निजी र सरकारी स्कूलः परिणाम हैन, प्रकृति हेरौं

निजी विद्यालयका शिक्षकको भन्दा सरकारी विद्यालयका शिक्षकको तलब बढी र उनीहरूले समय–समयमा विभिन्न तालिमहरू पाउने भए पनि निजी विद्यालयकै शिक्षा स्तरीय छ भन्ने कुरा सर्वत्र सुन्न पाइन्छ । यस्तो चर्चा शिक्षक मासिकको भदौ (२०६७) अङ्कमा पनि छापिएको पाएँ । त्यो पढ्दा मलाई साहै्र नरराम्रो लाग्यो । सरकारी र निजीमा शिक्षाको गुणस्तर कसरी फरक भयो भन्ने मैले आफ्नो तर्क यसरी लेखेको छु । निजी विद्यालयमा शिक्षक नियुक्ति गर्दा उम्मेदवारहरूबीच प्रतिस्पर्धा गराई स्वयम् विद्यालय सञ्चालकले नै विद्यार्थीहरूको अध्ययनलाई आधार मानेर शिक्षक नियुक्ति गर्द छन् । शिक्षक नियुक्ति गर्दा तिनलाई कुनै प्रकारका राजनीतिक दबाबले छुँदैन । यसरी नियुक्त भएका शिक्षक पनि शिक्षक, विद्यार्थी र अभिभावकहरूतिर बाट कुनै प्रकारका गुनासाहरू आउने बित्तिकै निष्कासित हुन बेर लाग्दैन । तर सरकारी विद्यालयमा शिक्षक नियुक्ति गर्दा विज्ञापित मितिभित्र पर्न आएका निवेदकहरूबीच प्रतिस्पर्धागराइन्छ । तर छनोट समितिले योग्य व्यक्ति छान्नुको सट्टा ठूला–बडाका आफन्त वा विभिन्न राजनीतिक दलसँग सम्बन्धित व्यक्तिलाई प्राथमिकता दिन्छन् । त्यहाँ योग्य व्यक्तिको कुनै महत्व हुँदैन । यसरी योग्यको सट्टा अयोग्य व्यक्ति सरकारी विद्यालयमा शिक्षकको रूपमा भित्रिने सम्भावना धेरै हुन्छ । एकपटक सरकारी शिक्षक नियुक्त भइसकेपछि जति गुनासा आए पनि त्यस्तो शिक्षकलाई विद्यालयले निष्कासन गर्न सकेको कहिल्यै देखिँदैन ।
अर्को कुरा निजी विद्यालय धेरैजसो सुविधासम्पन्न ठाउँहरूमा मात्रै सीमित हुन्छन् । तिनले छोराछोरीहरूलाई पढाइदिएबापत अभिभावकहरूसँग शुल्क लिने गर्द छन् । कुनै दिन बालबालिका विद्यालय जान मानेनन् भने स्वयं अभिभावक आफैंले बालबालिकालाई विद्यालयसम्म पुर्याउन जान्छन् । यता सरकारी विद्यालय नेपालका जतिसुकै दुर्गम ठाउँमा पनि स्थापित छन् । अझै दुर्गम ठाउँमा विद्यालयहरू वस्तीबाट निकै टाढा भएका कारण बालबालिकाहरू विद्यालयमा भर्ना भए पनि नियमित रूपमा विद्यालयमा उपस्थित हुँदैनन् । पढ्न न गएका दिन अभिभावकहरूले बालबालिकालाई विद्यालय पुरयाउने होइन; घरायसी काममा प्रयोग गर्ने गर्छन् । निजी विद्यालयले विभिन्न कारणहरूले गर्दा विद्यालय बन्द हुन जाँदा उक्त दिनको पढाइ अर्को दिन पूरा गर्ने गरेको देखिन्छ तर सरकारीमा त्यस्तो हुँदैन । अब यस्तो अवस्थामा निजीको तुलना सरकारी विद्यालयसँग गर्न खोज्नु कत्तिको औचित्यपूर्ण होला ? तर पनि , तल लेखिएका कुरा हरू लागू गर्ने हो भने निजी विद्यालयभन्दा सरकारी विद्यालयको गुणस्तर कम हैन, बरु बढी हुन सक्छ भन्ने मेरो बुझइ छः

–    विद्यालयलाई राजनीतिक केन्द्र बनाउन नपाइने ।
–    शिक्षक नियुक्ति गर्दा आफन्त भन्दा योग्यलाई प्राथमिकता दिनुपर्ने ।
–    राम्ररी पढाउन नसक्ने वा नपढाउने शिक्षकलाई निष्कासन गर्नु पर्ने ।
–    बालबालिकालाई स्कूल नपठाई घरायसी काममा लगाउने अभिभावकलाई कारबाही गर्नु पर्ने ।
–    विद्यालयमा खाजाको व्यवस्था गर्नु पर्ने ।

वीरेन्द्र महतो
बाल विकास प्रावि, बागफाल, धियाल–१, मकवानपुर

commercial commercial commercial commercial