सकारात्मक परिवर्तन जीवन्त प्रश्नबाट न कि मरेका उत्तरबाट

संसारका सबै वस्तुहरू सापेक्ष रूपमा मात्र एक–अर्कोसँग दुरुस्त मिल्छन् । निरपेक्ष व्याख्या गर्दा अथवा सूक्ष्म रूपमा हेर्दा सबै वस्तु एक–अर्कोभन्दा भिन्न हुन्छन् । यो तथ्यलाई स्वीकार गर्दा विद्यार्थीहरू पनि एकअर्कासँग फरक क्षमता; रुचि रुप वा रङ भएका हुने कुरा सहजै स्थापित हुन्छ ।

सामान्यतः परीक्षामा धेरै उत्तर मिलाउने र कक्षामा प्रथम, द्वितीय स्थान हासिल गर्ने लाई उत्कृष्ट मान्ने चलन छ । महान् वैज्ञानिक तथा स्रष्टाहरू थोमस एल्वा एडिसन, अल्वर्ट आइन्टाइन र रवीन्द्र नाथ टैगोरहरू विद्यालयमागोज्याङ्ग्रा ठहरिएका व्यक्ति हुन् । तैपनि उनीहरूले विश्वलाई दिएको ज्ञान र आविष्कार अद्वितीय छ । त्यसैले प्रश्न उठ्छ कस्तो विद्यार्थी प्रतिभाशाली हो ? प्रथम वा विशिष्ट श्रेणीमा परीक्षा पास गर्ने विद्यार्थीले निश्चय नै प्रतिस्पर्धाहरूबाट छानिन सफल भई उच्चस्तर को जागिर खानुको साथै आफू र आफ्नो परिवारलाई सुखी, खुसी र सम्पन्न राख्न सक्छन् । प्रतिभा र क्षमतालाई त्यतिमै पनि सीमित गर्न सकिन्छ । तर मेरो बुझइमा प्रतिभा र क्षमता भनेको तथ्यहरूसँगै नयाँ सत्य पत्ता लगाउनु हो । साथै संवेगहरूको बुझइ र कलात्मक प्रस्तुति पनि हो । यो कुरा उल्लेख गरिरहँदा परीक्षामा उच्च अङ्क ल्याउनेको खिलाफमा कलम चलाएको कदापि होइन ।

आईज्याक न्यूटनले विद्यालयमा गुरुत्व सम्बन्धी पढाइ भएका कारणले नै गुरुत्वको बारेमा जानेका होइनन् । बाफको शक्तिको बारेमा पढेकाले जेम्सवाटले बाफको शक्ति पत्ता लगाएका होइनन् । मार्काेनी भन्दा अगाडि कुनै टाढाबाट पठाएको आवाज कुनै यन्त्रको सहायताले नजिकै जस्तो सुन्न सकिन्छ भन्ने कुरा पागलहरूले मात्र मान्थे होलान् ।गाँठी कुरा चाहिँ के भयो भने यी वैज्ञानिकहरूले तथ्य माथि प्रश्न उठाए । न्यूटन भन्दा अगाडि पनि रूखबाट स्याउ खस्थ्यो । तर उनले प्रश्न उठाए, किन खस्छ ? जेम्सवाटले पनि प्रश्न उठाए, किन कित्लीको बिर्को उम्लेको पानीको वाफले हुत्याउँछ ?

क्षमता र प्रतिभाको सवाल यहीँनेर छ । हामी उत्तर दिनेलाई प्रतिभाशाली भन्छौं तर विश्वमा परिवर्तन त प्रश्न उठाउनेले गरेर देखाइदिएका छन् । प्रश्नबाट नै विश्वमा महान् परिवर्तनहरू भएका छन् । विज्ञान–प्रविधिमा नयाँ–नयाँ आयामहरू थपिएका छन् । सुन्दर रचनाहरू सिर्जना भएका छन् । त्यसैले अब म विद्यार्थीको उत्तर दिने क्षमतालाई सम्मान गर्दै प्रश्न उठाउने क्षमताको प्रशंसा गर्न थालेको छु ।

एक दिन कक्षामा मैले विद्यार्थीलाई नौलो खालको गृह कार्य दिएँ । त्यसमा प्रश्नको उत्तर ल्याउन भनिएको थिएन । विद्यार्थीहरूलाई विद्यालयबाट फर्केर भोलिपल्ट विद्यालय आउँदासम्ममा बाटोमा हिँड्दा, बस्दा, काम गर्दा, साथी र छिमेकीहरूसँग भेट हुँदा अनौठो लाग्ने कुरा के–के भए; के–कस्ता जिज्ञासा उत्पन्न भए ती सबैलाई प्रश्न बनाएर ल्याउन भनेँ । विद्यार्थीले विभिन्न प्रश्नहरू ल्याए र मसँग कारण जान्न खोजे । ती प्रश्नमध्ये केही म आफैँले समाधान गर्न सक्ने थिए; केही प्रश्न सम्बन्धित विषयशिक्षकसँग सोधेर बताइदिएँ । केही प्रश्नको समाधान खोज्न मलाई पनि धेरै अध्ययन गर्नु परयो । त्यति मात्र होइन सम्बन्धित विषयको विशेषज्ञलाई समेत भेट्नु परयो र करीब एक महिनाको प्रयासपछि मात्र सबै प्रश्नको समाधान दिन सकेँ । विद्यार्थीलाई दिमागमा उत्तर भरिदिने र उत्तरै झर्ने तरिकाबाट शिक्षण गरेको भए म त्यति साह्रै कजिनुपर्ने थिएन । प्रश्न झर्ने तरिका अपनाउँदा म आफैँ पनि विद्यार्थी भएँ । मेरो सम्पूर्ण क्षमता विद्यार्थीले निचोरेर लिन पाए । यसले म आफैँलाई पनि धेरै सिकायो ।

शिक्षाको अर्र्थ अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनु हो । हराम्रो वर्तमान शिक्षा प्रणाली कल्पना र जिज्ञासा उत्पन्न गर्ने कुरा भन्दा विषयगत सूचना सङ्ग्रह गर्ने र सङ्ग्रहित सूचनाहरू परीक्षामा व्यक्त गरेर विद्यार्थीको प्रतिभा र क्षमताको लेखाजोखा गर्ने कुरा मा बढी केन्द्रित छ । यो ज्ञान र सूचनामा आधारित पद्धति हो । ज्ञान विगत र वर्तमान सँग सम्बन्धित हुन्छ । जबकि कल्पना र जिज्ञासा वर्तमान र भविष्यसँग सम्बन्धित हुन्छ । कल्पनाले सृजना निम्त्याउँछ र आविष्कारको वा परिमार्जनको सम्भावनालाई अग्रगति दिन्छ ।

हामीले मान्दै आएको परम्परागत सोच अनुसार धेरै सूचना सङ्ग्रह गर्ने व्यक्ति नै क्षमतावान्–प्रतिभावान् मानिन्छ । तर मेरो पछिल्लो बुझइ अनुसार विगतबाट सिकेर भविष्यको कल्पना गर्न सक्ने; जिज्ञासा र तथ्यप्रति प्रश्न उठाउन सक्ने तथा तथ्यको सत्य खोज्न एवं नवीनता पहिल्याउन सक्ने व्यक्ति नै साँचो अर्थमा क्षमतावान् र प्रतिभाशाली हो ।

मेरो १४ वर्षको शिक्षण अनुभवमा; एउटा कक्षामा अति प्रतिभाशाली र अति मन्द क्षमता भएका विद्यार्थी निकै कम हुन्छन् । मध्यम खालका विद्यार्थी नै धेरै हुन्छन् । तसर्थ शिक्षण रणनीति अति प्रतिभाशालीलाई उचितगति दिने र न्यून क्षमता भएका विद्यार्थीलाई मूल प्रवाहमा ल्याउन सक्ने खालको हुुनु जरुरी हुन्छ । प्रतिभाशाली विद्यार्थीहरूलाई विषय–शिक्षकको प्रत्यक्ष निगरानीमा शिक्षण अभ्यास गर्न दिँदा तिनको ज्ञान र सीपमा निखार आउँछ भने त्यसबाट कमजोर विद्यार्थीले उचित लाभ लिन पाउँछन् ।

अर्को कुरा ; हरेक विद्यार्थीको कुनै न कुनै प्रतिभा हुन्छ । चित्रकला,गीत–सङ्गीत, खेलकुद वा फरक–फरक विषयमा दक्खल हुन्छ । विद्यार्थीको यही क्षमतालाई चिनेर प्रयोग गर्न सक्नु शिक्षकको पेशागत खुबी हो । विद्यार्थीमा कुनै न कुनै खुबी हुन्छ भनेर शिक्षकले तिनलाई भविष्यप्रति आशावादी र दृढ सङ्कल्पित तुल्याउन सक्ने हो भने कुनै पनि विद्यार्थीले सिक्न नसक्ने भन्ने कुरा हुँदैन । शिक्षकले हरेक विद्यार्थीको फरक क्षमता; विशिष्ट प्रतिभा र विविधताको पहिचान सँगै त्यसको सम्मान गर्न पनि सक्नुपर्छ । आखिर प्रकृतिमा पनि कुनै पनि चिज सापेक्ष रूपमा मात्रै एक–अर्कोसँग दाँज्न सकिन्छ । निरपेक्ष रूपमा त हरेक वस्तुको आफ्नै संरचना,गुण, रुप, रंग, आकार र प्रकार छन् । एउटैरूखको पात पनि अर्को पातसँग पूर्ण रूपमा मिल्दैन । विद्यार्थीहरू पनि प्रकृतिर ुपी अनन्त जङ्गलका एउटा सदस्य न हुन् ।

भेषबहादुर अधिकारी
प्राचार्य, श्री राधाकृष्ण उमावि, बाकामलाङ्ग, पाल्पा
vesh_adhikari@yahoo.com

commercial commercial commercial commercial