं । अतः उत्पादित शैक्षिक जनशक्तिको व्यवहार, समाज र राष्ट्रलाई तिनीहरूले पुर्‍याएको योगदान, उनीहरूको आचरण, प्रवृत्ति लगायत समग्र मानवीयगुणहरूको प्रयोगको स्थितिलाई अध्ययन–विश्लेषण गरी स्तरीय जनशक्तिको उपाधि दिनु न्यायोचित होला न कि परीक्षाको उच्च प्राप्ताङ्क मात्र ।

भारती उमावि, हात्तीखर्क–६, धनकुटा



 

commercial commercial commercial commercial