विद्यालय व्यवस्थापन समिति निजी स्वार्थका कारण बर्बादी

चुनाव खर्च रु.१० लाख

गढीमाई उमावि, बारा

गढीमाई उमावि बरियारपुर, बाराको व्यवस्थापन समितिको चुनाव भएको ६ महीना भएको छ । २७०० भन्दा बढी मतदाताले भाग लिएको सो चुनावमा दिनेश कुशवाह र रामबाबु यादवबीच प्रतिस्पर्धा भएको थियो । दुवै उम्मेदवार एकीकृत माओवादीका राज्य समितिका नेता भए पनि एक जना माओवादी अध्यक्ष प्रचण्ड र अर्को बाबुराम भट्टराई पक्षधर हुन् ।

एउटै पार्टीका उम्मेदवारबीच सम्पन्न चुनाव संसदीय चुनाव जस्तै भएको थियो । दुवै उम्मेदवारले रु.१० लाख भन्दा बढी खर्च गरेका थिए । उम्मेदवारका पोष्टर पम्प्लेटले पूरै विद्यालय र गाउँ क्षेत्र रंगिएको थियो । चुनावको दिन मतदाताको लागि विशेष खानपानको व्यवस्था गरिएको थियो । एक दुई सयको जुलुस लिएर गाउँमा चुनाव प्रचारमा दुवै पक्षका समर्थक एक महीना अघि देखि खटिएका थिए । सुरक्षा र निर्वाचन अधिकृतको भत्ता लगायतका शीर्षकमा विद्यालयको दुई लाख जति खर्च भएको थियो ।

निर्वाचन कमिटीले चुनाव प्रचारको लागि डेढलाख भन्दा बढी खर्च गर्न नपाउने भनी बनाएको आचारसंहिताको कसैले पालना गरे न । चुनावी माहोल बढ्दै जाँदा स्कूलमा गोली पनि चलेको थियो । उम्मेदवारी फिर्ता नलिने हो भने आफूलाई मार्ने धम्की आएको भन्दै अध्यक्ष का उम्मेदवार रामबाबु यादव प्रहरीको शरणमा पुगेका थिए । अन्ततः उनैले चुनाव जिते । उनी स्थानीय एक प्राविका प्रअ र एकीकृत नेकपा माओवादीको भोजपुरा राज्य समितिका सदस्य हुन् ।


१५ वर्ष देखि स्थानीय निकायको निर्वाचन नभएका कारणले हुन सक्छ; राजनीतिक दलको आडमा स्थानीय व्यक्तिहरू निजी स्वार्थपूर्ति गर्न विद्यालयको व्यवस्थापन समितिगठनमा स्थानीय निकाय र संसदीय चुनावकै शैलीमा चुनावी प्रतिस्पर्धा गर्न थालेका छन् । यसबाट स्कूलभित्र प्रत्यक्षतः दलीय राजनीति छिरेको छ भने विद्यालयको दैनिक प्रशासनिक काम र पठनपाठनमा समेत व्यवधान खडा भएको छ ।

अनिश्चितकालका लागि बन्द

बालगोविन्द उमावि पिपरा, सर्लाही

सर्लाहीको पिपरास्थित बालगोविन्द उमाविमा विद्यालय व्यवस्थापन समिति छान्न २० असोजमा भएको चुनावमा पनि दुई उम्मेदवारबीच नै प्रतिस्पर्धा भएको थियो । त्यहाँका ५२० जना अभिभावकमध्ये ५१३ जनाको मत खसेको थियो । मतगणनामा विवाद बढ्दा निर्वाचन अधिकृतको आग्रहमा प्रहरी कार्यालयमा मतगणना गर्ने सहमतिमा दुवै उम्मेदवारले हस्ताक्षर गरे । तर, सहमति अनुसार मतपत्र लिएर स्कूलबाट निस्कन लाग्दा दुवै उम्मेदवारका समर्थकले विरोध जनाए । अन्ततः प्रहरीले बल प्रयोग गरेर मतपत्र आफ्नो नियन्त्रणमा लियो । त्यसपछि उम्मेदवारका समर्थकहरूले विद्यालयका प्रधानाध्यापक र शिक्षक माथि आक्रमण गर्नु का साथै तोडफोड गरे । प्रअ र तीन जना शिक्षकसहित पाँच जना घाइते भए । सो काण्डपछि अनिश्चितकालका लागि बन्द भएको विद्यालय यी पंक्ति लेख्दासम्म खुलेको थिएन ।

शिक्षक लक्ष्मीकान्त चौधरीका अनुसार अध्यक्ष का उम्मेदवार विनोद शाह पहिला पनि अध्यक्ष थिए । उनलाई नेपाली कांग्रेस र एमालेको समर्थन थियो भने उनका प्रतिस्पर्धी दीपेन्द्र सिंहलाई तराई मधेश लोकतान्त्रिक पार्टीले सहयोग गरेको थियो । उम्मेदवारका समर्थकका कारण व्यवस्थापन समितिको चुनावमा तनाव उत्पन्न भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक वैद्यनाथ यादवले जनाए ।

अध्यक्ष बन्न श्रीमतीलाई विद्यार्थी

गंगा उमावि रामपुर, दाङ

कमलकिशोर घिमिरे नेपाली कांग्रेस दाङका सचिव हुन् । तर उनी आफ्नो गाउँ रामपुरमा कांग्रेसको नेता भन्दा पनि स्थानीयगंगा उमाविको अध्यक्ष को रूपमा चिनिन्छन् । घिमिरेले उक्त विद्यालयको अध्यक्ष बन्नको लागि गरेको मिहिनेत र गाउँमा छाएको चुनावी माहोल कुनै पनि गाविसको चुनाव भन्दा कम थिएन । तथापि, गाउँले मात्रै होइन स्वयं घिमिरे आफूलाई पार्टीको जिल्ला नेता भन्दा विद्यालयको अध्यक्ष भएको मैगर्व गर्छन् । अध्यक्ष हुनुअघि उनी विद्यालय व्यवस्थापन समितिका सदस्य थिए । शुरूमा स्थानीय एक चौधरी थरकी छात्राको अभिभावक बनेर सदस्य बनेका घिमिरे ऐनमा अभिभावक बन्ने मापदण्ड परिवर्तन भएपछि पत्नीलाई भर्ना गरेर अभिभावक बनेका हुन् । तर शिक्षा नियमावली २०५९ ले श्रीमान्लाई श्रीमतीको अभिभावकको रूपमा चिन्दैन ।

गंगा उमावि रामपुर, दाङ

नेकपा माओवादी र नेपाली कांग्रेसबीच प्रष्ट दुई प्यानल बनेर भएको विद्यालय व्यवस्थापन समितिको चुनावलाई पार्टीको हैसियत दाँज्ने चुनावको रूपमा लिइएको एमाओवादी रामपुर क्षेत्रका संयोजक भेषराज थापाले बताए । विद्यार्थीहरूले पनि समूह बनाएर चुनाव प्रचार गरेका थिए । अध्यक्ष घिमिरे भन्छन्, “मेरो लागि एकसय जना विद्यार्थीको एक समूह थियो । उक्त समूहले प्रत्येक घरमा पुगेर भोट मागेका थिए ।” एमालेलाई दुई सदस्य दिएर संयुक्त प्यानल बनाएकाले पनि घिमिरेलाई अध्यक्ष बन्न सजिलो भएको थियो ।

विद्यालयको चुनाव कांग्रेसको हैसियत देखाउने अवसरको रूपमा आफूहरूले प्रयोग गरेको अध्यक्ष घिमिरेको भनाइ छ । अध्यक्ष भएपछि आफ्ना पार्टी समर्थकलाई प्रधानाध्यापक बनाएको भन्न उनी हिच्किचाउँदैनन् । उनी अध्यक्ष भएपछि अहिलेसम्म शिक्षक र कर्मचारी गरेर स्कूलमा ९ जना नियुक्ति गरिसकेका छन् । “सबै कांग्रेस निकट हुन् तर सक्षम पनि छन्”, अध्यक्ष घिमिरेले बताए ।

घिमिरेको नेतृत्वमा विद्यालयले गरेको शैक्षिक र भौतिक प्रगति उल्लेखनीय भएका कारण त्यसमा कसैको गुनासो पाइँदैन ।

काम सकिएपछि स्वतः विघटन

गौरीशंकर उमावि, निजगढ, बारा

गौरीशंकर उच्च मावि, बाराको जिशिकाको मूल्यांकनमा सबैभन्दा उत्कृष्ट विद्यालयमध्येमा पर्छ । अंग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयले वैधानिक व्यवस्थापन समिति नपाएको पाँच वर्ष बढी भएको छ । तर, कानूनमा नभएको बाटोबाट व्यवस्थापन समिति बनाएर आवश्यक कामहरू हुँदै आएका छन् ।

निर्वाचित व्यवस्थापन समितिको कार्यावधि बाँकी छँदै २०६४ सालमा एनेकपा माओवादीले आफ्नो भूमिका खोज्दै जाँदा त्यो समितिले काम गर्न नसक्ने वातावरण बन्यो । त्यसपछि माओवादीकै स्थानीय नेताको नेतृत्वमा सर्वदलीय समिति बन्यो । त्यसलाई पछि व्यवस्थापन समितिकै हैसियत दिइयो । त्यसमा पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

उक्त समितिको आयु तीन वर्ष पुग्नै लाग्दा शिक्षक नियुक्तिको विषयलाई लिएर शुरू भएको विवाद बढ्दै गयो । सोही विवादमा प्रअले तीन वर्ष पुगेकोले समितिको म्याद सकिएको भन्दै विघटन गरिदिए । त्यसपछि नयाँ समिति बनाउने प्रयास गरे पनि प्रमुख जिल्ला अधिकारी ले नै चुनाव न गर्न निर्देशन दिएकोले चुनाव नभएको प्रअ सुदर्शनप्रसाद कोइराला बताउँछन् । विगत डेढ वर्ष देखि व्यवस्थापन समितिविहीन भए पनि केही महीना अगाडि शिक्षक नियुक्तिको लागि प्रअले सबै दलका प्रतिनिधिलाई बोलाएर एक महीनाको लागि व्यवस्थापन समितिगठन गरे । शिक्षक नियुक्ति गरे पछि सो समिति स्वतः विघटन हुने सहमति गरिएकोले शिक्षक नियुक्तिपछि समिति स्वतः विघटन भएको छ । यस्तो अभ्यास कतै पनि भएको छैन । निश्चित कामका लागि समिति बन्ने र काम सकेपछि विघटन हुने अभ्यास विचित्रको लाग्छ ।

अन्यत्र पनि उस्तै

स्कूल व्यवस्थापन समितिको चुनावमा दलीय भिडन्तका घटना देशव्यापी देखिन्छन् । बाग्लुङको मूलपानी उमाविमा विद्यालय व्यवस्थापन समिति चयन गर्दा आमचुनावको झल्को आउने गरी निर्वाचन भयो । प्रमुख ठूला दल एमाओवादी, कांग्रेस र एमाले छुट्टाछुट्टै उम्मेद्वार खडा गरेर व्यवस्थापन समितिको चुनावमा भिडेका थिए । उनीहरूले अध्यक्ष लगायत सबै पदमा प्यानल बनाएर चुनाव लड्दा अध्यक्ष पदमा कांग्रेस र अन्य पदमा संयुक्त उम्मेदवार विजयी भए ।

त्यस्तै जिल्लाको तंग्राम नारायणी उमाविको व्यवस्थापन समिति निर्वाचनका लागि पनि प्रमुख दलले तामझमका साथ चुनाव प्रचार गरे । निर्वाचन सकिएपछि केही दलले जिल्ला शिक्षा कार्यालयमा सहमति उल्लंघन गरेर मतदान गरेको भन्दै उजुरी दिए । शिक्षा नियमावलीको कुनै पनि राजनीतिक दलको प्यानल बनाएर उम्मेदवारी दिन नपाइने प्रावधान विपरीत विद्यालयमा दलीय निर्वाचन भएको छ । वर्षौदेखि म्याद सकिएका समितिले अवैधानिक रूपमा काम गरेको भन्दै उजुरी परेपछि शिक्षा कार्यालयले तत्काल समितिगठन गर्न ताकेता गरेको थियो । कार्यालयको निर्देशनपछि समितिगठनको काम शुरू भए पनि आमचुनाव झै घोषणापत्र समेत बनाएर दलहरू निर्वाचनमा उत्रेका हुन् ।

बाल गोविन्द उमाविमा चुनाव विथोलिएपछि प्रअको कक्ष तोडफोड

जिशिकाको तथ्यांक अनुसार अहिलेसम्म ५३१ विद्यालयमध्ये ३५ वटाको मात्र समितिगठन भएको छ । चुनाव जितेमा स्कूलको भौतिक सुधार गर्ने , राजनीतिबाट मुक्त बनाउने जस्ता घोषणापत्र प्रचारमा ल्याइएको थियो । तथापि स्कूल व्यवस्थापन समितिका उम्मेदवार भने राजनीतिक दलको आधिकारिक प्यानल बनाएर चुनावमा उत्रेका थिए ।  

यतागुल्मीमा पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद लाभको पद बन्न थालेको छ । त्यसको पछिल्लो उदाहरण होगुल्मीको पृथ्वीदह उच्च माध्यमिक विद्यालय पुर्काेटदहको व्यवस्थापन समिति । सो समिति हत्याउन दलहरूबीच ठूलो भिडन्त भएको ले अहिलेसम्म स्कूलले व्यवस्थापन समिति पाउन सकेको छैन ।

उक्त स्कूलको व्यवस्थापन समितिको म्याद ३० असार २०६९ मा सकिएको हो । तर नेपाली कांग्रेस र जनमोर्चा समर्थकले स्कूलको अध्यक्ष पद नछाड्ने अडान लिएपछि अहिलेसम्म समितिगठन हुनसकेको छैन । राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता पृथ्वी कुँवर र नेपाली कांग्रेसका मणिराम थापा दुवैले अध्यक्ष पद नछाडेपछि चुनावको तयारी गरिएको विद्यालय निरीक्षक लोकनाथ मरासिनीले बताए ।

जनमोर्चाका कुँवरलाई माओवादी र राप्रपाको समर्थन छ भने नेपाली कांग्रेसका थापालाई एमालेले समर्थन गरेको छ । प्रधानाध्यापक धनिश्वर अर्यालका अनुसार दुवै उम्मेदवारका छोराछोरी, नातिनातिना कोही पनि सो स्कूलमा छैनन् । शिक्षा नियमावली अनुसार अभिभावक नभएको व्यक्ति अध्यक्ष हुन पाउँदैन । तर,गुल्मीका जिशिअगोविन्दप्रसाद अर्याल समुदायले चाहेमा अभिभावक नभएको व्यक्ति पनि अध्यक्ष बन्ने बताउँछन् । उनको कथन थियो, “अभिभावकले निर्णय गरे पछि हामीले केही गर्न सक्दैनौं ।”

तस्वीरहरूः सरोज दाहाल

शिक्षक  मासिक, २०६९ मंसीर अंकमा प्रकाशित । 



 

commercial commercial commercial commercial