शिक्षक जागिर ‘कुवाको भ्यागुतो कि समुन्द्रको माछा ?’

२७ वर्ष अगाडि ; १६ वर्षको उमेरमा एसएलसी परीक्षा सकिनेबित्तिकै जागिर खोज्न थालें । त्यतिवेला मास्टरी जागिर पाउन सजिलै थियो । जिल्लाको पश्चिम भेगतिर ‘अण्डर एसएलसी’ले पनि मास्टरी जागिर पाउँथे । गाउँको प्राविका राम सर परीक्षा दिन बनारस गएको वेला उहाँको सट्टामा तीन महिना रु.२०० को जागिर पाएँ । त्यही नै शिक्षण पेशाको पहिलो अनुभव रह्यो । तर त्यो वर्ष एसएलसी पास हुन सकिनँ ।

अर्को वर्ष एसएलसी पास भएँ र सर्कुवा माविमा २०४३/५/२२ मा रु.४७५ तलब पाउने गरी शिक्षकको जागिर पनि पाएँ जहाँ हालसम्म निरन्तर कार्यरत छु ।

पछि प्राइभेटसरहको परीक्षार्थी भएर बी.कम., बी.एड. गरी मावि तहको लाइसेन्स पनि प्राप्त गरें । शिक्षण पेशाको २४ वर्षको यात्रालाई सिंहावलोकन गर्दा प्रावि शिक्षकको जागिर कसैले भने झैँ “कुवाको भ्यागुतो हो” अथवा “समुन्द्रको माछा हो” भनेर ठम्याउन सक्ने अवस्थामा म पुग्न सकेको छैन ।

मेरो एउटा मनले भन्छ, भर्खर तोतेबोली फुटेकाहरूलाई राम्ररी बोल्न, हाँस्न, पढ्न, लेख्न सिकाएर पठाउँछौं; पछि तिनै व्यक्ति देश हाँक्ने उच्च ओहोदा (मन्त्री, नेता, हाकिम, डाक्टर, पाइलट, इन्जिनियर, वकिल, प्राध्यापक आदि)मा पुग्छन् आफू भने उही ठाउँमा उनैका छोराछोरी नाति–नातिना, (तीन पुस्ता)लाई कखरा चिनाउनमै सीमित ! नपढेका र जागिर नखाएका साथीहरू समेत देश–विदेशगई , शहरतिर घरघडेरी,गाडी आदिको कारोबारबाट छलाङ मारिसकेका हुन्छन्; आफू चाहिँ चार महिना पुग्ने दिनगन्दै बस्नुपर्छ । त्यसैले ‘प्राविको जागिर साँच्चै कुवाको भ्यागुतो’ नै हो भन्ने लाग्छ ।

तर अर्को पाटोबाट हेर्दा चाहिँ ‘सन्तोषम् परमम् सुखम्’ भन्ने लाग्छ । राष्ट्रका कर्णधार निर्माण गर्ने कार्यमा जुटिरहनु , आफूसँग को ज्ञान, सीप–क्षमता ती सन्ततिको दिमागमा सार्नु, घर परिवारसँग बस्नु, बिदामा घरायसी तथा सामाजिक काम गर्न पाउनु, तालिम, सेमिनार आदिमा धेरै जनासँग परिचित हुनु, बाटोघाटोमा अभिवादन पाउनु ‘तलब बुझेपछि ’ भनी आर्थिक कारोबार गर्न पाउनु, नेता, मन्त्री डाक्टर पाइलट आदिको गुरु बन्नु आदि कारणले गर्दा “प्रावि शिक्षक कुवाको भ्यागुतो होइन सागरको माछा हो; जुन समुन्द्रकोगहिराइसम्म पुग्न सक्छ र धेरै ज्ञान अनुभव बटुल्न सक्छ” भन्ने पनि लाग्छ ।

तैपनि शिक्षण पेशा त्यति जस पाउने खालको भने पटक्कै होइन । विद्यार्थी पास भए आफू भाग्यमानी र फेल भए शिक्षकलाई दोष लगाउने चलन हराम्रो समाज मा अझै छ । एकाध शिक्षकबाट आफ्नो कर्तव्यको ख्याल न गरी राजनीतिक पार्टीको आडमा लापरबाही भएको पनि देखिन्छ । त्यसको निराकरणको लागि अनुगमन र मूल्याङ्कन गरी दण्ड र पुुरस्कारको व्यवस्था हुनुपर्छ जसले गर्दा मर्यादित पेशामा आँच आउन नपाओस् । हामी शिक्षक पनि यो पेशालाई प्राथमिक र अन्य कार्यलाई गौण मानी कर्तव्यनिष्ठ बनौं । सबैको गुरुहरू फराकिलो क्षेत्र समुन्द्रको माछाको जस्तो जीवन बनाऊँ; कुवाको भ्यागुतो जस्तो होइन । ७
शशिधर पौडेल
जनता मावि, पाही, राङखानी, बाग्लुङ

commercial commercial commercial commercial