पानी र चर्पीको सुविधाले विद्यालय परिवारको स्वास्थ्यमा आएको सुधार

शकुन्तला टमाटा विद्यालयमा ‘पढ्ने’ छात्रामैगनिन्छिन् । तर उनलाई भने विद्यालय सम्झिँदै दिक्क लाग्थ्यो । यो दिग्दारी र विरक्तिको कारण थियो, विद्यालयमा चर्पी नहुनु । “विद्यालयमा चर्पी नहुञ्जेल त दिसापिसाब लाग्यो कि कक्षा नै छुटाएर जङ्गल जानुपथ्र्यो । अनि एकातिर सरहरूकोगाली खाइने, अर्कातिर अरूले देख्लान् भन्ने डर” पहिलेको कुरा सम्झिँदै उनी भन्छिन् । आजभोलि विद्यालयमै चर्पी र पानीको व्यवस्था भएपछि विद्यार्थीलाई सजिलो भएको छ । पानी बोकेर कक्षा कोठाको भुईं लिप्न बाध्य विद्यार्थीको दुः खको पनि अन्त्य भएको छ ।

नेपालकोग्रामीण क्षेत्रका अधिकांश विद्यालयको सन्दर्भसँग मेल खाने यो प्रसङ्ग सुर्खेत जिल्लाको कुनाथरी–९ स्थित श्री भैरव प्राथमिक विद्यालयको हो । २०३४ सालमा स्थापना भएको यस विद्यालयमा हाल २५० जना विद्यार्थी अध्ययनरत छन् । शुरु मा समुदायको सक्रियतामा निर्मित ६ कोठे कामचलाउ भवन थियो । अहिले आईएनएफ र कोडेकबाट प्राप्त सहयोगबाट काठको ६ कोठे व्यवस्थित भवन निर्माण भएको छ ।

बल्लतल्ल जुटाएको आर्थिक सहयोगबाट भवन बनाएर पठनपाठन शुरु गरिए पनि गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने खाननेपानी र चर्पी जस्ता भौतिक सुविधाहरूको भने यहाँ अभाव नै थियो । विद्यार्थीले मात्र नभई शिक्षकले समेत शकुन्तलाको जस्तो समस्या भोग्नु परिरहेको थियो । “दूषित पानी खानुपर्ने बाध्यताले हामीलाई झडापखाला, आउँमासी जस्ता रोगहरू लागेर कैयौँ दिन विद्यालय आउन सकेका थिएनौं” दुः खका दिन सम्झ्ँदै भन्छन् कक्षा चारका छात्र सन्तोष बि.क. ।

बदलिएको परिस्थिति
तर अहिले भने भैरव प्राथमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूले यो दुः खबाट छुटकारा पाएका छन् । अष्ट्रेलियन सहयोग नियोगको आर्थिक तथा वाटरएड नेपालको व्यवस्थापकीय सहयोग र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को प्राविधिक सहजीकरणमा आ.व. २०६७/६८ मा स्थानीय खाननेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रत्यक्ष संलग्नतामा सञ्चालन गरिएको आलडाँडा खाननेपानी तथा सरसफाइ आयोजना अन्तर्गत यस विद्यालयलाई पनि खाननेपानी र सरसफाइ सुविधा उपलब्धगराइयो । हाल यस विद्यालयमा खाननेपानी जम्मा गर्ने छुट्टै ट्याङ्की, धारा र छात्र–छात्राका लागि उपयोगी हुने बेग्लाबेग्लै चारकोठे चर्पी निर्माण गरिएको छ । विद्यार्थी तथा शिक्षकहरूलाई सहभागी गराए र व्यक्तिगत एवं वातावरणीय सरसफाइबारे चलाइएको अभियानले सबैलाई सचेत र जागरुक तुल्याएको छ ।

विद्यालयमा निर्मित चर्पी र खाननेपानीको दिगो व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समितिले अभिभावकहरूलाई पनि उत्प्रेरित गर्ने कार्य गरेको छ । हाल चर्पी सरसफाइ र मर्मतसम्भारका लागि विद्यालय सहयोगी, विद्यार्थी र शिक्षक समेतको एक व्यवस्थापन समूहगठन गरिएको छ । शिक्षकहरूले प्रति महिना दश रुपैयाँ, व्यवस्थापन समितिबाट पाँच रुपैयाँ र विद्यार्थी भाइबहिनीहरूले एक रुपैयाँका दरले रकम जम्मा गरी त्यसबाट फिनेल, साबुन, हर्र्पिक र ब्रस जस्ता चर्पी सरसफाइका सामग्री खरिद गर्ने तथा सबैले मिलीजुली चर्पी सफा गर्ने नियम बनाइएको छ ।

विद्यालयमा स्वास्थ्य र सरसफाइ शिक्षा सञ्चालन गरे पछि विद्यार्थीहरूमा सकारात्मक परिवर्तन आएको बताउनुहुन्छ यस विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर शाही । “विद्यालयमै खाननेपानी र चर्पी सुविधाको व्यवस्था भएपछि पठनपाठनका लागि समय बचत भएको छ । विद्यार्थीहरूको व्यक्तिगत सरसफाइमा सुधार आएको छ । दूषित पानीबाट लाग्ने रोगहरूबाट सुरक्षित भएको महसुस भएको छ । विद्यालय वरपरको वातावरणमा सुधार आएको छ”, उहाँ भन्नुहुन्छ ।

भैरव प्राविमा आएको यो परिवर्तनलाई अरू विद्यालयमा पनि अनुसरण गर्न सके यसले विद्यार्थीको शिक्षा, स्वास्थ्य र आत्मसम्मान वृद्धिमा पक्कै सघाउ पुग्ने निश्चित छ ।

शिक्षक, भैरव प्रावि, कुनाथरी–९ सुर्खेत

commercial commercial commercial commercial