एसएलसीः अङ्ग्रेजी माध्यममा ८४ प्रतिशत

लमजुङको तार्कु ४ स्थित विद्या ज्योति माविबाट २०६१ सालको एसएलसी जाँच दिने २६ छात्रछात्रामध्ये दुई जना मात्र उत्तीर्ण भएका थिए । तर, सात वर्षअघिको उक्त नतिजा अहिले उल्टिएको छ । तीन वर्षयता उक्त स्कूलबाट एसएलसीमा सहभागी ८० प्रतिशतभन्दा बढी छात्रछात्रा उत्तीर्ण भएका छन् ।

यसपालि लमजुङबाट अङ्ग्रेजी माध्यममा एसएलसी दिने एउटा मात्र स्कूलमा पर्छ विद्या ज्योति मावि । तर, विद्या ज्योतिका ३२ मध्ये २७ जना (८४ प्रतिशत) उत्तीर्ण भए भने ११ जनाले प्रथम श्रेणी हासिल गरेका छन् । यस्तो नतिजाबाट प्रअ, शिक्षक र छात्रछात्रा मात्र होइन, अभिभावक पनि उत्साहित छन् ।

विद्या ज्योति माविले यस्तो सफलता हासिल गर्नु मा उक्त विद्यालयका प्रअ सूर्यबहादुर के.सी.को शैक्षिक /प्रशासनिक नेतृत्व र शिक्षकहरूको मिहिनेतले महत्वपूर्ण भूमिका खेलेको छ । २०६१ सालमा के.सी विद्या ज्योति माविमा प्रअ हुँदा तीन सय छात्रछात्रा थिए भने स्कूलको शैक्षिक –भौतिक अवस्था कमजोर थियो । एसएलसी नतिजा पनि निराशाजनक थियो । तर, उनले सात वर्षमा स्कूलको शैक्षिक स्तर उकास्ने काममा मात्र होइन, भौतिक पूर्वाधारको विकास मा समेत सफलता हात पारेका छन् ।
विद्या ज्योतिमा लामो समय देखि नेपाली माध्यममा पठनपाठन हुन्थ्यो । तर, समाज मा बढ्दै गएको अङ्ग्रेजी मोहलाई सम्बोधन गर्न प्रअ केसीले २०६२ देखि अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरे । उनी भन्छन्, “शिक्षकहरूलाई अङ्ग्रेजी माध्यमबाट पढाउन सक्ने बनाउन तालिम दिइयो, त्यसपछि सबै विषय अङ्ग्रेजीमा पढाउन थालियो ।” केसीका अनुसार अङ्ग्रेजीमा आत्मविश्वास नभएका छात्रछात्रालाई स्कूलले अङ्ग्रेजी माध्यममा विशेष कक्षा सञ्चालन गरेर एसएलसी दिनसक्ने बनाएको हो ।

उक्त विद्यालयमा अङ्गे्रजी माध्यममा निजी स्कूलका पाठ्यक्रम समेत पढाउने गरिएको छ । स्तरीय पठनपाठनका लागि विद्यालयले छात्रछात्राबाट मासिक शुल्क रु.४० देखि रु.११० सम्म लिने गरेको छ । यसरी जम्मा हुने वार्षिक रु.३ लाखबाट तीन जना शिक्षक थपिएको छ ।

प्रअ सूर्यबहादुर केसीले स्कूल सुधार अभियान चलाएपछि विद्या ज्योतिको नयाँ भर्ना अनुपात पनि बढ्दै गएको छ । अघिल्लो वर्ष १०० नयाँ छात्रछात्रा भर्ना भएका थिए भने यस वर्ष १३० जना भर्ना भइसकेका छन् । यीमध्ये १०० जना निजी स्कूलबाट आएका छात्रछात्रा छन् । बोर्डिङ भन्दा आफूहरूले रराम्रो पढाइ सञ्चालन गरेका कारण विद्यार्थीको चाप बढेको केसीको कथन छ ।

काठमाडौं पञ्चकन्या माविमा अध्ययन गरिरहेकी शर्मिला तामाङ खराब सङ्गतका कारण दिक्क थिइन् । शिक्षकको दबाब दिएर पढाउने तरिका पनि उनलाई ठीक लागेको थिएन । बिदामा लमजुङ आउँदा एक दिन उनी विद्या ज्योति मावि पुगिन् । विद्या ज्योतिका शिक्षक र साथीहरूको व्यवहारले उनलाई आकर्षित गरयो । त्यसपछि शर्मिलाले त्यहीँ पढ्ने निधो गरिन् । भन्छिन्, “मलाई गतिलो लाग्यो विद्या ज्योति । त्यसैले काठमाडौं छाडेर यतै पढ्न थालेकी हुँ ।”

पठनपाठन सुधार गर्न विद्या ज्योति माविमा बर्खे बिदामा पनि पढाइ सञ्चालन गरिएको छ । शिक्षकले अतिरिक्त कक्षा लिएको खण्डमा शिक्षकलाई प्रति पिरियड रु.२० दिइन्छ । सामान्य अवस्थामा कक्षा खाली हुँदैन । विज्ञान शिक्षक राजिव पण्डित भन्छन्, “निजी स्रोत शिक्षकलाई पनि बिरामी बिदाको रकम दिइन्छ ।” यस्तो व्यवस्थाले शिक्षकहरूमा पढाइप्रति जाँगर बढाउँदै लगेको छ । स्कूलले निकालेको वार्षिक क्यालेण्डरमा सबै शिक्षकको नाम र फोननम्बर भएकाले विद्यार्थीले स्कूल बाहिर पनि शिक्षकसँग सहज पहुँच पाएका छन् ।

विद्यालयमा शिक्षक छनोट गर्दा खुल्ला प्रतिस्पर्धा गरिएकाले छात्रछात्राले दक्ष विषयगत शिक्षक पाएका छन् ।गतिला शिक्षकको व्यवस्थाले पढाइ सुधार्न मात्र होइन स्तरीय शैक्षिक उपलब्धि हासिल गर्नमा पनि सहयोग पुर्याएको छ । वर्षमा जेठ, भदौ, पुस र चैतमा गरी चारवटा परीक्षा लिइन्छ । वार्षिक परीक्षामा विशिष्ट श्रेणी ल्याउने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ । यसअघि प्रत्येक कक्षामा प्रथम हुनेलाई ७० प्रतिशत र दोस्रो हुनेलाई ३० प्रतिशत छुटको व्यवस्था थियो ।

प्रअ केसीले स्कूलको आर्थिक अवस्था सुधार गर्न अभिभावकलाई आजीवन, साधारण र विशेष सदस्यता दिने नीति लागू गरेका छन् । यसबाट विद्यालयको लगानी कोषमा रु.९ लाख जम्मा भएको छ । यस बाहेक रु.५० हजार देखि रु.१ लाख २५ हजारसम्मका पाँच वटा अक्षय कोषको स्थापना गरिएका छन् । स्कूलले गर्ने लगानीबाट उठ्ने व्याजबाट छात्रवृत्ति, पुस्तकालय, शैक्षिक सामग्री खरिद गरिएको विव्यस अध्यक्ष विष्णुप्रसाद अधिकारी बताउँछन् । स्थानीय निकाय र अभिभावकको सहयोग विद्यालयको उन्नतिका निम्ति बरदान सावित भएको छ । फलतः तार्कु गाविसमा मात्र होइन जिल्लामै रराम्रो पढाइ हुने स्कूलमा दरिन पुगेको छ विद्या ज्योति मावि ।
विनोद शर्मा, लमजुङ

commercial commercial commercial commercial