राजनीतिक आडमा शैक्षिक सुधार
एउटा शिक्षक आज आफैंमा शक्तिशाली छ । परिवर्तन गरेरै छाड्छु भन्ने हो भने उसले राजनीतिक शक्तिकै आडमा शिक्षालयलाई बदल्न सक्छ । शिक्षकहरूलाई राजनीति गरे , पढाएनन् भन्ने व्यापक आरोप छ । यो आरोपलाई खण्डन गर्न एउटा शिक्षकले आफूले मात्र होइन, अन्य शिक्षकलाई पनि पढाउन बाध्य पार्न सक्छ; किनकि ऊसँग राजनीतिक शक्ति पनि त छ ।
शिक्षामा राजनीति छ; यो हुनु अनौठो होइन । बरु नहुनुमा पो अनौठो हुनुपर्ने हो ! किनभने यो केमा र कहिले पो छैन र ? राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ पनि तत्कालीन राजनीतिक व्यवस्था नै बलियो गराउने गरी ल्याइएको शिक्षा योजना थियो । बरु राजनीति नहुनु भनेको त नुनविनाको अचार र तरकारी जस्तै हो । भनाइ छ ‘राजनीति विज्ञानको पनि बाबु हो ।’ हुन पनि संसारमा जहाँ राजनीति स्थिर छ, त्यो देश विकास को दिशामा लम्किएको छ, जहाँ राजनीति अस्थिर छ, त्यहाँ शिक्षालगायत सबै क्षेत्र अव्यवस्थित किसिमले चलिरहेका छन् ।
शिक्षा र राजनीति एकअर्कासँग अन्तरसम्बन्धित छन् । शिक्षा भनेको पढ्नु मात्र होइन, परेर वा गरेर सिक्नु पनि हो । चेतनाको जन्म विद्यालयमा पढाइने शिक्षाबाट मात्र हुने होइन, परिस्थितिको चेपुवाबाट पनि हुन्छ । चेतना भनेको दृष्टि हो । यो दृष्टि राजनीतिक प्रकृतिको हुनु आवश्यक छ । तर बिडम्बना; राजनीतिक आडमा नियुक्ति लिने शिक्षक मित्रहरूले राजनीतिलाई निरपेक्ष रूपमागाली मात्रै गरिरहे । आज नेपालको युवापुस्तामा सबैतिर बाट राजनीति भनेको नकारात्मक कुरा हो भन्ने मात्र भरिएको छ । कलिलो बालमस्तिष्कले राजनीतिलाई नकारात्मक रूपमा हेर्दा भोलि विचार शून्यताको अवस्था आउने खतरा हुन्छ । राजनीति असफल हुनुको कारण सापेक्ष रूपमा खोजिनु आवश्यक छ । के नेपालको राजनीति असफल हुनुमा हराम्रो शिक्षानीतिको कमजोरी होइन ? अवश्य पनि हो । शिक्षाले के दियो त राजनीतिलाई ? राजनीतिले वैचारिक चेतना दिन्छ । शिक्षाले पनि दिन्छ तर राजनीतिले जति होइन । राजनीति भनेको भागबण्डा होइन, यो त निकृष्टता वा संकीर्णता हो ।
राजनीतिले मानिसलाई प्रतिबद्ध बनाउँछ, देशप्रेमी बनाउँछ, स्वाभिमानी बनाउँछ, सही आचरणकोगराउँछ । तर हामीले यसलाई आफूले पद प्राप्त गर्ने माध्यम मात्र बनायौं । आफूलाई भएपछि पुग्यो भन्यौं । निरपेक्ष रूपमा राजनीतिक नेताहरूलाई गाली मात्रै गर्यौ, आफूले जागिर मात्र खायौं । कहिल्यै हराम्रो खोजीको विषय बनेन । नेपालमा २००७ सालपछि जुन उदार राजनीतिक व्यवस्थाका लागि प्रयत्न गरियो, त्यो प्रयत्न आजसम्म किन सफल हुन सकेन ? राजनीतिक दलका नेताहरू पनि नेपाली धर्तीकै नेताहरू हुन्, किन उनीहरूले चाहेजस्तो समृद्धिको दिशामा देशलाई लैजान सकेनन् ? यसमा शिक्षा कति जिम्मेवार छ ? यसको खोजी न गरिकन, देशको सामाजिक, आर्थिक पृष्ठभूमिलाई नहेरिकन निरपेक्ष रूपमा राजनीतिलाई गाली गर्नु भनेको चारित्रिक बेइमानी हो ।
राजनीति अस्थिर छ, यो अस्थिर हुनुका निश्चित सामाजिक, आर्थिक, सांस्कृतिक आदि कारण छन् । त्यसकारण देशका नीतिनिर्माताहरूले शिक्षा क्षेत्रमा उचित ध्यान दिन सकेनन् । २०२८ को शिक्षा पद्धतिको ‘रूप’मा परिवर्तन भए पनि सारमा परिवर्तन भएको छैन । कस्तो खाले शिक्षा नीति लागू गर्ने भन्ने अन्योल छ । उदाहरणका लागि अहिले देशभर लागू गरिएको ‘प्लस टु’ लाई हेरे पुग्छ । राज्यले ‘प्लस टु’ संचालनको जिम्मा कि त समुदाय विशेषलाई दिएको छ कि त व्यक्तिविशेषलाई । गरीब जनताले शिक्षा लिन जाने ठाउँ छैन । ‘प्लस टु’का लागि न त दक्ष जनशक्ति नै प्रयोग भएको छ, न त उचित तालिम नै छ । विश्वविद्यालयले जनशक्ति उत्पादन न गरेको होइन तर त्यो जनशक्तिलाई परिचालित गर्ने काममा सरकार असफल भएको छ । मावि तहमै कार्यरत जनशक्तिले ‘प्लस टु’ चलाइरहेको छ । युवा शक्तिलाई त्यहाँ जानै दिईंदैन । नियुक्तिको कुनै निश्चित मापदण्ड नै छैन ।
जबसम्म शिक्षकलाई बलियो बनाउन सकिंदैन, जबसम्म तनावमुक्त गराए र शिक्षकलाई कक्षाकोठामा पठाउन सकिंदैन, तबसम्म शिक्षाको गुणस्तर सुधार हुन सक्दैन । यसनिम्ति शिक्षक नियुक्ति गर्ने एउटा स्वायत्त निकाय चाहिन्छ, जुन आफैंमा विश्वसनीय, पारदर्शी र नियमित हुनु आवश्यक छ । त्यसो भयो भने अहिलेकै शिक्षालाई पनि निकै गुणस्तरीय बनाउन सकिन्छ । २०५२ सालमा शिक्षक सेवा आयोगले विज्ञापन गरे देखि अहिलेसम्म फेरि गरेको छैन । समस्या यहींनेर छ । त्यसकारण शिक्षकहरूले निहित र व्यक्तिगत स्वार्थलाई थाती राखेर शिक्षक नियुक्तिको निश्चित प्रक्रिया बनाउन राज्यलाई दबाब दिनु आवश्यक छ । यस्तो माग राख्दा व्यक्तिविशेषलाई क्षणिक नोक्सान भए पनि दीर्घकालीन रूपमा मुलुकलाई निकै लाभ हुने देखिन्छ ।
यो त बनाउने कुरा भयो तर हामीसँग जे छ, त्यसलाई तत्काल बदल्न सक्दैनौं । हामीसँग यतिबेला राजनीतिक आडमा शिक्षक बन्नु पर्ने बाध्यता छ । कतै कतै त नियुक्ति भन्दा पहिला राजनीतिक दलसँग सम्झौता गर्नु पर्ने र उसको सदस्यता लिनुपर्ने बाध्यता पनि छ । देशभरकै नियति तथा बाध्यता हो, यो । यो बाध्यताले शिक्षकको नैतिक बल अत्यन्त कमजोर बनाइदिएको छ । यही कारण गुरुत्तर भार वहन गर्ने शिक्षकको मर्यादामा आँच पुगेको छ, सबैतिर बाट । विद्यार्थी स्वयंले शिक्षकलाई कक्षाकोठामै प्रश्न उठाइरहेका छन्, तपाईं कुन दलको भनेर । साथै उच्चतहमा राजनीतिक पूर्वाग्रहका आधारमा योग्य शिक्षकलाई समेत विद्यार्थीले कक्षामा अवरोध पुर्याइरहेका छन् । राजनीतिक दल र तिनको नेतृत्व शिक्षकलाई बलियो बनाउन चाहँदैन किनकि शिक्षक बलियो भयो भने उसले दलविशेषको झ्ण्डा बोक्दैन भन्ने डर उनीहरूलाई छ । शिक्षकसँग समाज को निरन्तर सम्पर्क रहेको हुन्छ, प्रत्यक्ष वा परोक्ष रूपमा । कहिले उसले पसलबाट सामान किनेर ल्याइदिएको हुन्छ, कहिले बिरामी हुँदा बोकेको हुन्छ । कहिले टिभी बनाइदिएको हुन्छ त कहिले मोबाइल रिचार्ज गरिदिएको हुन्छ । यसो गर्दा शिक्षकलाई हार्न समाज का नागरिकहरू सक्दैन । यसैको नाजायज फाइदा राजनीतिक नेतृत्वले लिन खोजिरहेको देखिन्छ ।
तापनि कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै यी अँध्यारा पक्षका बाबजूद पनि यही राजनीतिक आडको फाइदामा शिक्षकले गर्न सक्ने धेरै कुरा छन् । शिक्षकले पनि राजनीतिक दलले जसै गरी सही कामका लागि उनीहरूलाई प्रयोग गर्न सक्ने क्षमता देखाउनु आवश्यक छ । स्कूलको व्यवस्थापन रराम्रोसँग गर्न दलको सहयोग लिने पहल गर्नु पर्दछ । एक हिसाबले हेर्ने हो भने एउटा शिक्षक आज आफंैमा शक्तिशाली छ । उसले परिवर्तन गरेरै छाड्छु भन्ने हो भने राजनीतिक शक्तिकै आडमा शिक्षालयलाई बदल्न सक्छ । शिक्षकहरूलाई राजनीति गरे , पढाएनन् भन्ने व्यापक आरोप छ । यो आरोपलाई खण्डन गर्न एउटा शिक्षकले आफूले मात्र होइन, अन्य शिक्षकलाई पनि पढाउन बाध्य पार्न सक्छ; किनकि ऊसँग राजनीतिक शक्ति पनि त छ ।
राजनीतिक दलले जनजीविकाका मुद्दा छाड्न सक्दैनन् । यो उनीहरूको बाध्यता पनि हो । उनीहरू जनताबाट अनुमोदित हुुनुपर्छ । अँध्यारा कुनामा भलै केही षड्यन्त्रका तानाबाना बुने पनि अन्ततः उनीहरूले सही काम र कुरा को साथ दिनैपर्छ ।
शिक्षक स्वाभिमानी बन्ने, कर्तव्यशील बन्ने आधार भनेकै राजनीतिक आधार नै हो, यतिबेला । मेरो पेशा असुरक्षित हुन्छ कि भनेर आफूभन्दा माथिकाले गरेकागलत काम पनि शिक्षकले स्वीकारेको अवस्था छ । तर स्वीकार्नुपर्ने बाध्यता छैन । अबगलत गर्ने ले जागिर खाइदिन खोज्दैमा सक्ने अवस्था छैन । विवेकले देखेको गर्न र भन्न शिक्षक स्वतन्त्र छ । दशतिर वफादार हुनुपर्ने बाध्यता छैन, राजनीतिक दलसँग पेशाको कुरा पनि उठाउन सकिन्छ । स्थानीयस्तर मा राजनीतिक दललाई सहमति गराउँदै राज्यको उपल्लो स्तर सम्म आफ्नो माग पुर्याउन सकिन्छ । तसर्थ अहिले खराब भित्रैबाट रराम्रो खोज्ने हो । मुहान धमिलो भए पनि पानी सङ्लो बनाउन सकिन्छ, फिल्टर गरेर । भनिन्छ, कहिल्यै पनि विकल्प समाप्त हुँदैनन् । शिक्षकका पनि विकल्प समाप्त भएका छैनन् । चाहे, पर्याप्त गर्न सक्छन् । यसका लागि उनीहरूमा इच्छाशक्ति र अठोट मात्रै भए पुग्छ ।
छत्रगञ्ज–९, अर्घाखाँची