९० वर्षमा पनि उत्तिाकै सक्रिय छन् तोत्ताो-चानकी लेखक

सन् २०२४ को पहिलो महीना; जनवरीको तेस्रो हप्तातिर ‘वाकर’ धकेल्दै तेच्चुको कुरोयानागी मध्य-टोकियोको एउटा टेलिभिजन स्टुडियोमा प्रवेश गरिन्। सहयोगीको आड लिंदै विस्तारै तीनवटा खुट्किला चढेर स्टेजमा पुगिन्। ती सहयोगीले उनलाई हल्का खैरो रङको ठूलो आरामदायी कुर्सीमा बसाए।

स्टुडियोमा साजसज्जा हेर्ने कर्मचारीले उनको गोडाबाट बुट उतारेर अग्लो हिल भएको स्यान्डल लगाइदिइन्। मेकअप आर्टिस्टले उनको गालामा ब्रस चलाइन् र हल्का रातो रङको लिपस्टिकले उनको ओठ सजाइदिइन्। प्याज जस्तो आकारको उनको कपालको बनोटबाट उडिरहेका कपालका एक-दुई रेसालाई हेयर ड्रेसरले सम्हालिदिए। अर्का सहयोगीले उनको कालो ज्याकेटमा लिन्ट रोलर (भुवा उतार्ने मेसिन) दौडाए। यी सबै गरेपछि ९० वर्षीय कुरोयानागी आफ्नो टेलिभिजन कार्यक्रमको १२ हजार १९३ औं एपिसोडका लागि तयार भइन्।

सात दशकदेखि जापानको उत्कृष्ट कार्यक्रम प्रस्तोताका रूपमा परिचित कुरोयानागीले सन् १९७६ देखि चलाउँदै आएको अन्तर्वार्तामा आधारित कार्यक्रम ‘तेच्चुकोज् रुम’ (तेच्चुकोको कोठा)ले; एउटै प्रस्तोताबाट सबैभन्दा लामो समयसम्म सञ्चालित कार्यक्रमको रूपमा ‘गिनिज वल्र्ड रेकर्ड’ मा ठाउँ ओगटेको छ। फिल्म, टेलिभिजन, संगीत, थिएटर र खेल क्षेत्रका विभिन्न पुस्ताका जापानी सेलिब्रेटीहरू उनको कार्यक्रममा उपस्थित भइसकेका छन्। त्यति मात्र होइन, अमेरिकी स्टारहरू मेरिल स्ट्रिप र लेडी गागा, इंग्ल्याण्डका राजकुमार फिलिप अनि विघटित सोभियत संघका नेता मिखाइल गोर्बाचोभलाई पनि उनले आफ्नो कार्यक्रमका पाहुना बनाइसकेकी छन्। गोर्बाचोभ ‘आफ्ना सदावहार प्रिय पाहुनामध्ये एक भएको’ कुरोयानागी बताउँछिन्।

आफू सय वर्षको हुँदासम्म पनि कार्यक्रमलाई निरन्तरता दिइरहने ठट्टा गर्छिन् उनी। त्यसो त उनी गफ गर्न माहिर नै छन्। वाक्पटु कुरोयानागी आफ्ना पाहुनालाई डेटिङ, डिभोर्स जस्ता विषयमा बोल्न लगाइरहन्छिन्। अचेल मृत्यु उनको रुचिको अर्को विषय बनेको छ। उमेरले जतिसुकै उकालो लागे पनि उनले तन्नेरीहरूसँग काम गर्न भने छोडेकी छैनन् । यही महीना उनले २८ वर्षीय कोरियाली-क्यानेडियन अभिनेता एवं गायक आन ह्यो-सोपलाई आफ्नो शोमा निम्त्याएकी थिइन्। अचेल उनका धेरैजसो पाहुनाले बुढ्यौली र सहकर्मीको निधनबारे गफ गर्ने गर्छन्।

दोस्रो विश्वयुद्धपछि कुरोयानागीले जापानी टेलिभिजनमा अभिनय गर्न थालिन्। त्यसपछि आफूलाई एउटा कुशल अन्तर्वार्ताकारका रूपमा परिचित गराइन्। उनको विशिष्ट शैलीको पहिचान तुरुन्तै जापानभर नै स्थापित हुनपुग्यो। आम अन्तर्वार्ताकारले जस्तो केवल प्रश्नकर्ता नभई आफूलाई पनि पात्रमा ढालेर कुराकानी गर्ने उनको शैलीले; प्रस्तुति शैलीको नयाँ विधा ‘टोरेन्टो’ (अंग्रेजी शब्द ट्यालेन्टको जापानी रूप) स्थापित गर्‍यो । त्यो शैली अहिले सर्वव्यापी भएको छ । “जापानमा कुरोयानागी एक हिसाबले मूर्त टेलिभिजन इतिहास हुन्”, येल विश्वविद्यालयमा पूर्वी एशियाली साहित्य र फिल्मका प्राध्यापक एरोन जिरो भन्छन्।

लामो समयसम्मको निरन्तरताका कारण प्रसिद्धि पाएकी कुरोयानागी यथार्थमा पुरुष वर्चस्व भएको परिवेशमा नै एक सशक्त महिला सञ्चारकर्मीका रूपमा उदाएकी थिइन्। एकै दिन तीनवटा एपिसोड खिचेपछि स्टुडियो नजिकैको एउटा होटलमा गरिएको झण्डै दुई घण्टा लामो अन्तर्वार्तामा उनले आफ्ना पुराना दिन सम्झिइन्। सन् १९७२ तिर टिभीमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्न शुरू गर्दाका अनुभव सुनाउँदै उनी भन्दै थिइन्, “मलाई धेरै प्रश्न नगर्न र मुख बन्दै राख्न भनिन्थ्यो।” तर उनी भन्छिन्, “अहिले जापान त्यो युगबाट निकै पर आइसकेको लाग्छ।”

कुरोयानागी श्रवणशक्ति कमजोर भएकाहरूको निम्ति काम गर्छिन्। उनी युनिसेफको ‘गुड–विल एम्बेसडर’ पनि हुन्। यद्यपि, आलोचकहरूले भने आफ्नो अग्लो व्यक्तित्व हुँदाहुँदै पनि महिलाहरूको पक्षमा उनले थोरै मात्र काम गरेको टिप्पणी गर्छन्। “उनी समृद्ध र पुरानो जापानको प्रतीक हुन्”, टोकियो विश्वविद्यालयमा मिडिया स्टडिजकी प्राध्यापक काओरी हायासीले इमेलमा लेखेकी छन्।

एक अन्तर्वार्तामा कुरोयानागीले आफ्नो करिअरको शुरुआतमा एक्ली महिला हुँदा भोगेका कष्टहरूबारे धेरै कुरा गरेकी छन्। आफू ३०, ४० वर्षको हुँदा टेलिभिजन उद्योगका पुरुषहरूले ‘डेटिङ’ र विवाहको प्रस्ताव राखेर हैरान पार्ने गरेको तर आफूले त्यसलाई चुट्किलाका रूपमा उडाउने गरेको उनको कथन छ। महिला-पुरुष बीचको लैंगिक सम्बन्धमा अहिले पनि ‘सामन्ती’ प्रवृत्ति नै हावी रहेको र समाजमा महिलाले आफ्नो ‘करिअर’कै माध्यमबाट पथ पहिल्याउनुपर्ने उनको सुझाव छ।
उनी भन्छिन्, “महिला भएकै कारणले केही गर्न सक्दिनँ नभन।”

‘आमाहरूलाई मातृत्वका लागि सघाउन’ बालबालिका लक्षित कार्यक्रम चलाउन चाहेकैले आफू टेलिभिजन क्षेत्रमा प्रवेश गरेको बताउने कुरोयानागी आफैं भने आजीवन अविवाहित हुन् र उनका बालबच्चा छैनन्। “अरूभन्दा फरक काम गर्ने मानिसका लागि अविवाहित नै रहनु उचित हुन्छ” उनी भन्छिन्, “एक्लै हुँदा बढी सहज हुन्छ।”

सन् १९८१ मा प्रकाशित कुरोयानागीको पहिलो संस्मरण ‘तोत्तो-चानः झ्यालमा रमाउने त्यो सानी केटी’ एउटा भिन्न प्रकारको प्राथमिक विद्यालयमा बिताएको बाल्यावस्थाको अनुभूति हो । यो पुस्तक नेपालीमा समेत गरी संसारका विभिन्न भाषामा अनूदित छ र झण्डै ५ करोड प्रति बिकिसकेको छ। गत वर्ष उनले त्यही संस्मरणको नयाँ शृंखला प्रकाशन गरेकी छन्, जसमा दोस्रो विश्वयुद्धताकाको जापानको कठिन अवस्था वर्णन गरिएको छ। त्यसमा उनले लेखेकी छिन्, “ती दिन निकै कष्टप्रद थिए । कहिलेकाहीं त भुटेका १५ दाना सिमीले दिन गुजार्नुपथ्र्यो।” उनी र उनकी आमा टोकियोमा हुने हवाई हमलाबाट जोगिन सुरुङमा लुकेका थिए।

युक्रेनमा रूसी आक्रमणपछि फैलिएका तस्वीरले आफूलाई दोस्रो विश्वयुद्धकालीन संस्मरण लेख्न अभिप्रेरित गरेको उनी सुनाउँछिन्। आफ्नी आमाले सिंगो परिवारलाई टोकियोबाट उत्तरी जापानतिर लगेको वर्णन गर्दै उनले युद्धकालको बाल्यावस्था वर्णन गरेकी छन्। “यद्यपि मैले युद्ध गलत हो भनेकी छैन” उनले भनिन्, “म त बच्चाहरूले युद्धको अनुभव कसरी गर्छन् भन्ने मानिसहरूले बुझुन् भन्ने चाहन्छु।”

कुरोयानागीले अहिलेसम्म पनि आफूमा बाल्यपन ताजै राखेकी छन्। अन्तर्वार्ताका लागि उनले आफ्नो पहिचान नै बनेको प्याजी आकारको कपाल फुकाइन् र मन्दिर आकारको ‘विग’मुनि आफ्नो सक्कली कपाल लुकाइन्। दशकौंदेखि निर्माण गरेको आफ्नो सौम्य व्यक्तित्वको पाटो हुन् यी सबै। “उनी मनमोहक र सुन्दर छिन्”, भन्छिन् टोकियोको सेन्सु विश्वविद्यालयमा ‘स्कूल अफ बिजनेस एडमिनिस्ट्रेसन’मा व्यवस्थापनकी प्राध्यापक कुमिको नेमोतो। थप्छिन्, “उनी कुनै पनि विषयको आलोचना गर्दिनन्, राजनीतिक र नकारात्मक कुरा गर्दिनन्।”

शायद त्यसैले नै गोर्बाचोभलाई छोडेर कुरोयानागीले अरू राजनीतिक व्यक्तिहरूसँग अन्तर्वार्ता गरेकी छैनन्। कुरोयानागी भन्छिन्, “राजनीति गर्नेहरूलाई साँचो बोल्न निकै नै कठिन हुन्छ। र, म उनीहरू सबैलाई राम्रो देखाउन सक्दिनँ।”

बेलाबखत अमेरिकी पत्रकार बार्बरा वाल्टर्ससँग तुलना गर्ने गरिए पनि कुरोयानागी आफ्नो कार्यक्रमका पाहुनालाई कडा प्रश्न गर्दिनन्। कार्यक्रम निर्माताहरूले पाहुनालाई उनीहरू कुन-कुन शीर्षकमा कुरा गर्न वा कुनमा गर्न चाहँदैनन् भनेर पहिल्यै सोध्छन् । अनि कुरोयानागीले त्यसै अनुसार प्रश्न गर्छिन्।

यो पंक्तिकारले उनीसँग अन्तर्वार्ता गरेको हप्ता उनका पाहुना थिए- कानकुरो नाकामुरा छैटौं । उनी काबुकी कलाकारहरूको छैटौं पुस्ता हुन् जसका बुबा र हजुरबुबा दुवै कुरोयानागीका नियमित पाहुना थिए । कार्यक्रमको सुटिङ शुरू हुनुअघि नाकामुराले टेलिप्रम्पटरमा आफ्नो परिवारबारे सोधिने प्रश्नहरू हेरेका थिए।


“परिस्थितिको नियन्त्रणलाई म सबैभन्दा बढी प्राथमिकता दिन्छु ताकि दर्शकले मेरा पाहुना अनौठा वा खराब मानिस हुन् भन्ने नठानुन्” कुरोयानागीले भनिन्, “सम्भव भएसम्म म दर्शकलाई ‘ओहो यो मानिस त निकै असल छ’ भन्ने अनुभव गराउन चाहन्छु।”


आफू सय वर्षको हुँदासम्म पनि कार्यक्रमलाई निरन्तरता दिइरहने ठट्टा गर्छिन् उनी। त्यसो त उनी गफ गर्न माहिर नै छन्। वाक्पटु कुरोयानागी आफ्ना पाहुनालाई डेटिङ, डिभोर्स जस्ता विषयमा बोल्न लगाइरहन्छिन्। उमेरले जतिसुकै उकालो लागे पनि उनले तन्नेरीहरूसँग काम गर्न भने छोडेकी छैनन्। 

सन् २००१ मा गोर्बाचोभ उनको कार्यक्रममा आउँदा पनि उनले राजनीतिको कुरा गरिनन्। “यो उनका लागि निकै ठूलो कुरा थियो”, उनले सुनाइन्। राजनीतिको साटो उनले गोर्बाचोभका प्रिय कविबारे सोधिन् । र, गोर्बाचोभले १९औं शताब्दीका रोमान्टिक कवि मिखाइल लेर्मोन्तोवको कविता ‘जलयात्रा’ वाचन गरे। “म जापानी राजनीतिक व्यक्तिहरूलाई पनि त्यस्तै प्रश्न सोध्न चाहन्छु। तर गोर्बाचोभ जस्तै कविता पढ्न सक्ने एकजना मात्रै राजनीतिक व्यक्ति यहाँ भए म आफूलाई धन्य ठान्नेछु”, उनले भनिन्।

उमेरले उकालो चढ्दै गर्दा कुरोयानागीले ४९औं वर्षमा कार्यक्रम चलाइरहेको ‘टीभी आशाही’मा आफ्ना पुस्ताले भोगिरहेका चुनौती क्रमशः आफैंले पनि सामना गर्न थालेकी छन्। उदाहरणका लागि, उनले सन् २०१६ मा बितेका गीतकार ‘रुकोसुई ई’ सँग अन्तर्वार्ता गरेकी थिइन्। उनी ह्विलचेयरमा आएका थिए र पार्किन्सन्स रोगका लक्षणहरू स्पष्टै देखिन्थे। कुरोयानागीले सजिलैसँग उनको रोगबारे उनीसँग गफ गरिन् । “पक्कै पनि वृद्ध मानिसहरू उनको उपस्थितिबाटै उत्साही हुन्छन्”, क्योटो विश्वविद्यालयको ‘डोशिशा विमिन्स कलेज अफ् लिबरल आर्ट्स’मा मिडिया स्टडिजकी प्राध्यापक ताकाहियो कागेयामा भन्छिन्।

विस्तारै बोल्दै कुरोयानागी आफूले वृद्ध दर्शकहरूलाई उत्प्रेरित गर्न काम गरिरहेको सुनाउँछिन्। “कुनै मानिस सय वर्ष पुग्दा पनि तरोताजा मस्तिष्क र शरीर लिएर टेलिभिजनमा आउन सक्छ भन्ने देखाउन चाहन्छु” उनी भन्छिन्, “मैले त्यो प्रदर्शन गर्न सकें भने त्यो रोचक प्रयोग हुनेछ।”

(साभार: द न्यूयोर्क टाइम्स २४ जनवरी २०२४ ।)
अनुवादः लक्ष्मण श्रेष्ठ 

commercial commercial commercial commercial