व्यापार छोडेर शिक्षक बन्दा...

बटौलीमा रहेको आफ्नो व्यापार छाडेर साथीहरूको लहैलहैमा भैरहवा शिक्षा कार्यालयमा पुगी शिक्षा आयोग दिन पुगेँ । लिखितमा नाम पनि निस्कियो । अन्तर्वार्तामा अनेक भाँतीका प्रश्नहरू सोधियो । सकेजतिको उत्तर दिएँ । नतिजा राम्रै आएछ । नाम निस्किएपछि खुसी पनि लाग्यो दुः ख पनि । व्यापार गर्दा स्कूल जस्तो दस—चार बजाउनु पर्थेन । आफ्नोखुसी थियो । खल्तीमा पैसो कहिल्यै टुट्थेन । शिक्षण पेसामा लागेपछि कहिलेकाहीँ चार महिनासम्म पैसो देख्न नपाउँदाको पीडा सुनाउन सक्दिनँ । आमाले भन्नुहुन्थ्यो, “खोई यस्तो जागिरबाट तेरो के उन्नति होला र ?” रुपन्देहीको हरैया उच्च माविमा नियुक्तिपत्र बुझेर फित्तेवाला चप्पल पड्काउँदै भदौ महिनामा जाँदा त्यहाँका शिक्षकहरूले मेरो रुपलाई तल देखि माथिसम्म बेस्सरी नियालेर हेरेकोे घटना आज पनि मस्तिष्कमा नाँचिरहन्छ ।

एकदिन हरैयामा रहेको गुरुङ गाउँमा मलाई बोलाइयो । निधारभरी रातो टीका र माला लगाई मलाई स्वागत गरे । त्यहाँ एकजना रिटायर्ड लाहुरेले भनेका थिए, “केटा तैँले त बाहुनले खाने जागिर पो खाइस् त । मगर/ गुरुङ त लाहुरे हुने पो हो ।” उनले बोलेका शब्दले मेरो स्वागत होइन अपमान गरिरहेको भान भो मलाई । म केही बोल्न सकिनँ । अन्त्यमा मैले यति मात्र भनेँ, “जागिर र मान्छेको कुनै जात हुदैन ।”

हरैया पहाडियाहरूको रमाइलो तराईबस्ती हो । मैले जागिर खानगइसकेपछि पाल्पाको दोभानबाट मिल्ने साथी राजेश श्रेष्ठलाई पनि एभरग्रिन बोर्डिङ स्कूलका प्रिन्सिपल हेम मल्ल ठकुरीसँग कुरा कानी गरी जागिरका लागि लगेको थिएँ । आई.कम. पास भएपछि ऊ दोभान नै फर्कियो । मलाई पनि हरैया बस्न मन लागेन र फर्कने विचार गरें । हजारौं बिन्ती गरे पछि मात्र हरैयाबाट दोभानको नुवाकोट सरुवा हुने अवसर पाएँ । नुवाकोटमा पनि चार वर्ष पूरै बिताइयो । ठाउँ जाती नै थियोे ।

दोभान उच्च माविमा जागिर सरुवा हुन साह्रै गाह्रो भयो । अन्तिममा सबैको सहयोगले सर्ने मौका पाइयो । म दोभानमा सरुवा भई आउँदा रुप कुमार क्षेत्री हेडसर हुनुहुन्थ्यो । त्यतिबेला मैले आई.कम. उत्तीर्ण गरिसकेको थिएँ । साथै सिएमएमा नेपाल दोस्रो भएको थिएँ । यदि शिक्षा क्षेत्रमा नआएको भए स्वास्थ्य क्षेत्रमा हुन्थेँ होला यतिबेला ।

आई.कम. पास गरे पछि पढाइ पूरा भएको ठानेर म हात बाँधेर बस्न थालेको थिएँ । तर एकदिन रुप कुमार सरले भन्नुभयो, “दलबहादुर तिमीले जे जसरी भए पनि बी.एड. उत्तीर्ण गर्नु पर्छ ।” उहाँको वचनअनुरुप भरतपुर चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा भर्ना भएँ । निरन्तर क्याम्पसको कक्षा नलिई बी.एड. उत्तीर्ण गरें । मैले बीएड पास गर्दा मभन्दा रुप कुमार सर धेरै खुसी हुनुभयो होला । उहाँको हौसला मेरो लागि आज गरिखाने औजार भएको छ र त्यो योग्यता आज उच्च मावि अध्यापनका लागि समेत सहायक बनेको छ । सोच्छु– त्यतिबेला हौसला नदिनु भएको भए म आज त्यत्तिकैमा सीमित हुन्थेँ होला ।

शिक्षक हुँदाको पीडा थुपै्र छन् तर पनि पीडाभित्र सुख खोज्नुपर्छ । सुख आफैं झयाली पिटेर आउने कुरा होइन । दुनियाँका छोराछोरीहरूलाई अँध्यारो कुनाबाट निकाली शिक्षाको उज्यालो प्रकाशद्वारा प्रदीप्त गराउन पाउँदा मनमा आनन्द लाग्छ । कतिपय अभिभावकहरू, पास भए आफ्नै छोराछोरीले कडा मेहनत गरेर; रातभरी पढेर पास भएको भन्छन् र फेल भए मास्टरतिर धारेहात ल गाउँछन् । कहिलेकाहीँ त कस्तो पेसा अपनाइएछ भनेर दुः ख पनि लाग्छ । तर, चित्त बुझाउने कुरा अझ् धेरै पाउँदा यही पेसाप्रतिगर्व लाग्छ ।

गुरुङ, शिक्षक, दोभान उच्च मावि, पाल्पा

commercial commercial commercial commercial