स्कूलमै थरीथरीका खाजा

पोखराको नदीपुरस्थित बालमन्दिरले विद्यार्थीसँग मासिक शुल्क लिएर विद्यालय हातामै नियमित दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ । त्यहाँ आइतबार देखि बिहीबारसम्म खाजा खुवाइन्छ भने शुक्रबार सर्वत वा चिया दिइन्छ । स्कूलमा फरक–फरक स्वाद खाजाको क्यालेन्डर बनाइएको छ । बढी जसो खानेकुरा घरेलु परिवेशकै भए पनि कहिलेकाहीं चाउचाउ, बिस्कुट जस्ता तयारी खाजा पनि दिने गरिएको छ ।
विद्यालयको खाजा क्यालेन्डर अनुसार, पहिलो आइतबार चाउचाउ, दोस्रो आइतबार भुटेको चिउरा, दालमोठ वा बिस्कुट र चिया, तेस्रो आइतबार खीर र अचार तथा चौथो आइतबार मकै, चिया वा भुजा र तरकारी दिइन्छ । सोमबार चाहिँ बिस्कुट र चिया खुवाइन्छ । पहिलो र चौथो मङ्गलबार ब्रेड र चिया, दोस्रो मङ्गलबार भक्कु र चिया तथा तेस्रो मङ्गलबार फ्रूट केक र चिया खुवाउने गरिएको छ । पहिलो र तेस्रो बुधबार दुनोट वा रोटी र चिया तथा दोस्रो र चौथो बुधबार पुरी र चिया दिइन्छ । बिहीबार हलुवा र अचार, फलफूल, फ्रूट केक र चिया तथा अण्डा वा क्रिमरोल दिने गरिएको छ । बिहान १० बजे विद्यालय प्रवेश गरे पछि छुट्टी नहुन्जेल विद्यार्थीलाई बाहिर जान निषेध गरिएको छ ।
खाजाका लागि नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई रु.३९०, कक्षा १–५ लाई रु.४५० मासिक शुल्क तोकिएको छ । यस्तै, कक्षा ६–७ लाई रु.५००, कक्षा ८ लाई रु.५५० र कक्षा ९–१० का विद्यार्थीलाई कम्प्युटर शुल्क समेत रु.७५० तोकिएको छ । बालमन्दिरमा नर्सरी देखि १० कक्षासम्म ९७२ विद्यार्थी पढ्छन् । खाजा खर्च र अन्य शुल्क तिर्नु नसक्ने हैसियतका १०२ जनालाई निःशुल्क खाजासहित छात्रवृत्तिको व्यवस्था छ । “पैसा बढी हुनेले महङ्गो कुरा खाने र नहुनेले खानै नपाउने अवस्थाको अन्त्य भएको छ ।” प्रअ सुशील बस्नेत भन्छन्, “समान खाजाले विद्यार्थीमा समान ताको भावना विकास गराए कोे छ ।”
विद्यार्थीलाई खाजा खानका लागि छुट्टै चमेना गृह बनाइएको छ । खाजा शुल्कबाट वार्षिक करीब रु.५० लाख सङ्कलन हुन्छ । खाजा बनाउनका लागि चार जना कर्मचारी दैनिक खटिने गरेका छन् । खाजाबाट बचेको रकम विद्यालयले निजी स्रोतका शिक्षकको तलब र प्रशासनिक काममा खर्चने गरेको छ । यहाँका ४१ शिक्षकमध्ये ३४ जना निजी स्रोतका छन् । साथीसङ्गी एकैठाउँमा बसेर उस्तै खानेकुरा खान पाउँदा छात्रछात्राहरू दङ्ग छन् । कक्षा ८ की छात्रा पूजा थापा भन्छिन्, “५५० तिरेपछि एक महिना थरीथरीका खाजा खान पाइन्छ ।”
२०२१ सालमा शिशुस्याहार केन्द्रका रूपमा स्थापित यस विद्यालयमा २०५१ सम्म विश्व खाद्य कार्यक्रमको ‘पौष्टिक आहार परियोजना’ अन्तर्गत विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था हुँदै आएको थियो । त्यसैको निरन्तरता स्वरुप विद्यालयले सशुल्क दिवा खाजाको व्यवस्था गरेको हो । प्रअ बस्नेत भन्छन्, “अन्यत्र सामुदायिक स्कूलमा छाडेर निजीमा जाने चलन बढ्दो छ । तर, हामीकहाँ निजी स्कूलबाट भर्ना हुन आउन थालेका छन् ।” दिउँसोको खाजा खुवाउने सवालमा बालमन्दिर मावि, पोखराले गरेको अभ्यास अन्य स्कूलको लागि पनि अनुकरणीय देखिन्छ ।