सांकेतिक भाषाको पढाइ शब्दभण्डार कम हुँदा गाह्रो

राजधानीको नक्साल; बालमन्दिर हातामा अवस्थित बहिरा उच्च माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षक ऋषि देवकोटा कक्षा १० लाई वैशाख  शीर्षकको कविता पढाउने तयारी गर्दैछन् । उनी कक्षामा कविताको लयात्मक वाचन गर्नतिर नलागी कालोपाटीमा केही चित्रहरू कोर्न थाल्छन् ! बसन्तको विशेषता र सौन्दर्यको वर्णन गर्ने उक्त कविताको भाव र मर्मलाई उनले भित्तनेपाटीमा कोरिएका चित्र र हातको संकेतको माध्यमबाट विद्यार्थीलाई बुझाउनु छ ।

विगत १४ वर्ष देखि सांकेतिक भाषामा पढाउँदै आएका देवकोटाका अनुसार लामा तथा संयुक्त वाक्य बुझाउन निकै कठिन हुन्छ । कविता पढाउँदा धेरै शब्दको बारेमा जानकारी दिनुपर्ने भए पनि उपयुक्त संकेतको अभावमा ठूलो समस्या भएको उनी बताउँछन् । सामान्य विद्यार्थीले ‘फरक’ भनेको बताएपछि ‘भिन्न’ भन्ने आफैं बुझछन् तर बहिरा विद्यार्थीलाई कक्षामा ‘फरक’ भन्ने शब्द पढाएको तर परीक्षामा ‘भिन्न’ शब्द आयो भने उनीहरू त्यो प्रश्न नबुझेर जाँचै छाडेर आएको देवकोटाको अनुभव छ । ‘भुल्नु’ र ‘बिर्सनु’को अर्थ एउटै भए पनि कक्षामा दुईमध्ये एकको मात्र संकेत जानेका विद्यार्थी परीक्षामा दोधारमा पर्दछन् ।

त्यस्तै; केही शब्दको संकेत एउटै भए पनि अर्थ भने फरक हुन्छ । जस्तै ‘छोड्नु’ र ‘राजीनामा’ दिनु । सांकेतिक भाषामा यी दुवै कुरा अभिव्यक्त गर्न एउटै संकेत प्रयोग गर्नु पर्ने हुन्छ । तर यस्तै कुरा मा विद्यार्थी दोधारमा पर्छन् । धेरै शब्दको ठ्याक्कै अर्थ बुझाउने पूर्ण संकेत नभएकाले नै सांकेतिक भाषाका शिक्षकहरू एक एक गरी हिज्जेमा संकेत गरी बुझउँछन् । उदाहरणका लागि ‘घट्दो उर्वरता’ भन्ने शब्दको संकेत नभएकाले ‘माटोको उत्पादनगुण ह्रास हुनु’/‘उत्पादन कम हुनु’ भनेर संकेत चित्रमा लेखेर बताउँछन् ।

कान नसुन्ने विद्यार्थीलाई नेपाली भाषा पढाउँदै आएका शिक्षकहरूका अनुसार पर्यायवाची शब्द सम्बन्धी अवधारणाको अभाव र संकेतहरूको न्यूनताका कारण नेपालीको पठनपाठनमा समस्या पर्ने गरेको छ । उखान टुक्का र कविता पढाउँदा यस्ता जटिलता विशेष रूपमा आउने उनीहरूको अनुभव छ । उखान टुक्काहरूको शाब्दिक अर्थ र लाक्षणिक अर्थका बीचमा आकाश जमिनको फरक हुने भएकाले कठिनाइ पैदा हुने गरेको हो । यस्ता शब्दावली बुझाउन शिक्षकले पाटीमा सरल रूपमा लेख्नुको विकल्प हुँदैन । अझ् परीक्षामा त्यस्ता शब्दावलीहरू प्रयुक्त भएर प्रश्नपत्र आए भने बहिरा विद्यार्थीलाई दोभाषेकै सहयोग लिनुपर्ने हुन्छ ।

थोरै या कम, हार वा पराजय­, घुईंचो वा भीडभाड, सहजकर्ता या मध्यस्थकर्ता आदि एउटै अर्थ लाग्ने शब्दहरूको पर्याप्त ज्ञान नभएकाले एउटा शब्दको ठाउँमा अर्को शब्द पर्ने बित्तिकै विद्यार्थी अलमलमा पर्ने गरेका छन् । कक्षाकोठामा ‘थोरै’ शब्द पढेका विद्यार्थीले परीक्षामा ‘कम’ भन्ने शब्द आयो भने प्रश्न नबुझेर प्रश्न छाडेर आउने समस्या देखि एको बताउँदै शिक्षक ऋषि देवकोटा भन्छन्, “त्यस्तै उनीहरू ‘भीडभाड’ शब्दको संकेत जान्दछन् तर प्रश्नपत्रमा ‘घुईंचो’ आयो भने बुझदैनन् ।”

संकेत एउटै तर फरक अर्थ लाग्ने कैयन् शब्दावलीहरू हुने भएकाले कक्षाकै बुझइमा पनि फरक पर्ने गर्छ । उदाहरणका लागि ‘दबाब दिनु’ र ‘भनसुन गर्नु ’को संकेत एउटै हुन्छ, तर अर्थ फरक लाग्छ । छोड्नु र राजीनामा दिनुको अर्थ भिन्न छ, तर यी दुवैलाई संकेतमा एउटै तरिकाले अभिव्यक्त गरिन्छ ।

विषयपिच्छेका समस्याका प्रकृति फरक देखिन्छन् । महिना दिन अगाडि सम्म कक्षा ७ मा अंक गणित पढाउँदै गरेका निवर्तमान प्रअ नारायणभक्त श्रेष्ठले (जोगायन क्षेत्रमा रायन नामले चर्चित छन्) पहिला सरसर्ती सरलको बारेमा बताए र हिसाब गरेर देखाउन शुरू गरे । हिसाब बुझाउन उनले हरेक विद्यार्थीलाई अलग–अलग ढङ्गबाट सम्बोधन गर्नु परेको थियो । उनी भन्छन्, “हरेक विद्यार्थीलाई यसरी नै अभ्यास गराउनु को विकल्प छैन । यिनलाई गणितीय भाषाहरू संकेतमा बुझाउन झन् कठिन हुन्छ ।”


परीक्षा पद्धति भिन्न हुुनुपर्छ
ऋषि देवकोटा, शिक्षक

१४ वर्षदेखि बहिरा विद्यार्थीलाई नेपाली विषय पढाउँदै आएको छु । यी विद्यार्थीलाई पढाउँदा व्याख्यान तथा प्रवचन विधिको कुनै प्रभाव हुँदैन । लय हालेर कविता सुनाउन र आफ्नो मन खोलेर पढाउन नपाउनु यसको मुख्य समस्या हो । पढाउनुपर्ने सबै कुरा हामी पहिले सेतोपाटीमा लेख्छौं अनि उनीहरूको आँखा पर्ने गरेर संकेत गर्दछौं । सुन्ने विद्यार्थीलाई कक्षाकोठाको अगाडि–पछाडि जताततै गएर पढाउन मिल्छ । तर बहिरा विद्यार्थीलाई पढाउँदा त्यस्तो हुँदैन; सबैले देख्ने गरेर निश्चित ठाउँमा उभिनै पर्छ । जटिल प्राविधिक शब्द बुझाउन निकै कठिन हुन्छ भने दैनिक प्रयोगमा नआउने शब्द विद्यार्थीले छिट्टै बिर्सने समस्या हुन्छ ।

निकै मिहिनेत गरेर पढाउँदा पनि कहिलेकाहीं त्यस अनुसारको उपलब्धि नहुँदा निकै दुःख लाग्छ । जुन समस्याका बीचमा बहिरा विद्यार्थीले पढिरहेका छन्, त्यस दृष्टिले अन्य विद्यार्थीसरह परीक्षा दिन लगाउने अहिलेको परीक्षा पद्धति ठीक छैन । पर्यायवाची शब्द नबुझनाले पहिले पहिले परीक्षामा प्रश्नै छाडेर आउने समस्या थियो । अहिले परीक्षामा दोभाषे शिक्षक राख्न दिने व्यवस्था छ । आफैंले पढाएका विद्यार्थीको आफैं दोभाषे बस्नुपर्दा हामीलाई त्यत्ति राम्रो लाग्दैन । भाषा नभएकालाई भाषा भएकासँग तुलना गरी मूल्याङ्कन गर्नुभन्दा उनीहरू सुहाउँदो परीक्षा प्रणाली भए उनीहरूप्रति न्याय हुन्थ्यो जस्तो लाग्छ । उनीहरूको परीक्षा प्रयोगात्मक, संवाद तथा वादविवाद जस्तो हुनु आवश्यक छ ।


एउटा कक्षामा सामान्यतः १० देखि १२ जना मात्र बहिरा विद्यार्थी राख्ने अन्तर्राष्ट्रिय प्रचलन छ । तर हामीकहाँ एउटा कक्षामा ३५ भन्दा पनि बढी विद्यार्थी राख्ने गरिएको छ । बहिरा विद्यार्थीलाई हातको हाउभाउ र कालोपाटीको शब्द एकैसाथ देखाएर मात्र कुरा बुझाउन सकिन्छ । धेरै विद्यार्थी हुँदा पछाडि बस्नेले शिक्षक र संकेत राम्ररी देख्न पाउँदैनन् । राम्ररी नदेखेपछि बुझइमा समस्या आउनु स्वाभाविक हुन्छ ।

शैक्षिक सत्र २०५४/५५ बाट प्रवेशिकामा समावेश हुन थालेको यस विद्यालयबाट अहिलेसम्म १६१ जनाले एसएलसी उत्तीर्ण गरेका छन् । पछिल्ला दुई वर्षमा क्रमशः २५ र २१ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएका थिए । राष्ट्रिय बहिरा संघका अनुसार, नेपालमा करीब १ लाख ९२ हजार बहिरा मानिस छन् जसमध्ये हाल देशभर १५ हजारले मात्र स्कूले शिक्षामा पहुँच पाएका छन् । भैरहवा, काठमाडौं र पोखरामा कक्षा १२ सम्म पढाइ हुने एक–एक वटा स्कूल छन् भने देशका अन्य भागहरूमा १६ वटा विशेष विद्यालय र ६४ वटा स्रोत कक्षाहरू सञ्चालित छन् ।

उपाय नभएको होइन
सानो कक्षाका विद्यार्थीलाई संकेत अनुसारको पाठ्यसामग्रीको व्यवस्था हुनुपर्दछ भन्ने कुरा मा कसैको पनि विमति भेटिंदैन । तर त्यो कसरी गर्ने भन्ने प्रश्न चाहिं उत्तिकै पेचिलो छ । नयाँ–नयाँ शब्द सिकाउन चित्र र संकेतको एकसाथ प्रयोग एउटा प्रभावकारी उपाय सिद्ध भएको छ । उदाहरणको लागि, साना नानीहरूलाई फूललाई चिनाउँदा वास्तविक फूल वा फूलको चित्र र संकेतलाई सँग सँगै प्रयोग गर्न सकियो भने उनीहरूले सहजै बुझदछन्, अन्यथा यसै भन्न सकिंदैन ।

घर, विद्यालय, समुदाय, बाटोघाटो, अस्पताल जस्ता दैनिक जीवनसित जोडिएका विषयवस्तु र सन्दर्भको बारेमा चित्र; भिडियो र संकेत सँग सँगै प्रयोग गर्न पाए सहज हुने अनुभव शिक्षकहरूको छ । विद्यालयमा फूल, मन्दिर, घरको बारेमा पढ्छन् र संकेत पनि गर्छन् तर घरमा गएर त्यही मन्दिर र फूलको बारेमा उनीहरू अल्मलिन्छन् । अर्थात् आफूले संकेत गर्ने फूल यही हो भन्ने थाहा पाउँदैनन् । जसले सिकाइ प्रक्रियालाई दिगो र प्रभावकारी हुन अवरोध पुर्याइरहेको हुन्छ । त्यसैले सानो कक्षामा संकेत र चित्रको प्रयोग सँग सँगै हुनसके विद्यालयमा पढेको कुरा बाटोमा हिंड्दा तथा घरमा रहँदा पनि त्यसको बारेमा जानकारी लिन सक्छन् ।


पन्ध्र हजार शब्द पुर्‍याउँदै छौं
राघव वीर जोशी, बहिरा अधिकारकर्मी एवं निवर्तमान सभासद्

नेपालमा बहिराको सुविधासम्पन्न छुट्टै विश्वविद्यालय हुनु पर्दछ, जहाँ बहिराहरू सबैले सहजै अत्याधुनिक सुविधाको प्रयोग गरेर उच्च शिक्षा हासिल गर्न पाऊन् । अहिले उच्च शिक्षा अध्ययनको लागि नेपालबाट अमेरिकामा तीन र भारतमा सात जना विद्यार्थी गएका छन् । बाहिर पढ्न जान नसक्नेहरू बीचमै पढाइ छाड्न बाध्य छन् । अहिले पनि गाउँघरमा कान नसुन्नेले पढ्न सक्छ र भन्ने शंका यथावत् छ; त्यसलाई हटाउनु जरुरी छ । हिजोभन्दा निकै परिवर्तन आएको छ तर प्रतिस्पर्धात्मक बन्दै गएको अहिलेको अवस्थामा हाम्रा संकेतहरूलाई अझ प्रभावकारी तरिकाले विकास गर्नु आवश्यक छ । थोरै विद्यालयमा धेरै विद्यार्थी पढाउनुपर्ने समस्या हल गर्न प्रत्येक जिल्लामा बहिरा विद्यालय खोल्नु आवश्यक छ ।

शब्दको संख्या बढाएर सांकेतिक भाषालाई धनी बनाउन अब हामीले विशेष पहल र प्रयत्न गर्नै पर्दछ । अहिले मोटामोटी ६ हजार सांकेतिक शब्द छन् । यो भण्डारलाई बढाएर १५ हजार पुर्‍याउने लक्ष्यका साथ हामी क्रियाशील छौं । त्यस्तै जिल्लामा बहिरालाई कम्प्युटर र इन्टरनेट सिकाउने पछिल्लो सूचना तथा ज्ञानबाट अद्यावधिक गराउनु पनि उत्तिकै आवश्यक छ । यो प्रविधि हामी बहिराका लागि बरदान नै सावित हुनसक्छ । किनकि अनलाइन च्याटिङमार्फत नयाँ–नयाँ शब्द, नयाँ–नयाँ विषय र सन्दर्भको जानकारी मिल्छ भने इन्टरनेटमार्फत देश र दुनियाँको अथाह जानकारी हासिल गर्न पाइन्छ । त्यसले हामीलाई आत्मविश्वासी तुल्याउन महत्वपूर्ण योगदान गर्दछ । सरकार र विश्वविद्यालय दुवैले उच्च शिक्षामा पनि बहिराको पठनपाठनमा ध्यान दिनु आवश्यक छ, जसले दक्ष शिक्षकको उत्पादनमा योगदान पुर्‍याउन सकोस् ।


नयाँ जीवन पाएँ
सोनु श्रेष्ठ, विद्यार्थी

म हाल १२ कक्षामा पढ्छु । ६ वर्षअघि एसएलसी दिंदासम्म म राम्रैसँग कान सुन्थें । एक्कासि मलाई टाइफाइडले यति धेरै च्यापेछ कि त्यसले कहिल्यै कान नसुन्ने बनाइदियो । मसँगका साथीहरू पढ्न जाँदा मलाई साह्रै पीर लाग्दथ्यो तर पनि ६ वर्ष घरमा बसेर बिताएँ । मैले झपाको सगरमाथा सेकेण्डरी विद्यालयबाट २०६० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी हुँ । ११ मा पढ्दापढ्दै बिरामी भएपछि पढाइ छाडेर घरमै बसें । कान नसुन्नेले पनि पढ्न सक्दछन् भन्ने थाहा थिएन । एक जना दिदीको सहयोगमा म यहाँ पढ्न आएँ । ११ मा भर्ना हुनुभन्दा पहिला मैले काठमाडौं बहिरा संघबाट पाँच महीनाको सांकेतिक भाषाको तालिम पनि लिएँ, जसले गर्दा मलाई सजिलो भएको छ । कति यस्ता शब्द छन् जसका भरपर्दा संकेत नै छैनन् । केही नगरी घरमा बस्नुभन्दा पढ्न पाउनु धेरै राम्रो हो तर सञ्चार–संकेतको अभावमा अन्यसँग प्रतिस्पर्धा गर्न कठिन छ ।

जन्मजात बहिरा र रोग तथा अन्य कारणबाट विभिन्न समयमा बहिरा हुने विद्यार्थीलाई सांकेतिक भाषाको पढाइले नयाँ जीवन दिए जस्तो लाग्छ । पर्याप्त शब्दभण्डार नहुँदा साथी र विद्यालय बीचमा आफ्नो संसार देख्नु हाम्रो बाध्यता हो । कक्षाकोठामा ठिक्क संख्यामा मात्र विद्यार्थी राखेर पढाउने तथा सांकेतिक भाषाको विकास गर्न सके हाम्रो समस्या समाधान हुन्थ्यो; जसले हामीलाई भोलि सफल मानिस बन्ने आधार दिन्थ्यो कि !


एकीकृत पहल र निरन्तर प्रयत्नको खाँचो
२०४६ साल देखि सांकेतिक भाषाको शब्द निर्माण गर्दै आएको नेपाली सांकेतिक भाषा राष्ट्रिय विकास समितिले निर्माण गरेका ६ हजार शब्द राष्ट्रिय बहिरा महासंघले लागू गरिसकेको छ । यसले अवश्य पनि हाल व्यहोरिरहनु परेको कठिनाइ घटाउन केही मद्दत पुग्ने सम्बद्ध व्यक्तिहरूको अपेक्षा छ । तर यो पर्याप्त भने देखि ंदैन । खास गरी श्रवण क्षमता नभएका व्यक्तिहरूलाई दृश्यको माध्यमबाट मात्र अवधारणा बुझाउन र सिकाउन सकिने भएकाले विकसित देशहरूमा झै भिडियोको प्रयोग अधिकाधिक हुनुपर्ने देखिन्छ ।

सांकेतिक भाषाको विकास र विस्तारका लागि बहिरा संघ र सांकेतिक भाषा विकास समितिका प्रयत्नलाई तीव्रता जति दिन सकियो, शब्द भण्डारको विस्तार त्यति नै छिटो हुने देखिन्छ । तर बहिरा विद्यार्थीहरूको शिक्षाको विकास र विस्तार अपेक्षित रूपमा हुन नसक्नुको मुख्य कारण इच्छाशक्ति र पर्याप्त लगानीको अभाव नै हो । नेपालमा यस क्षेत्रमा जे–जति उपलब्धि हासिल भएको छ, त्यसको प्रमुख हिस्सेदारी गैर सरकारी क्षेत्रको रहेको पाइन्छ । “सरकार यस क्षेत्रको विकास प्रति प्रतिबद्ध हुने र पर्याप्त लगानी गर्ने हो भने बहिरा व्यक्तिहरूको शिक्षामा केही वर्षमै कायापलट हुन्छ ।” काठमाडौं बहिरा संघका अध्यक्ष दीपक कुमार शाक्य भन्छन्, “ गैर सरकारी क्षेत्रसित सरकारले मिलेर निरन्तर काम गर्न आवश्यक छ ।”



 

commercial commercial commercial commercial