वर्तमान नै सबैभन्दा ठूलो ‘शिक्षक’ !

मेरा बाआमा निरक्षर भए पनि शिक्षित हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । किनकि उहाँहरूले मलाई सधैं हौसला दिइरहनु भयो । अतः हाम्रा बाबुआमा अशिक्षित छन् भनेर हामीले हीनभावना पाल्नुपर्ने कारण छैन । शिक्षा त्यही रहेछ जसले प्रत्येक व्यक्तिको दिमागमा चेतना, हातमा सीप र श्रमप्रति सम्मान गर्न सिकाउँछ ।

इलाम भन्ने बित्तिकै सबैले “आहा ! चियाबगानले भरिएको कति रराम्रो ठाउँ !” भन्छन् । तर मेरो जन्म चाहिँ ‘इलामको कर्णाली’ भनेर चिनिने धुसेनी गाउँमा २०४६ सालको पुसमा भएको रहेछ । बाल्यावस्थालाई फर्केर हेर्दा आज एक सपना जस्तो लाग्छ । पाँच वर्षको उमेर देखि नै मलाई विद्यालय भर्ना गरिए पनि म विद्यालयमा नियमित जान पाइनँ । घरको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । जातीय परम्परा अनुसार बुबा गाउँघरमा घुमफिर गरी जीविकोपार्जन गर्नुहुन्थ्यो । बुबाले मलाई जहाँ गए पनि आफूसितै लैजानुहुन्थ्यो ।

मैले पूर्व प्राथमिक शिक्षा प्रत्यक्ष अवलोकनबाट हासिल गर्ने मौका पाएँ । मैले देखेका हरेक चिज वा वस्तुको नाम, काम, असर, फाइदा आदिबारे म बुबालाई सोध्थेँ । बुबा सकेसम्म मेरो जिज्ञासा मेटाउने कोशिश गर्नु हुन्थ्यो । मानिसहरूको घरमा चित्रसहित झुण्ड्याइएका गुणन तालिका म कक्षा १ मा भर्ना हुनुभन्दा अघि नै कण्ठस्थ भन्न सक्ने भएको थिएँ ।

ठीक ८ वर्षको भएपछि मलाई पुनः विद्यालय भर्ना गरियो । विद्यालय (श्री सावित्रा देवी प्रा.वि.)का प्रधानाध्यापक भानुभक्त बस्नेतले कक्षा १ को नेपाली र गणित पुस्तक दिनुभयो । नयाँ र राम्रा किताब प्राप्त भएको त्यो क्षण म कहिल्यै पनि भुल्न सक्दिनँ । ती किताबले मलाई स्कूलप्रति यति धेरै सम्मोहित गरे कि त्यस दिन देखि मैले कहिल्यै विद्यालय छोडिनँ ।

अहिले आएर बल्ल थाहा पाएँ, मैले विद्यालय र समाज बाट समान्तर रूपमा शिक्षा आर्जन गरे छु । घुम्दा डुल्दा गाउँका घरहरूमा विभिन्न पुस्तक र पत्रपत्रिका पढ्न पाउँथेँ । साँचो अर्थमा मैले विद्यालयमा सिकेका कुरा हरू भन्दा आफ्नै परिवेशमा या भनौँ प्रत्यक्ष अवलोकनको माध्यमबाट सिकेका ज्ञान, सीप, अवधारणा तथा अभिवृत्ति आज पनि उत्तिकै जीवन्त लाग्छन् । आज कलेज तहमा शिक्षाशास्त्रको विद्यार्थी हुनुको नाताले लाग्छ, मैले परिस्थितिवश सिक्ने, हुर्कने वा आफूलाई विकसित तुल्याउने सन्दर्भमा राम्रो अवसर पाएछु । यसको अर्थ विद्यालय केही पनि होइन भन्ने होइन, तर बच्चालाई विद्यालयको चौघेरामा सीमित न गरी उसको गाउँ र समुदाय, परिवेश, प्रकृति, जीवजन्तु, खोलानाला, खेतीपाती, चाडवाड, संस्कृति, रहनसहन लगायत जीवनका समग्र पक्षहरू देख्ने, भोग्ने र खुला अन्तरक्रिया गर्ने मौका दिइनु पनि विद्यालय तहको शिक्षाको एक अभिन्न अङ्ग रहेछ । साथसाथै हरेक विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनका लागि र उनीहरूको चौतर्फी विकास का लागि सकेसम्म धेरै अतिरिक्त क्रियाकलाप र सृजनशील हुन सिकाउने विभिन्न क्रियाकलापहरूको आयोजना सिलसिलेवार तरिकाले गरिरहनु पर्दोरहेछ । शिक्षाशास्त्रको कखरा पढ्न थालेपछि मैले यो कुरा अनुभव गरेको हुँ ।

घरको आर्थिक समस्यालेगाँज्न थालेपछि मेरो अध्ययनमा बारम्बार अवरोध भइरह्यो । मैले ६ महिना अर्कैको घरमा बसी ट्युसन पढाउँदै अध्ययनलाई अघि बढाएँ । र, २०६४ सालमा भगवती मा.वि. धुसेनीबाट प्रथम क्षेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरें । विज्ञान अध्ययन गर्ने अठोटका साथ म इलामबजारको आदर्श उमाविमा भर्ना भएँ । तर आर्थिक समस्याले गर्दा विज्ञान पढ्ने चाहनालाई त्याग्नु परयो र भानुभक्त उमावि मङ्गलबारेमा अङ्ग्रेजी मुख्य विषय लिएर शिक्षाशास्त्र अध्ययन गर्न थालेँ । सो विद्यालयले छात्रवृत्ति दिएकाले मैले उच्च मावि तहको पढाइ पूरा गर्न पाएको थिएँ । परिश्रमको फल मीठै हुँदोरहेछ, कक्षा ११ र १२ मा क्रमशः ६७.८ र ७१.२ प्रतिशत अङ्क प्राप्त गरी इलाम जिल्लामा उच्च मावि तहमै प्रथम हुन सफल भएछु । हाल म सोही क्षेत्रमा अवस्थित श्री मङ्गलबारे बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नातक तह प्रथम वर्षमा अध्ययनरत छु ।

अहिले स्वावलम्बी भएको छु । क्याम्पसको नजिकैको श्री सूर्योदय शिक्षा सदन उमाविमा शिक्षकको रूपमा कार्यरत छु । बिहान क्याम्पस जानु, दिउँसो शिक्षण गर्नु, बेलुका अध्ययन गर्नु मेरो दिनचर्या बनेको छ । म पेशाले एक शिक्षक भए पनि आफूलाई विद्यार्थी भन्न बढी रुचाउँछु । हरेक दिन कुनै न कुनै विद्यार्थीबाट केही न केही नयाँ कुरा सिकिरहेको हुन्छु । मलाई विद्यार्थी आफैँ एक पुस्तक झैँ लाग्छन् । पुस्तक पढ्नु जति सजिलो छ, विद्यार्थी पढ्नु त्यति सजिलो नहुँदो रहेछ । हरेक विद्यार्थी फरक र अद्वितीय हुँदारहेछन् जो शिक्षाशास्त्रीहरूले भने झैँ मेरा लागि खुला पुस्तक बनेका छन् । जसलाई म आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म अध्ययन गरिरहेछु । मेरा आजका विद्यार्थीले भविष्यमा मलाई कस्तो शिक्षक ठान्छन्, त्यो त मलाई थाहा छैन तर एउटा असल र सफल विद्यार्थी हुने कोशिश चाहिँ म इमान दारपूर्वक गरी नै रहनेछु । शिक्षाशास्त्रले पनि असल विद्यार्थी नै सफल शिक्षक हुनसक्छ भन्ने कुरा भन्दोरहेछ ।

आजसम्मको मेरो सफलतामा अवश्य पनि शिक्षक वर्गको योगदानको महत्वपूर्ण हिस्सा छ । तथापि मेरो प्रगतिको पछाडिको मुख्य हात चाहिँ त्यो समाज नै हो जसले वर्गीय तथा जातीय आधारमा भेदभावपूर्ण व्यवहार गर्द थ्यो । तर मैले ती अवरोधहरूलाई क्षणिक आवेशमा नआई, बदलाको भावना नलिइकन धैर्यपूर्वक विवेकशील तरिकाले हल गरें । अहिले पनि गरिरहेछु । भनिहालुँ, मैले केही गर्नु पर्छ भन्ने दृढ अठोट, त्यसनिम्ति निरन्तर लागिपर्ने प्रेरणा र विवेकशील तरिकाले अघि बढ्नुपर्छ भन्ने सद्बुद्धि यही भेदभावबाट पाएको हुँ । त्यसैले जातीय तथा सामाजिक भेदभावले उत्पन्न गरेका विभेदको सिकार भइरहन बाध्य मजस्तै नयाँ पुस्ताका साथीहरू र स्कूलमा पढिरहेका भाइबहिनीहरूलाई मेरो आग्रह छ, यही विभेद, अन्याय र गरिबी नै हराम्रो अजस्र प्रेरणा र शक्तिका स्रोत हुन् । हामीले समाज मा व्याप्त विभेद र गरिबीलाई हटाउनु नै छ । त्यसनिम्ति सबभन्दा पहिले हामीले स्कूल र कलेजको शिक्षा अब्बल तरिकाले हासिल गर्नु पर्छ । राम्रोसित अध्ययन गर्दै गयौँ भने मात्र हामीले समाज , देश र दुनियाँ बुझदै जानेछौँ, आर्थिक र सामाजिक असमान ताका जरा खोतल्न र न्यायपूर्ण एवं समृद्ध समाज स्थापना गर्न समर्थ हुनेछौँ ।

जस्तोसुकै परिस्थितिलाई पनि सहज ढङ्गले स्वीकार गरी समस्याको सही समाधान खोज्ने क्षमताको विकास हुनु सफल विद्यार्थीका प्राथमिक कुरा हुन् । हामीमध्ये धेरै स–साना समस्या आउने वित्तिकै हतोत्साही हुन्छौँ, जुन हराम्रो सबैभन्दा ठूलो कमजोरी हो । परीक्षामा कम अङ्क आएमा वा असफल भएमा हामी शिक्षक, अभिभावक, विद्यालय प्रशासन तथा अन्य पक्षलाई बढी दोष दिन्छौँ, जुन एकदमगलत हो । मेरो विचार मा कुनै पनि विद्यार्थी कति सफल हुने भन्ने कुरा उसको सहनशीलता, लगनशीलता,गाम्भीर्य जस्ता कुरा मा निर्भर गर्द छ । कक्षामा रहँदा ध्यान केन्द्रित गर्नु , सम्बन्धित विषयवस्तुको गम्भीर अध्ययन गर्नु, आफूलाई अस्पष्ट लागेका कुराहरू शिक्षकहरूसँग छलफल गर्नु, बुझेर अध्ययन गर्नु (घोकेर होइन), सकेसम्म बढी पुस्तक तथा पत्रपत्रिका पढ्नु, आफूलाई आइपरेका समस्याहरूको सकारात्मक समाधान खोज्नु तथा अग्रजहरूको जीवनबाट सिक्ने र साथीसँसंगीका सकारात्मक कुराहरू आत्मसात् गर्नु नै मेरो आजसम्मको सफलताको आधार हो ।

आफूलाई स्कूल, कलेज वा कक्षाकोठामा सीमित गर्नु हुँदोरहेनछ, ज्ञानको दायरा फराकिलो पार्ने, सृजनशीलता बढाउने र केही न केही नयाँ अनुभव सँगाल्ने गरी कुनै न कुनै नयाँ काममा सरिक हुनु पर्दोरहेछ भन्ने अनुभूति भएपछि हामी केही साथी मिलेर ‘नवयुवा विचार मञ्च’ नामक एक सामाजिक संस्था स्थापना गरेकाछौँ । यो संस्थामार्फत हामी यतिखेर एउटा सामुदायिक पुस्तकालय स्थापनार्थ अघि बढिरहेका छौँ । हामीले हरेक महिना कुनै न कुनै सामाजिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्न थालेका छौँ । राष्ट्रिय स्तर का पत्रिकाहरूको नियमित अध्ययन र विश्लेषण समेत गर्दै आइरहेका छौँ । जति ठूलो हुँदै आएँ, म माथि किताबको प्रभाव पनि उति नै बढिरहेको महसुस गरेको छु । नेल्सन मण्डेलाको 'A long walk to freedom', शिव खेराको 'You can win' तथा डा. डेभिड जे. स्वाट्र्जको 'The magic of thinking Big' जस्ता पुस्तकले मलाई मान्छे हुन सिकाएको छ भने जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’ तथा झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ले मलाई नेपाली परिवेश र सन्दर्भबारे थप किताबहरू अध्ययन गर्ने ऊर्जा दिएका छन् । मैले धेरै किताब त पढ्न पाएको छैन, तर आजसम्म जति पढियो, त्यसका आधारमा यति त ढुक्कले भन्न सक्छु, जति बढी किताब पढ्न सक्यो उति बेस ! रोचक कुरा —जति बढी पढ्यो, उति नै नयाँ किताब पढ्न मन लाग्दो रहेछ !

मेरा बाआमा निरक्षर भए पनि ‘शिक्षित’ हुनुहुन्छ भन्ने मेरो निष्कर्ष हो । किनकि उहाँहरूले मलाई सधैँ हौसला दिइरहनु भयो । अतः हाम्रा बाबुआमा अशिक्षित छन् भनेर हामीले हीनभावना पाल्नुपर्ने कारण छैन । शिक्षा त्यही रहेछ जसले प्रत्येक व्यक्तिको दिमागमा चेतना, हातमा सीप र श्रमप्रति सम्मान गर्न सिकाउँछ । निरक्षर भएर पनि मेरा बाआमाले ती सब दिनुभएको रहेछ । त्यसैले मेरा बाआमाप्रति मगर्व गर्द छु । उहाँहरूप्रति हृदय देखि नै सम्मान गर्दछु ।

भविष्यको निर्धारण वर्तमान ले गर्ने हुनाले वर्तमान नै सबैभन्दा ठूलो ‘शिक्षक’ रहेछ । परिवेशले नै सबभन्दा धेरै कुरा सिकाउँदो रहेछ । भविष्यमा के बन्छु त्यो त मलाई अझै पनि थाहा छैन तर वर्तमान मा शिक्षण पेशामा भएको र शिक्षाकै माध्यमबाट यस स्थानसम्म आउन सफल भएको ले म आफू जस्ता लाखौँ गरिब विद्यार्थीहरूको भविष्य निर्माणमा एक असल, कुशल र दक्ष प्रशासक भएर सहयोग गर्न चाहन्छु । अन्त्यमा, आदरणीय शिक्षक तथा अभिभावकहरूमा मेरो एउटै मात्र आग्रह छ, तपाईँका विद्यार्थी वा बालबालिकालाई आफैँ केही गर्न/खोज्न दिनुहोस् । त्यसनिम्ति आवश्यक सहजीकरण मात्र गरिदिनुहोस् । तपाईँले त्यति गरिदिनुभयो भने, हरेक बालबालिकाले आफूलाई सृजनशील र पृथक् मानिसका रूपमा प्रतिष्ठापित गर्न सक्नेछन्, जसले तिनको जीवनलाई सार्थक र आनन्दित तुल्याउने छ ।

मङ्गलबारे बहुमुखी क्याम्पस, मङ्गलबारे, इलाम

commercial commercial commercial commercial