घड्सारका ती दिन

आजभन्दा ५० वर्षअघिसम्म विद्यालयको पढाइ अहिले जस्तो सहज थिएन । तराईतिर स्कूलको अभाव भएकाले केटाकेटीलाई घड्सारमा पढाइन्थ्यो । घड्सारमै पढाउन मास्टर पाउन पनि गाह्रो हुन्थ्यो । छिमेकी मुलुक भारतबाट मास्टर खोजेर ल्याउनुपर्ने बाध्यता थियो ।

म त्यसबेला देखि सिरहा ढोड्नास्थित फुसको घरमा बस्दै आएको छु । मैले भारतीय शिक्षक लक्ष्मीकान्त कायस्थसँग घड्सारमै पढेको हुँ । पढाइ सकेको मात्र के थिएँ गाउँ देखि चार किलोमिटर टाढागणेशपुरका फेकु चौधरीले घड्सारमा पुगेर पढाइदिन आग्रह गरे । मैले स्वीकारेँ । वि.सं. २०११ सालमा घड्सारमा पढाउन थाल्दा म २५ वर्षको थिएँ ।

पछि गणेशपुरसँगै जोडिएको भोटियाटोलका केटाकेटी धेरै भएकाले घड्सार पनि त्यहीँ स¥यो । त्यतिबेला स्थानीय भाषामा घड्सारलाई ‘चैरसार’, मास्टरलाई ‘ गुरुजी’ र विद्यार्थीलाई ‘चटिया’ भनिन्थ्यो । घड्सार पढ्ने र पढाउने तरिका पनि भिन्न थिए । काठको चारपाटे पाटीमा कालो पोतेर कालोपाटी बनाइन्थ्यो । बाँसको आँख्लाभन्दा आधा फिट माथि काटेर दुवाईत (मसी राख्ने भाँडोे) बनाइन्थ्यो । त्यसमा माटो घोलेर विभिन्न रङका मसी बनाइन्थ्यो । कमेरो माटोको मसी चाहिँ बढी मानिन्थ्यो ।
छिप्पिएका बाँसको हाँगालाई चक्कुले काटेर कलम बनाइन्थ्यो । त्यसबेला मेरो खल्तीमा चौबीसै घण्टा चक्कु हुन्थ्योे । बाँसको कलमले कालोपाटीमा क, ख,ग, घ, ङ लेख्दै विद्यार्थीलाई सिकाउथेँ । यति जानेपछि अ, आ, इ, ई र क, का, कि, की सिकाउनेपालो आउँथ्यो । त्यसपछि उनीहरूलाई गणित सिकाउथेँ– १, २, ३, ४ हुँदै जोड, घटाउ,गुणन र भागसम्म । अन्नको जोख–तौल र जमिनको नाप सधैँ व्यवहारमा आउने भएकाले त्यो पनि सिकाउँथे । यी सबै कुरा हरू सिकाउन मलाई दुर्ई देखि तीन वर्ष लाग्थ्यो ।

हरेक दिन बिहान ७ देखि ११ बजे र दिउँसो २ देखि ५ बजेसम्म घड्सारको पढाइ हुन्थ्यो । साँझ् ‘सञ्झ’ गर्न लगाउथेँ । विद्यार्थीलाई पङ्क्तिबद्ध गराए र दिनभरि सिकेका कुरा ‘सञ्झ’मा एकै स्वरमा भन्न लगाउथेँ । त्यसरी चर्को स्वरमा पढाइएको ‘सञ्झ’ गाउँभरि टड्कारो सुनिन्थ्यो । अन्त्यमा सरस्वती वन्दना गरेर त्यस दिनको घड्सार सकिन्थ्यो । एवं रितले त्यहाँ पढाइ हुने गथ्र्यो ।

शनिबार बिहानै विद्यार्थीले घरबाट थाल वा बटुकामा चामल,गुँढ (भेली) तुलसीको पात र पैसा आदि लिएर  उपस्थित हुनुपथ्र्यो । त्यहाँ सफासुग्घर, लिपपोत गरेर नुहाई–धुवाई गरी सरस्वतीको पूजा गरिन्थ्यो । पहिले म खाँबोको फेदमा धूप, दीप र पानीमा भिजाएर राखेको चामलमा भेली मिसाएको प्रसाद चढाउँथे । अनि सबै विद्यार्थीलाई पङ्क्तिबद्ध गराए र प्रार्थनागराउँथे । त्यतिबेलाको प्रार्थना मलाई अहिले पनि कण्ठै छ । जस्तोः ‘क हे क कलमके, सुत्कन चन्दके । क मे कलम भिरादिया सियाराम जीके... ।’ प्रार्थनापछि विद्यार्थीलाई प्रसाद बाड्थेँ । भेली मिसिएको चामलको प्रसाद विद्यार्थीले खुबै मन पराउँथे । कति विद्यार्थी त्यही प्रसाद खान पाउने आसले पनि पढ्न आउँथे । शनिबारको आधा दिन यसरी नै बित्थ्यो ।

हरेक वर्ष माघ देखि वैशाखसम्म र साउन देखि कात्तिकसम्म पढाइ चल्थ्यो । बाँकी महिना म पनि आफ्नो खेतीपातीमा लाग्थेँ । र, विद्यार्थीहरू पनि त्यसैगर्थे । घड्सारमा टिकेर पढ्न चाहिँ विद्यार्थीलाई हम्मे–हम्मे पथ्र्यो । तिनलाई त्यस्तो अप्ठेरो हुँदा म हप्काउथेँ । नहप्काईकन विद्यार्थी कहाँ पढ्छन् र ! मेरो नियम अलि कडै थियो ।

विद्यार्थीलाई सिकाउन र अनुशासनमा राख्न त्यसबेला म छडी पनि लगाउथेँ । बाँसको एउटा छडी सधैँ मेरो हातमै हुन्थ्यो । कति विद्यार्थी त छडीको डरले घड्सार छोडेर भाग्थे पनि । तर, म त्यस्ता विद्यार्थीलाई छोडदिन्थेँ । घरैमा पुगेर फेरि घड्सारमा ल्याएरै छाड्थेँ । घड्सार छोड्न कि मामाघर जानुपथ्र्यो कि त फुपूको घर । घड्सार नछोड्ने विद्यार्थी चाहिँ पढाइमा तीक्ष्ण हुन्थे । त्यसबखत भोटियाटोलका सयजना जति विद्यार्थी मसँग पढ्थे । त्यसमा दलित, उपेक्षित र महिलाहरूको सङ्ख्या कम हुन्थ्यो ।

१० वर्षसम्म मैले यसरी नै पढाएँ । त्यसपछि घड्सारको शिक्षा सकेर विद्यार्थीहरू स्कूल जान थाले । घड्सारमा जो विद्यार्थी मेहनतगर्थे तिनका बाबु–आमालाई अनुरोध गरेर स्कूल पठाउन अनुरोधगर्थे । मेरो शरीर कमजोर हुँदै जान थालेपछि पाँच वर्षअघि मैले घड्सार पढाउन छाडें । त्यसपछि भोटियाटोलको घड्सार पनि बन्द भयो । अहिले म ८० वर्षको भएँ । ती दिन सम्झ्ँदा अहिले पनि मन उत्तिकै आनन्दित हुन्छ । मैले पढाएका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक सबै बनेका छन् । उनीहरूसँग भेट हुँदा औधी खुसी लाग्छ । र, फेरि एकफेर घड्सारको त्यही रौनकतामा फर्केको अनुभूति हुन्छ ।

 चौधरी, पहिलेका घड्सार शिक्षक, सिरहा

प्रस्तुतिः श्रीलाल साह

commercial commercial commercial commercial