‘हामीलाई मधेशी मास्टर देऊ !’

“उहिले मेरो बुबाले स्कूलबाट छोराको नाम काटिदेऊ भनेर माइटरलाई मान पान गरेको (पाहुना खुवाएको) साँचै हो । अहिले कुरो बुझयो, आफ्ना छोराछोरी पढाउँछु भन्दा पढाउने माइटर (मास्टर) छैन ।” उनले मास्टरको अभाव व्यग्र रूपमा प्रस्तुत गर्दै भने “माइटर बसेर पढायो भने त हामी उसलाई लामालाई जत्तिकै मान गरेर राख्थ्यो नि ! रराम्रो माइटर बसे त पैसा पनि थपिदिन्थ्यो । गाउँलेको कीरा कोरेको (यार्चागम्बु टिपेको) पैसा छँदै थियो ।”

माथिको कथन हो— मुगुको सुदुर गाउँ दोल्फूका गुरु छेक्याप लामा कार्मारोङको । दोल्फू, मुगुको सदरमुकामगमगढीबाट करीब चार दिनको हिंडाइमा पुगिने गाउँ हो ।

यी पंक्तिकार त्यहाँ पुग्दा केटाकेटी वरपर खेलिरहेका थिए । गाउँबाट देखि ने विद्यालय सुनसान थियो । केटाकेटी स्कूल पठाउनु हुन्न ? भनेर सोध्दा, “पठाएर के गर्नु , स्कूलमा माइटर आए पो !” कोञ्जोक लामा कार्मारोङले भने, “यहाँ केटाकेटी काम नभएर पागल हुन लागिसके ।”


दश दिशा नाम चलेका दास सर

“त्यो सर पहिला रिउस गाउँमा थियो । सरुवा हुने बेलामा उसलाई गाउँलेले दिएको नासो (कोसेली) एउटा खच्चरमा पनि अटाएन । अझै पनि रिउसेलले भोट जाँदा दास सरलाई भनेर केही ल्याउन छुटाउँदैनन् । कार्तेल र रिउसेलको गरेर वर्षेनि उसको एक खच्चर घर लैजाने नासो त हुन्छ हुन्छ ।” गद्गद् हुँदै एकपछि अर्का गाउँलेले थपे ।

हामीले गाउँलेबाट एउटा शिक्षकको यति श्रद्धा र प्रशंसा सुनेका थिएनौं । हामीले थप कुरा जान्न पूरा नाम खोज्दा गाउँले कसैलाई थाहा थिएन । “क्या पो हो उसको नाम त, सबैले दास सर भन्छ !” सबैले एक स्वरमा भने । त्यतिबेला स्कूल बन्द भएकाले दास सरसँग भेट हुन पाएन ।

यस वर्ष भदौ महीनामा दोल्फूभन्दा दुई दिन वरको पुलुको स्कूल जाँदै गर्दा दास सरलाई भेटियो । ४१ वर्षीय दास सरको पूरा नाम रहेछ— राजकुमार दास । उहाँ श्री एब्लाङ प्राविमा ६/७ वर्षदेखि अर्का मधेशी प्रधानाध्यापक बुद्धसेन यादवसँग पढाउनु हुँदो रहेछ । मुगुमा पढाउन थालेको २४ वर्ष भएछ । अलि थकित देखिएका दासले भने, “के गर्नु सर कामको मूल्याङ्कन नहुँदो रहेछ ।” यो वर्ष हुने स्वतः बढुवामा पनि जिशिकाले फाइल अगाडि नबढाइ दिएर आफैं काठमाडौँ गएर कारबाही अगाडि बढाएको प्रमाण देखाउँदै भने, “५/६ वर्षअघि खुला प्रतिस्पर्धामा लिखितमा पास गरेर पनि अन्तर्वार्तामा फेल गराइयो ।”

हामीले अलि प्रतिवाद गर्दै भन्यौं, “सर ! हामीलाई कुनै शिक्षकको गाउँलेले यति धेरै नाम लिएको थाहा छैन । सरकारले दिएन भने पनि गाउँलेले त राम्रै पुरस्कार दिएका रहेछन् नि !” हो; गाउँलेले मलाई धेरै माया दिएका छन् । उहाँहरूप्रति म आभारी छु । आफूले नपाए पनि अर्को गर्नेले पायो भने चित्त बुझथ्यो । दोल्फूमा विरलै आइपुग्ने दुई जना स्थानीय शिक्षकको नाम लिंदै भने, “तर हेर्नुस् त उहाँहरूमध्ये एकजनाले जिल्लाबाट २०६८ सालमा प्रशंसा पत्र पाउनुभयो । एकजना त गोदबा पाउने मान्छे हो ।”

“दोल्फूमा त तपाईंको ठूलो माग रहेछ; फेरि जानु हुन्न ?” दासको कथन थियो, “सर, मैले जति गर्न सक्ने गरें, अब दुई वर्ष जतिमा स्वेच्छिक अवकाश लिंदैछु ।” “हो, उहाँहरूले मलाई बोलाउनु भएको हो । तर ‘भत्केको घर’ बनाउन समय लाग्छ, म १/२ वर्षमा गइहाल्छु, त्यसकारण नगएको हो, जानै नचाहेको होइन । एउटा स्कूल अलिकति मात्र बनाउन पनि ४/५ वर्ष त लागिहाल्छ” ।
हामीलाई लाग्यो गर्ने मान्छेको कुरै अर्कै ।

झरीमा ओढ्ने छाता र बोराले बनाएको ‘ब्याकप्याक’ बोकेर दास सर डेरातिर उकालो लागे ।


स्वाभाविक रूपमा नयाँ मान्छेसँग उत्सुक र अलि उल्याहा प्रकृतिका केही केटाकेटी हामीलाई पछ्याउँदै आए । कुरा गर्दा सबैले, “माइटर आउँदैन, आयो भने (विद्यालय) जान्छु” भने ।

गाउँलेसँग छलफल गर्दै जाँदा हामीले सोध्यौं, “स्कूल खोलाउन तपाईंहरूले केही गर्नु भएन त ?” गाउँलेहरूको माझ्मा बसेका गुरु छेक्याप लामा कार्मारोङले भने जवाफ फर्काए, “खै के गर्ने , हामीले भनेको माइटरले सुन्दै सुन्दैन । हामीले त उहिले देखि हामीकन (हामीलाई ) धेशी (मधेशी) माइटर देऊ भनेर जिल्लामा पनि कराएको, सुनेको नसुन्यै गर्छ ।”

देशी (मधेशी) मास्टरप्रतिको उनीहरूको आकर्षण हाम्रा लागि उत्सुकताको विषय बन्यो । हामीले सोध्यौं— “किन र ? मधेशी माइटरमा के फरक छ ?” भेला भएका गाउँलेले एकै स्वरमा भने, “उनीहरू बस्छ र पढाउँछ, घरीघरी घर जाँदैन । हेर्नुस् न, कार्तीमै कस्तो रराम्रो छ । दुईजनै देशी छ, स्कूल कहिले छोड्दैन । त्यो दास भन्ने देशी माइटरलाई यहाँ आउ भनेको सरुवा मिल्दैन भन्छ ।”

अनि केहीबेर दास सरको बखान शुरू भयो । (हे. बक्स)


महक छैन, महको स्कूलमा

मुगु जिल्लामा खत्याड, गम, सोरु र करान गरी चार भेग छन् । सदरमुकामबाट दिनभरि हिंड्नुपर्ने १६३ धोङ (घरधुरी) भएको मह करान भेगका ठूला कार्मारोङ वस्तीहरूमध्ये एक पर्दछ । होन्थ्याक गाउँमा रहेको जनकल्याण प्रावि २०३६ अघि नै स्थापना भएको गाउँलेहरूको सम्झ्ना छ । ३ कक्षासम्म पढाइ हुने यस विद्यालयमा जनजातिलाई प्राप्त हुने छात्रवृत्ति र अझ् नास्ताको पनि व्यवस्था छ । पुरानै, ठीकैको र नयाँ गरेर तीन वटा भवन पनि छन् । (हे. तस्बीर) कसको के प्रेरणाले नयाँ–नयाँ भवन बनाउन सहयोग गर्छन्, गर्नेहरू नै जानून् । डेढ वर्षदेखि त्यहाँको विद्यालय खुलेको छैन ।

त्यहाँ तीन जना (दुई कार्मारोङ नै र एक दलित) शिक्षक छन् । एकजना सदरमुकाम नजिकैका प्रधानाध्यापक छन् । उनी त्यहीं आएर स्थायी भएका रे ! ३० वर्षदेखि त्यो विद्यालयबाट शिक्षकको तलब खाएका । उनको सेवा निवृत्त हुने बेला पनि भइसक्यो । एक प्रमुख राजनीतिक दलसँग नजिक उनी सदरमुकामतिर कुन–कुन सामाजिक संस्थाका जिम्मेवार पदमा पनि आसीन छन् । अर्का शिक्षक खोलापारि माङ्ग्री गाउँका कार्मारोङ समुदायका हुन् । गाउँलेहरूले उनलाई नदेखेको पनि त्यत्तिकै भयो रे ! अर्का शिक्षक छन् त्यसै गाउँका कार्मारोङ नै । उनलाई चाहिं गाउँलेले स्वाभाविक रूपमा अलि धेरै देख्छन् । “कहिलेकाहीं स्कूल खोलिहाले उही हो खोल्ने”, एक गाउँलेले बताए । “उनी के गर्छन् त ?” भन्दा “हामीले जे गर्छौं, उही गर्छ— खेतीपाती गर्ने, गाईवस्तु हेर्ने । उसले त्यो काम गरे पनि तलब पाउँछ, हामीले पाउँदैनौं त्यत्ति हो फरक !” अलि टाठा एक गाउँलेले व्यंग्य गरे । “तपार्इंहरू शिक्षा कार्यालयमा भन्न जानुभएन त ?”

“गयो, खाद्य (चामल) लिन जाँदा सबै गएर मास्टर अर्को पठाइदेऊ भनेको, केही भएन । जिल्लाको हाकिम, नेताहरू दाउरा काट्छु भन्ने छेपारो जस्तो छ । हामी गयो गर्छु–गर्छु भन्छ, फक्र्यो बिस्र्यो । उनीहरू नै मास्टरसँग मिल्छ हामीले के गर्न सक्छ र ?” रोष मिश्रित स्वरमा ६ छोराछोरीका बाबु कार्मा लामाले अरूलाई उछिन्दै भने ।

‘अध्यक्ष को छ ? केही गर्दैन ?’ भन्दा उनले भने, “अध्यक्ष त राप्के, ऊ पञ्चायतकालदेखिकै हो । खै क्या पो गर्छ, हेडमास्टर र अध्यक्ष जोइपोइ जस्तो हो । जोइपोइको कुरा जोइपोइ बाहेक अरू कसले जान्दछ र ?” अरू गाउँलेबाट थाहा भयो त्यहाँ हालसालै एउटा निजी विद्यालय खुलेको छ । ६० जनाभन्दा बढी केटाकेटी छन् । अर्को एक मुख्य दलका स्थानीय नेता, एक कार्मारोङ र एक गैर कार्मारोङ शिक्षकको साझ्ेदारीमा । “मन हुने, पैसा हुनेले छोराछोरी पढाउन त्यहीं लान्छ”, कुरा टुङ्ग्याउँदै च्यावा लामाले भने ।


ठकुरी र क्षेत्रीको बाहुल्य भएको मुगु जिल्लाका २४ मध्ये ५ गाविसमा जनजातिको बाहुल्य छ । तीमध्ये पनि ४ गाविसमा कार्मारोङ जनजाति समूहका मानिस बस्छन् । कार्मारोङको आर्थिक अवस्था सरदर जिल्लावासीको भन्दा रराम्रो हुँदाहुँदै पनि उनीहरूको सामाजिक हैसियत कमजोर छ । यसको मुख्य कारण शिक्षामा पछि पर्नु नै हो । ‘घरपायक’ अर्थात् जिल्लामै पढाउने अवसर पाउने गैर जनजाति समुदायका शिक्षकहरू करान भेगलाई ‘काम न गरी खान पाइने घिउ भेग’ भन्ने गर्छन् रे ! जनजाति क्षेत्रमा काम गर्ने जनजाति शिक्षकहरूकै कार्यप्रदर्शन पनि कम निराशाजनक छैन । माङ्ग्री गाविसको मह गाउँको विद्यालय डेढ वर्ष देखि नखुलेको सन्दर्भमा त्यस क्षेत्रमा काम गरिरहेका यूएमएनसँग सम्बन्धित नेत्र शाही भन्छन्, “उहाँहरू जातीय अधिकारको कुरा त गर्नु हुन्छ तर आफ्नै जातिलाई पनि पढाउनु हुन्न ।” (हे. बक्स, पाना २४)

मध्यपहाडमा ‘बीएस्सी सर’हरू मधेशी शिक्षकको पर्याय बनेको धेरै अघि हो । “यतिका वर्ष बसिसकेपछि हामी पनि कार्मारोङ नै भइसक्यौं” मुगुको करान क्षेत्रमा दुई दशकभन्दा ज्यादा समय शिक्षण गरिसकेका सूर्यनारायण शाह भन्छन् । मधेशी शिक्षकहरूको स्थानीय राजनीतिक दलहरूमा गहिरो संलग्नता नभएकाले पनि उनीहरूले कर्तव्य निर्वाह गर्छन्, काम न गर्दा संरक्षण पाउँदैनन् । यस कुरा ले एकातिर देशमा शिक्षकलाई घरपायक विद्यालयमा स्थान दिने नीतिको समीक्षाको माग गर्द छ भने अर्कोतर्फ मधेशी शिक्षकहरूको दुर्गम पहाडी र हिमाली क्षेत्रको शिक्षामा रहेको देनको प्रशंसा र मूल्याङ्कनको आवश्यकता देखाउँछ ।

शिक्षा नीति तथा अभ्यास केन्द्र

commercial commercial commercial commercial